×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसरी पर्दाफास भयो यो जोडीको कर्तुत, श्रीमती नक्कली डिएसपी, श्रीमान नक्कली वकिल

PRIME CA

यसरी पर्दाफास भयो यो जोडीको कर्तुत, श्रीमती नक्कली डिएसपी, श्रीमान नक्कली वकिल

१५ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ – पछिल्लो समय प्रहरीको सक्रियतामा ठगीका विभिन्न रुपहरु बाहिर आइरहेका छन । यस्तै एउटा अचम्मको ठगीको धन्दाको पर्दाफास भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले श्रीमान नक्कली वकिल र श्रीमती नक्कली डिएसपी बनेर ठगीको संगठित धन्दा चलाउने एक जोडीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
पीडितहरुको उजुरीको आधारमा पक्राउ परेका जोडीले करोडौँ ठगेको देखिएको छ । ठगीकै माध्यमबाट उनीहरुले करोडौँ रुपैँयाँ जम्मा गरेको बुझिएको छ ।
काठमाडौँको बालाजुमा घर भएका मनोहर तिवारी र सीता उप्रेतीले वर्षौअघिदेखि ठगी धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ । सुरुमा श्रीमान मनोहर तिवारीलाई पक्राउ गरेको प्रहरीले पीडितको उजुरीको अधारमा प्रहरी हवल्दार सीता उप्रेतीलाई समेत पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन थापाले दैनिकीलाई जानकारी दिए ।
डिएसपी थापाले तिवारी र उप्रेती दुबैलाई ठगी र संगठित अपराधको मुद्दमा अनुसन्धान गरिरहेको बताए । उनले भने ‘सुरुमा हामीले पीडितहरुको झण्डै दर्जन उजुरीको आधारमा मनोहर तिवारीलाई पक्राउ गरेका थियौँँ, अनुसन्धान र थप उजुरीका कारण तिवारीकी श्रीमती त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी हवल्दार सीता उप्रेतीलाई यही भाद्र ३ गते पक्राउ गरिएको छ ।’
प्रहरीका अनुसार सीता हवल्दारबाट निलम्बित भएकी छिन । उनीहरु माथि सम्पत्ति शुद्धिकरणको मुद्दा समेत चल्न सक्ने प्रहरीले जनाएको छ । प्रहरीमा परेको उजुरीका अनुसार उनीहरुले ठगीबाट मात्रै पाँच करोड बढी सम्पत्ति जम्मा गरेका छन ।
प्रहरीको अनुसन्धानबाट खुले अनुसार तिवारी न कानुन व्यवसायी (वकिल) हुन नत लेखापढी व्यवसायी नै तर उनले कुर्सीको पछिपट्टी कालोकोट राखेर घरमै अफिस खाेलेर वकिल हुँ भन्दै विचौलियाको भूमिकामा ठग्दै आएका रहेछन ।
एक दशकअघिदेखि वकिलका नाममा ठग्दै आएका तिवारीले पछिल्लो पटक आफ्नो ठगी धन्दालाई राजनीतिक रंग समेत दिएका थिए । दैनिकीको सम्पर्कमा आइपुगेका तिवारीबाट पीडित भएका एक व्यक्तिका अनुसार उनले विगतमा नेकपा एमालेको कार्यकर्ता हुँ भन्दै राजनीतिक सम्बन्ध देखाएर ठगी गर्दथे तर पछिल्लो एक वर्षयता आफू स्वतन्त्र भन्ने र कांग्रेसका नेताहरुसँग सम्बन्ध रहेको बताउँदै आएका थिए ।
उनी सधैँजसो कालोकोटमा सजिएर छातीको दायाँतर्फ नेपाल बार एसोसिएसनको लोगोसमेत लगाएर अदालत र शहर चहार्दै हिँड् डुल गरेका थिए । अदालतको इतिहासमै पहिलोपटक जिल्ला अदालत ललितपुरले तिवारीलाई विचौलिया घोषित गरी अदालत प्रवेश रोक लगाएको सार्वजनिक सूचना समेत प्रकाशित गरेको थियो ।
कानुन व्यावसायी भनेर मुद्दाका पक्षहरूको साथमा विभिन्न इजलास, मुद्दा शाखा र अभिलेख शाखामा जाने तिवारीले अदालती काम कारवाहीमा समेत अवरोध हुनेगरी बिचौलियाको भूमिका निर्वाह गरेको भन्दै ललितपुर जिल्ला अदालतले २०७२ चैत २३ गते अदालत प्रवेशमा निषेध गर्ने निर्णय नै गरेको हो ।
उनको मुख्य काम भनेको अदालत परिसरमा भेटिने सेवाग्राहीलाई मुर्गा बनाउने र आफ्नो कार्यालयसम्म लगेर ठग्ने रहेको बुझिएको छ । प्रहरीको हवल्दार रहेकी श्रीमतीलाई उनले डिएसपी भएको बताउने गरेको पीडितले बताएका छन । उनले घरमा आउने मान्छेलाई आफू डिएसपी रहेको बताउने गरेकी थिइन । र निहुँ खोजे समारेर थुनिदिने धम्की दिने गरेकी थिइन ।
तिवारीले मुद्दा जिताइदिन्छु भनेर पैसा लिएका केहीले कागे परे मुद्दा जिते पनि अधिकांश बढीले मुद्दा हारेपछि आफ्नो पैसा फिर्ता माग्ने गरेका थिए । तर पैसा माग्ने मान्छे आएपछि श्रीमतीलाई डिएसपीको बर्दी लगाउन लगाएर तीनलाई धम्काउने काम गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीमा परेको उजुरीका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर २६ मा केही व्यावसायीहरू मिलेर ‘सामूहिक व्यावसायिक बचत तथा ऋण सहकारी संस्था’ खोलेका थिए । ‘ज्योती समूह, सुधिर बस्नेत तथा लालिगुराँस सहकारीको कानुनी सल्लाहकार हुँ’, भन्दै उक्त सहकारीको सम्पर्कमा पुगेका तिवारीले ५ करोड लगानी गरेर ‘सामूहिक व्यावसायिक बचत तथा ऋण सहकारी संस्था’लाई वाणिज्य बैङ्क बनाउने योजना सुनाए ।
सहकारी सञ्चालकहरूले तिवारीको कुरा पत्याए अनि ५ करोड बराबरको सेयर दिन राजी भए । मौखिक रूपमा सहकारीका सञ्चालकहरू सेयर दिन सहमत भएसँगै मनोहरले उक्त सहकारीको कार्यालयमा आफ्नै हालीमुहाली चलाए र सहकारीमा एक रुपैयाँ पनि लगानी नगरी त्यहीबाट एक करोड बढी ठगी गरे ।
उनले डिएसपी बनाएकी श्रीमती तीन नम्बरकी हुन । जो मनोहरको सम्पर्कमा आएर श्रीमान छोड्ने समयसम्म पनि ठगीकै काममा थिइन । एक छोरासहित मनोहरसँग दोस्रो बिहे गरेकी सीताको घरमा समेत एकाधिकार चलाएकी छिमेकीहरुले बताएका छन ।
टोल छरछिमेकमा उनीहरुको दादागिरी चरमचुलीमा पुगेको थियो । दुबै जना प्रहरी हिरासतमा पुगेपछि ठग्नेहरु जस्तोसुकै संरक्षण भए पनि कानुनी कारबाहीको भागिदार बन्ने भन्दै छिमेकीहरु भने खुशी देखिएका छन । यो सामाग्री दैनिकीबाट लिएका हौ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: