Skip to content
LAXMI SUNRISE BANK

नाम चलेकै चार्टड एकाउन्टेन्टको यस्तो धन्दा : कर्पोरेट क्लाइन्टका नाम बेचेर नियम विपरित आफ्नो फर्मको प्रचार !

अर्थ सरोकार

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ- नेपालमा रहेका कतिपय चार्टड एकाउन्टेन्टहरुले आफ्ना क्लाइन्ट र अरुका समेत क्लाइन्टहरुको नाम बेचेर नियम विपरित कमाउधन्दामा लागेको पाइएको छ । नियामक निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले जारी गरेको कोड अफ इथिक्समा आफ्नो फर्मको बिज्ञापन गर्न नपाउने भन्ने स्पष्ट लेखिएपनि चोरबाटोबाट बिज्ञापन गरेर जनताको आँखामा छारो हाल्ने काम भएको रहस्य पत्ता लागेको छ । यसैबीच काठमाडौँमा रहेको सुजन काफ्ले एण्ड एसोसीएट्सले अरुका क्लाइन्टका समेत नाम बेचेर आफ्नो फर्मको प्रचार गरिरहेको फेला परेको छ ।    
सुजन काफ्लेकै फर्मले गर्छ कोड अफ इथिक्सविपरित काम !
आइक्यानले जारी गरेको कोड अफ इथिक्सअनुसार कुनै पनि सिए फर्मले बिज्ञापन गर्न पाउँदैन । अझ वेव साइट बनाउने कम्पनीले गरेजसरी यी-यी हाम्रा क्लाइन्ट हुन् भनेर वेव साइटमा राख्नु त कोड अफ इथिक्सकै धज्जी उडाउने काम हो । तर सुजन काफ्लेले यहि काम गरेका छन् । उनले आफ्नो वेव साइटमा आफ्ना क्लाइन्टहरु यी-यी छन्  भनेर खुलेआम रुपमै राखेका छन् । अझ अचम्मको कुरा त के छ भने उनले अस्तित्वमै नरहेका कम्पनीहरुको नाम र लोगो प्रयोग गरेर आफ्नो क्लाइन्ट भएको दावी गरेका छन् । यतिमात्र होइन उनले हाल आफ्ना क्लाइन्ट नभएका केहि कम्पनीहरुलाई समेत आफ्ना क्लाइन्ट भनेर झुटको खेती गरेका छन् । काफ्लेले आफ्नो साइटमा राखेका कतिपय कम्पनीहरु अहिले उनका क्लाइन्ट नै होइनन् । तर कोड अफ इथिक्स विपरित काम गरेर उनले आइक्यानको नियमको धज्जी उदाएका छन् ।
के भन्छन् सुजन काफ्ले ?
हामीले यस विषयमा सुजन काफ्ले एण्ड एसोसीएट्स् का मेनेजिङ पार्टनर सुजन काफ्लेलाइ सम्पर्क गरेका थियौं । ‘त्यो त अरुले पनि गरेका छन् । हामीले पनि हालेका हौँ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै काफ्लेले भने, ‘कुन कुनमा काम गरियो भन्ने राखेको हो । त्यो प्रोफाइल अन्तर्गत नै पर्छ होला ।’ उनले आफुलाई कोड अफ इथिक्समा यस विषयमा के छ भन्ने कुरा थाहा नभएको स्पष्ट पारे । ‘म आइक्यानमा सोधौंला । नमिल्ने भए हटाइदिउँला नि !’ अर्थ सरोकारसँग काफ्लेले भने, ‘त्यो वेव साइटमा पहिला राखेको हो, अहिले पनि होला । म आइक्यानमा बुझ्छु नि के रहेछ भनेर । तर त्यो बिज्ञापन होइन, प्रोफाइल भनेर राखेको हो ।’   अनि तपाईंले त केहि अस्तित्वमै नरहेका कम्पनीहरु पनि हाम्रा क्लाइन्ट भनेर राख्नुभएको रहेछ, त्यो त गलत भएन र ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘त्यो पहिला थियो, अहिले छैन । तर अहिलेसम्मका क्लाइन्ट भनेर राखेको हो ।’     
‘यो ‘सोलीसीटिङ’ भयो’, क्लाइन्टलाई प्रभाव पार्ने काम गर्नु हुँदैन : आइक्यान अध्यक्ष थापा 
यता आइक्यानका अध्यक्ष प्रकाश जंग थापाले यसरी कुन-कुन कलाईन्टको आफु काम गर्छु भन्ने देखाउनु कुनै न कुनै रुपमा आफ्ना अन्य क्लाइन्टहरुलाई प्रभावमा पार्न काम भएको र त्यस्तो गर्न नहुने बताएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘नेपालमा अर्थ फर्महरुले बिज्ञापन गर्न पाउँदैनन् । बिज्ञापन गर्न नपाएपछि त्यहि इन्टेन्सन राखेर कसैले आफ्ना क्लाइन्टको डिटेल राखेर प्रचार गर्छ भने त्यो गलत हो । अझ नियममा स्पष्ट लेखिएको हुनुपर्छ । म यो हेर्छु र आइक्यानमा यसबारेमा कुरा पनि राख्छु । ‘तर यो काम कोड अफ इथिक्स विपरित भएकोचाहिं हो नि ?’ भन्ने प्रश्नमा उनले भने, ‘एक्ज्याक्टली हो, म पनि यस विषयमा कुरा राख्छु ।’       
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK