Skip to content
LAXMI SUNRISE BANK

‘सेवा प्रवाहमा कमी नहोस्’

अर्थ सरोकार

स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले वीर अस्पतालका चिकित्सक तथा कर्मचारीलाई सेवा प्रवाहमा कुनै कमजोरी हुन नदिन निर्देशन दिएका छन् । अस्पतालको निरीक्षण गर्दै उनले कर्मचारीलाई कार्यालय अवधिभर १० देखि ५ बजेसम्म अनिवार्य रूपमा सेवा दिन पनि निर्देशन दिएका छन् । उनले विपन्न वर्ग र दुर्गम स्थानबाट आएका बिरामीलाई विशेष प्राथमिकतामा राखेर सेवा उपचार गर्नुपर्ने बताए । अस्पतालका निर्देशक प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले विपन्न वर्गलाई सामान्य प्रकारको ल्याब परीक्षणमा पूर्ण छुट तथा सिटी स्क्यान, एमआरआईलगायत सेवामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिँदै आएको बताए ।
मुख्य सडकसँग जोडिएका कारण अस्पतालमा ध्वनि तथा वायु प्रदूषणको समस्या रहेको जनगुनासो रहेको भन्दै स्वास्थ्य राज्यमन्त्री गुरुङले अस्पताल क्षेत्रमा भूमिगत सडक वा अन्य विकल्पबारे सरोकारवाला मन्त्रालय तथा निकायसँग छलफल गरेर अगाडि बढ्ने योजना रहेको बताए । उनले अस्पताल परिसरको सरसफाइमा विशेष ध्यान दिन पनि निर्देशन दिए ।
कर्मचारीहरूले दरबन्दी कम भएका कारण सेवा अपेक्षाकृत प्रभावकारी हुन नसकेको बताएका छन् । अस्पतालका निर्देशक बस्नेतले अस्पतालको प्रगति विवरण पेस गर्दै बिरामीको चाप बढेअनुसार दरबन्दी थप गर्ने व्यवस्था गरिदिन आग्रह गरे । नर्सिङ विभागका प्रमुख गोमा निरौलाले अढाई दशक अगाडिदेखि अहिलेसम्म नर्सिङमा दरबन्दी थप नभएको बताइन् । स्वास्थ्य राज्यमन्त्री गुरुङले अस्पतालपरिसरमा केही अगाडिबाट सञ्चालनमा आएको फार्मेसीको समेत निरीक्षण गरेका थिए ।
वीर अस्पतालको एक सय २७ वर्षको इतिहासमा आइतबार सबैभन्दा धेरै बिरामी आएका थिए । एक हजार सात सय ५१ बिरामी आएको अस्पतालको तथ्यांक छ । अस्पतालमा सामान्यताया दैनिक ६ देखि ११ सय बिरामी आउने गरेको तथ्यांक छ । अस्पतालका निर्देशक बस्नेतले अस्पतालको सेवामा सुधार आएको भन्दै गिर्दो साख पनि फर्कन थालेको बताए । – नयाँ पत्रिकाबाट 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK