
काठमाडौँ – सरकारले युनाइटेट अरब इमिरेट्स (युएई) को राजदूतमा सिफारिस आशा लामाको नाम फिर्ता लिँदै बाँकी विभिन्न देशको राजदूतमा सिफारिस १२ जनाको नाम सुनुवाइका लागि संसदीय समितिमा पठाएको छ ।
फागुन ९ गतेको मन्त्रिपरिषद बैठकले स्पेनमा नयाँ दूतावास खोल्ने निर्णय गर्नुका साथै राजनीतिक भागबन्डामा १४ देशका लागि विभिन्न व्यक्तिको नाम राजदूतमा सिफारिस गरेको थियो ।
मन्त्रिपरिषदको मंगलबारको बैठकल लामाको नाम राजदूत सिफारिस सूचीबाट फिर्ता लिने र स्पेन सरकारबाट दूतावास खोल्ने स्वीकृति प्राप्त नभएसम्म त्यहाँको राजदूतमा सिफारिस गरिएका भरत रायामाझीको नाम संसदीय सुनुवाइ समितिमा नपठाउने निर्णय गरेको हो ।
बैठकले स्पेनमा दूतावास खोल्ने प्रक्रिया तत्काल अघि बढाउन परराष्ट्र मन्त्रालयलाई निर्देश गरेको छ । लामा काँग्रेस कोटाबाट राजदूत सिफारिस भएकी हुन् । म्यान पावर व्यवसायी लामालाई राजदूत बनाएको भन्दै सरकारको आलोचना भएको थियो ।
- नागरिक दैनिकबाट