
काठमाडौँ – साउन महिना छ र जताततै हरियो छ । हरियो रङ्ग नेपाली नारीमा पनि व्याप्त छ । अर्थात् चुरा, साडी र फेसन नै हरियोमय बन्छ साउनमा: नेपालमा, भारतमा, पाकिस्तानमा र जहाँजहाँ हिन्दू धर्मको प्रभाव छ । खासगरी हिन्दू नारीजगत साउनमा हरियो रङ्गसँग र मेहेन्दीसग आध्यात्मिक र भौतिक आनन्द लिइरहेको हुन्छ । अनि अचेल यस्तै हरियो दृश्य र मेहेन्दीको बोलवाला छ शहरमा, गाउँमा र हिन्दू नारीहरूमा ।
यो धार्मिक मान्यता, महत्त्व र परम्पराको निरन्तरता जेसुकै भए पनि यसप्रति हाम्रो कुनै टिप्पणी छैन र सबैले यी रङ्गहरूसँग, मान्यता र महत्त्वसँग कायम राखेका विश्वासकाप्रति पनि केही भन्नु छैन। भन्नु यो छ, साउन महिना लाग्नासाथ, अझ साउनका सोमबारहरूमा नेपाली चेलीहरूले तिनको मान्यताबमोजिम जसरी अन्धाधुन्द मेहेन्दी लगाइरहेका छन्, त्यो चाही स्वास्थ्यका लागि हानिकारक छ ।
हाम्रो अनुसन्धान समूहले केही दिन खटेर पत्ता लगाएको तथ्य अनुसार नेपाली बजारमा मापदण्डविहीन खरिद बिक्री भइरहेको मेहेन्दी निकै हानिकारक छ र यसबारे धेरै नेपालीहरू जानकारी राख्दैनन् ।
के तपाईंलाई थाहा छ मेहेन्दी हानिकारक हुन्छ?
हिन्दू धर्मपरम्पराअनुसार नेपालमा, यो साउन महिनामा नेपाली चेलीहरू हातभरि मेहेन्दीले रङ्गिन हुने रहर गर्छन् र मेहेन्दी लगाइरहेका छन्। अझ साउने सोमबारको सुरुवातसँगै नेपाली चेलीहरू दुवै हातमा हरियो चुरा, रातो साडी र हातगोडा तथा शरीरको विभिन्न भागमा मेहेन्दी लगाएर सजिन गर्छन् ।
तर, के नेपाली चेलीहरूले लगाइरहेका मेहेन्दी मानवस्वास्थ्यका लागि लाभप्रद छ त ? के चेलीहरूले यसबारे सोचेका छन् ? यो प्रश्नका साथ यसको सत्य बुझ्नका लागि हामी बजारमा निस्किएका थियौं । हामी विभिन्न मेहेन्दी लगाउने काठमाडौंका विभिन्न ठाउँहरू, ब्यूटी पार्लरहरूमा पुगेको थियौं। साथै साउनको पहिलो सोमबार पशुपतिनाथ क्षेत्रमा पुगेर त्यहाँ देखिएको मेहेन्दी माहौल पनि क्यामेरमा कैद गरेका छौं ।
तथ्यमा खास जे छ, त्यसबारे नेपालका कतिपय चेलीहरू जानकार पनि छन्, जस्तो तिनैले भनेका छन् यसबाट क्यान्सर समेत लाग्न सक्छ । मेहेन्दीबारे बुझ्नका लागि हामी एक जना वरिष्ठ मेहेन्दी डिजाइनर कुलदीपकुमारलाई भेट्न मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टर चारखाल गएका थियौं । उनका अनुसार नेपाली बजारमा छ्याप्छ्याप्ती पाइने यस्ता मेहेन्दी लगाउँदा मानिसको स्वास्थ्यमा गम्भिर असर पर्छ ।
कतिपय ठाउँमा मेहेन्दीलाई डार्क बनाउनका लागि विभिन्न केमिकल, पेट्रोल, एसीड लगायतका वस्तु राखिन्छ जुन मानिसको स्वास्थ्यको लागि घातक हो । उनका अनुसार यस्ता मेहेन्दीको प्रयोगले छाला पोल्ने तथा क्यान्सरसम्मको रोग लाग्ने खतरा हुन्छ। उनी नेपाली बजारमा पाइने ब्ल्याक, ब्राउन, गोल्डन, सिल्भर तथा विभिन्न रङ्गीन मेहेन्दी नलगाउनका लागि सबैसँग आग्रह गर्छन् ।
यसरी सस्तो मूल्यमा पाइयो भन्दै जस्तोसुकै मेहेन्दी लगाउँदा मानिसको स्वास्थ्यमा गम्भीर असर परिररहेको छ। त्यसैले मेहेन्दी लगाउदा प्राकृतिक मेहेन्दी प्रयोग गर्न उनको सुझाव छ।
हो हानिकार छ मेहेन्दी
यस क्रममा वीर अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर अनुपमा कार्कीलाई भेटेका थियौं । विशेषज्ञ डाक्टर कार्कीलाई बजारमा पाइने मेहेन्दीमा केकस्ता केमिकलको प्रयोग भएको हुन्छ भनेर सोधेका थियौं । यस्ता केमिकलको प्रयोग गर्दा मेहेन्दीले तुरुन्तै रङ्ग दिने तर मानिसको शरिरमा गम्भिर असर गर्ने जानकारी दिंदै उनले भनिन् एलर्जी, जीउ सुन्निने, चिलाउने, सानो–सानो फोका आउने र पछि गएर क्यान्सर हुन सक्ने खतरा रहन्छ ।
डाक्टर कार्कीलाई हामीले मेहेन्दीमा सोडियम पिक्रामिडको प्रयोग गर्दा के हुन्छ भनेर सोधेका थियौं। उनले यो मानिसले यसरी प्रयोग गर्नै नहुने तत्व हो, यसले ठूलो असर पार्छ भनिन् । साथै उनले मेहेन्दीको हरेक प्याकेटमा उत्पादन गर्ने कम्पनीले त्यसमा प्रयोग गर्ने केमिकलको बारेमा उल्लेख गर्नुपर्नेमा नगरेको भनिन्। यसकारण प्राकृतिक मेहेन्दी नै प्रयोग गर्न उनको सुझाव छ ।
अचम्मको विषय त के छ भने, नेपालमा मेहेन्दी व्यापारका लागि न कुनै मापदण्ड छ, न कुनै अनुगमन नै। जसले, जहाँबाट जस्तोसुकै मेहेन्दी ल्याएर बेचे पनि कसैले केही गर्दैन। आनन्द छ र छुट छ। यस्तो विधिहिनताको पीडामा नेपाली नारीहरू हरेक साउनसगै शरीरमा घातक रोग सङ्क्रमणको पीडित भइरहेका छन्। यसमा हाम्रो पहिलो अनुरोध मेहेन्दी प्रयोगकर्ता स्वयम्म् सचेत हुनुहोस् ।
यतिबेला मेहेन्दीको प्याकेटमा विषको व्यापार भइरहेको छ । यसकारण आमउपभोक्ता सचेत हुनुपर्छ। सोडियम पिक्रामिड जस्तो हानीकारक तत्त्वको प्रयोग पनि मेहेन्दीमा भइरहेको पत्ता लागेको छ। बजारमा पाइने सस्तो तथा कम गुणस्तरको मेहेन्दी लगाउदा ज्यानै जोखिममा पर्ने अवस्था छ ।
मेहेन्दी लगाउँदा आफैले बनाएको वा प्राकृतिक मेहेन्दीको प्रयोग गर्दा स्वास्थ्यका लागि राम्रो हुने उनले बताएका छन्। अन्यथा, धार्मिक मान्यता, परम्परा, सुन्दरता वा जेसुकैका लागि बजारमा पाइने हानिकारक मेहेन्दी ब्ल्याक, ब्राउन, गोल्डन, सिल्भर तथा विभिन्न कलरफुल मेहेन्दी लगाउनु भयो भने यसले तपाईंलाई गम्भीर असर गर्न सक्नेबारे हामीले सचेत गराएका हौं। तपाईको स्वास्थ्य, तपार्इंकै सतर्कतामा निर्भर छ ।
हो, पहिलो सतर्कता प्रयोगकर्ता स्वयम्ले अपनाउनुपर्छ। अन्यथा विधिहिनतामा जस्तोसुकै ब्यापारले छुट पाइरहेको नेपाली बजारमा आएको मेहेन्दीले ज्यानकै खतराको सङ्केत गर्दछ। यसका लागि प्राकृतिक मेहेन्दीको प्रयोग एक विकल्प हुनसक्छ। तर, सरकारको अनुगमनकारी निकायले बजारमा मेहेन्दीका नाममा भइरहेको यतिसम्मको घातक व्यापारलाई चाहि नियन्त्रण गर्नैपर्छ। ताकि व्यापारका नाममा यो देशमा जोसुकैले जेसुकै गर्न नपाओस् ।
- प्रस्तुती : थाइ नेपाल
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्