
कोटेश्वरनिवासी सुमन पोखरेलले नेपाल बंगलादेश बैंकको नयाँबानेश्वरस्थित कार्यालयको एटीएमबाट पैसा निकाल्न खोजे । पहिलोपटक एटीएम मेसिनमा एटीएमकार्ड हाल्दा पैसा आएन । उनले दोस्रोपटक एटीएम मेसिनमा कार्ड हाले र पैसा निकाले । दुई हजार निकालेका उनले दुई हजार नै पाए तर उनको खाताबाट चार हजार काटियो । पहिलोपटक रकम ननिस्किएपछि आफ्नो ‘बैंक ब्यालेन्स’ हेर्दा अघिल्लोपटक पैसा नआउँदा पनि पैसा काटिएको थाहा पाएपछि उनले तुरुन्त बैंकमा सम्पर्क गरे । बैंकमा एउटा निवेदन लेख्न लगाइयो । एक साता बित्दा पनि उनको खातामा रकम भने जम्मा भएको छैन । उनीमात्र होइन, काठमाडौँमा एटीएमपीडितको संख्या बढ्दो छ ।
रातोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘खातामा जम्मा ६ हजार रुपैयाँ थियो । परीक्षा फाराम भर्न दुई हजार चाहिएकाले रकम निकाल्न खोजेको थिएँ तर चार हजार काटिएछ । विनाकारण काटिएको दुई हजार कहिले पाउने हो थाहा छैन । बैंकका कर्मचारीले छिट्टै आउँछ, सम्पर्क गर्छौं भन्नुभएको छ । तर, अत्यावश्यक परेका बेला प्रयोग हुने एटीएममा यस्तो झमेला हुने भएपछि एटीएम कार्ड बोक्नुको के अर्थ भयो र ?’
नेपाल बंगलादेश बैंकमात्रै होइन, केही समयअघि एभरेष्ट बैंकको एटीएममा पनि त्यस्तै समस्या देखियो । सर्लाही घर भएका ऋषिराम अधिकारीले एटीएमबाट पैसा झिक्न खोजे । आफ्नो खातामा भएको सबै झिक्न खोजेका उनले एटीएम कार्ड त प्रयोग गरे तर पैसा आएन । अर्कोपटक प्रयास गर्दा खातामा पैसानै नभएको जानकारी आयो । बैंकमा सम्पर्क गर्दा पैसा फिर्ता हुने तर त्यसका लागि ४५ दिन कुर्नुपर्ने जानकारी आयो । ‘पैसा त्यही दिन चाहिएको थियो । एटीएम मेसिनमा आएको समस्याका कारण त्यो दिनको काम टरेन । आपत परेका बेला प्रयोग हुने एटीएममै समस्या भएपछि यसको प्रयोगको के अर्थ भयो र ?,’ उनले भने ।
किन हुन्छ यस्तो समस्या ?
एटीएम मेसिनबाट पैसा ननिस्किने तर खाताबाट पैसा काटिने विषयमा रातोपाटीले सोधेको प्रश्नको उत्तर दिँदै बैंकका कर्मचारीले प्राविधिक समस्याका कारण एटीएम मेसिनमा समस्या आउने बताए । ‘यस्तो समस्या कहिलेकाहीँ आउँछ । सेवाग्राहीको उजुरी पर्नेबित्तिकै हामी पैसा फिर्ता गर्ने प्रक्रियामा अगाडि बढ्छ ।’ नेपाल बंगलादेश बैंकका एक कर्मचारीले रातोपाटीलाई भने, ‘एटीएम मेसिनमा कहिलेकाहीं यस्ता समस्या आउँछन् । यस्ता समस्या शून्य बनाउने प्रयास गरिरहेका छौँ । तर, केही सेवाग्राहीले यस्तो समस्या लिएर आउनुहुन्छ ।’ पैसा फिर्ता गर्न किन ४५ दिन लाग्यो त ? भन्ने प्रश्नको उत्तर दिँदै एभरेष्ट बैंकका एक कर्मचारी भन्छन्, ‘पैसा फिर्ताका लागि निश्चित प्रक्रिया छ । अवस्था हेरेर ढिलो चाँडो हुन्छ नै ।’
थाहै नपाई पैसा गुमाउने पनि छन्
आफ्नो खाताबाट रकम काटिएको तर आफूले नपाएको थाहा पाएर बैंकमा उजुरी गर्नेले त ढिलै भए पनि रकम फिर्ता पाउने गरेको बैंकका कर्मचारी बताउँछन् । आफ्नो खाताबाट पैसा काटिएको तर आफूले नपाएको थाहै नपाउने पनि धेरै छन् । विभिन्न बैंकका कर्मचारीसमेत यो कुरा स्वीकार्छन् । ‘त्यसो भएको हुन सक्छ । ग्राहकको उजुरी परेको खण्डमा हामी पैसा फिर्ता प्रक्रिया अगाडि बढाउँछौँ । तर, आफ्नो खाताबाट रकम काटिएको थाहै नपाएकाहरू पनि हुन्छन् । ग्राहक यस विषयमा सजग बन्न जरुरी छ ।’ ‘यसरी एटीएममा पैसा काटिएको तर ग्राहकका उजुरी नपरेको कुनै तथ्यांक बैंकसँग छैन । थाहा पाउनेले पायो, नपाउने ठगियो,’ नयाँबानेश्वरनिवासी सुमन तिवारीले भने ।
अर्को बैंकको एटीएम प्रयोग गर्दा झन् समस्या
एटीएम कार्ड प्रयोग गर्दा पैसा नआए पनि पैसा काटिएको खण्डमा बैंकमा सम्पर्क गर्दा उक्त रकम फिर्ता हुने प्रक्रिया सजिलै बढ्छ । तर, अर्को बैंकको एटीएम मेसिन प्रयोग गर्दा यो प्रक्रिया केही लम्बिने गरेको छ । ‘अर्को बैंकको एटीएमबाट पैसा झिक्दा यस्तो समस्या आयो भने प्रक्रिया केही लामो हुन्छ तर पैसाचाहिँ फिर्ता हुन्छ नै,’ एनबी बैंकका कर्मचारीले भने । उनी अगाडि भन्छन्, ‘एटीएममा केही समस्या देखिएकोजस्तो लाग्यो भने आफ्नो खातामा रहेको रकम हेर्नुपर्छ । तर, अन्य बैंकको एटीएम प्रयोग गरिएको खण्डमा रकम हेर्न पनि पैसा लाग्ने हुनाले सकेसम्म यो समस्याबाट बच्न अर्को बैंकको एटीएम प्रयोग गर्नुभन्दा सम्भव भएसम्म आफ्नै खाता भएको बैंकको एटीएम मेसिन प्रयोग गर्नुपर्छ ।
लाखौँ रुपैयाँ फ्रिज, ग्राहकलाई पत्तो छैन, बैंकले जानकारी दिँदैन
यसरी एटीएम कार्ड प्रयोग गर्ने ग्राहकले मेसिनमा समस्या आउँदा पैसा ननिस्किएको तर आफ्नो खाताबाट काटिएको थाहा नपाउँदा विभिन्न बैंकमा लाखौँ रुपैयाँ फ्रिज हुने गरेको छ । ठूलो रकम थाहा हुने भए पनि सानो रकम एटीएमबाट झिक्दा थाहा नहुने हुनाले पनि यस्तो समस्या हुने गरेको बैंकका कर्मचारीहरू स्वीकार्छन् । तर, यस्तो रकम लाखौँ रुपैयाँ फ्रिज भएको थाहा पाउँदा पनि बैंकले आफ्ना सेवाग्राहीलाई यस विषयमा जानकारी दिने गरेको छैन । ‘बैंकले जानकारी नै दिँदैन । मैले तीन महिनापछि स्टेटमेन्ट हेर्दा मात्र मेरो रकम काटिएको रहेछ,’ मीनभवन काठमाडौँ बस्ने सुजित श्रेष्ठले भने ।
ढिलो थाहा पाए झन् झमेला
यसरी एटीएम मेसिनबाट आफूले रकम झिक्न खोज्दा नआएको तर खाताबाट रकम काटिएको ढिलोगरी थाहा पाउनेले बैंकमा उजुरी गर्दा पनि झमेला हुने गरेको छ । ढिलोगरी थाहा पाएका ग्राहकले उजुरी गर्दा कुन मिति र समयमा रकम झिकिएको भन्ने जानकारी पनि दिनुपर्ने र उक्त जानकारी सबैलाई थाहा नहुने हुनाले झन् झमेला हुने गरेको छ । ‘एटीएम थुप्रैपटक प्रयोग गरिन्छ । कुन मिति वा कुन समयमा रकम आएन भन्ने खासै हेक्का हुँदैन । यसले गर्दा उजुरी गर्दा पनि झमेला हुने रहेछ,’ काठमाडौँ थापाथलीनिवासी विष्णु पोख्रेलले रातोपाटीसँग भने । यता, बैंकका कर्मचारीको भने यस विषयमा आफ्नै तर्क छ । उजुरीमा पनि सबै जानकारी त हुनुपर्यो नै । त्यसैले प्रक्रिया केही झन्झटिलो भएको पक्कै हो । तर, ग्राहकको रकम भने खेर जाँदैन,’ नेपाल बंगलादेश बैंकका कर्मचारीले भने ।
- अर्थ सरोकार डटकमका प्रबन्ध निर्देशक सुरज प्याकुरेलले केहि समय अघि रातोपाटीमा लेखेको न्यूजस्टोरी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्