Skip to content
LAXMI SUNRISE BANK

होचा खगेन्द्र चार वर्षदेखि एलकेजीमै, बिहेको धोको पनि अधुरै

अर्थ सरोकार

विश्वकै होचा व्यक्तिका रुपमा कीर्तिमानी राखेका चन्द्रबहादुर डाँगीको निधनले यही विधाका पूर्व कीर्तिमानधारी खगेन्द्र थापामगर ‘स्तब्ध’ बनेका छन् । चन्द्रबहादुरको निधनपछि होचाहरुको सुचीमा दोस्रो स्थानमा उक्ले पनि उनलाई कुनै खुशी छैन ।

गिनिजबुकमा नाम लेखाएपछि सेलिब्रिटीझैं बनेका खगेन्द्र आफ्नो कीर्तिमान खोसिएपछि एकाएक ओझेल परे । हाल उनी पोखरामा गुमनाम जीवन बाँचिरहेका छन् । यद्यपि फाट्टफुट्ट मेला र महोत्सवहरुमा उनको ‘डिमान्ड’ अझै छ ।

खगेन्द्रले आफ्नो नाममा खुलेको प्रतिष्ठानमार्फत औपचारिकरुपमै डाँगीको निधनमा दुःख व्यक्त गरेका छन् । खगेन्द्रको भनाइ उद्वत गर्दै प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले भने, ‘मैले गुमाएको कीर्तिमान उहाँले नेपालमै फर्काउँदा खुशी लागेको थियो । उहाँको निधनबाट स्तब्ध बनेको छु ।’

यसअघि विश्वकै होचा व्यक्तिको ताज फिलिपिन्सका नागरिकले खोसेका थिए भने त्यसलाई फेरि चन्द्रबहादुरले नेपालमै फर्काएका थिए ।

चारवर्षदेखि एलकेजीमै

खगेन्द्र पोखरा शिवालय चोकमा रहेको सरस्वती बोर्डिङ स्कुलमा अध्ययन गर्छन् । उनी ४ वर्षदेखि एलकेजीको एलकेजीमै रोकिएका छन् ।

स्वदेशमा हुने मेला महोत्सव तथा विदेशमा हुने विविध कार्यक्रममा सहभागी हुन जाँदा पढाइमा उनले प्रगति गर्न नसकेको प्रतिष्ठानका अध्यक्ष रानाले बताए ।

    मेला महोत्सवमा राम्री केटी देख्नेबित्तिकै उनी बिहे गर्ने चाहना राखिहाल्छन् । केही वर्षअघि नायिका रेखा थापासँगको भेटपछि उनले बिहेको प्रस्ताव गरेका थिए

भ्रमण नभएका बेला भने उनी दैनिक स्कुल जान्छन् । स्कुलले उनलाई निःशुल्क पढाइरहेको छ ।

वागलुङ्ग धुल्लु बासकोट घर भएका उनी आफ्ना बुबा रुपबहादुर र आमा धनकुमारीका साथ हाल पोखरा सिर्जनाचोकमा भाडामा बस्दै आएका छन् ।

उमेरले २३ औं वसन्तमा हिँडिरहेका उनको उचाइ ६७.०८ सेन्टिमिटर छ भने र तौल ६ केजी मात्र छ ।

बिहे गर्ने रहर ज्यूँका त्यूँ

रमाइलो स्वाभावका खगेन्द्रको बिहे गर्ने रहर अहिले पनि ज्यूँका त्यूँ छ । मेला महोत्सवमा राम्री केटी देख्नेबित्तिकै उनी बिहे गर्ने चाहना राखिहाल्छन् । केही वर्षअघि नायिका रेखा थापासँगको भेटपछि उनले बिहेको प्रस्ताव गरेका थिए । उनले रेखालाई गालामा चुम्बनसमेत गर्न भ्याइसकेका छन् ।

चट्पटे बेच्छन् बुबा

Khagendraखगेन्द्रका बुबा रुपबहादुर चना चटपटे बेच्छन् । यही कमाइबाट खगेन्द्रको गुजारा चल्ने गरेको छ । खगेन्द्रलाई घरमा भेट्न हाल कमै मानिसहरु मात्र जान्छन् ।

मेला महोत्सवको सिजनमा उनको कमाई राम्रै भए पनि अन्य समयमा कमाइ नहुने भएकाले बुबाको कमाइबाटै गुजारा चल्ने गरेको प्रतिष्ठानका अध्यक्ष रानाले जानकारी दिए ।

खगेन्द्रका बुबा रुपबहादुरले निवास नजिक सिर्जनाचोकमै सटर लिएर चना चटपट बेच्ने गर्छन् । उनले दैनिक ५ सय देखि १ हजारसम्म नाफा कमाउने गरेको बताए । खगेन्द्रको खानपिन आम मानिसको जस्तै सामान्य छ ।

उपचार पनि निशुल्क

खगेन्द्रको पोखरास्थित फेवासिटी हस्पिटलका चिकित्सक हुमप्रसादले नियमित चेकअप गर्ने गरेका छन् । उनलाई खासै शारीरिक समस्या छैन । तैपनि ३/३ महिनामा न्यौपानेले चेकअप गर्ने गरेका छन् । केही समस्या देखिएमा औषधीका लागि चाहिने खर्च प्रतिष्ठानले बेहोर्ने गरेको छ ।

४० देश भ्रमण गरिसके

खगेन्द्रले अहिलेसम्म हङकङ, मलेसिया, सिंगापुर, जापान लगायत ४० भन्दा बढि देशको भ्रमण गरिसकेका छन् । अघिल्लो महिना मात्र उनी जापान भ्रमणमा गएका थिए भने दशैं लगत्तै थाइल्याण्डको भ्रमण गर्ने प्रतिष्ठानका अध्यक्ष रानाले जानकारी दिए ।

तर, यतिधेरै देशको भ्रमण र स्वदेशमै मेला-महोत्सवमा सहभागि भएपनि खगेन्द्रको पारिवारिक तथा आर्थिक अवस्थामा भने सुधार आएको छैन । स्वदेशमा हुने मेला महोत्सवमा १० हजारदेखि २५ हजारसम्म दिने गरेको अध्यक्ष रानाले बताए । विदेश भ्रमणमा भने खर्च मात्रै बेहोर्ने गरेको र पारिश्रमिक नआउने उनको भनाई छ ।
– See more at: http://www.onlinekhabar.com/2015/09/323717/#sthash.2aB9bFAQ.WPeDSsXt.dpuf

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK