×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणगढ-बुटवल सडक बिस्तार, दुई वर्षमा १० प्रतिशतभन्दा कम काम

PRIME CA

नारायणगढ-बुटवल सडक बिस्तार, दुई वर्षमा १० प्रतिशतभन्दा कम काम

अर्थ सरोकार

२१ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: < ३ मिनेट

नारायणगढ । निर्माण सुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ-बुटवल सडक बिस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन । पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्ने गरी सरकारले बिस्तार सुरुवात गरे पनि पहिले निर्माणस्थलमा रहेका संरचना हटाउन नसकेर र अहिले कोभिडका कारणले ढिला भइरहेको छ । यही असारको १ गतेदेखि नियमित भइरहेको वर्षाका कारण निर्माण सुस्त भएको नारायणगढ-बुटवल सडक योजनाले जनाएको छ ।
सडकमा कहिले डाइभर्सनलगायतका सडकका संरचना बगाउने, कहिले पहिरोले सडक अवरुद्ध भएकाले त्यसैलाई खुलाउन योजना केन्द्रीत भएको प्रमुख रमेशकुमार दृष्टिले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले कतिपय कामदारको गाउँमा रोपाइँ भएकाले होला फर्किएका छैनन् ।” सामान्य अवस्थामा झण्डै चारदेखि पाँच सयसम्म कामदार हुने गरेकामा अहिले आयोजनामा झण्डै ५०/६० जना मात्रै कामदार कार्यरत छन् । कोभिडको त्रासका कारणले फर्किएका कामदार अझै निर्माणस्थल नफर्किएको उहाँले बताउनुभयो ।
गत वैशाख महीनामा देशभरमा सङ्क्रमितको सङ्ख्या बढेसँगै धेरै कामदार घर फर्किएका थिए । कामदारले डरले गर्दा वा परिवारका सदस्यलाई कोभिड हुँदा घर फर्किएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वैशाखमा फर्किएका अझै फर्किएका छैनन् ।’ अहिले दैनिक वर्षात भइरहेकाले निर्माणको काम गर्न नसकिएको प्रमुख दृष्टिले बताउनुभयो । निर्माणका लागि असार/साउन उपयुक्त समय नभएकाले आपत्कालीन मर्मतबाहेक अरु काम कम हुन्छ ।
मौसमले साथ दिए र सङ्क्रमण घटेमा भदौबाट मात्र काम गर्न सकिने उहाँले बताउनुभयो । विस्तारको काम तालिकाभन्दा धेरै पछाडि रहेको आयोजनाले जनाएको छ । ठेक्का अवधि झण्डै ६० प्रतिशत सकिँदा निर्माणको काम झण्डै छ/सात प्रतिशत मात्रै सकिएको हो । निर्माणस्थलमा पहिले रुख कटान र खम्बा सार्न लामो समय लागेको प्रमुख दृष्टिले बताउनुभयो । कोभिडले गर्दा गत वर्ष र चालू वर्ष गरी दुई वर्ष अवरोध भएको छ । अझै पनि बिजुलीको खम्बा हटाउन सकिएको छैन । उहाँले भन्नुभयो, ‘पोल हटाउननका लागि सम्झौता भइसकेकाले त्यो सकिएपछि कामले गति लिनेछ ।’
सामान्यतया निर्माणस्थल खाली नहुँदै ठेक्का सम्झौता भएको ठेक्कामा शुरुका वर्षमा प्रगति कम नै हुन्छ । शुरुवाती समयलाई तयारीको समयका रुपमा लिने गरिन्छ । पछिल्लो वर्षमा द्रुत प्रगति हुने अपेक्षा गरिएको प्रमुख दृष्टिले बताउनुभयो । निर्माण अघि बढाउन उपकरण र सामग्रीको पनि आवश्यकता पर्छ । निर्माणको काम गरिरहेको चिनियाँ कम्पनीसँग अहिले उपकरण कमी छैन । उहाँले भन्नुभयो, ‘अझै पनि कोभिडको त्रास नहटेकाले र कामदार कति आउँछन् त्यसमा निर्भर हुन्छ ।’
ठेक्का सम्झौताका आधारमा झण्डै एक वर्ष अवधि बाँकी रहेको छ । अझै पनि समयमा सकाउनेमा शङ्का रहेको प्रमुख दृष्टिले बताउनुभयो । गत वर्ष छ महीना अवधि थप भएको थियो भने चालू आवमा पनि अवधि थपिन सक्ने देखिएको छ । उहाँले भन्नुभयो, ‘थपिएको समयमा निर्माण सकिएमा पनि उपलब्धि मान्न सकिन्छ ।’ गत आवमा सरकारले जारी गरेको बन्दाबन्दीका कारण निर्माणमा बाधा पुगेको थियो । चालू आवमा भने प्रशासनले समन्वय गरेकाले आवश्यकमात्रामा आवतजावत गर्न समस्या नभएको उहाँले बताउनुभयो ।
चालू आवमा कामदार आफैँ मानसिकरुपमा डराएका कारणले काममा लगाउन नसकिएको उहाँले बताउनुभयो । निर्माण व्यवसायीले चाहेर पनि काम लगाउन सकेका छैनन् । अहिले निर्माणस्थलमा हटाउनुपर्ने धेरै कुरा हटिसकेको प्रमुख दृष्टिले बताउनुभयो । बन क्षेत्रमा रुख हटाउने काम ९० प्रतिशत प्रगति भइसकेको छ । तत्कालका लागि रुखका कारण निर्माण नै रोकिने अवस्था नभएको आयोजनाले जनाएको छ । अहिले कतिपय स्थानमा विद्युत्को लाइन हटाउन बाँकी छ । उहाँले भन्नुभयो, ‘त्यसका लागि सम्झौता भइसकेकाले चाँडो अघि बढाउन सकिनेछ ।’
अहिले काम गर्नका लागि आवश्यकपर्ने जनशक्ति पर्याप्त हुँदा बाँकी समयमा धेरै प्रगति हुनसक्ने देखिएको आयोजनाले जनाएको छ । सडकको अधिकार क्षेत्र (राइट अफ वो) को समस्या कम भइरहेको छ । खानेपानीको केही पाइप मात्र हटाउन बाँकी रहेको प्रमुख दृष्टिले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो हटाउन कुरा भइरहेको छ । गत आवमा व्यवसायी र कामदारबीच समस्या आउँदा पनि निर्माणमा ढिलाइ भएको थियो । गत वर्ष कम्पनीले कामदारलाई भुक्तानी नदिँदा पनि समस्या भएको थियो । अहिले भने त्यो समस्या हटिसकेको छ ।
विसं २०७५ चैतमा सो सडकको बिस्तार सुरु भएको थियो । दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्सट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनलाई दिइएको छ । चार लेनमा बिस्तार हुने भनिए पनि राजमार्ग शहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा बिस्तार हुनेछ । सडक विभागले गत वर्ष नै मुग्लिन-नारायणगढ सडक बिस्तार गरिसकेको छ भने नागढुङ्गा-मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: