×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत लागि सडक निर्माण प्रक्रिया सुरु, लागत झण्डै ३८ करोड १० लाख

PRIME CA

१०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत लागि सडक निर्माण प्रक्रिया सुरु, लागत झण्डै ३८ करोड १० लाख

१३ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < ३ मिनेट

जाजरकोट । जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम शुरु गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरी पहल थालिएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिनुभयो ।
झण्डै रु ३८ करोड १० लाखको लागत अनुमानअनुसार काम शुरु गर्न लागिएको प्रदेशसभा सदस्य शाहीले बताउनुभयो । त्रिवेणी, नर्कु सर्मी हुँदै जुम्ला जोड्ने मुख्य सडकका रूपमा रहेको यो सडकको निर्माण कार्यको शुरुआतसँगै नयाँ ढोका खुलेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । तल्लो डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिकासँगै छिमेकी जिल्ला जुम्लासँग सडक जोड्ने मद्दत पुग्ने शाहीको भनाइ छ । अघिल्लो वर्ष बोलपत्र आह्वान गरेर रद्द भएपछि दुःखी भएका यहाँका स्थानीयवासी फेरि कामको प्रक्रिया शुरु भएसँगै खुशी भएका छन् । यो सडक खण्डमा अब बाँकी ११ किलोमिटर काम तत्काल शुरु गर्न लागिएको हो ।
त्यस्तै यही सडकखण्डको जाजरकोट, रुकुम पश्चिम आठबीसकोट नगरपालिका र डोल्पाको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा पुल निर्माणका लागि बोलपत्र भएर काम शुरु गर्न लागिएको छ । जगदुल्ला जलविद्युत् कम्पनीले सो ठेक्का खोलेको थियो । त्यस्तै काइगाउँ, जगदुल्ला गाउँपालिका–४ को बालुवाकुना र जगदुल्ला गाउँपालिका–२ जोड्ने पक्की पुलको निर्माणका लागि डिपिआर (विस्तृत आयोजना प्रतिवेदन)को काम शुरु भई निकट भविष्यमा पुल निर्माणको काम शुरु गरिने छ । डोल्पाको दुनैसम्म सडक निर्माण भएर यातायातका साधन सञ्चालनमा आए पनि तल्लो डोल्पाकै दुई स्थानीय तहभित्र सडक निर्माण नहुँदा यातायातका साधन सञ्चालन हुन सकेको थिएन । जगदुल्लाको काइगाउँमा बाँध र मुड्केचुलाको इलमा विद्युत् उत्पादन गृह निर्माण हुन लागेको र अर्को नयाँ जलविद्युत् आयोजनाका लागि प्रक्रिया शुरु भएसँगै सडक निर्माण तत्काल गर्न दबाब परेको हो ।
आयोजनाको निर्माण लागत घट्यो
आयोजनाको डिपिआरको काम सम्पन्न भएको छ । डिपिआर सकिएलगत्तै आयोजना निर्माणको कूल लागत रु १९ अर्ब ९० करोडको लाग्ने अनुमान गरिएको छ । रु २२ अर्बबाट लागत रकम घटेर रु १९ अर्बमा झरेको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिनुभयो । इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गाको प्रतिरोपनी पाँच लाख ५० हजार र काइगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रतिरोपनी पाँच लाख १५ हजारका दरले मुआब्जा वितरण कार्य पूरा भएको छ ।
कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ । पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण भएको छ । अर्धजलाशयका रूपमा थालिएको आयोजना छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।
करिब सात दशमलव एक किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर उचाइ र १०० मिटर चौडाइको जलाशययुक्त बाँध निर्माण हुनेछ । छ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ । विस्तृत परियोजनाको जिम्मा एनइए इञ्जिनीयरिङले रु २७ करोडमा लिएको उहाँको भनाइ छ । आयोजना निर्माणका लागि १० प्रतिशत शेयर स्थानीयवासीले हाल्न पाउनेछन् । सरकार आफैँ र स्थानीयवासीलाई शेयर दिएर यो आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।
अहिले विद्युत् उत्पादन गृहको माटो जाँचका लागि ३०० मिटरभित्र सुरुङ निर्माण गर्नुपर्ने छ । त्यस्तै इलमा समेत पुल निर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारले त्रिवेणीदेखि इलसम्मको सडक ट्र्याक छिटो खोलेमा आयोजनाको कामसमेत छिटो हुने आयोजनाको भनाइ छ । आयोजना निर्माणका लागि आवश्यक विद्युत्का लागि इलस्थित फेदीखोलाबाट दुई मेगावाट र काइगाउँस्थित स्थानीय खोलाबाट दुई मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यताको काम शुरु भएको छ । आयोजना निर्माणस्थल बाँधस्थलमा घर नभएका कारण आयोजना निर्माणका लागि समस्या नभएको प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
त्यस्तै रु तीन करोडको जगदुल्लाबाट मुड्केचुलाको सर्मीसम्म सडकको काम शुरु भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण तोकिएको मितिमा सम्पन्न हुन मुस्किल परेको छ । काइगाउँबाट मुड्केचलासम्म जोड्ने सडकको काम रु पाँच करोडमा शुरु गरिएको प्रदेशसभा सदस्य शाहीले जानकारी दिनुभयो ।
त्रिवेणी, मनमङ र नीलदहमा पक्की पुल जगदुल्ला जलविद्युत् आयोजनाले बनाउने छ । आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न २०७७ पुसमा सार्वजनिक सूचना प्रकाशित गरी प्रभावित क्षेत्रको विवरण दिन आग्रह गरिएको थियो ।

अर्को ८२ मेगावाटको आयोजना
एक सय छ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको जगदुल्ला जलविद्युत् आयोजनाले ८२ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना पनि निर्माणको तयारी गरेको छ । आयोजनाको डिपिआर सार्वजनिक गरेर सरोकारवालाको राय सङ्कलन पनि गरिसकिएको आयोजना प्रमुख सापकोटाले बताउनुभयो ।
क्यासकेड आयोजनाको रूपमा जगदुल्ला ए निर्माण गर्दा अर्धजालाशयको लागत पनि घट्ने र दुवै आयोजनालाई आकर्षक आयोजना बनाउन सकिने बताइएको छ । विद्युत् उत्पादन कम्पनीअन्तर्गत बनेको जगदुल्ला जलविद्युत् कम्पनीमा अतिविपन्न परिवारलाई दुई प्रतिशत शेयर सुरक्षित गरिएको छ । आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत शेयर दिने बताइएको छ ।
विद्युत् उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत शेयर रहेको छ । त्यसैगरी नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चयकोष र दूरसञ्चार कम्पनीको १०/१० प्रतिशत शेयर छ । अर्थ मन्त्रालय, कानून मन्त्रालय र नागरिक लगानी कोषको पाँच/पाँच प्रतिशत, जलविद्युत् लगानी तथा विकास कम्पनीको चार प्रतिशत र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत प्रवद्र्धक शेयर रहेको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: