
म
मधेसमा जन्मेको, हुर्केको एक मधेसी राष्ट्रभक्त नेपाली हुँ । म जन्मदेखि
तराईमा बसेको र तराईकै भेष, भूषा, भाषा, धर्म र संस्कृति सिक्दै हुर्केको
कारण मलाई पनि अरु मधेसीझै मधेसको जनता र मधेसको माया लाग्छ । मलाई गर्व छ
मधेसी हुनुमा तर अहिले म भारतमा बसेर चार्टर्ड एकाउन्टेन्ट (सीए) को अध्यन
गरिरहेको छु र म यहाँ आफ्नो परिचय दिँदा आफूलाई नेपाली भन्ने गरेको छु न त
मधेसी । यही नै मेरो परिचय हो र मेरो शिर ठाडो हुने गरेको छ जब मलाई कोही
नेपाली भनेर बोलाउँछ ।
जब जब म नेपालको र मधेशको समाचार पढ्छु र हेर्छु तब तब यो मेरो ठाडो शिर
लाजले झुक्ने गरेको छ र कहिले कही रिसले रगत पनि तातो हुने गरेको छ ।
कारण हो, हाम्रो मधेसमा भइरहेको बन्द र आन्दोलन । मैले आफूलार्इ सम्हाल्न
सकिन । कैलाली, नवलपरासी, सिराहा, बर्दिया, रौतहट र अरु ठाउँका दुःखद
घटनाहरुको बारेमा जानेँ सुनेँ । त्यही भएर एक सच्चा राष्ट्रप्रेमी मधेसी वा
तराईबासीका हैसियतले म तपाईंहरुलाई यो पत्र लेख्दैछु ।
पत्रकै
सुरुमा मेरो एउटा प्रश्न – हामी पहिले नेपाली कि मधेसी ? पक्कै मेरो
विचारमा नेपाली हुनु पर्दछ । मसँग सायद तपाईहरुको जति राजनीति र मधेसको
अवस्था बारे बुझाई न होला तर एउटा नेपालको नागरिक हुनुको कारण मलाई नेपाली
जनताको हक़ र अधिकार पक्कै पनि थाहा छ । आज मलाई मधेशी, जनजाति, थारु आदि
जातिको अधिकारको नाममा समग्र तराईकै जनताहरुको अधिकारको हनन् भइरहेको जस्तो
लगिरहेछ । आज बन्द भएको १२ दिन बितिसक्यो । बन्दका कारण यतिका दिनदेखि
ब्यवसाय, कलकारखाना, स्कूल, क्याम्पस लगायत सब थोक बन्द छन् । जनताले
हिडडुल गर्न पाएका छैनन् । यसले जनताको दैनिक जीवनमा धेरै नै फरक परिरहेको
कुरा हजुरहरुलाई आभाष नै होला । मधेशको लागि आन्दोलन भन्ने अनि मधेशकै
जनताको गाँस, बास र कपास को पनि अधिकार खोस्ने ? के यो मधेसको जनताको
अधिकार विपरित हैन र ?
अहिले देश संविधान निर्माण कार्यको
अन्तिम चरणमा छ । यति महत्वपूर्ण समयमा सबै नेपालीले हातेमालो गरी सघाउनु
पर्ने हाम्रो कर्तव्य हो । यस्तो समयमा देश टुक्राउने जस्ता सद्भाव
विथोल्ने अभिव्यक्ति दिनेहरु देशका नेता कसरी हुन सक्नुहुन्छ ? सुडान
लगायत संसार भरी भएका जातीय राजनीति हेरौ । जातीय राज्यमा विभाजन भएका देश
हेरौं । अहँ कही, कतै, कसैको हित गरेको देखिँदैन जातीय राज्यले । प्रतयक्ष
अभ्यास गरेर सिक्ने हामीसँग समय पनि छैन । त्यसैले संसारभरीका यी राजनीतिक
घटनाबाट हामीले पाठ सिक्नुपर्ने हुन्छ । त्यही भएर जातीय, धर्म र
सीमाङ्कनको मुद्दा उठाएर अहिले मधेश र देशमा बन्द गरेर डर, त्राश र अशान्ति
फैलाउनु गलत हो । यसको बारेमा पुनः सोचेर चाँडो भन्दा चाँडो बन्द फिर्ता
लिएर शान्ति पूर्ण ढंगले आफ्नो मात्र जायज माग अघि सार्दा सराहनीय हुन्थ्यो
की जस्तो लाग्छ र एउटा सच्चा राष्ट्रभक्त भएर संविधान र नयाँ नेपालको
निर्माणमा जुट्नु पर्छ ।
रमेश प्रसाद साह
सीए अध्यनरत
राधेमई – ६ वीरगञ्ज, पर्सा
हाल- दिल्ली, भारत