- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – केहि समय अगाडी भएको एसीड काण्डकि पिडित हुन् सीमा बस्नेत । उनकी साथी संगीतालाइ लक्षित गर्दै जीवन विकले प्रहार गरेको एसीडले उनलाई पनि लागी उनी घाइते भएकी थिइन् । लामो समय अस्तपाल बसेकी उननले अस्पतालबाटै एसएलसी दिएकी हुन् । हाल काठमाडौँस्थित नोबल एकेडेमीमा कक्षा १२ मा अध्ययन गरीरहेकी सीमा शारीरिक रुपमा धेरै हदसम्म सन्चो त भएकी छिन् तर मानसिक रुपमा उक्त घटनाले कहिलेकाहीं नमज्जासँग पिरोल्ने गरेको बताउँछिन् ।
निकै मिजाशिली छिन् उनी । सानो उमेरमै भोग्नुपरेको ठूलो पीडाले जीवनमा केहि गरेर देखाउने आँट दिएको छ । जो नहुनु थियो, त्यो त भइनै सक्यो । जीवनमा आफुजस्तै महिला तथा बालबालिकाको हितमा काम गर्ने मन छ उनलाई ।
आइतबार अर्थ सरोकार डटकमको कार्यालयमा आउँदा उनी कलेज ड्रेसमै थिइन् । हामी उनले भोगेको पीडालाई खोतल्नभन्दा पनि उनको जीवनमा उनैले बनाएका योजनाहरुमा केन्द्रित थियौं । उनका बारेमा धेरै प्रसङ्गहरु मिडियामा आइसकेका छन् । हामीसँगको कुराकानीमा उनी राम्रैसँग खुलेकी छिन् । आजको कुराकानीमा उनले केहि रमाइला र केहि दुखद् प्रसङ्ग त सुनाएकी छिन् नै, अहिलेसम्म तपाईंलाई थाहा नभएको हुनसक्ने केहि कुराहरु पनि हामीसँग बाँडेकि छिन उनले ।
१) जन्म दिने आमासँग बोल्दिन
म जन्मेको ६ महिनामै मेरो मम्मीले छाडेर हिड्नुभयो । मलाइ मामाघरकि हजुरआमाले हुर्काउनु भएको हो । हजुरबुबा पनि हुनुहुन्छ । तर म हजुरआमालाई मम्मी र हजुरबुबालाई बाबा भन्छु । मेरा मामाहरुलाई पनि म दाजु भन्छु । मलाइ जन्म दिने मम्मीसँग कहिलेकाहीं भेट हुन्छ । तर म बोल्दिन । उहाँ कहिलेकाहीं छोरी बोलिन भनेर रुनुहुन्छ रे । तर मलाइ त्यसले केहि पनि फरक पार्दैन । उहाँ कहिले पनि आफ्नो मान्छे लागेन । म ७ कक्षामा पढ्दा मात्र थाहा भयो कि उहाँ मेरो मम्मी हो । तर मलाइ हजुरआमाले मम्मीको माया दिनुभएको थियो र दिइरहनुभएको छ । मेरो हजुरआमानै मेरो मम्मी हो ।
२) म एमालेमाथि आस्था राख्छु, एमालेमै रहेर राजनीति गर्छु
एमालेप्रति मेरो आस्था छ । प्लस टुपछी राजनीतिशास्त्र पढ्छु । एमाले पार्टीमा रहेर राजनीति गर्छु । मजस्तै पीडामा परेकाहरुलाई सहयोग गर्छु । म अस्पतालमा हुँदा सरकारले कतिसम्म हेल्चेक्र्याई गरेको छ भन्ने मलाइ थाहा छ । यो देशमा मजस्ता धेरै पीडामा परेकाहरु छन्, जसलाई म सहयोग गर्नेछु । एमालेबाट प्रधानमन्त्री भएका केपी शर्मा ओलीले निकै राम्रा काम गरेका छन् भन्ने मलाइ थाहा छ । उनका कतिपय सपनाहरु पूरा नहुँदै सरकार परिवर्तन भयो । देशका लागि मेरा पनि केहि सपनाहरु छन् । एक दिन अवश्य पूरा गर्छु ।
३. कसैसँग प्रेममा परेकी छैन
अहिलेसम्म कसैसँग प्रेममा परेकी छैन । सानै छु । कलेजमा सबैले माया गर्नुहुन्छ । कतिपय साथीहरुले ‘बुनु’ भनेर बोलाउनुहुन्छ । निकै खुसी लाग्छ । स्कुलमा हुँदा कोहि मनपर्ने जस्तो पनि भएन । पढाइ पूरा गर्छु । त्यसपछिका कुरा त समयले देखाईनै हाल्छ । तर अहिलेसम्म कसैसँग अफेयरमा छैन ।
४. हिसाव गाह्रो लाग्छ, अर्थशास्त्र सजिलो
हिसाव निकै गाह्रो लाग्छ । कक्षा ११ र १२मा पनि एकाउन्ट बिषय गाह्रो लाग्छ । यद्यपी परिक्षा राम्रै भएको छ । अर्थशास्त्रचाहिं सजिलो लाग्छ । १० कक्षामा पनि पढेको हुनाले सजिलो लागेको पनि हुन सक्छ । अरु बिषय सामान्य लाग्छ । पढाइ राम्रै छ अहिले ।
५. गायिका बन्ने मन थियो, रहर नै मर्यो
मलाइ खुब गीत गाउन मन पर्ने । गायिका बन्ने रहर थियो । तर सानो उमेरमै यत्रो पीडामा परेपछि मेरो सोच्ने तरिका पनि केहि बदलिएको छ । म राम्रो गायक बनेंभने म आफु त खुसी हुन्छु तर समाजलाइ त्यसले मैले चाहेको जति दिन सक्दिन । म राजनीति गरेरै देशको सेवा गर्छु । अहिले पनि कहिलेकाहीं गीत गाउँछु । कविता पनि लेख्छु । सायित्यमा रुची छ ।
६. दिनमा करिव ७० रुपैयाँ खर्च हुन्छ
विहान उठ्छु । फ्रेश भएर कलेज जान्छु । बसन्तपुर बस्ने गरेको छु । जाँदा १० रुपैयाँ र आउँदा १० रुपैयाँ खर्च हुन्छ । खाजा खान र कहिलेकाहीं यसो हिडडुल गर्दा औसतमा दिनमा ७० रुपैयाँ खर्च हुन्छ । त्यति खर्चालु छैन । तीजमा पनि खास त्यस्तो प्लान त छैन तर रमाइलो गरिन्छ । मेरी आमा (हजुरआमा) र बाबा (बुबा) ले मलाइ जीवन दिनुभएको छ । केहि गरेर देखाउने मन छ ।
७. बुबा हुनुहुन्छ भन्ने थाहा छ तर देखेको छैन
म जन्मेको ६ महिनापछी मम्मीले छोडेर जानुभयो । बुबा हुनुहुन्छ भन्ने थाहा छ तर चिनेको छैन । बुबाको अनुहार कस्तो छ भन्ने पनि थाहा छैन । तर त्यसले मलाइ खासै केहि फरक पर्दैन । मेरो बुबा भनेको मेरो हजुरबुबा नै हो र मम्मी भनेको हजुरआमा नै हो ।
(अर्थ सरोकार डटकमसँग सीमा बस्नेतले गरेको कुराकानीमा आधारित)