काठमाडौं – तपाईँ अचेल बाजुराको जुकोट पुग्नु भएको छ भने अनौठो नमाने हुन्छ – त्यहाँका बस्तुभाउ धमाधम स्याउ खाइरहेका भेटिन्छन् । पोहोरभन्दा दोब्बर उत्पादन भएपछि गाउँभरि स्याउकै छेलोखेलो छ । बिक्रीका लागि बजार भने छैन । बेच्न नपाएर स्याउका दाना बारीमै कुहिन थालेपछि किसानहरू चौपायालाई खुवाउँन थालेको छन् ।
जुकोटमा अधिकांश परिवारका २/४ सय वटासम्म स्याउका बोट छन् । लटरम्म फलेका दानाले स्याउबारी राताम्मे देखिन्छन् । बजार पुर्याउन सके स्याउबाटै लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने यहाँका किसानहरूको आम्दानी भने शून्य बराबर छ । भूपेन्द्र शाहीको बारीमा ४ सय बोटमा लटरम्मै छन् । तर उनले अहिलेसम्म स्याउ बेचेर मुस्किलले सय रुपैयाँ कमाएका छन्। ‘गाउँतिर स्याउ किन्ने कोही छैन,’ उनले भने, ‘कुहिने अवस्था आएपछि गाईभैंसीलाई खुवाउनुपरेको छ ।’
यति बेला जुकोट पुग्ने छरछिमेक र इष्टमित्रले बोक्न सकेजति सित्तैमा पाउँछन् । अपरिचित र किन्न चाहनेले डेलिसस, पञ्चमुखे, गोल्डेनलगायत जातका स्याउ रोजी-रोजी रुपैयाँका ५ दाना पाउँछन् । सदरमुकाम पुर्याउन सके त्यही स्याउ दानाको २० रुपैयाँसम्म पर्छ । यहाँका किसानले स्याउ बिक्री गर्नुपरे लगभग एक दिन टाढा पर्ने कोल्टी वा दुई दिन लाग्ने सदरमुकाम मार्तडी पुर्याउनुपर्छ त्यती परसम्म किसानले डोकोमा पुर्याउन सक्दैनन् ।
भरिया खोजेर डोकोमा स्याउ पठाउँदा ज्याला बढी लाग्नेने उनीहरू बताउँछन् । जुकोटमाथि देबाले र सैदेवो लेकमा मात्रै स्थानीयका स्याउबारी छन् । स्याउ खेती गर्ने परिवार संख्या ७० भन्दा बढी छ । त्यहाँबाट गाउँमा ओसार्न पनि केही घण्टा लाग्छ। गाउँमा कोल्डस्टोरसमेत नभएकाले स्याउ भण्डारण गर्न सकिँदैन ।
- कान्तिपुर दैनिक