- कृष्ण चौलागाईं / अर्थ सरोकार डटकम
काठमाडौँ – मलिन अनुहार, तर सुरिलो स्वर । अहिले काठमाडौँका चोक चोकमा थुप्रै दृष्टिविहिनहरु बाँच्नका लागि गाउने गरिरहेको देखिन्छ । विभिन्न चोक, मन्दिर वरपर लगायतका ठाउँहरुमा गीत गाएर जिविको पार्जन गर्ने थुप्रै दृष्टिविहिनहरुको आ-आफ्नै पीडा छ ।
‘न कतै सिकेको हुनु, न त कसैले सिकाएको नै, बस जे जस्तो आउँछ गाइनै रहन्छन् उनीहरु । नभन्दै मीठो स्वरमा ट्रयाकमा बजिरहेको धुनमा गीत गुन्जिन्छ । सँगै कसैसँग स्पिकर र माइक छ कसैसँग स्पिकरमा प्रयोग हुने ब्याट्री पनि । कोहि समूह मिलाएर त कोहि जोडी मिलेर, बाँच्नका लागि गईरहेको देख्न सकिन्छ चोक-चोकमा, मन्दिरहरुमा ।
काभ्रे घर भएकी सुनिता पौडेल । उनीसँग गाएर बाँच्नुको विकल्प छैन । ‘हामी त आँखा मात्र देख्दैनौं । हाम्रो सरकार त कान पनि सुन्दैन । हाम्रा समस्या सुन्दैन । अनि बुझ्दैन पनि । हामीलाई तपाईंजस्तैहरुले सहयोग नगरे कसले गर्छ र ? दुखी भएर हिंडेका छौँ। आफ्नै दाजुभाइले सहयोग गरेको भरमा हाम्रो पेट पालिन्छ ।’ उनी अगाडी भन्छिन्, ‘दिनमा ३०० देखि १ हजारसम्म दिन हेरेर हुन्छ ।’ कतिपयले ठाउँ फेर्ने गरेका छन्, कतिले एउटै ठाउँ प्रयोग गर्ने गरेका छन्। ‘
तपाइंलाई थाहा छ नेपालका गायकहरुको कमाइ कति हुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘थाहा छ। उनीहरुको राम्रो माग छ । पैसा खुब कमाइ हुन्छ । तर हामीलाई धेरै कमाउने इक्षा छैन । बस् खाना लाउन पुगोस्, बालबच्चा हुर्काउन पाइयोस् । त्यति न हो ।