×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाखौं कमाइ हुने जागिर र ग्रिनकार्ड त्यागेर नेपाल फर्केका दिपक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लाखौं कमाइ हुने जागिर र ग्रिनकार्ड त्यागेर नेपाल फर्केका दिपक

Artha Sarokar

३ आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: ८ मिनेटभन्दा कम

दिपकराज जोशी दुई बर्षअघि नेपाल फर्कदा धेरैले आश्चर्य व्यक्त गरे । सत्र बर्षको अमेरिका बसाइमा उनले पद र पैसा दुबै कमाएका थिए । अमेरिकामा अथाह सम्भावना छँदैथियो । जिरोबाट अमेरिका यात्रा थालेका दिपक आइटी क्षेत्रको हिरो भइसकेका थिए । धेरैले उनलाई नेपाल नफर्कन सुझाए । तर, उनी थामिएनन् । अठोट लिए, ‘जस्तै परिस्थिति किन नहोस् नेपालमै केही गर्छु ।’
दिपक जिद्धिवाल छन् । आफूले लिएको निर्णबाट पछि हट्दैनन् । नत्र शक्तिशाली राजनीतिज्ञका छोरा दिपक भाडा माझ्ने गरी अमेरिका किन हानिन्थे, बुबा झण्डैझण्डै गुमनाम भएका बेला देशमा केही गर्छु भन्दै किन फर्कन्थे ?

दिपकको बाल्यकाल
दिपकका हजुरबुबा तनहुँ खाल्टेको मुखिया थिए । बुवा गोविन्दराज आफ्नै गाऊँको विद्यालयका प्रध्यानाध्यापक थिए । परिवारको स्थिति राम्रै भएकाले उनलाई कहिल्यै पनि खानलाउनको दुःख भएन । बुवा प्रध्यानाध्यापक रहेका त्रिभुवन माध्यमिक विद्यालयमा पढे । मुखियाको नाति, प्रधानाध्यापकका छोरा भएकाले उनलाई गाऊँमा लाडप्याड राम्रै मिल्थ्यो ।
विद्यालय घरबाट ४५ मिनेटको पैदल दूरीमा थियो । जेठो सन्तान दिपकले परिवारमा विशेष रेखदेख पाए । पढाइ राम्रो गर्दै गए । २०४२ सालमा एसएलसी पास गर्दा उनी १६ बर्ष टेक्दै थिए ।
दिपकका बाले जमानामा गाऊँमा विद्यालय खोलेका थिए । त्यही विद्यालयका कारण गाऊँ शिक्षित बनिसकेको थियो । अन्यत्र एसएलसी पास नै ठूलो लाग्ने त्यो बेला दिपकको गाऊँका लागि भने सामान्य थियो । हरेकजसो घरमा विए पासहरु हुन्थ्यो । सामान्य पढाइले हुँदैन भन्ने आत्मबोध गाऊँको परिवेशले गराइदियो । उनी एक्स्ट्रा बन्न चाहन्थे ।
एसएलसीपछि उनी दमौलीमा बस्न थाले । सबै काम आफैं गर्नुपथ्र्यो । मुखियाको नाति र हेडमाष्टरको जेठो छोरो भएकाले उनको मेहनत धेरैका लागि अचम्म लाग्दो थियो । उनी दमौलीमा बस्नुपूर्व नै बुबा गोविन्दप्रसादले शिक्षण पेशा छाडेर वकालतमा हात हालेका थिए । दमौलीमा केही समय बिताएपछि उनी फरेष्टी क्याम्पसमा रेन्जर कोर्ष पढ्न पोखरा लागे । २ वर्ष उनी पोखरामा रेन्जर कोर्षमै रमाए ।
पोखरामा पढिसकेपछि उनी युनडिपीको जागिरे भए । सात आठ महिनामै उनको लोकसेवामा नाम निस्कियो । रेन्जरका रुपमा उनले हेटौडा, बनेपा र शिवपुरी निकुञ्जमा काम गरे ।
२०४७ सालमा जापानमा टे«निङको लागि जाने मौका पाए । जापानमा फोरेस्ट्री ट्रेनिङ सकेर उनी स्नातक गर्न फिलिपिन्स गए । फिलिपिन्समा उनले चार वर्ष पढिसकेपछि नेपाल फर्किए । विदेशमा सिकेको ज्ञान देशमै उपयोग गर्नुपर्छ भन्ने उनको ध्येय थियो । फिलिपिन्सबाट फर्केर यूएनडिपीको राष्ट्रिय सल्लाहाकार भएर काम गरे । त्यो बेलामा काम गर्ने रुचि धेरै थियो । जुनसुकै क्षेत्रमा पनि काम गर्न उनी तयार थिए । पत्रपत्रिकामा लेख लेख्थे । केही समय रेडियो सगरमाथामा पनि काम गरे ।
अमेरिकाको यात्रा
यसबीचमा उनको परिवारको पहुँच र प्रभाव फराकिलो भइसकेको थियो । बुबा गोविन्दप्रसाद जोशीले राजनीतिमा नाम कमाइ सक्नुभएको थियो । गोविन्दराज जोशी शिक्षामन्त्री भइसकेका थिए । दिपक नेपालमै जागिर गर्थे । उनले कहिल्यै शिक्षामन्त्रीको छोरा भन्ने भाव कहिल्यै दिएनन् । चाहेको भए उनी त्यतिबेलै मालदार ठाऊँमा नियुक्ति लिन सक्थे । काँग्रेसको प्रभावशाली नेताको छोरा भएपनि दिपकलाई बुबाको पहुँच र प्रभावसँग खाशै मतलव थिएन । आफैं केही गर्नुपर्छ भन्ने हुटहुटी दिपकमा थियो । त्यही हुटहुटीले उनलाई अमेरिका पु¥यायो । भन्छन्, ‘अमेरिका जाँदा मसँग दुई सय डलरमात्र साथमा थियो । आफ्नै बलबुतामा अमेरिका गएँ । म आफ्नो छबी आफैँ बनाउनुपर्छ भन्ने सोंच भएको व्यक्ति हुं ।’
मन्त्री भइसकेको शक्तिशाली नेताको छोराले देशमा काम गर्ने वातावरण नदेखेर विदेशिएको सो घटना आफैंमा मार्मिक क्षण थियो । देशमा केही सृजनशील काम गर्ने धोको हुँदाहुँदै पनि गर्ने वातावरण नभएपछि विदेशिन परेको वाध्यताले आफु बाहिरिएको उनको प्रष्टिकरण छ । ‘ सृर्जनशील काम गर्न सकिएन, फोकटमा हल्लिनुभन्दा अमेरिका गएर केही सिकेर आऊँ भन्ने लाग्यो अनी गएँ ।’
अमेरिकाको संर्घष र सफलता
अमेरिका उनको लागि बिल्कुल नयाँ थियो । जिरो लेभलबाट काम थाले । ३ वर्ष सम्म अमेरिकामा ईन्डियन रेस्टुरेन्टको भाडा उठाउने काम गरे । उनी इन्डियन रेष्टुरेन्टमा भाडा उठाउने काम गरिरहेकै बेला बुबा गोविन्द देशको गृहमन्त्री बने । शक्तिशाली गृहमन्त्रीको छोरा दिपक अमेरिकामा भाडा माझिरहेको सन्दर्भ चिनेजानेकाहरुका बीचमा चर्चाको विषय बन्थ्यो । उनी भन्छन्, ‘बुबाको पदीय लाभ लिन म नेपाल फर्कन पनि सक्थे । बुबाको सचिवालयमा बसेर पावर एक्सरसाइज गर्न पनि सक्थें होला । वा, राम्रै ठाऊँमा नियुक्ति लिन पनि सक्थे । वा, कामै नगरी पैसा कमाउँने सरुवा बढुवातिर पनि हात हाल्थे होला । तर, म त्यस्तो स्वभावको भइनँ ।’ उनले जुठा भाडा उठाएर भएपनि कोलवार्डाे टेक्निसियन विश्वविद्यालय आईटीमा मास्टर्स पुरा गरे ।
आईटीमा मास्टर्स सक्दा नसक्दै त्यहीको टेलीकम्युनिकेसनमा जागिर पनि पाए । अमेरिकामा रहदा उनले विभिन्न आईटी कम्पनीमा सोसल मिडिया कन्सल्ट्यान्ट, बिजनेस एनालाइसिस्ट, सिस्टम प्रर्फमेन्स ईन्जिनियर, डाटा सर्पोट स्पेसलिस्ट जस्ता भुमिकामा रहेर काम गरे । प्रतिष्ठित भराइजन वायरलेस कम्पनीमा उनले प्रोजेक्ट म्यानेजरको रुपमा काम गर्ने अवसर पाए । त्यसपछि उनले एमविए गरे । कामसंगसंगै पढाइ अगाडि बढाएकाले उनको बढुवा पनि हुँदै गयो । जिरोबाट अमेरिका यात्रा थालेका दिपक केही बर्षको अन्तरालमै आइटी क्षेत्रको हिरो भए ।
नेपाल फर्कने बारेमा दोमन
उनलाई नेपाल पहिल्यै फर्कन मन थियो । तर, देश माओवादी द्वन्द्वमा फस्यो । अमेरिकाको भव्य विकाससँग अभ्यस्त भइसकेका दिपकलाई नेपालको वातावरणसँग पैठेजोरी खेल्ने उत्साह आएन । ‘त्यतिबेला नेपालमा सशस्त्र द्वन्द्व चलेको थियो । देशमा एक किसिमको मारकाट थियो । देशमा स्थिर सरकार थिएन । भरियाको भारी बोक्ने अधिकार त नेपाल बन्द गरेर खोसिन्थ्यो । मेरो लागि नेपालमा वातावरण देखिनँ, त्यही भएर आउन सकिनँ ।’ उनले नेपाल चाडै नर्फनुको कारण सुनाए ।
गणतन्त्र स्थापना भइसकेपछि उनी नेपाल आए । केही समय बसेपनि । तर, पनि आन्दोलनका आन्दोलनले देश जर्जर भइरहेको थियो । काम गर्ने वातावरण नदेखेपछि उनी फर्किए । ग्रिनकार्ड लिएपनि उनले अमेरिकाको नागरिकता लिएका थिएनन् । ‘एक न एक दिन नेपाल जान्छु, अर्काको देशको नागरिकता किन लिने भन्ने लागिरहन्थ्यो । नागरिकता लिनका लागि कुनै कठिनाइ थिएन । मनले मानेन ।’ दिपकले अमेरिका बसाइको स्मरण गरे ।
ग्रिनकार्ड त्याग्दाको क्षण
अमेरिकामा शुरुमा जागिर खाँदा उनले घण्टामा ६ डलर कमाउँथे । उनले अमेरिका छाड्दा उनको घण्टाको ८० डलर अर्थात नेपाली दश हजार कमाउँथे । यस हिसावले हेर्दा उनको दैनिक कमाइ लाखसम्म पुग्थ्यो । ‘बिदा र कर काट्दा मासिक १२/ १५ लाख नेपाली रुपैंयाँसम्म हुन्थ्यो ।’ तलबका बारेमा उनले मुख फोरे ।उनी अमेरिकामा राम्रो कमाइ गर्ने मध्येको नेपालीमा पर्दथे । अमेरिका जाने धेरैका लागि उनको ‘स्टाटस एण्ड इनकम’ लोभलाग्दो थियो । तर, उनले नेपाल फर्कने निर्णय गरे । साथीभाइले उनलाई मुख्र्याईं नगर्न सुझाए । नेपालमा केही गर्न नसकिने र निराशा पैदा हुने खतरा औंल्याउँदै साथीभाइ र सुभेच्छुकले तर्साउन खोजे ।
दिपक सानै देखि मनमौजी थिए । उनी आफ्नो निर्णयमा अडिक रहन्थे । उनले मनमनै सोचे, ‘ग्रिनकार्डसहित नेपाल गए भने थोरै समस्यमा आइलागेपनि अमेरिका फर्किहाल्छु । बरु, ग्रिनकार्ड नै त्यागेपछि मलाई नेपालमै संर्घष गर्ने बाध्यता हुन्छ ।’ ग्रिनकार्ड त्यागेर उनी नेपाल फर्के । तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी र नेताले ग्रिनकार्ड लिन नपाउँने बहस छेडेका ग्रिनकार्ड र पिआरको विषय चर्चामा थियो । देशका मन्त्री, उच्चपदस्थ कर्मचारीसमेत ग्रिनकार्डका लागि हानथाप गरिरहेको प्रसंग जबरजस्त चर्चामा थियो । त्यही मेसोमा दिनको लाख कमाउँने दिपक ग्रिनकार्ड त्यागेर देशमा भविश्य खोज्न फर्किए ।
पण्डितले दिपकको प्रशंसा गरे । अन्तरवार्ताहरुमा दिपकको नाम लिए । चर्चामा आउँन नचाहने दिपक गुमनामजस्तै रहे । उनी भन्छन्, ‘गौतम बुद्धले ज्ञान भारतमा पाएपनि नेपाली नै हुंन् । हामी ज्ञानको खोजीमा विदेशिएपनि नेपाली नै हौँ ।’ उनले ग्रिनकार्ड त्याग्नुको कारण थप प्रस्टाए, ‘अमेरिकाले शिक्षा दिन सक्छ, जागिर दिन सक्छ, सुविधा दिन सक्छ तर नेपालको जस्तो आफ्नोपन दिन सक्दैन । नेपालीहरु अमेरिकाको नागरिता लिएर बसे पनि मन नेपाली नै हुन्छ ।’
लालबाबु पण्तिले एक पछि अर्को खुलाशा गरिसकेका छन् । तनहुँकै नेता रामचन्द्र पौडेलका छोरा चिन्तनले गरिबि निवारण कोषको आर्कषक नियुक्ति छाडेर बेलायत भासिनुको रहस्य हालै पण्डितले खोलिदिए । बेलायको पिआर प्यारो लागेपछि चिन्तन पलायन भएको पण्डितले पोल खोलेका छन् । नेताहरु रामशरण महत, मिनेन्द्र रिजाल, एनपी साउँदहरुको ग्रिनकार्ड रहेको चर्चा व्याप्त छ । बुबा शक्तिमा हुँदा अवसरका लागि विदेश भासिएका दिपक बुबा शक्तिबाट बाहिरिएको र गुमनामजस्तै रहेको बेला अवसरका लागि स्वदेश फर्किएका छन् । प्रतिष्ठित कम्पनीको जागिर र आर्कषक तबल छाडेर आएका दिपक भन्छन्, ‘मेरो क्यारियर म आफैंले बनाएको हुं । कृपया बुबासँग जोडेर नहेर्नुहोला । ग्रिनकार्ड पनि लिने र देशमा अवसरपनि खोज्न मेरो मनले मानेन । दुईवटा ढुंगामा खुट्टा हाल्न मलाई मन लागेन ।’
नेपालमा योग्यता अनुसारको काम नपाउँदा
अमेरिकामा दैनिक झण्डै लाख कमाइ गर्ने दिपकले नेपालमा के गरिरहेका छन् ? चिनेजानेकाले चाँसो राख्छन् । तर, उनलाई यस्ता कुराले उतिसारो छुदैन । ‘अमेरिकामा जति नै प्रगति गरेपनि नेपालमा केही गर्ने प्यास मेटिएको थिएन । त्यसैले फर्केको हुं । केहीमात्र गर्न सके भनेपनि म सन्तुष्ट हुंनेछु ।’ उनले सफाइ पेश गरे । ‘मलाई यहाँ दशैमा पिङ खेल्न मनपर्छ । फोन नै नगरी फूपु मामाकोमा गएर भात खान मन लाग्छ । यस्तै साना कुराले मलाई नेपाल बस्न मन लाग्छ ।’ उनले थप्दै भने ‘ अमेरिका जाने भनेको पढ्न, नयाँ काम सिक्न अनुभव बटुल्न, पैसा कमाउन र सुख सुविधा खोज्न हो । पैसा र सुखसुविधा खोज्ने मान्छेले जीवन उतै बिताउँछ । पढ्न र अनुभव बटुल्न गएको मान्छे नेपाल फर्कन्छ । म अध्ययन र अनुभव बटुलेर फर्के ।’
उनले दक्षताअनुसारको काम पाएका छैनन् । अझ भनौँ नयाँ गर्ने उनको सोच पूरा भएको छैन । दुई बर्ष यता उनी अनेक योजनामा घोत्लिरहेका छन् । ‘सपना पूरा गर्न नेपालमा सहज रहेनछ तर असम्भवपनि छैन ।’ उनले परिस्थितिको विश्लेषण गरे ।
नेपालमा धेरै तलब खान नआएको उनको भनाइ छ । धेरै काम गर्ने तर थोरै तलब भएपनि हुंने कामका लागि नेपाल फर्किएको उनको दाबी छ । अहिले उनी अध्यापनमा सक्रिय छन् । साउथ वेस्टर्न कलेज, मिलिनियम कलेजमा एमविए तहका लाई पढाईरहेका छन् । केही भारतीय कम्पनीहरुमा कन्सल्ट्यान्ट छन् । त्रिभुवन विश्वविद्यालयमा आइटी सम्बन्धी प्रोजेक्टहरुमा उनी जोडिएका छन् । उनले १७ वर्षको अमेरिका बसाई र आईटी क्षेत्रको अनुभव बाडिरहेका छन । तर, ठोसरुपमा नयाँ काम गर्ने मेसो मिलिरहेको छैन ।

नेपालमा जागिरको लागि सम्भावना र संर्घष
जोशीसंग आईटी पढेको साथै अमेरिकी आईटी कम्पनीमा काम गरेको लामो अनुभव छ । व्यावस्थापन क्षेत्रमा पनि उनको योग्यता राम्रै छ । केहि समय अगाडी उनले ‘ एनटिए ’भन्ने संस्थामा काम गर्न प्रतिस्पर्धाका लागि नाम पनि दिए । यो संस्थाले एनटिसी र एनसेललाई हेर्छ । त्यस संस्थामा उनी अन्य प्रतिस्पर्धी भन्दा हरेक कुरामा योग्य र अनुभवी थिए । तर, छनौट भएनन् । तरपनि निरास भएनन् । यि सबै प्रवृत्तिसँग जुँधेरै अघि बढ्नलाई उनी नेपाल फर्किएका थिए । त्यहाँ मन्त्रीहरुको सोर्स फोर्स चलेको रहेछ ।
अहिले उनी नेपाल टेलिकमको म्यानेजिङ डाईरेक्टरमा प्रतिस्पर्धा गरिरहेका छन् । उनका अनुसार अन्य प्रतिस्पर्धी भन्दा उनको योग्यता, अनुभव धेरै छ । त्यसैले उनले सम्भावना देखेछन् । तर, यसै हुन्छ भन्न गाह्रो छ । राम्रभन्दा हाम्रा खोज्ने नियति दोहोरिनपनि सक्छ ।
(सागर बुढाथोकीले जोशीसँग गरेको कुराकानीमा आधारित)/नेपाल आज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी