×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इतिहासका सर्वाधिक आलोचित व्यक्ति जङ्गबहादुर राणाले देशका लागि के गरे ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इतिहासका सर्वाधिक आलोचित व्यक्ति जङ्गबहादुर राणाले देशका लागि के गरे ?

Artha Sarokar

५ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ – नेपालको इतिहासका सर्वाधिक घृणायोग्य पात्रका रूपमा चन्द्रशेखर उपाध्याय दाहाललाई लिन सकिन्छ । चन्द्रशेखर उपाध्याय दाहालले आर्थिक तथा भौतिक लाभ लिएर गरेको सुगौली सन्धि हेर्दा उनी सर्वाधिक घृणाका निम्ति योग्य रहेको सहज महसुस हुन्छ । इतिहासमा सबैभन्दा आलोचित व्यक्तिबारे हामी सीधै निष्कर्षमा पुग्न सक्छौँ– श्री ३ महाराज जङ्गबहादुर राणा ।
जङ्गबहादुरले जुनस्तरको आलोचना व्यहोर्दै आएका छन् त्यसस्तरको आलोचना भोग्ने अर्का कुनै राजनीतिकर्मी, नेता या सार्वजनिक जिम्मेवारी लिने व्यक्ति देखिएका छैनन् । कम्तीमा वि.सं. २००७ साल (सन् १९५०) देखि यताका सात दशकभित्र स्थायी रूपमा र सर्वाधिक आलोचित हुने व्यक्तिका रूपमा जङ्गबहादुर राणालाई नै लिइन्छ ।
तानाशाह, निरङ्कुश, हत्यारा, षड्यन्त्रकारी, स्वार्थी, परिवारवादी, अविवेकी, विदेशी दलाल, अहङ्कारी, राष्ट्रिय स्वाभिमानलाई ब्रिटिसको पाउमा सुम्पने अवसरवादीलगायत अनेकौँ शब्दको प्रयोग जङ्गबहादुर राणामाथि हुने गरेको छ ।
जङ्गबहादुर राणाले उनन्तिस वर्ष लामो शासनकालमा कम्तीमा २९ वटा राम्रा काम गरेको व्यहोरा इतिहासमा पढ्न पाइन्छ । इतिहासका सर्वाधिक आलोचित व्यक्ति जङ्गबहादुरले देशका लागि के गरेका थिए यसको सङ्क्षिप्त प्रस्तुति यहाँ दिइएको छ ।
जङ्गबहादुर राणाले गरेका राम्रा कामहरू:
१) श्री ३ जङ्गबहादुर राणाले दरबारभित्र निरन्तर चलिरहने षड्यन्त्र तथा सत्ता–सङ्घर्षलाई शिथिल तुल्याउँदै राजनीतिक स्थिरताको स्थिति पैदा गराए ।
२) बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका रूपमा चिनिने पहिले गुमेको तराईका भूभाग सन् १८६० मा कूटनीतिक कौशलद्वारा फिर्ता लिए ।
३) नेपाली सेनाको आधुनिकीकरण गरे ।
४) देशमा पहिलोपटक पे्रस (छापाखाना) प्रयोगमा ल्याए । जुन गिद्दे पे्रसका रूपमा इतिहासमा अङ्कित छ ।
५) देशमा पहिलोपटक (वि.सं. १९१७) जनगणना गराउने कार्यको सुरुवात गरे, पहिलो जनगणनाअनुसार देशको जनसङ्ख्या बाउन्न लाख थियो ।
६) सन् १८६२ देखि पहिलोपल्ट देशमा ‘नापी’को काम सुरु गराए ।
७) विक्रम सम्वत् १९२० देखि जन्म र मृत्युको दर्ता गराई तथ्याङ्क राख्ने कार्यको थालनी पनि जङ्गबहादुरले नै गराएका हुन् ।
८) काठमाडौं उपत्यकाभित्र रहेका रेसिडेन्ट (विभिन्न देशका आवासीय दूत) हरूलाई स्वेच्छापूर्वक घुम्न र नेपालीहरूलाई रेसिडेन्टभित्र प्रवेश गर्न सरकारी अनुमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था जङ्गबहादुरले वि.सं. १९२१ मै गरेका हुन् ।
९) जमिनको मालपोत उठाउन मुखिया र चौधरीहरूको व्यवस्था गर्नुका साथै मालपोत नतिरी उपभोग गरिएका जमिन जमिनदारहरूबाट खोसी सुकुम्बासीलाई दिने काम पनि पहिलोपल्ट उनैले गरेका हुन् ।
१०) वि.सं. १९२२ मा जङ्गबहादुरले तिब्बततर्फ जाने बाटोका साथै नेपाल अधिराज्यको सर्भे गरी नक्सा बनाउने काम गरे ।
११) जनतालाई समयबारे जानकारी गराउन टुँडिखेलमा तोप पड्काएर आवाज सुनाउने कार्यारम्भ गरे ।
१२) जङ्गबहादुर आफैँ अनपढ थिए, तर उनले काठमाडौंको पुस्तकालयलाई समृद्ध बनाउन अङ्गे्रजी र भारतीय पुस्तकहरू खरिद गरी ल्याउन बजेट व्यवस्था गरिदिए ।
१३) पहिलोपल्ट ‘लेडिज कोर्ट’को स्थापना गरी महिलाका निम्ति बेग्लै मञ्च खडा गरिदिएको, तर यसले निरन्तरता भने पाउन सकेन ।
१४) युरोपियन शैलीका अत्याधुनिक र भव्य महलहरू निर्माण गरी देशको सान बढाउने काम गरेका ।
१५) हाल दलित भनिने कोचेमेचे र साल्मीहरूको हातबाट पानी पिई छुवाछुत हटाउने प्रयत्न गरेका ।
१६) व्यवस्थित रूपमा शिक्षा दिनका निम्ति दरबार परिसरमै भए पनि विद्यालय स्थापना गरे । नेपालको पहिलो स्कुलका रूपमा चिनिने दरबार हाइस्कुलको स्थापना जङ्गबहादुरले नै गरेका हुन् ।
१७) जनताले भोकभोकै मर्नु नपरोस् भनी देशका विभिन्न स्थानमा ‘धर्मभकारी’ खडा गरी अन्न सङ्ग्रह गरी राख्ने व्यवस्था मिलाउनुका साथै जङ्गबहादुरले सङ्कटकालमा खर्च गर्नको निम्ति ‘तोषखाना’ खडा गरी सुरुमै ११ करोड रुपैयाँ ढुकुटीमा राखिदिए र त्यसमा रकम थप गर्दै जाने व्यवस्था मिलाए ।
१८) जङ्गबहादुरले पहिलोपटक नेपालमै तोप कारखाना स्थापित गराए ।
१९) देशको अन्तर्राष्ट्रिय सीमा छुट्याउन जङ्गबहादुरले सन् १८६० को अक्टोबरदेखि एक–एक माइलमा सीमास्तम्भ राख्ने कार्यारम्भ गरे, जसलाई जङ्गेपिलरका रूपमा पनि चिनिन्छ ।
२०) वन संरक्षणका लागि ‘काठमाल’ अड्डा खोली रूख काट्नेहरूलाई सजाय दिने व्यवस्था उनैले गराएका हुन् ।
२१) बोक्सीको आरोप लगाउनेहरूलाई दण्ड सजाय दिने व्यवस्था जङ्गबहादुरले गरे ।
२२) विफरविरुद्ध खोप लगाउने अभियान पनि उनैले प्रारम्भ गरेका हुन् ।
२३) हाल नेपाल बैंक लिमिटेडको मुख्यालय रहेको स्थानमा ‘संसद् भवन’ निर्माण गराई राष्ट्रहित र राजनीतिका विषयमा बहस, छलफल एवम् परामर्श गर्ने चलन चलाए ।
२४) नेपालमा नपाइने जडीबुटीका बिरुवाहरू अफगानिस्तानको काबुलदेखि दार्जिलिङसम्मबाट झिकाई नागार्जुन र गोकर्णलगायतका वनजङ्गलमा ती बिरुवाहरू लगाउने काम पनि जङ्गबहादुरले गरे ।
२५) वि.सं. १९२४ मा तराईमा भीषण अनिकाल परी जनताले खान नपाएपछि तत्काल तीन लाख रुपैयाँको अन्न भारतबाट आयात गरी सुपथ मूल्यमा बिक्री–वितरणको व्यवस्था गरे र उनले त्यस वर्षको मालपोत पनि माफी गरिदिएका थिए ।
२६) पूर्व मेचीदेखि पश्चिम डोटीसम्म फराकिलो बाटो (बग्गी हिँड्न मिल्ने गरी) बनाउन र बाटोको दुवैतर्फ रूख लगाउनका लागि वि.सं. १९०६ मा जङ्गबहादुरले तीन लाख रुपैयाँ निकासा गरिदिएका थिए । त्यसबेला मोटरकारको आविष्कार भइसकेको थिएन, तथापि राजमार्ग निर्माणको थालनी उनैले गरेका हुन् ।
२७) युरोपलगायतका देशहरूको भ्रमण गरी नेपाललाई ‘इन्टरनेसनल एक्स्पोजर’ दिने काम पनि जङ्गबहादुर राणाले नै गरेका हुन् ।
२८) मुलुकी ऐन बनाएर कानुनअनुरूप राज्य सञ्चालन गर्न सुरु गरेको जस (यश) पनि जङ्गबहादुरलाई नै जान्छ ।
२९) राष्ट्रको स्वार्थ र सार्वभौमिकताको रक्षा तथा सम्मानको निम्ति जङ्गबहादुरले ब्रिटिस भारतसँगको मित्रता सुदृढ तुल्याउने र तिब्बतसित लडाइँ लड्ने कार्यसमेत गरे । सन् १८५४ मा तिब्बती भोटेहरूले नेपालीलाई कुटपिट गरी लुट्ने र हत्यासमेत गर्ने गरेकोले जङ्गबहादुरले नेपालीको रक्षाका निम्ति तिब्बतसँग लडाइँ लड्नुपरेको थियो ।
  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी