शंकर पोखरेलको स्टाटसले उहाँको मानसिकता र हामी मधेशीप्रतिको हेराइलाई प्रष्ट गर्दछ । उहाँले भेदभावपूर्ण कुरामात्रै गर्नुभएको छैन, मानवअधिकारको गम्भीर उल्लंघनपनि गर्नुभएको छ । मन्त्री भइसकेको र पार्टीको जिम्मेवार निकायमा रहेको नेताको हाल यस्तो छ, अरुको कुरा के गर्नु ?
उहाँले हामीलाई कालो भन्नु भयो । अब हामी उहाँलाई पहाडीया भन्दै हिडौँ । शंकर पोखरेलले चाहेको यही हो ? जनताको बहुदलीय जनवाद कि के भन्छन् उहाँको सिद्धान्त, यस्तै विभेदको कुरा हो ? के यसरी नेपाल बन्छ ? यो त सानो कुरा हुँदै हौइन । मधेशीलाई मात्र हेपेको होइन, हामी नेपाली–नेपालीलाई जुधाउँन खोजेको देखिन्छ । जुँध्दा कसलाई फाइदा हुंने हो ?
उहाँहरुको चरित्र नै भेदभावपूर्ण छ । मधेशीलाई मान्छे नगन्ने स्वभाव फेरि छताछुल्ल भएको छ । हामीले उहाँको व्यवहारमा पहिलेदेखि नै भेदभाव देख्दै आएका थियौँ । आममानिसलाई अवगत थिएन होला, अहिले त भयो । जनतालाई आफ्नो असली रुप देखाएर शंकरजीले गुन नै लगाउनुभएको छ । कम्तिमा आफुहरुप्रतिको दृष्टिकोण के छ भन्ने मधेशी जनताले जान्ने मौका पाएका छन् ।
जनता जागेका छन् । ठाऊँठाऊँमा विरोध भइरहेको छ । केही एमालेका नेताहरुले मनसाय गलत थिएन भनेर बचाउँ गर्नपनि खोजेका छन् । तिनले स्टाटस पढेनन् वा तिनीहरुको पनि मानसिकता त्यहीँ हो बुझ्नुहोला ।
एमालेका बारेमा के टिप्पणी गर्नु ? हिजो पहिचान खोज्दा बिहार र उत्तरप्रदेश देखाउँने ओलीजी हो । पूरै मधेशीलाई हेप्ने गरी स्टाटस लेख्दा एमालेले औपचारिकरुपमै भएपनि दुःख व्यक्त गर्नुपर्ने हो, त्यो पनि गर्दैन ।
शंकर पोखरेलले अर्थ व्यंग्याइयो भन्ने कुरा गरेका रहेछन् । उनको अर्थ हामीले मिलाइ मिलाइ बुझ्नुपर्ने ? हामीलाई घोचेर लेख्ने अनि हामीले चाहीँ मिलाएर बुझिदिनुपर्ने ? यो त हद भयो ।
यस्तो प्रकृतिको हेपाइ पहिलो होइन । सायद अन्तिम पनि होइन । हिजो जनता राजनीतिकरुपमा बेखबर थिए, चुप रहन्थे । आज सचेत र संगठित छन्, बिरोध गर्छन् । बिरोध भएपछि टालटुल पार्न खोज्छन् । फेरि मनको कुरा बाहिर निस्किहाल्छ । मन नै दुषित भएपछि बाहिर राम्रो भएर के गर्नु ?
- नेपाल आज