योेगी व्यग्रवेदनाथको जीवन चलचित्रको कथा भन्दा कम छैन । गेरुवस्त्र लगाउने, शान्तभावमा मुस्कुराईने यी योगी कुनै बेला ग्याङ्ग स्टार थिए । ४ वर्षदेखि उनी संसारिक लोभ, मोह, अहंकार त्यागेर साधु बनेका हुन् । साधु बन्छु भन्ने उनी आफैलाई लागेको थिएन ।
प्रवञ्जनबहादुर सिंहसँग भौतिक सुख सयल सबै थियो । पहुँच र प्रभावशाली परिवारका सदस्य सिंहसँग नपुग्दो केही थिएन । पूर्व आइजीपी बुबा हेमबहादुर सिंहका छोरा प्रवञ्जनको संगत पूर्वयुवराज पारससँग थियो । दरबारिया रहनसहनमा रमाएका प्रवञ्जन विश्वका ब्राण्डेड रक्सी पिउँथे र विश्वका महंगा मध्येका बारमा युवतीसँग रसलिला गर्दथे । उनले यि सबै बिरासतबाट एकाएक सन्यास लिए र सामान्य आश्रममा आश्रय लिए ।
‘किन त ?’ श्रीमती र छोरीसहितको पारिवारिक जीबनसमेत त्यागेका प्रवञ्जनका लागि यो स्वभाविक प्रश्न थियो । महाभोगीबाट जोगी बनेका उनले भने, ‘मेरा आदरणीय मित्र पारस सरकारको हृदयघात पछि मेरो मनस्थिति पूरै परिवर्तन भयो । उहाँको स्वास्थ्यको कामनाका लागि गोरखनाथ गोरक्षपीठ आश्रम मृगस्थलीमा आएँ । मलाई भिन्दै शक्ति प्राप्त भयो, उता (थाइल्याण्ड) सरकारलाई पनि सन्चो भयो । त्यसपछि यतै बस्न थालेँ ।’
आश्रमबाट अन्त जानै मन नलाग्ने भयो । उनले घर ठानेको सुविधा सम्पन्न पारिवारिक महलमा उनको मन बस्न सकेन । मृगस्थलीको सामान्य आश्रममा पुग्दा उनलाई अद्भुत आनन्द हुन्थ्यो । उनले साथीभाइ र नजिकका आफन्तसँग आफुले वास्तविक घर पत्ता लगाएको बताए । शुरुमा उनलाई धेरै विस्वास नै गरेनन् । ‘के भनिस्या सरकार ?’ उनका साथी संगी उनलाई अविस्वाससहितको प्रश्न गर्थे । नभन्दै उनी आश्रमका वस्न थाले । योगी नरहरिनाथका उत्तराधिकारी योगी शेषनाथबाट दिक्षा लिए । दिक्षा प्राप्त गरिसकेपछि उनी पूर्ण रूपमा साधु महाराज बने ।
युवाअवस्थामा उनी जिद्धी थिए । मनलाग्दी गर्थे । उनको लहडमा कस्लाई कति क्षति पुथ्यो, उनी वेप्रवाह रहन्थे । मनमौजी स्वभावका उनका लागि कलेज बंक र ग्यांक फाइट नित्य कर्म बनिसकेका थिए । अहिले ति सबै उनलाई सपनाजस्तो लाग्छ । ‘ति सबै गर्ने म आफैं हुं ?’ उनी आफैंलाई प्रश्न गर्छन ।
सेन्टजेभिर्यसका उत्पादन प्रवञ्जनको जीबनमा सबथोक थियो तर वास्तवमा केही रहेनछ । दुनियाँका नजरमा उनी सम्पन्न थिए तर अन्तर्यमा उनी विपन्न रहेछन् । उनले यो कुराको अनुभुति आश्रममा पुगेपछि गरे । त्यसपछि उनी सिद्धार्थ गौतमले दरबार छाडेझैं भव्य दरबार छाडे र सदाका लागि योगी बने ।
उनी आफुलाई आफू स्वतन्त्र रहेर गुरुले प्रदान गरेको बाटोमा जान पाएकोमा धन्य महशुस गरेका छन् । भन्छन् ‘सबै कुरा त्यति सजिलो त थिएन् तर श्रीमती, आमा, बुबा र भाइले मेरो भावना बुझिदिए, मैले उहाँहरूलाई त्यागेको होइन, सबैलाई जोड्न योगी बनेको हुं । म हिड्ने बेलामा छोरी सानै थिई । उसले यो कुरा सबै बुझेकी छैन । पछि ठूलो भएपछि बुझाईदिनु भनेको छु । ’
राजसंस्था र हिन्दुराज्यको अभियान
उनको अभियान राजतन्त्र र हिन्दु धर्मसंग जोडिएको छ । उनको आश्रम यात्रा नै पूर्वयुवराजको हृदयघातसँग जोडिएको छ । पारसको शीघ्र स्वास्थ्यलाभको कामना गर्न मृगस्थली पुगेका उनी सधैंका लागि योगी भए ।
त्यसो त उनको रुची अध्यात्ममा पहिले देखि नै थियो । सांसारिक मायाजालबाट उन्मुक्तिमात्र पाउँन सकेका थिएनन् । राजसंस्थाप्रति अगाध विस्वास राख्ने प्रवञ्जनलाई गणतन्त्रको घोषणाले वेचैन बनाएका थियो । उनी राजतन्त्र र हिन्दु राज्यको पुर्नस्थापनाका बारेमा गम खाइरहन्थे । अहिले उनी योगीका रुपमा राजसंस्था र हिन्दुराज्य पुर्नस्थापनाको अभियन्ता बनेका छन् ।
‘राजा सबैलाई चाहिन्छ । प्राणीलाई पनि चाहिएको छ । मौरीको आफ्नै राजा छ । कमिलाको आफ्नै छ, जङ्गलमा हरेक पशुपंक्षीमा राजा छ ।’ राजसंस्थाको महत्व दर्शाउन उनी अनेक दृष्टान्त दिने गर्छन । उनी भन्छन् ‘ हरेक नेपाली मर्यादित राजसस्था चाहन्छन । हरेक नेपालीको मुटुमा राजसंस्था बसेको छ ।’
राजसस्था फर्कनेमा उनी ढुक्क छन । जनताले नै राजसस्था फर्काउने दिन अवश्य आउने बताउछन । ‘ राजसस्था जनताले फालेको होईन अनर्तराष्ट्रिय दवाबको कारण राजसंस्था हटेको हो । ’ उनको तर्क छ ।
- प्रस्तुति: सागर बुढाथोकी/नेपाल आज