- संयोग गुरागाईं
पुरानो भट्टी पसल
हिजो को कुरा
एउटा अधबैंसे
१ गिलास,२ गिलास,३गिलास
बेहिसाब पिइरहेथ्यो,
उ अन्जान थियो मेरा निम्ति
तर म उसको अनुहारलाई चिन्थे,
दुःख भरिएका मलिन आँखालाई चिन्थे,
अनि हातमा डोकुमेन्टेसन गरेका ती प्रमाणपत्रहरु लाई चिन्थे,
प्रष्ट देखिन्थ्यो बेरोजगार उ
म पनि बेरोजगार थिए
त्यसैले उसलाइ चिन्थे।
आज,
उ मौन छ
गिलासलाई जर्नल बनाएर,धुँवाका सेनापती थप्दै,क्रान्ति गरिरहेछ आफ्नै भाग्यसङग निसब्द,
के तिमी मलाई साथी बनाउछौ?
म पनि सामेल भएर मसाल उठाउन चाहन्छु तिम्रो क्रन्तीमा,
बिडम्बना
दुरि नजिक छैन साथी तिमिसङग
जति नजिक छौ तिमी गिलाससङग
दुरि नजिकै भएर सम्बन्ध प्रगाढ छ तिम्रो गिलाससङग
दुरि टाढा भएरै तिम्रो केही सम्बन्ध छैन मसङग,
तर नडराउ साथी, म तिमिलाइ आज पनि चिन्छु,
किनकी म पनि बेरोजगार नै छु।
झाडीबाट जुनकीरी बल्दै निस्के,
उ नशामा ढल्दै निस्कियो,
खुट्टा कमाउदै,
दैलो समाउदै,
आजकल, निजि होस य सरकारी,
पैसाले किनेका कर्मचारी,
अनि भट्टिलाइ सधैं बेरोजगारी,
उ फेरि आउनेछ……
मलाई बिश्वास छ उ भोलि फेरि आउनेछ
प्रमाणपत्रलाई गिलास देखाउन
अनि भट्टिलाइ बेरोजगारी देखाउन,
बिचारा उ भोलि पनि बेरोजगार रहनेछ,
तर म उसलै भोलि पनि चिन्ने छु,
किनकी
म भोलि पनि बेरोजगार नै रहनेछु।