
- अर्थ सरोकार सम्बाददाता
भारतीय सिमेन्ट बुलन्दले नेपाली चोर विज्ञापन निर्माण कम्पनी एएनएस क्रिएसन प्रालिलाई बौद्धिक चोरीको मुद्धा लगाउने समेत तयारी गरिरहेको छ । अर्थ सरोकार डटकमले नेपाली विज्ञापन कम्पनीले भारतीय कम्पनीको विज्ञापन हुबहु चोरेको बारे प्रतिक्रिया लिंदा भारतीय कम्पनीका प्रतिनिधिले यसबारे बुझेर सम्बन्धित कम्पनीलाई बौद्धिक चोरीको मुद्धा लगाउने बताएका छन् ।
यता अर्थ सरोकार डटकमले तान्जेनियाको टुइया सिमेन्टसँग पनि प्रतिक्रिया लिन खोजेको थियो । अर्थ सरोकारले लेखेको मेलको उत्तर दिंदै टुइया सिमेन्टले यो खबरले आफुहरुलाई दुखी बनाएको भन्दै यसबारे सत्य तथ्य बुझेर अगाडी बढ्ने बताएका छन् ।
हामीले केहि समयअघिदेखि दरिद्र चोरीको पर्दाफास गरिरहेका छौं । अरुको विज्ञापन हुबहु चोर्ने, र जनतालाई झुक्काएर देशको बेइज्जत गर्ने कम्पनी विरुद्ध हामी बोलिरहेक छौं । अर्थ सरोकारको हिजोको अंकमा हामीले एएनएस क्रिएसन प्रालि नामक कम्पनीले अरुको विज्ञापन हुबहु चोरेर बनाएको तथ्य सार्वजनिक गरेका थियौं । हामीले उक्त कम्पनीले बनाएको लक्ष्मी स्टिलस्, र पोषक पलेट दानाको विज्ञापन हुबहु चोरेर बनाएको तथ्य स-प्रमाण सार्वजनिक गरेका थियौं ।
भारतीय कम्पनीले दियो कडा प्रतिक्रिया
एएनएस क्रिएसन प्रालि नामक नेपाली कम्पनीले भारतीय विज्ञापनलाई हुबहु चोरेर नेपाली विज्ञापन बनाएको कुरामा हामीले भारतको बुलन्द सिमेन्टका एक प्रतिनिधिसँग कुराकानी गरेका थियौं । हामीले तपाईंहरुको विज्ञापन त यसरी चोरिएको छ नि ? भन्ने प्रश्न गर्दा उनले केहि अपशब्दहरु समेत प्रयोग गरी नेपाली चोर कम्पनीलाई गाली गरेका छन् । उनले नेपालीहरु जस्तो विश्वमै बहादुर भनेर चर्चित हुँदा पनि यस्तो चोरी गरेको कुरा सुन्दा आफुहरुलाई दुख लागेको समेत बताएका छन् ।
नेपालीहरु चोर पनि हुँदा रहेछन् भन्ने बुझ्यौं : बुलन्द सिमेन्टका प्रतिनिधि
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै भारतीय सिमेन्ट कम्पनी बुलन्दका प्रतिनिधिलेभने, ‘नेपालीहरु स्वाभिमानी, बहादुरी र निकै सिर्जनशील भन्ने ठानेका थियौं । तर यो कुरा थाहा पाएपछि अव त नेपालीहरु चोर पनि हुँदा रहेछन् भन्ने पर्यो । ‘ उनी अगाडी भन्छन् , ‘हुन त विज्ञापन अरु देशहेरुले पनि चोर्ने गरेका छन्। तर अरुले मिलाएर चोर्छन्। नेपालको कम्पनीले त आफु केहि पनि गर्न जान्दोरहेनछ । यो कुराले हामी दुखी छौं ।’
एएनएस विरुद्ध मुद्धा हाल्ने तयारी
यसैबीच नेपालको चोर विज्ञापन निर्माण कम्पनी एएनएस क्रिएसन प्रालिविरुद्ध भारतीय कम्पानीद्वारा मुद्धा हाल्ने तयारी रहेको बुझिएको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै भारतीय सिमेन्ट कम्पनी बुलन्दका प्रतिनिधिहरुले बौद्धिक चोरी गरेको भन्दै नेपाली विज्ञापन निर्माण कम्पनी एएनएस क्रिएसन विरुद्ध मुद्धा हाल्ने समेत बताएका छन् । ‘हामीले पनि यो काम एउटा विज्ञापन निर्माण कम्पनीलाई दिएका थियौं। पहिला त्यहाँ कुरा गर्छौं। त्यसपछि नेपाली चोर विज्ञापन निर्माण कम्पनी विरुद्ध मुद्धा हाल्छौं । ‘ उनले भने ।
एएनएसले बनाएका अधिकांस विज्ञापन चोरीका :
एएनएस क्रिएसन पालि नामक कम्पनीले बनाएका अधिकांस विज्ञापन चोरीको रहेको पाइएको छ । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा कम्पनीकै एक कर्मचारीले समेत कम्पनीमा कसरी अरुको विज्ञापनलाई नेपालीकरण गर्ने भन्ने मात्र चर्चा हुने गरेको बताएका छन् । ‘कम्पनीले बनाएका अधिकांस विज्ञापन चोरीका हुन् । विज्ञापनको काम लिने तर आफैं शब्द, संगीत भिडियोको कन्सेप्ट लगायतका काममा मेहेनत गर्नुपर्दा खर्च पनि बढी हुने हुनाले कम्पनीक मालिक सुदिप थापाकै आदेशअनुसार विज्ञापन चोरेर बनाउने गरिएको छ । यसरी उक्त कम्पनीले चोरेर विज्ञापन बनाउन थालेको धेरै भइसकेको छ। ‘ कम्पनीका एक कर्मचारीले अर्थ सरोकार डटकमलाई बताए।
ठुला ब्राण्ड तर थर्ड क्लास काम !
अधिकांस चोरीका विज्ञापन बनाउने भएपनि उक्त कम्पनीले कलाईन्ट भने ‘ब्रान्डेड’ पाउने गरेको छ । विज्ञापनमा बढी खर्च गर्ने व्यापारिक समूहहरुलाई उसले आफ्नो बसमा पारेको त छ तर सबै अरुको विज्ञापनलाई हुबहु चोरेर उसले आफ्ना कलाईन्टलाई झुक्काइरहेको छ । उसले बनाएका अधिकांस चोरीका विज्ञापनका कारण अन्तराष्ट्रिय स्तरमै नेपालको बेइज्जत भइरहेको छ ।
क्लाइण्ट ठग्दै, जनता झुक्काउँदै, देशको बेइज्जत गर्दै !
यसरी एएनएस क्रिएसन प्रालिले आफ्ना क्लाइण्टलाइ त ठगेको छ नै, अरुको विज्ञापन चोरेर नेपाली जनतालाई पनि झुक्काइरहेको छ। आफुलाई खुब क्रिएटिभ ठान्ने कम्पनीले बनाएका अधिकांस विज्ञापन चोरीका भएको थाहा पाएका कतिपय नेपालीहरुले आफ्नो देशको बेइज्जत भएको गुनासो पोख्न थालेका छन् । भारतको बुलन्द सिमेन्टमा कार्यरत एक नेपाली कर्मचारी भन्छन्, ‘यहाँ काम गरेको ३ बर्षजति भयो। नेपालले त हाम्रो विज्ञापन हुबहु चोर्दो रहेछ, नेपालीहरु विज्ञापन बनाउन नै जाँदा रहेनछन् भनेर यहाँका साथीहरुले भन्दा निकै चित्त दुखेको छ।’
नयाँ विज्ञापनमा पनि बासी जिङ्गल
अहिले नेपाली टेलिभिजनमा बज्ने उसले बनाएका कतिपय विज्ञापनका जिङ्गलहरु पनि निकै पूराना हुन् । भारतीय विज्ञापनबाट सारेर बनाइएका ती जिङ्गलहरु कतिपय राष्ट्रवादी विज्ञापनमापनि प्रयोग भएका छन् । जसले गर्दा कम्पनीको बदमासीका कारण नेपाली राष्ट्रियतामाथि पनि प्रश्न उठेको छ । ‘सस्तो बनाउने र धेरै नाफा कमाउने धन्दामा अरुको विज्ञापन चोर्ने काम भएको छ । आफ्ना क्लाइण्टलाई महँगो शुल्क ठटाउने तर आफु अरुको विज्ञापन चोरेर सस्तोमा तयार गर्ने परिपाटीले कम्पनीले समग्र नेपाली विज्ञापन क्षेत्रमा नै असर गरेको छ।’ एएनएस क्रिएसन प्रालिकै एक कर्मचारी अगाडी भन्छन्, ‘चोरेरनै अहिलेसम्म विज्ञापन निर्माण भइरहेको छ । अहिलेसम्म कोहि पनि बोलेका छैनन् ।’
एएनएसका कारण भारतमा नेपालको बेईज्जत !
चोर्न पनि नजान्ने दरिद्र चोरहरुका कारण नेपाली विज्ञापन क्षेत्रमा भारतीय विज्ञापनको हुबहुचोरिएका विज्ञापनहरु दबदबा रहेको र यसले समग्र नेपालीहरुको सिर्जनशील शक्तिमाथि नै प्रहार भई विश्व विज्ञापन बजारमा नेपालीहरुको बेइज्जत भईरहेको समाचार अर्थ सरोकार डटकमले केहि दिन यता निरन्तर प्रकाशन गरिरहेको छ। विभिन्न विज्ञापनबाट हुबहु सारेर नेपालीहरुको बेइज्जत त भइरहेको छ नै अर्कोतर्फ सिर्जनशील नेपालीहरुको सिर्जनशीलता धरापमा पर्दै गएको छ ।
पछिल्लो समय नेपाली टेलिभिजनहरुमा एएनएस क्रिएसनले बनाएका अध्कांस चोरीका विज्ञापनहरु बज्ने गरेका छन् । नेपालका टेलिभिजनहरुमा खुब बज्ने लक्ष्मी स्टिल्सको विज्ञापन होस् वा फोर्स सिमेन्टको, नानो चाउचाउको विज्ञापन होस् वा पोशाक पलेट दानाको । अझ नेपालमा कुनै बेला खुब चलेको विज्ञापन ऋद्धि सिद्धि ज्वेलर्सको विज्ञापन नै किन नहोस् सबै चोरीका विज्ञापनहरु । चोर्न पनि यसरी चोरीएका कि, चोर्न पनि नजान्ने चोर हरुले चोरेको जस्तै । दरिद्र चोरी । यसरी विदेशी विज्ञापन हुबहु चोरेर बनाउने विज्ञापन एजेन्सीहरुका बारेमा हामीले सुक्ष्म अनुसन्धान गरेका थियौं। यसरी विज्ञापन चोरी गरेर बनाउने चोर विज्ञापन निर्माण कम्पनीका बारेमा बुझ्दा एएनएस क्रिएशन प्रालि नामक कम्पनीको नाम अगाडी छ। यस्ता चोरीका विज्ञापनका कारण अन्तराष्ट्रिय स्तरमा नेपालीको बेइज्जत भइरहेको छ।
यी त दुइ उदाहरणहरु मात्र हुन्, यो कम्पनीले आफुले बनाएका अधिकांस विज्ञापन चोरेर बनाएको छ। जसको बारेमा हामी आगामी गर्दैछौं ।
किन गरिन्छ यस्तो ‘थर्ड-क्लास’ काम ?
सिर्जनशील नेपालीहरुको कमि नहुँदा पनि किन यस्ता विज्ञापन एजेन्सीहरुले वा विज्ञापन निर्माण कम्पनीहरुले यस्तो थर्डक्लास काम गरिरहेका छन् त ? नयाँ बानेश्वर मै अर्को एक विज्ञापन एजेन्सी चलाएर बसेका एक विज्ञापन व्यवसायी भन्छन्, ‘आफ्नो क्रिएसन बनाउन समय लाग्छ, पैसा पनि धेरै खर्च लाग्छ, अरुको चोर्यो बनायो, सजिलो भयो ।’ उनका अनुसार सस्तोमा काम लिने र चोरीको विज्ञापन बनाउने ट्रेन्ड एकातर्फ छ भने अर्कोतर्फ महँगोमा काम लिने तर आफुलाई मार्जिन बढी राखेर चोरीको विज्ञापन बनाउने ट्रेन्डले गर्दा यस्तो समस्या आएको हो । ‘यस्ता विज्ञापनहरुले समग्र नेपाली विज्ञापन क्षेत्रमा नै असर गरिरहेको कुरामा कुनै दुइमत छैन । अझ कतिपय चोरीका विज्ञापनहरुत नेपाल विज्ञापन एजेन्सी संघले प्रदान गर्ने अवार्डमा समेत छनोट भएका छन् । यसरी राष्ट्रिय स्तरको अवार्ड पाउँदा ती विज्ञापनहरु चोरीका हुन् भन्ने पछि थाहा भएपछी नेपालको कति बेइज्जत भयो होला ?’ उनले अर्थ सरोकार डटकमसँग भने ।
मापदण्ड नै नहुँदा समस्या स: विज्ञापन व्यवसायी
यता अन्य विज्ञापन व्यवसायीहरु भने मापदण्डनै नहुँदा समस्या परेको बताउँछन् । ‘विज्ञापन सारेको पाइएमा, के कारवाही गर्ने भन्ने विषयमा नेपालमा स्पष्ट कानुन छैन ।’ कोटेश्वरमा विज्ञापन एजेन्सी चलाईरहेका एक विज्ञापन व्यवसायी भन्छन् , ‘यस विषयमा नेपालको कानुन फितलो छ । ठूला कम्पनीहरुले पनि चोर कम्पनीहरुलाई नै पत्याइरहेको अवस्था छ ।’ उनले भने । चोर विज्ञापन निर्माण कम्पनी एएनएस क्रिएसन प्रालिलाइ संकेत गर्दै उनले भने, ‘नेपालका ठुला कम्पनीका विज्ञापन पनि तिनै चोर कम्पनीले बनाउने गरेका छन्, जसले गदा समग्र नेपाली विज्ञापन क्षेत्रनै फोहोर बनेको छ ।’ उनी अगाडी भनछन्, तपाईं हरुले खोज्न थाल्नुभएको छ, अझै खोज्नुहोस्। हामी पनि मद्दत गर्छौं। राष्ट्रियताको नाम मुछेर अहिले नेपाली टेलिभिजनहरुमा बज्ने केहि विज्ञापनहरु पनि चोरीका विज्ञापन हुन् ।’
के भन्छन् विज्ञ ?
नेपाल सरकारका पूर्व सचीव एवं मिडिया कानूनका विज्ञ काशीराज दाहालले विज्ञापन बाजारमा आएको विकृति र विज्ञापन संघ लगायतका केहि संघ संस्थाको सुझावमा विज्ञापन सम्बन्धि नियमन निकाय गठन गर्नका लागि सुझाव सहितको प्रस्ताव लैजाने तयारी भइरहेको बताएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने,’अहिले पत्रपत्रिकामा प्राकाशीत सामाग्रीबारेका विविध उजुरीहरुलाई प्रेस काउन्सिल नेपालले हेरिरहेको छ । तर छुट्टै नियमक निकाय गठनका लागि हामीले प्रायस गरिरहेका छौं ।’ उनका अनुसार नेपाली विज्ञापन बजारमा विभिन्न खालका विकृति आएको र के छाप्न हुने नहुने भन्ने विषयमा स्पष्ट मापदण्ड नभएको हुनाले विज्ञापन सम्बन्धि छुट्टै नियमक निकाय गठनको तयारी भइरहेको छ ।
प्रतिक्रिया लिन खोज्दा एएनएस क्रिएसन प्रालिको यस्तो नाटक
हामीले उक्त कम्पनीले अरुको विज्ञापन चोरेर बनाउने गरेको विषयमा कम्पनीका प्रबन्ध निर्देशक सुदिप थापासँग प्रतिक्रिया लिन खोजेका थियौं। तर उनको फोन नउठेपछि हामीले कम्पनीका मिडिया मेनेजर रहेका निरोज श्रेष्ठलाइ सम्पर्क गर्यौं । तर उनले पनि हाम्रो फोन नउठाएपछि हामीले कम्पनीले चलाएको फेसबुक एकाउन्टमा प्रतिक्रिया मागेका थियौं । उक्त एकाउन्टबाट अफिसमा आउनु भनी सम्पर्क नम्बर समेत दिइयो। तर शुक्रबार अर्थ सरोकार डटकमका पत्रकार थापागाउँ स्थित उक्त कम्पनीको कार्यालयमा पुग्दा कार्यालयकी रिसेप्सनले उक्त नम्बर आफ्नो कम्पनीमा कार्यरत कसैको पनि नभएको बताईन । ‘म अर्थ सरोकार डटकम, अनलाइन पत्रिकाबाट आएको, समाचारको लागि एकजना कम्पनी प्रतिनिधिको ‘कोट’ लिन आएको’ भन्दा रिसेप्सनले, ‘कोट’ भनेको के हो ? भन्ने जवाफ फर्काइन। हामीले पुन: एक जना यो कम्पनीको निर्देशक वा कसैसँग भेट गराईदिनुहोस न हामीले फेसबुकमा कुरा गरेका छौं, तपाईंहरुको फेसबुक कसले चलाउँछ ? भनी सोध्दा उनले हाल अफिसमा कोहि पनि नभएको र यसबारे आफुलाई थाहा नभएको बताईन् ।
र हामी निरन्तर खोजीमा छौं…
यसरी भारतीय विज्ञापनको हुबहु चोरी गर्ने अनि नेपाली जनतालाई बेवकुफ बनाउने यस्ता कम्पनीका विरुद्ध हामीले हाम्रो खोजलाई निरन्तरता दिइराखेका छौं। आगामी अंकमा हामीले यो कम्पनीले चोरेर बनाएका अन्य विज्ञापनका बारेमा सामाग्री प्रस्तुत गर्नेछौं भने सम्बन्धित भारतीय विज्ञापन एजेन्सी, सम्बन्धित कम्पनी र अन्य निकायमा पनि जनताका तर्फबाट उजुरी दिने प्रक्रियामा छौं ।
यो पनि पढ्नुहोस् :
- चोरेर विज्ञापन बनाउँदै, नेपालीको बेइज्जत गर्दैछ एएनएस क्रिएसन प्रालि नामक कम्पनी
- दरिद्र चोरीको नमुना नम्बर ५ : ऋद्धिसिद्धि ज्वेलर्सको विज्ञापन र भारतको सानाभारा स्टोर्सको विज्ञापन पनि हुबहु !
- दरिद्र चोरीको नमुना नम्बर ४ : नेपालको नानो चाउचाउ र श्रीलंकाको कोकाकोलाको विज्ञापन हुबहु
- दरिद्र चोरीको नमुना नम्बर ३ : हेर्नुहोस् संगीतदेखि शब्दसमेत चोरेर बनाइयो यो नेपाली विज्ञापन !
- दरिद्र चोरीको अर्को नमुना : हेर्नुहोस् फोर्स सिमेन्टको हुबहु चोरिएको विज्ञापन ! (चोरीको विज्ञापन नम्बर २)
- कठै हाम्रा ‘चोर’ विज्ञापन एजेन्सी, जो चोर्न पनि जान्दैनन् ! (चोरीको विज्ञापन नम्बर १)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्