काठमाण्डौ – तपाईं प्रत्येक बिहान टेबलटेनिस टिटी खेल्नुहुन्छ रे नि,’ पहिलोपटक प्रधानमन्त्री प्रचण्डलाई भेट्दा सुदिल शाहीले भने । यो दुई वर्षअघिको कुरा हो । प्रधानमन्त्री पुष्पकमल दाहालले सुदिलसँगको भेटमा यस्तो प्रश्नको अपेक्षा सायदै गरेका थिए । तर, सुदिलले यो प्रश्नसँगै एक स्टेप अगाडि बढेर भनिदिए, ‘म पनि टिटीको खेलाडी हुँ ।’
२०७१ भदौमा भएको यो संवादको भोलिपल्टदेखि नै सुदिल प्रत्येक बिहान प्रचण्डसँग टेबलटेनिस खेलिरहेका छन् । तर, प्रचण्डले टिटी खेल्न थालेको भने नौ वर्षभन्दा बढी भइसकेको छ । सुरुमा प्रचण्ड प्रत्येक बिहान टिटी खेल्छन् भन्दा सुदिलले झट्ट पत्याउन सकेका थिएनन् । तत्कालीन खेलकुदमन्त्री कमला रोक्काले उनलाई यो जानकारी दिएकी थिइन् । कालिकोटका माओवादी सांसद महेन्द्रबहादुर शाहीले सुदिललाई प्रचण्डसँग भेटाइदिए ।
भेटमा सुदिलसँग प्रचण्डको जे कुरा भयो, त्यसले त्यो रातको निद्रा नै गायब गरिदियो । ‘भोलिदेखि नै मलाई टिटी सिकाउन आउनुहोस् न त,’ प्रचण्डले त्यो बिहान सोधेका थिए, ‘मिल्छ रु’ त्यो रात निदाउन बिस्तारामा पल्टिएपछि सुदिलका मनमा अनेक कुरा उठे । ‘१० वर्ष युद्धको नेतृत्व गर्नुभएका नेता, अहिलेका पावर सेन्टरसँग कसरी दिनहुँ खेल्ने होला रु’ यही एउटा प्रश्नले सुदिलको निद्रा गायब गराइदिएको थियो । त्यो रात एक घन्टा पनि राम्रोसँग निदाउन सकेनन् सुदिल ।
भोलिपल्ट बिहान मनमा अनेक कुरा खेलाउँदै लाजिम्पाटस्थित प्रचण्डनिवास पुगे । अप्ठ्यारो त उनलाई औधी लागिरहेको थियो । तर, प्रचण्ड सहज भएर निस्किए । ‘म पुगेपछि उहाँ ट्र्याकसुट र टिसर्ट लगाएर आइदिनुभयो,’ उनी भन्छन्, ‘पहिलो स्टेपमै मलाई सहज भयो ।’ ००० टेबलटेनिस र राजनीतिमा केही समानता छन् । ‘क्विक डिसिजन’ दुवै राजनीतिज्ञमा पनि हुनुपर्छ र टेबलटेनिस खेलाडीमा पनि । सुदिल प्रचण्डको राजनीतिक डिसिजनबारे केही भन्दैनन्, तर प्रशिक्षकका आँखामा प्रचण्ड टेबलटेनिसका लागि उपयुक्त खेलाडी हुन्
उनी ‘राइट टाइम, राइट डिसिजन’ लिन्छन् । र, प्रचण्ड टिटीमा नियमित पनि छन् । ‘जस्तोसुकै व्यस्तता भए पनि उहाँ बिहान ६ बजेदेखि ४० मिनेट टिटीका लागि छुट्याउनुहुन्छ,’ सुदिल भन्छन् । सायद, स्वास्थ्यचेतले पनि प्रचण्डलाई यो बाध्यतामा पारेको छ । खेल सुरु भएपछि प्रचण्ड र सुदिल लगातार ४० मिनेट खेल्छन् ।
प्रचण्ड पनि थाक्दैनन्, प्रशिक्षक भएकैले पनि सुदिल उनलाई उत्साहित गरिरहन्छन् । ‘म उहाँलाई टिटी बल हिर्काउन अभ्यस्त बनाउने कोसिस गर्छु,’ सुदिलको अनुहारमा मीठो मुस्कान सहजै देखिन्छ, ‘उहाँ पनि खेलमा निकै उत्साहित हुनुहुन्छ । आजसम्म निराश भएर उहाँ टिटी कोर्टमा उत्रिनुभएको छैन ।’ सुदिल यति मात्र प्रशंसा गर्दैनन्, भन्छन्, ‘उहाँको लगावले त मलाई नै प्रभाव पो पारेको छ ।’ प्रचण्डको खेल अनुभवले सुदिललाई प्रभाव पार्नु अर्को पनि कारण छ ।
लगातार ४० मिनेट खेल्दा पनि प्रचण्ड थकित देखिँदैनन् । बरु, त्यो बिहानको ४० मिनेटको समीक्षा गर्न रुचाउँछन् । प्रचण्डको यही बानी र उत्साहका कारण पनि ललितपुरको पुल्चोकबाट सुदिल कुनै अप्ठ्यारो नमानी आजभोलि दैनिक प्रधानमन्त्रीनिवास बालुवाटार पुग्छन् । र, खेलभर सुदिललाई प्रतीक्षा हुन्छ प्रचण्डको कमेन्टको । राजनीतिमा ‘हार्ड कमेन्ट’ गर्ने प्रचण्ड टेबलटेनिस खेलबारे ‘सफ्ट कमेन्ट’ गर्छन् । ‘आजको खेल त घमासान भयो नि १’ ‘आज त अत्यन्त रमाइलो भयो ।’ ‘आजचाहिँ गुरु गुँदजस्तो र चेला चिनीजस्तो पो भयो ।’
यी र यस्तै प्रतिक्रियाले सुदिललाई प्रचण्डसँगको खेलबारे झन्–झन् चासो बढाउँछ । त्यसैले त उनी प्रत्येक दिन बिहान पुल्चोकबाट बालुवाटार जान ‘पब्लिक गाडी’ समात्छन् । ‘फर्किंदा पनि म सार्वजनिक यातायात नै रुचाउँछु,’ उनी भन्छन् । तर, सुदिल प्रधानमन्त्रीका मात्र प्रशिक्षक होइनन् ।
उनी काठमाडौंका विभिन्न स्कुलमा पनि टेबलटेनिस सिकाइरहेका छन् । टिटी ब्याट हातमा समाएर उनले आफ्नो आर्थिक गर्जो टारिरहेका छन् । ‘प्रधानमन्त्री प्रचण्डबाट चाहिँ टिटी सिकाएबापत कति लिनुहुन्छ रु’ फ्याट्ट यो प्रश्न गर्दा सुदिल एक छिन मुस्कुराए । अनि भने, ‘उहाँले त अफर गर्नुभएको थियो । तर, मैले लिएको छैन ।
लिन मानेकै छैन ।’ आखिर किन रु ‘नेपाली राजनीतिको केन्द्रमा हुनुभएका उहाँलाई टिटी सिकाउन पाउनु त मेरा लागि गर्वको विषय हो नि,’ उनी भन्छन्, ‘मैले आफूलाई बचाउन अन्यत्रबाटै कमाइरहेको छु ।’ र, थप्छन्, ‘आखिर पैसा मात्रै पनि ठूलो कुरा होइन नि, त्यति ठूलो मान्छेलाई दैनिक भेट्न पाइरहेको छु । यसले पनि मलाई खुसी दिन्छ ।’ खुसी मात्र होइन, प्रम प्रचण्डसँगको भेटले सुदिललाई सकारात्मक ऊर्जा पनि दिइरहेको छ ।
प्रचण्डले टेबलटेनिस खेल्नुको एउटा कारण हो पसिना बगाउनु । त्यसैले उनी बिहानको समयमा कहिल्यै ‘कम्प्रोमाइज’ गर्दैनन् । त्यसो त सुदिल पनि कुनै पनि कम्प्रोमाइज गर्न दिँदैनन् । यसैको कारण हुनुपर्छ, पछिल्ला महिनामा प्रचण्डको स्वास्थ्यमा क्रमिक सुधार पनि देखिएको छ । ‘जमेरै खेल्ने भएकाले उहाँमा पोजिटिभ इम्प्याक्ट परेको छ,’ सुदिल भन्छन्, ‘यसले ममा मात्र होइन, उहाँमा मात्र पनि होइन, पूरै परिवारमा खुसियाली छाएको म अनुभव गर्छु ।’
सुदिललाई खुसी दिने कुरा पनि हो यो । त्यसैले त उनले प्रचण्डसँग टिटी खेल्न आफैँ बल र ब्याटको व्यवस्था गरेका छन् । ‘त्यो अन्तर्राष्ट्रियस्तरमा खेलिने बल र ब्याटजस्तै छ,’ उनी भन्छन्, ‘नियममा बसेर उहाँसँग खेल्दा मलाई पनि ऊर्जा मिल्छ ।’ तर, टिटी टेबलमा यी दुईले कहिल्यै गणना गर्दैनन् । ‘हारजितका लागि खेल्ने पनि त होइनौँ,’ सुदिल भन्छन्, ‘अरू सबै नियम हामी फलो गर्छौं, तर काउन्टचाहिँ गर्दैनौँ ।’ सायद, टिटीमा हार्नु र जित्नुमा प्रचण्डको जीवनमा त्यति ठूलो ‘औचित्य’ छैन, जति राजनीतिक ‘विन’ र ‘लस’ले अर्थ राख्छ । नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।