- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजीत उत्खनन हुनसकेको छैन ।
शिलाजीत उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि वर्षैनि करोठडौँको नोक्सानी भइरहेको छ । म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, बिमलगायत गाविसका पहरामा शिलाजीत पाइन्छ ।
शिलाजीत उत्खनन गर्नेतर्फ सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानीयवासी निराश भएको ज्यामरुककोटका शिवराम शर्मा बताउँछन् ।
नुनिलो र टर्रो स्वाद हुने शिलाजीत भिरपहरामा मात्र पाइन्छ । शिलाजीत कालो र सेतो गरी दुई किसिमका हुन्छन् । पहराबाट निस्किएको एक प्रकारको रसायन जमेर शिलाजित बन्ने गरेको बताइन्छ । कालो शिलाजीतको रस नियमित सेवन गर्नाले धातु, गानोगोला, ग्यास्ट्रिक, नसासम्बन्धी लगायतका रोग निको हुने जनविश्वास छ ।
शिलाजीतको नियमित प्रयोग गर्नाले स्वास्थ्यका लागि निकै फाइदा पुग्ने जिल्लाका आयुर्वेदिक चिकित्सकले बताएका छन् । शिलाजीत उत्खनन हुनसक्ने हो भने म्याग्दीमा वार्षिक रू। १० करोड सम्मको शिलाजित बिक्री हुनसक्ने प्रबल सम्भावना रहेको भए तापनि प्राविधिक ज्ञान र उपकरणको अभावमा यो खेर गइरहेको उद्योगी–व्यापारीको भनाइ रहेको छ ।
बजारमा माग भए पनि उत्खनन गर्ने आधुनिक सीप र प्रविधिको अभावमा शिलाजीत खेर गइरहेको जिविस म्याग्दीले बताएको छ । बजारमा प्रति दशग्राम शिलाजीत रू। २५ देखि रू। ३० सम्ममा बिक्री हुन्छ ।
तर जडीबुटीको असन्तुलित व्यापारका कारण लगानीकर्ता यसतर्फ आकर्षित हुन नसकेको जिल्ला वन कार्यालय म्याग्दीले बताएको छ । वन कार्यालयका अनुसार जिल्लाबाट न्यून मात्रामा मात्र शिलाजीत निर्यात हुने गरेको छ ।