दाजु यामबुद्ध, ढोग गरें ।
यमबुद्धको निधन ! जीवनमा पहिलोपटक सायद कुनै समाचार गलत भइदिए हुन्थ्यो भनेर भगवानसँग प्रार्थना गरें होला । तर पनि पत्थरलाइ देउता सम्झिएका हामीले गरेको पुकार कहाँ सुनिन्थ्यो र, आखिर यमबुद्धको निधन सत्य नै रहेछ । जव यकिन भयो, रहेनन् यामबुद्ध भनेर, तव मनले यहि सोचिरह्यो, हिम्मत नहार्नु भनेको जित्नुभन्दा ठुलो कुरा नै रहेछ त ?
मृत्यु सास्वत सत्य हो । कारण जे सुकै होस् । तर तिमीले हत्या रोज्यौ । एउटा क्रुर हत्या, आत्महत्या । कारण पर्दा पछाडी नै छ । त्यो आवेग थियो वा अरु केहि, त्यो पनि थाहा छैन । तर सत्यचाहिं तिमीले सिकाएको पाठ नै हो । जित्नुभन्दा ठूलो कुरा हिम्मत नहार्नु हो ।
तिमीलाई धेरैअघिदेखि सुनेका हजारौं स्रोता सायद मर्नबाट जोगिएका थिए । तिमीले साथी बोलको गीतमा गाएको एउटा अंश ‘जित्नुभन्दा ठूलो कुरा हिम्मत नहार्नु हो’ ले सायद धेरैको जीवन परिवर्तन गरेको थियो । धेरैलाई बाँच्ने आशा दिएको थियो । जीवनलाइ माया गर्न थालेका थिए जीवन सिध्याउन मन गर्नेहरु पनि । तर तीनै यामबुद्धले त्यहि बाटो रोजे । भक्कानिए मनहरु, जीवनहरु ।
आज भन्न धेरै मन थियो, तर यी शब्दहरु पनि रोहिरहेका छन् जस्तो लाग्दैछ । त्यसैले धेरै भन्दिन । तिमीले जुन कारणले आत्महत्या रोजेपनि तिमीले सिकाएको पाठ ‘जित्नुभन्दा ठूलो कुरा हिम्मत नहार्नु हो। ‘ भन्ने चाहिं म कहिले पनि बिर्सने छैन । जीवनमा यतिसम्म दुख भोगेको छु कि मैले तिमीलाई लेखेको यो पत्रमा आफ्नो नाम पनि लेख्न सक्ने अवस्थामा छैन । यहि समाजको डरले । जुन समाजबाट सायद तिमी हार्यौ, थुप्रै हारेका छन् ।
तिमीलाई श्रद्धान्जली दिनु भनेकै तिमीले सिकाएको पाठ अनुशरण गर्नु हो । ‘जित्नुभन्दा ठूलो कुरा हिम्मत नहार्नु हो । त्यसैले कसम, म त सुसाइड गर्दिन दाजु ।
तिम्रो शुभचिन्तक