राजधानीको रात्रिजीवन रंगिन बनाउने नाममा खुलेका डान्सबारहरू लुटको अखडा बनिरहेका छन् । हरेक रात हरेक डान्सबारबाट ग्राहकहरू लुटिएर बाहिरिन्छन् । एक गिलास कोकको चार सय रुपैयाँसम्म तिर्न लगाइन्छ । डान्सबारमा काम गर्ने युवतीहरूको पनि श्रम तथा शारीरिक शोषण भइरहेको छ । यहाँ हुने अधिकांश लफडा बाहिर आउने गर्दैनन् र प्रहरीले पनि डान्सबारका समस्यालाई गम्भीरतापूर्वक लिएको देखिँदैन । अनिल यादवले लुटका अखडा चहारेर तयार पारेको रिपोर्ट ।
महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल केही महिनाअघि एउटा सुरक्षा सम्मेलनमा सहभागी हुन अमेरिका पुगेका थिए । त्यहाँ उनलाई एक अमेरिकी विद्यार्थीले आफ्नो तीतो अनुभव सुनाउँदै प्रश्न तेर्साएका रहेछन्, ‘नेपालमा त डान्सबारहरूले पर्यटकलाई खूब लुट्दा रहेछन् । प्रहरीले किन त्यस्तालाई केही गर्न सक्दैन ?’
अमेरिकामा सुनिएको यो गुनासो यतिबेला काठमाडौँभित्र धेरैले गर्छन् । राजधानीमा सञ्चालित अधिकांश डान्सबारहरूले खुल्लमखुल्ला ग्राहक लुटिरहेका छन्, ठगिरहेका छन् । प्रहरी पनि यो सत्यलाई स्वीकार गर्छ । महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सोमेन्द्रसिंह राठोर भन्छन्, ‘डान्सबारमा धेरै समस्या छन् । तर, पीडितको उजुरी नै आउँदैन । अनि, हामीले कसरी कारबाही गर्ने ?’
दृश्य यस्ता छन्…
लोकेसनः ठमेल
शुक्रवार रातको साढे १० बजे त्यहाँ पुग्दा सारा वातावरण सुखद शुक्रवार मनाउने मुडमा थियो । सञ्चयकोष भवनअगाडि केही मान्छे ग्राहकको खोजीमा देखिन्थे । उनीहरू बाटोमा भेटिने जो कोहीलाई सोध्थे, ‘दाइ, रमाइलो गर्ने हो ? बबाल–बबाल केटी छन्, एकचोटि त हेर्नुस्, हेरेको पैसा लाग्दैन ।’
यत्तिकैमा दुई युवा एक दलालको अफरमा लोभिए । अफर थियो– ‘चार हजारमा दुई युवती ‘होल नाइट’ मिलाइदिने ।’ त्यसपछि तिनीहरू दलालको पछिपछि लागे । शुक्रवारकर्मी पनि उनीहरूको पछिपछि लाग्यो । उनीहरूलाई पु¥याइयो, चाहना डान्सबारमा । जहाँ छोटो पहिरन लगाएकी युवती स्टेजमा हट नृत्य प्रस्तुत गरिरहेकी थिइन् । टेबलमा ग्राहकसँग डान्सबारमा काम गर्ने युवतीहरू पिएर मात्दै थिए, मस्त रमाइरहेका थिए । अनि काउन्टरमा केही युवा ‘बिल धेरै भएको’ भन्दै कचकच गरिरहेका थिए । त्यही माहोलबीच ती दुई युवालाई दलालले टेबलमा बसाए । दुईजना युवती उनीहरूको छेउमा राखिदिए । अनि काउन्टरमा क्यासियरसँग कानेखुशी गरे । र, चुपचाप बाहिरिए ।
आधा घण्टापछि ती दुई युवा निन्याउरो मुख लाउँदै डान्सबारबाट बाहिरिए । पछि थाहा भयो– उनीहरू त ठगिएछन् । ‘चार हजारमा दुईजना होलनाइट मिलाइदिन्छु भनेर आ’को,’ ठगिएका दुईमध्ये एक युवाले भने, ‘यो त सब लुट्ने आइडिया पो रहेछ । ‘त्यही पैसामा वाइन आउने हो, केटीहरू खाइसकेपछि तिमीहरूसँग जान्छन्’ भनेर दलालले भन्यो । होला नि त भनियो । पछि त पाँच हजारको बिल पो आयो । केटीहरू कताकता ! हामीलाई ल्याउने दलाल खोज्दा ऊ त टाप कसिसकेछ । जबर्जस्ती पैसा तिराए ।’ प्रहरीलाई उजुरी नगर्ने ? भन्ने प्रश्नमा चाबहिल बस्ने उनले अत्तालिएर भने, ‘केटी खोज्दै हिँड्दा फसियो भनेर कसरी उजुरी गर्नु हौ ? लाज मात्र हुन्छ । बरु त्यो दलाल भेटियो भने चाहिँ छोडिन्न ।’
०००
ठमेलमा रहेका अधिकांश डान्सबारका दृश्य उस्तैउस्तै थिए । ग्राहकको चाहना पूरा गरिदिने लोभ देखाउँदै उनीहरू ग्राहक लुटिरहेका थिए । कोही दलाल ‘पुसी क्याट डान्सबार’ लान्थे त कोही ‘गो–गो’, कोही ‘टकिला’, कोही ‘मिर्ची डान्सबार’ पु¥याउँथे । ‘केटी खोज्नेहरूलाई त यहाँ मूर्ख नै बनाउने हो,’ ठमेलमा भेटिएका आफूलाई सुरेश तामाङ बताउने दलालले भने, ‘केटी भनेपछि हुरुक्कै हुनेहरूलाई त मज्जाले उल्लु बनाउन सकिन्छ । डान्सबार पु¥याएर टेबलसम्म राखिदिने हाम्रो काम हो, बिल धेरै उठाइदिने केटीहरूको काम, पैसा असुल्ने साहूहरूको ।’ एकजना ग्राहक लगेबापत आफूलाई २५ देखि ३० प्रतिशतसम्म कमिसन आउने उनले बताए । ‘हामीले लगेको ग्राहकले दुई हजार रुपियाँभन्दा मुनिको कारोबार ग¥यो भने चाहिँ कमिसन आउँदैन,’ उनले सुनाए ।
लोकेसनः नयाँ बसपार्क, बालाजु
साइनबोर्डमा ठूलो अक्षरले लेखएिको छ– ‘आऔँ–खाऔँ–पिऔँ–रमाऔँ, अर्चना पनेरुको साथमा ।’ र, राखिएको छ– नग्न तस्बिरहरू सार्वजनिक गरेर एकाएक चर्चामा आएकी अर्चना र उनकी आमा सुनिताको तस्बिर । नयाँ बसपार्कमा रहेको ‘उर्वशी डान्सबार’ बाहिर राखिएको साइनबोर्ड हो यो । शनिवार राति १० बजेतिर त्यहाँ पुग्दा छोटो स्कर्ट लगाएकी अर्चनाको डान्स चलिरहेको थियो । ‘अर्चनाको डान्सबार’ भन्दै त्यहाँ ग्राहकहरूको भीड लाग्दो रहेछ । तर, त्यहाँ नाच्ने कसैको नृत्य व्यावसायिक लाग्दैनथ्यो, झारा टार्ने सिवाय । ग्राहकसँग ‘यो किन्दिनू र त्यो किन्दिनू’ भन्दै युवतीहरू उनीहरूको खल्ती रित्याउन तल्लीन देखिन्थे ।
वैदेशिक रोजगारीमा कतार जान लागेका गुल्मीका विष्णु विक दुई साथीसहित रमाइलो गर्न त्यहाँ आएका रहेछन् । युवतीहरूले सँगै बसेर खाइदिएपछि १७ हजार रुपियाँको बिल निस्किएछ । पैसा नभएपछि काउन्टरमा विवाद भइरहेको थियो । त्यत्तिकैमा पाँचजना युवा सँगै बाहिरिए । केही पर पुगेर ती ग्राहकसँग कुरा गर्न खोज्दा थाहा भयो– दुईजना त डान्सबारका मान्छे रहेछन् । पैसा उठाउनलाई उनीहरू ग्राहकका पछि लागेका रहेछन् । ‘डान्सबार भनेको त लफडा हुने नै ठाउँ हो,’ आफूलाई डान्सबारका मालिक किशोर बताउने एकजनाले भने, ‘तपाईं रमाइलो गर्ने गरी आउनुहुन्छ भने आउनुस्, रमाइलो गर्नुस् । झगडा गर्ने गरी आउनुहुन्छ भने पनि ठीकै छ, हामी तयार छौँ । यो ठाउँ नै यस्तै हो ।’
०००
केही डान्सबार डुल्दा थाहा भयो– नयाँ बसपार्कका डान्सबारको वास्तविकता पनि ग्राहक लुट्ने नै रहेछ । त्यसपछि साँघुरो कोठामा खोलिएको चाबहिलको ‘ग्यालेक्सी डान्सबार’ पुग्दा दृश्य अन्यत्रको भन्दा कम थिएन । त्यहाँ त ग्राहक लुटिएनन् मात्र, कुटिए पनि । चाबहिल बस्दै आएका धादिङका कमलबहादुर थापामगर एकजना साथीसँग ‘रमाइलो गरौँ न त’ भनेर त्यहाँ पुगेका रहेछन् । १७ सय रुपियाँको बिल निस्किएछ । त्यत्तिकैमा काउन्टरमा विवाद सुरु भयो । शुक्रवारकर्मीकै अगाडि कमल निर्घात कुटिए । कुटपिटबाट उनको दुइटा दाँत भाँच्चिए । कुट्ने डान्सबारका राजु चौधरी र दिनेश चन्द अहिले गौशाला प्रहरी हिरासतमा छन् । डान्सबार सञ्चालक विकास श्रेष्ठ फरार रहेको प्रहरीले जनाएको छ । उनीहरू सबैलाई सार्वजनिक मुद्दा लगाइएको महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी नवराज कार्कीले जानकारी दिए ।
ग्राहकलाई नशामा डुबाउने योजना
प्रहरीका अनुसार दुई महिनाअघि ठमेलको मिर्ची डान्सबारमा एक जग्गा दलाल पसे । त्यहाँ पस्नुअघि नै उनले रक्सी पिइसकेका थिए । पस्नासाथ पाँचजना युवती उनको छेउमा आएर बसे । उनको शरीरमा स्पर्श गर्दै, अँगालो मार्दै उनीहरू जिस्किए । बिल बढी उठ्ने भयले ती ग्राहकले सुरुमै ‘मसँग १५ हजार रुपियाँमात्र छ, त्योभन्दा बढी खर्च गर्दिनँ’ भनेर सचेत गराएछन् । पछि ४२ हजारको बिल निक्लिएछ । उनको खल्तीमा रहेछ, ३० हजार रुपियाँ ।
कुरा प्रहरीकहाँ आइपुग्यो । ‘उसले त केही पनि खाएको रहेनछ । सब केटीहरूले जबर्जस्ती खाइदिएर बिल चढाइदिएका रहेछन्,’ महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सोमेन्द्रसिंह राठोरले भने, ‘हामीले उसले खाए बमोजिम ११ सय रुपियाँमात्र तिर्न लगायौँ ।’ डीएसपी राठोर ठमेलमा यो समस्या व्यापक रहेको स्विकार्छन् । भन्छन्, ‘डान्सबारमा यो समस्या व्यापकै छ । तर, उजुरी नै आउँदैन । अनि हामीले कसरी कारबाही गर्ने ?’ आफ्नो इज्जत गुम्ने डरले कसैले उजुरी नगर्ने गरेको उनी बताउँछन् । ‘जति ग्राहक नशामा लट्ठियो, त्यति नै साहूलाई फाइदा हुने रहेछ,’ उनी भन्छन्, ‘ग्राहकलाई नशा चढेपछि केटीहरू फाइदा लुट्न थाल्दा रहेछन् । जथाभावी खाइदिँदा रहेछन् । अनि बिल बढी निस्किन्छ । र, ग्राहक लुटिन्छन् ।’
महानगरीय प्रहरी वृत्त, गौशालाका प्रमुख डीएसपी नवराज कार्की पनि ग्राहकहरू आफू ठगिएको उजुरी नै नगर्ने बताउँछन् । ‘बिल धेरै रकमको निक्लिएपछि ग्राहकलाई औँठी, घडी, मोबाइलजस्ता सरसामान बन्धक राख्न लगाएर डान्सबारवालाहरूले ग्राहकलाई छोड्दा रहेछन्,’ उनले भने, ‘अनि साहूले मागेजति पैसा तिरेपछि सामान फिर्ता गर्दा रहेछन् । तर, हामीकहाँ कुनै उजुरी नै आउँदैन । कारबाही गर्ने कसरी ?’
झगडाको अखडा
लुटको मात्र होइन, डान्सबार झगडाको पनि अखडा बनिरहेको छ । शुक्रवार, शनिवार र आइतवार तीन दिनको डान्सबार भिजिटमा शुक्रवारकर्मीले दुइटा झगडा देख्यो । चाबहिल र कलंकीका दुवै डान्सबारको नाम चाहिँ संयोगले एउटै परेछ । आइतवार कलंकीको ‘ग्यालेक्सी डान्सबार’ पुग्नासाथ त्यहाँ ग्राहक र व्यवसायीबीच ठेलमठेल भइरहेको थियो । प्रहरी पुग्दा झगडा गर्नेहरू सबैलाई डान्सबारबाट मुनि झारिसकिएको थियो । नजिकैको गेस्ट हाउसअगाडि झगडियाहरू पुगिसकेका थिए । प्रहरीलाई देख्नासाथ उनीहरू भागे । एकजना घाइतेलाई लिएर प्रहरी टोली नजिकैको अस्पताल पुग्यो ।
एक प्रहरी अधिकृतका अनुसार डान्सबार र ड्युटीमा खटिने प्रहरीबीच नै मिलेमतो हुन्छ । ‘ठूलो घटना नभएसम्म डान्सबारमा हुने लफडाको विषयमा त माथिल्लो तहसम्म रिपोर्ट नै पुग्दैन, तल–तलै पैसा खाएर प्रहरीले मिलाइसकेका हुन्छन्,’ नाम नलेखिदिने शर्तमा ती प्रहरी अधिकृतले भने । डान्सबारमै कार्यरत युवतीहरू पनि यस्ता झगडालाई सामान्य रूपमा लिँदारहेछन् । ‘यस्तो झगडा त यहाँ सामान्य हो, तपाईंहरू पहिलोपल्ट आएर नौलो लागेको हो,’ झगडा भइरहेकै बेला ग्यालेक्सी डान्सबार, चाबहिलमा कार्यरत एक डान्सरले बताएकी थिइन् ।
टार्गेट भारतीय ग्राहक
दुई महिनाअघिको कुरा हो । ठमेलको ‘इबिजा रेस्टुरेन्ट एन्ड लाउन्ज’बाट रमाइलो गरेर मेडिकलसम्बन्धी काम गर्ने दुई भारतीय नागरिक बाहिर निस्किए । उनीहरू त्यहाँ ३२ हजारको बिल तिरेर निस्किएका थिए । दुवैजना मातेका थिए । बाहिर निस्किनासाथ एक दलालले युवतीहरूको लोभ देखाउँदै उनीहरूलाई दरबारमार्गको ‘ज्याक डेनियल डान्सबार’मा पु¥याए ।
‘डान्सबार पुग्नासाथ उनीहरूले सुरुमै हामी २० हजार रुपियाँभन्दा बढी खर्चन सक्दैनौँ भनेका रहेछन्,’ डीएसपी राठोरले घटना विवरण सुनाए, ‘केटीहरू छेउमा आएर बसिदिएछन् । वाइन खान्छु भन्दै जुस खाएछन्, अनेक गरेछन् र टेबलमा ग्लास थुपारेछन् । जम्मा तिनीहरूले खाएको चाहिँ एक–एक पेग ब्ल्याक लेभल ह्विस्की रहेछ । पछि बिल त ५२ हजार रुपियाँको आएछ । बिल धेरै भयो भन्दा कुटुम्लाझैँ गरेछन् । जबर्जस्ती एटीएममा पु¥याएर पैसा झिक्न लगाएर असुलेछन् । पछि १०० मा फोन गरेर उनीहरूले प्रहरीकहाँ उजुरी गरे । र, डान्सबारका मालिक विजय लामालाई सार्वजनिक मुद्दा लगाएर छाडियो ।’ डीएसपी राठोर डान्सबार र दलाल सबैले खास टार्गेट भारतीय पर्यटकलाई गर्ने गरेको बताए ।
रामेछाप घर भएको रमेश नाम बताउने ठमेलका एक दलालको अभिव्यक्ति पनि उस्तै थियो । ‘लुट्ने भनेको त इन्डियनलाई पो हो त । उनीहरू केटी भनेपछि हुरुक्कै हुन्छन्,’ उनले भने, ‘नेपालीलाई त के लुट्नु र ?’ त्यसो त अन्य देशका पयर्टकलाई पनि उनीहरू विशेष ‘क्लाइन्ट’ ठान्दा रहेछन् । तर, अन्य देशका पर्यटकका खास दलाल चाहिँ ट्याक्सी चालक रहेको उनले बताए । ‘पर्यटकमाथि एयरपोर्टबाटै लुटको शृंखला सुरु भइसकेको हुन्छ,’ एयरपोर्टमै ट्याक्सी चलाउने एक ट्याक्सी चालकले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘यहाँ धेरैजसो साथीहरू छन्, जो पर्यटकलाई युवतीको लोभ देखाउँदै सुरुमै डान्सबार पु¥याउँछन् । र, त्यसबापत मोटो कमिसन खान्छन् ।’
आँखा चिम्लिन्छ प्रहरी
डान्सबारमा भइरहेको लुटपाट र लफडामाथि प्रहरीले खासै ध्यान नदिने गरेको स्वयं प्रहरीकै कर्मचारी बताउँछन् । डान्सबारमा दिनहुँ झगडा हुने थाहा हुँदाहुँदै पनि उनीहरू त्यसमा खासै गम्भीर हुँदैनन् । महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी नवराज अधिकारी यो कुरा स्विकार्छन् । ‘हाम्रो एरियामा त्यही सातआठवटा डान्सबार होलान् । हामी डान्सबारमा त्यति ध्यान पनि दिँदैनौँ । तर, केही लफडा भएको थाहा पाएमा कसैलाई छोड्दैनौँ,’ उनले भने ।
कतिपय डान्सबारले महिनावारी रकम दिएर प्रहरीलाई आफ्नो पकडमा राख्ने गरेको समेत प्रहरीमाथि आरोप लाग्ने गरेको छ । पक्राउ गरिहाले पनि गम्भीर घटनामा पनि सार्वजनिक मुद्दा चलाएर दोषीलाई छुटकारा दिने काम प्रहरीबाटै हुने गरेको पनि पीडित ग्राहकहरूको गुनासो छ ।
डान्सबारमा हुने झैझगडा र लफडाका मुद्दा प्रहरी कार्यालयसम्म नपुग्नु र ड्युटीमा खटिएको प्रहरीबाटै सूचना लुकाइनुले पनि यसमा प्रश्न उठाउने ठाउँ देखिन्छ । ठमेल, दरबारमार्गजस्ता बढी चहलपहल हुने ठाउँमा भन्दा बाहिर बागबजार, सुन्धारा, चाबहिल, नयाँ बसपार्क, कलंकी, गौशालालगायत ठाउँतिरबाट यस्तो समस्या बढी रहेको प्रहरीहरू बताउँछन् ।
गिरोह नै सक्रिय
डान्सबारमा दिनहुँजसो लफडा र झगडा उत्पन्न गराउनका लागि गिरोह नै सक्रिय हुने गरेको महानगरीय प्रहरी अपराध महाशाखाका एक प्रहरी अधिकृत बताउँछन् । ‘स्थानीय टोले गुन्डाहरूको डान्सबारसँग मिलेमतो हुन्छ,’ उनले भने, ‘तिनीहरू डान्सबारमा झगडा उत्पन्न गराइदिन्छन् । अनि बोतल फुटेको र विभिन्न सामान नष्ट भएको आरोप लगाउँदै पैसा तिराउँछन् ।’ त्यसरी झगडा गराएर पैसा असुल गराएबापत प्रहरीहरूले समेत कमिसन पाउने गरेको बताइन्छ । डान्सबार राजधानीमा रातको १२ बजे बन्द हुनुपर्ने नियम छ । तर, यसको पालना कमैले गर्छन् ।
ग्राहकमाथि ब्रह्मलुट
एउटा मिनरल वाटर बढीमा २० देखि २५ रुपियाँ पर्ला । तर, डान्सबारका हकमा यो गलत हो । त्यो पानीको मूल्य डेढसयदेखि तीन सय रुपियाँसम्म पर्ने गरेको छ । सबै डान्सबारको मूल्य मनपरी तोकिएको छ । मेन्यू हेर्दा लाग्छ– यो त हाकाहाकी ठग्नलाई खोलिएको हो ।
बाहिर २ सय ८० रुपियाँमा पाइने बियरलाई डान्सबारमा आठ सय रुपियाँसम्म पर्छ । ३५ रुपियाँमा पाइने एक गिलास कोकलाई तीन सयदेखि चार सय रुपियाँसम्म मूल्य तिर्नुपर्छ । नयाँ बसपार्कको उर्वशी र गौशाला, रातोपुलको ‘अन्डरग्राउन्ड डान्सबार’मा छ सय रुपियाँ रहेको टुबोर्ग बियरको मूल्य ठमेलको पुसी क्याटमा ६ सय ५० रुपियाँ पाइयो । ‘डान्सबारको मूल्यमा त ब्रह्मलुट नै छ नि,’ गौशालाका डीएसपी नवराज कार्की भन्छन्, ‘हामीले ग्यासमा ५० रुपियाँ बढी मूल्य लिँदा कालोबजारियाको मुद्दा चलायौँ । तर, डान्सबारमा त ठग्ने मात्र होइन, ग्राहकको घाँटी नै रेट्ने काम भइरहेको छ । यस विषयमा आपूर्ति मन्त्रालय र जिल्ला प्रशासनलगायत निकायबाट अनुगमन हुनुपर्ने हो ।’
महँगी र उपभोक्ताका मुद्दा उठाउने उपभोक्ता हित संरक्षण मञ्च पनि यस विषयमा अनभिज्ञ छ । मञ्चका अध्यक्ष ज्योति बानियाँ भन्छन्, ‘हामी खासगरी सामान्य उपभोक्ताको कुरा गर्छौं । होटल र रेस्टुरेन्टजस्तामा मनोरञ्जन गर्ने कुरामा ध्यान नदिएकै हो । यो आधारभूत आवश्यकताभन्दा पनि विलासिताको क्षेत्र भयो ।’
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले डान्सबारमा हुने विकृतिका विषयमा आफूहरूलाई उजुरी नआएकाले बोल्न नमिल्ने बताए । तर, मूल्यका विषयमा भने एकरूपता नभएको उनले स्विकारे । ‘खासगरी डान्सबारको स्तरअनुसार मूल्य राखिनुपर्ने हो,’ उनले भने, ‘त्यसो भइरहेको छैन, मनपरी आफूखुशी राखिएको साँचो हो । यो समस्या समाधान कसरी गर्ने भन्नेबारे सोच्नैपर्छ ।’
कामदारको शोषण
राजधानीका अधिकांश डान्सबारमा कम उमेरका प्रशस्तै युवतीहरू नाचिरहेका हुन्छन् । छोटो पहिरन लगाएर उनीहरू स्टेजमा भद्दा नृत्यसमेत गर्छन् । त्यसबापत अधिकांशको मासिक पारिश्रमिक पाँचसात हजार मात्र हुन्छ । ग्राहकको खाइदिएबापत अर्थात् किन्न लगाएबापत भने उनीहरूलाई कमिसन आउँछ । ‘मसँग बसेर खाने क्लाइन्टले जुस र टकिला खायो भने त्यसबापत मलाई सय रुपियाँ टिप्स आउँछ,’ ठमेलको एक डान्सबारमा कार्यरत एक डान्सरले भनिन्, ‘तलबले त केही पनि पुग्दैन । त्यसैले ग्राहकको खाइदिनैपर्छ, बिल धेरै उठाइदिनैपर्छ । नत्र साहूले कामबाटै निकालिदिन्छ ।’
मंगलवार राति काठमाडौँ, रातोपुलको अन्डरग्राउन्ड डान्सबार पुग्दा त्यहाँ एक युवती स्टेजमा कामुक नृत्य गर्दै स्टेजमुनि नाचिरहेका एक ग्राहकलाई भद्दा संकेत गरिरहेकी थिइन् । नाचिसकेपछि त्यही युवकसँग बसेर बियर खाइन् । प्रस्टै देखिन्थ्यो– उनी ‘टिप्स’ र कमिसन कमाउँदै थिइन् ।
त्यस्तै, अधिकांश डान्सबारमा कार्यरत युवतीका पहिरन छोटा–छोटा हुनैपर्छ । ‘साहूले ‘तँ राम्री छेस्, तँलाई ग्राहकले धेरै रुचाउँछन्’ भन्दै छोटो स्कर्टमात्र लगा भन्छ । यो त कसलाई रहर हुन्छ र ?’ चाबहिलस्थित एक डान्सबारकी डान्सरले भनिन् ।
०००
राजधानीमा सञ्चालित डान्सबारहरूबाट यसरी ग्राहक लुटिइरहेका छन्, युवतीहरू श्रम शोषणमा परिरहेका छन् । कोही मालामाल भइरहेको छ भने त्यो केवल सञ्चालक हो । एकताका राजधानीमा ग्राहक बोलाउने, लुट्ने र अश्लील हर्कत गर्ने क्याबिन रेस्टुरेन्टहरूको बिगबिगी थियो । अहिले तिनका ठाउँ डान्सबारले ओगटेका छन् ।
- शुक्रबार साप्ताहिकबाट