मरेको मान्छे देख्दा तपाईलाइ कस्तो लाग्छ ? सम्भवत सबैलाइ डर नै लाग्छ । कतिपय मान्छे त मरेका मान्छे देखेपछि बेहोस नै हुन्छन् । तर ६३ बर्षिय बालकृष्ण बोहोराले जिवनका अधिकांस समय मरेका मान्छेको शरिर चिरेर बिताए्का छन् ।
२०११ सालमा पर्वत जिल्लामा बाबा खडे र आमा चिजा बोहोराको सन्तानका रुपमा जन्मिएका बालकृष्णले जीवनभर मान्छे काट्ने जागिर गरे । उनले आफ्नो अनुभवको बेलिविस्तार लगाउन सुरु गरे ।
इच्छाको पेशा र चाहनाको काम गर्न परिस्थितीले नदिए पनि आफुले गरेको काममा सन्तुस्ट हुन सके र रमाउन सके जहाँ पनि खुसी हुन्छ भन्ने मान्यता राख्ने बालकृष्ण ३५ बर्षसम्म लगातार (पोस्ट मार्टम)मान्छे चिर्ने काम गरेर केश फुलाए ।
उनले ३५ बर्षमा १० हजार भन्दा बढि मरेका मान्छेको शरिर चिरे । बोल्दा सामान्य लागे पनि यो काम आफैमा कठिन र डर लाग्ने काम हो । उनको अनुभवले भन्छ, -‘दरिलो आँट भएन भने मान्छे चिर्न त के मुसा चिर्न पनि सकिन्न ।’
उनी जागिरका सुरुवाति दिनको सम्झनामा बहकिए । २०३९ सालमा पहिलोपटक उनि धौलागिरी अञ्चलको शब स्टोरमा दरिलो मुटु लिएर छिरेका रहेछन । “जागिरको मेसो थिएन । मासिक रु १ सय ५० रुपैँयामा मान्छे काट्ने जागिर खुलेको थियो । सुरुमा सारै डर लाग्यो कसरी काट्ने होला मरेको मान्छे भनेर ? तर अरु कुनै जागिरको मेसो थिएन । जेजे पर्ला सके गरौला नत्र छाडौला भनेर हुन्छ भने । ”
जगिर सुरु भयो मान्छे चिर्ने । उनले पहिलो पटक २०३९ सालमा गुरु प्रसाद नाम गरेका एक जना ठेकेदारको मृत शरिर चिरेको बताए ।
“शब राख्ने ठाउमा ठेकेदारको शव राखिएको थियो । डाक्टरले ल बालकृष्ण काम यहि हो यता आउ भनेर बोलाए तर मेरो खुट्टा अघि बढेनन । कताकता डर लाग्यो । तिन चारदिनको शब थियो,। देख्दै सातो जाने तर साथमा डाक्टर र नर्स भएकोले केहि आट आयो । मरेको मान्छे त मरिहाल्यो किन डराउने भन्ने पनि भयो । हातमा पन्जा,मुखमा माक्स र शरिर पुरै ढाकने कपडा लगाए । एउटा हरियो टालो पेटमा पुग्ने गरि भिरे । डाक्टरले भने अनुसार नै पेट, टाउको चिरे । त्यो रात त्यहि मान्छे आँखा वरिपरी आयो निदाउन सकिन ।”
भोलि पल्ट,पर्सि पल्ट दिनदिन शब चिर्ने काम ।’ उनि भन्छन्, ‘कहिलेकाहि त दिन मै ५,७ जना चिर्नुपथ्र्यो । गाडि दुर्घटना पर्दा कहिलेकाहि त अझै बढि शवहरु पनि पर्थे ।’ त्यसपछि उनलाइ यो काम सामान्य जस्तो लाग्यो । सुरुमा डर लागे पनि बानी पर्दै गएपछि त फर्सि काटे जस्तै लाग्यो। शरिर चि¥यौ टन्न रक्सी मासु खायो अनि सुत्यो।
सुरुमा १५० रुपैँया मासिक तलब दिने सहमति भएको थियो । पोस्ट मार्टम गर्ने मृतकका आफन्तले पनि उनको दुख हेरेर केहि रकम पनि दिन थाले । क्रमिक रुपमा काम गर्दा पैसा पनि आउथ्यो । १५० बाट सुरु भएको जागिर ३५ बर्षपछि १६ हजार सम्ममा आएर सके ।
सबैभन्दा डर लागेको क्षण–, “मरेको मान्छेले मेरो औठि ले भन्यो”
मान्छे चिर्दाको क्षणमा अनेकौ सम्झना त रहने नै भए । तर सर्वजितलाइ सबैभन्दा बढि डर लागेको एउटा घटनाले आज पनि सताउदो रहेछ । उनले जिवनभरमा धेरै अनुभव बटुले पनि यो डरको अनुभवले भने मुटु नै सिरिङ्ग गराउछ रे । त्यो रात हो, ५३ साल भदौतिरको जुन रात एक जना २५,३० बर्षको युवा विवाह गर्न भनि केटि हेर्न गएको रहेछ ।
केटि हेर्न जादा पर्वतस्थित ज्ञादीको भिरबाट लडेर मरेको रहेछ । दुइ तिन दिन पछि उसलाइ बागलुङ अस्पतालमा ल्याइएको रहेछ । पोस्ट मार्टम गर्ने बेला मृतक केटाको हातमा रहेको सुनको औठि झिकेर उसको दाइलाइ दिइसकेपछि एक्कासी केटाले मेरो औठि ले भन्दौ आफुलाइ झम्टन आएको उनले बताए ।
“फनफन्ती घुमायो मत त्यहि ठाउमा बेहोस भएछु । रातभर पनि उक्त केटाले मेरो औठि ले भन्दै आखा वरिपरि आएपछि जागिर छाड्ने निर्णय गरे । तर तरुण डाक्टरले छाड्न दिएनन् ।” फेरि अर्को दिन आएर पोस्ट मार्टम गरे । तर त्यो केटाले महिनौ सम्म सताउन छाडेन ।
अरु कोहि टिकेनन्
कामबाट निराश भएर काम छाड्न खोजे, अस्पतालका प्रमुख डाक्टरसँग झगडा सम्म गरे । तर त्यो काम गर्ने मान्छे् पाइएन । अस्पतालका डाक्टरले काम नगर्ने भन्दा गलहत्याए पछि उनले डाक्टरलाइ नै झापड हानेर तिन दिन हिरासत बस्नु प¥यो ।
उनको सट्टामा काम गर्न धेरै मान्छे आएपनि कोहि पनि मान्छे टिकेनन् । कोहि एक महिना कोहि दुइ महिना । केहि मान्छे त, उक्त ठाउमा जागिर गर्दा पागल भएर पनि हिडेपछि उनी नै त्यो काम गर्ने अव्वल र सुरो कहलिए । प्राय उनले पोस्टमार्टमको काम गरिसकेपछि टन्न रक्सि र मासु खान्थे ।
६३ बर्षमा पनि जवान
बालकृष्णको जिवनको अर्को रमाइलो पाटो हो विवाह । उनी ड्यूटि समय र अघिपछि पनि चिटिक्क परेर हिड्छन । उनले जिवनमा १३ ,१४ पटक विवाह गरेका रहेछन । तर उनीसँग धेरै जना टिकेनन् । कोहि सुनका औठि र पैसा लिएर भागेको कुरा उनि सुनाउछन ।
उनले पछिल्लो पटक आफुभन्दा १६ बर्ष कान्छी गममाया बोहरा सँग विवाह गरे । आफूलाइ अझै १६ सत्र बर्षे युवा सम्झने सर्वजित भन्छन् – ‘शारिरिक रुपमा निकै सक्रिय छु, भर्खरका युवतिले पनि मलाइ आँखा लगाउछन।’
मान्छे चिरेरै उनले ६० ,७० लाख कमाए । अहिले उनी मासिक पेन्सन बुझेर बस्छन । भन्छन – ‘जिन्दगीप्रति दुख व्यक्त गर्ने होइन । काम सानो ठुलो हुन्न । हरेक ठाउलाइ सम्मानित बनायो त्यो सम्माननित हुन्छ ।’ ईनेपालखबरमा समाचार छ ।