- अर्थ सरोकार सम्बाददाता
रन्जु दर्शना । विवेकशील साझा पार्टीकि नेतृ । स्थानीय तहको निर्वाचन ताका काठमाडौँको मेयरमा उठेपछि झन् चर्चित भएकी पात्र । नेसनल कलेजमा डेभलपमेन्ट स्टडिज स्नातक दोस्रो वर्षकी छात्रा । धेरैको प्रिय पात्र बनेकी रन्जुको आफ्नो जीवन भने कम्ति संघर्षपूर्ण छैन । आजको अंकमा हामीले रन्जुको त्यहि संघर्षशील जीवनकथालाई प्रस्तुत गर्ने प्रयास गरेका छौं ।
एसएलसी सकिने बित्तिकै नोकरी, ‘बैंक खाता खोल्न नागरिकता चाहिन्छ भन्ने थाहा थिएन’
यसो त रन्जुले एसएलसी सकिने बितिकै नोकरी सुरु गरेकी थिइन् । एपटेक कम्प्युटर इन्स्टिच्युटमा टेलिमार्केटर थिइन् उनी । ‘एसएलसी सकेपछि काम सुरु गरें । काम गर्दै जाँदा नागरिकताको महत्व बुझें । आमाको नामबाट मात्रै नागरिकता लिन म कहाँ कहाँ धाइन होला ? तर सकिन । त्यसपछि बाबालाई भेट्नै पर्यो । बैंक खाता खोल्न पनि नागरिकता चाहिन्छ भन्ने थाहा थिएन । साथीहरुबाट थाहा पाएँ । यो नागरिकता भन्ने चीज कति महत्वपूर्ण रहेछ भन्ने पनि थाहा पाएँ ।
बाबाले गर्भमै छोडेकी रन्जु र बुबासंगको त्यो भेट !
रन्जु छ महिनाको गर्भमा रहँदै उनका मामु र बाबा छुट्टिनुभएको हो । १७ वर्षको उमेरमा पुग्दामात्र उनले बाबालाई पहिलोपटक देखेकी थिइन् । ‘मम्मीको नामबाट नागरिकता बनेन । त्यसपछि बाबालाइ भेट्नै पर्ने भयो र भेटें । बाबाले अहिले अर्को बिहे गर्नु भएको छ । उतापट्टिपनि भाइ र बहिनी छन् ।’ उनका अनुसार उनी
मावल हजुरआमाकै संरक्षकत्वमा हुर्किएकि हुन् ।
‘आठ कक्षा पढ्दासम्म त मलाइ बाबु भन्ने यति महत्वपूर्ण कुरा हो भन्ने पनि थाहा थिएन । मैले बुबाको अभाव कहिले पनि महसुस गरिन जस्तो लाग्छ । मेरो निम्ति त ममी नै सर्वेसर्वा हो । तर साथीहरुले कहिलेकाहीं घोचपेच गर्दा चित्त दुख्थ्यो । एक पटक रोएको पनि छु ।’ उनले सुनाइन् ।
‘जीवनमा नागरिकता नभई हुन्न र नागरिकता बनाउन बुवा नभई हुन्न भन्ने थाहा पाएपछि बल्ल मैले त्यो नाता खोज्न लागेको थिएँ । बुबासँग कुरा गर्नुपर्ने भयो । नम्बर झिकियो र म फोनमा बोल्न खोजें । सुरुमा त फोन डायल गर्न पनि असाध्यै गाह्रो भयो । पहिलो र दोस्रोपटक फोन जाँदाजाँदै काटिदिएँ । तेश्रोपटक बल्ल आवाज निस्क्यो, ‘ बाबा ! म रञ्जु…’उताबाट पूरै मधेसी लवजमा अत्यन्त सामान्य हिसाबले आवाज आयो, ‘अँ भन् छोरी ।’ ‘मलाइ लिन बुबा एयरपोर्टमै आउनुभएको थियो, ‘उनी सम्झिन्छिन्, ‘निधारमा लामो चन्दन र रंगीविरंगी टिका लगाउनुभएको, पछाडि टुप्पी बाँध्नुभएको । कुर्ता–पाइजामा लगाउनुभएको र हातले पुरानो साइकल डोर्याइरहनुभएको । ’
सानैदेखिकि ‘रञ्जु डन’ र ‘नेपाल बन्द’ का कुरा !
सानैदेखि आफूले ठिक मानेका कुरामा अडान लिने बानी थियो रन्जुको । टोलमा पनि साना भाइबैनीहरू उनलाई ‘रञ्जु डन’ भन्थे रे ! उनी सुनाउँछिन्, ‘मैले ठिक मानेको कुरामा निकै अडान लिन्थें । शिक्षकले कक्षामा पनि म आफूले नबुझेको कुरा छ भने सोधेको सोध्यै गर्थें । मलाइ कुनै पनि हालतमा उत्तर चाहिन्थ्यो । मलाइ मैले पढेको कुरा बुझ्ने पर्थ्यो । यसो त नेपाल बन्दका कुराले उनको मनमा घत परेको छ । ‘बन्द आह्वान गर्नेले ट्याक्सी चालकलाई ट्याक्सीभित्रै राखेर जलाइदिएको सुन्दा त रिंगटा नै लाग्थ्यो ।’ उनी भन्छिन्, ‘बन्दको युग अव लगभग अन्त भएको छ । जनताले बन्द मन नै पराउन छाडेका छन् । नेताहरुले पनि केहि हदसम्म यो कुरा बुझेका छन्।’