- सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
काठमाडौँ – बिज्ञापन एजेन्सी । अर्थात बिज्ञापनदाता र मिडियाबीच ‘एजेन्ट’ वा ‘मिडीएटर’को भूमिका खेल्ने संस्था । नेपालमा पनि यस्ता बिज्ञापन बजारमा थुप्रै बिज्ञापन एजेन्सीहरु छन् । नेपाल बिज्ञापन एजेन्सी संघ (आन)को तथ्यांक अनुसार नेपालमा ३२० र आनको सदस्यता नलिएका अरु त्यतिनै संख्यामा अरु गरेर नेपालमा ७०० हाराहारी बिज्ञापन एजेन्सी संघ छन् । अझ कम्पनी रजिस्ट्रारको कार्यालयमा बिज्ञापन सम्बन्धि कार्यहरु गर्ने उदेश्य राखेर खोलिएका कम्पनीहरुको संख्या २००० माथि छ ।
तर बाहिरबाट हेर्दा जस्तो ‘झलमल्ल’ छ बिज्ञापन बजार, भित्र त्यस्तै ‘अलमल’ छ यो क्षेत्रमा । नियमनकारी निकाय नहुनु, बजारमा अस्वस्थ प्रतिस्पर्षा हुनु, क्लाइन्ट खोसाखोस हुनु, ठुला बिज्ञापन एजेन्सीले नै ‘रेट’ बिगार्नु, एउटा क्लाइन्टको काम खोस्दा अर्को एजेन्सीले दशैं मनाउनु, मिडियाले सोचेजस्तो कमिसन नपाउनु, क्लाइन्टले कम रकममा काम गराउन खोज्नु, र केहि बदनाम बिज्ञापन एजेन्सीले गरका गलत कार्यको भागीदार राम्रो काम गर्ने एजेन्सीपनि बन्नु लगायतका समस्या एजेन्सीहरुमा छन् । आजको अंकमा हामी नेपालमा रहेका बिज्ञापन एजेन्सीहरुका केहि पीडा, भ्रम, र यथार्थ लेख्ने प्रयासमा छौं ।
कारोबार बढी नाफा कम, सोचेजस्तो छैन कमिसन !
धेरैले सोच्ने कुरा के हो भने एउटा एजेन्सीले करोडौंको कारोबार गर्छ, र त्यसमा १५ % सोझो नाफा खान्छ । अझ कान्तिपुरमा ज्याकेट कभर हालेको दिन त एजेन्सीमा दशैं आउँछ । तर यथार्थ त्यस्तो छैन । बिज्ञापन एजेन्सीको कारोबार सबैले औसत रुपमा बुझेजस्तो छैन । सामान्य रुपमा बुझ्दा एजेन्सीले १५% कमिसन लिन्छ भन्ने छ । तर यो साना मिडियाको हकमा मात्रै हो । १ प्रतिशतमा काम गर्नुपर्ने बाध्यता धेरै एजेन्सीहरुमा छ । एजेन्सीहरुबीचको अस्वस्थ प्रतिष्पर्धाले गर्दा नै यस्तो अवस्था आएको कुरामा कुनै शंका छैन । १० वटा काम गर्दा एउटा मात्र कामको पैसा फस्यो भने एक रुपैयाँपनि नाफा नरहने स्थिति बिज्ञापन एजेन्सीहरुमा छ ।
यसरी पैसा फसाएका एजेन्सीहरु नेपालमा धेरै छन् । सबै काममा बिज्ञापन एजेन्सीले १५% कमिसन पाउने हो भने आज नेपालमा सबैभन्दा धनी तिनै बिज्ञापन एजेन्सीका मालिक हुन्थे होलान् । आजकल त क्लाइन्ट यतिसम्म बाठा भइसके कि, ‘एजेन्सी, क्यास लगायत सबै डिस्काउन्ट मलाइ दिनु, कान्तिपुरले दिने बोनस तपाईं लिनुस्’ भन्नेहरु पनि थुप्रैको संख्यामा छन् । यस्तो गलत प्रवृति सिकाएको पनि बजारमै रहेका ठुला भनौदा एजेन्सीहरुले हो । यसले झट्ट हेर्दा बिज्ञापनदातालाई फाइदा पुगेजस्तो देखिन्छ । तर सस्तो घ्यूले पखाला लाग्छ भनेजस्तै बजारमा सस्तो कामले सस्तै नतिजा दिएको उदाहरणहरु धेरै छन् ।
पैसा उठाउन ‘महाभारत’, कयौं डुबे, कयौं मुद्धा लड्दैछन् !
केहि बर्ष अघिको कुरा हो, काठमाडौँमा नाम चलेको एउटा कलेजले एजेन्सी परिवर्तन गर्ने भनेछ । त्यसपछि एउटा बिज्ञापन एजेन्सी क्लाइन्ट पाउने लोभले उक्त कलेजमा गए । तर कलेजको प्रस्ताव सुन्दा ती एजेन्सीका मालिक झसङ्ग भए । भएको रहेछ के भने त्यो कलेजले अघिल्लो एजेन्सीलाई १६ लाख रुपैयाँ दिन बाँकी रहेछ । कलेजबाट प्रस्ताव आयो, ‘पहिलाको एजेन्सीलाई १६ लाख रुपैयाँ दिन बाँकी छ, त्यो पैसा अहिले तपाईं तिरीदिनुस्, अनि हामीलाई बिल गरिदिनुस्, हामी २ महिनापछी तपाईंलाई त्यो पैसा दिन्छौं ।’ कुरा सुन्दा नै तिरिमिरी भएका उनले अघिल्लो एजेन्सीमा फोन गरेर के भएको रहेछ भनेर बुझे । अघिल्लो एजेन्सीले खुसी मान्दै भन्यो, ‘एकदम सहि आइडिया सर ! हामीलाई त्यो १६ लाख दिनुस्, त्यो क्लाइन्ट’ तपाईं नै लानुहोस् ।’ त्यसपछि त ती एजेन्सीका मालिक तिरिमिरी भइहाले । ‘भैगो’ भन्दै काम लिएनन् ।
यस्ता उदाहरण त नेपाली बिज्ञापन बजारमा एउटा-दुइटा होइन, थुप्रै छन् । क्लाइन्टबाट पैसा उठाउन ‘महाभारत’ नै छ भन्दा फरक पर्दैन । काम नलिउं भने काम नै त्यहि गर्न बसेको हो, लिउं भने पैसा कहिले आउने टुंगो छैन । धेरैजसो नेपालका बिज्ञापन एजेन्सीहरु आशैआशमा काम गरिरहेका हुन्छन् । यसरी पैसा नउठेर घरबारै बेच्नुपरेको अवस्था पनि केहि एजेन्सी मालिकहरुको छ । उदाहरणका लागि काठमाडौँको तिनकुनेमा रहेको एक कलेजले कान्तिपुरमा हालेको ज्याकेट कभर बिज्ञापनको पैसा अहिलेसम्म नपाउँदा एउटा बिज्ञापन एजेन्सी अहिलेपनि अदालतमा मुद्धाको पेसी धाएर बसेको छ । यसो त अदालतमा पैसा उठाउनका लागि अहिले पनि आधा दर्जन बढी बिज्ञापन एजेन्सीले बिज्ञापनदातालाई हालेका मुद्धाहरु अदालतमा विचाराधीन छन् ।
‘अनप्रोफेसनालिजम’ले जाडो गाडेपछी राम्रा एजेन्सी मर्कामा !
नेपालका अरु क्षेत्र जस्तै यो क्षेत्रमा पनि ‘अनप्रोफेसनालिजम’ले समग्र बजारलाई असर गरेको छ । छोटोमा भन्दा बिज्ञापन एजेन्सीमा ‘अनप्रोफेसनालिजम’ ले जडो गाडेको छ । एउटा बिज्ञापन एजेन्सीबाट ३ जना निस्किए भने २ वटा अरु बिज्ञापन एजेन्सीसम्म खोलिएको रेकर्ड एजेन्सी बजारमा छ । यसो त यसलाई अस्वभाविक वा गलत भन्न पनि मिल्दैन । तर जसरी क्लाइन्टको खोसाखोस हुन्छ, त्यो तरिकाचाहिं ‘दरिद्र’ छ । समग्रमा ‘जसको शक्ति उसको भक्ति’ तरिकाको काम छ एजेन्सी बजारमा । एउटा राम्रो क्लाइन्टलाई ‘पट्याउन’ सके नयाँ एजेन्सी खोल्ने ‘लहड’ छ बजारमा । सके आफ्नो काम गर्ने, नसके अरुको क्लाइन्ट भाँड्ने प्रवृति हावी छ नेपाली बिज्ञापन बजारमा । अर्कोतर्फ आफ्नो संस्थाबाट कोहि निस्किएर गयो भने त्यसलाई सकेसम्म बदनाम गराउने प्रवृतिपनि छ नेपाली बिज्ञापन बजारमा । यसले समग्र बिज्ञापन एजेन्सी बजारलाई नै धमिलो बनाइरहेको छ ।
एजेन्सी क्षेत्रमा ‘माफियागिरि’, एउटाको गलत कामले समग्र बजार बदनाम हुँदै !
आफ्नो ढंगले राम्रोसँग काम गर्ने बिज्ञापन एजेन्सीलाई साच्चै गाह्रो छ बजारमा । नेपालमा केहि बिज्ञापन एजेन्सी दलाल र माफियाहरुले चलाएका छन् भन्दापनि फरक पर्दैन । यो आरोप ठुलै बिज्ञापन एजेन्सीका मालिकहरुले लगाउने गरेका छन् । बिज्ञापनदाताबाट पैसा लिने र उक्त पैसा घर, जग्गा, सेयर वा अरु ठाउँमा लगानी गर्ने । केहिको संख्यामा रहेका यस्ता गलत प्रवृतिका बिज्ञापन एजेन्सीले गर्दा मिडियाले एजेन्सीलाई हेर्ने नजर नै गलत बसीसकेको छ । यसले समग्र बिज्ञापन एजेन्सीको मर्म र छविलाई पनि बिगारेको छ । यस्तो गलत गर्ने एजेन्सीहरुमा केहि ठुलै बिज्ञापन एजेन्सीहरुपनि छन् ।
कतिपय एजेन्सीका मालिकहरुको दिमाग, ‘भूतको डेरा’ जस्तो छ, जो आफ्नोभन्दा बढी अरुका क्लाइन्टको मतलव राख्छ । यस्ता दिमाग भएका व्यक्तिहरु यो क्षेत्रमा भाइरसका रुपमा छन् । केहि एजेन्सीहरुले मिडियालाई शोषणसमेत गरिरहेका छन् । तर कहिले यस्तो गरिदिनाले समग्र बिज्ञापन एजेन्सीको बजार बदनाम भइरहेको छ । मै हुँ भन्ने बिज्ञापन एजेन्सीपनि चोरीको माल बेचिरहेका छन् । गुगलमा भेटिएका तस्विर राखेर क्लाइन्टलाई आफ्नो क्रिएटिभ डिजाइन भनेर बेच्नेहरु धेरै छन् ।
आनकै कमजोरीले यसरी बदनाम हुँदैछन् एजेन्सी !
केहि समयअघि एउटा अनलाइन पत्रिकामा एउटा बिज्ञापन एजेन्सीका बारे समाचार आयो । आफ्नो गलत कामकाबारे समाचार आएपछी ती बिज्ञापन एजेन्सीका मालिकले आन गुहारे । पत्रिकामा खण्डन पठाउनुको सट्टा उक्त एजेन्सीले गलत बाटो रोज्यो । त्यतिबेला आफ्नो कार्यकाल सकिन लागेका आनका अध्यक्षले कुरै नबुझी उक्त एजेन्सीलाई साथ दिए वा अर्को एजेन्सीको केहि बिग्रियो भने पनि आफुलाई घाटा हुन्न भन्ने उनलाई थाहा थियो, त्यो उनलाई नै थाहा होला । तर आनको समर्थनमा एजेन्सीले गलत बाटो रोज्यो । त्यसपछि बिज्ञापन एजेन्सी संघले प्रेस काउन्सिलमा उजुरी गर्यो, ‘फलानो पत्रिकाको सम्पादकले बिना रिलिज अर्डर हाम्रो क्लाइन्ट’को बिज्ञापन हाल्यो, किन हालेको भनेर सोद्द्धा थर्कायो, ब्ल्याकमेल गर्यो, पैसा माग्यो, उक्त सम्पादकलाई कारवाही गरी पाउँ’ भनेर । तर त्यस्तो भएको केहि पनि थिएन ।
उक्त एजेन्सीसँग उक्त पत्रिकाको कारोबार पनि थिएन । एउटा बैंकको सीइओको व्यक्तिगत सम्बन्धका कारण आएको बिज्ञापनको ‘बिलिङ’ उक्त एजेन्सीमा भएको थियो । ब्ल्याकमेल वा धम्की केहि कुरै भएको थिएन । त्यसपछि प्रेस काउन्सिलमा आएको उक्त उजुरीउपर काउन्सिलले मिडियासँग जवाफ माग्यो । मिडियाले उक्त आरोप प्रमाणित भए मिडिया नै बन्द गर्न तयार रहेको दावी सहित जवाफ पठायो । मिडियाले अहिले एजेन्सी संघको पत्र काट्ने व्यक्ति र उक्त एजेन्सीलाई मानहानीको मुद्धा हाल्ने तयारी गरिरहेको छ । किन भने उक्त मिडियाले उजुरीमा भनिएजस्तो केहि गरेको छैन भने एजेन्सीसंघले लगाएको आरोप गाली बेइज्जतीको प्रमाण भएको छ ।
माथिको घटनाले घाटा आन, मिडिया भन्दा पनि एजेन्सीलाई नै भयो । आफुबिरुद्ध गलत उजुरी परेकाले त्यसले आफ्नो व्यक्तिगत चरित्रहत्या भएको भन्दै उक्त मिडियाका सम्पादक र मालिक उक्त एजेन्सीको क्लाइन्ट रहेको बैंकमा समेत गएर कुरा गरिसकेका छन् । त्यसको उपजस्वरूप अहिले बैंकले एजेन्सी परिवर्तन गर्दैछ । किनकि मिडियासँग निहुँ खोज्ने व्यक्ति वा संस्थालाई सहयोग गरेर बैंकलाई फाइदा छैन भन्ने बैंकले बुझेको छ । यहाँ आनको नेतृत्वले गलत सुझाव दिंदा एउटा एजेन्सीको क्लाइन्ट खोसिएको छ । ती सम्पादकले तत्कालीन आनको नेतृत्व र एजेन्सीलाई प्रतिवादी बनाएर मुद्धा हालेपछि यो प्रकरण अझै ठुलो हुनेछ । र त्यो एजेन्सीलाई अरु घाटा हुने पनि पक्का छ । यो त प्रतिनिधि घटना मात्रै हो । आन नेतृत्वले गलत सुझाव दिंदा ‘तनाव’ भोगिरहेका मिडियाहरु पनि धेरै छन् ।
यसो त आनले गलत गर्छ भन्न खोजेपनि होइन । तर कुरै नबुझी कदम चाल्दा एउटा बिज्ञापन एजेन्सीलाई घाटा अभाएको छ अरु घाटा हुनेवाला छ । आनले सकारात्मक काम पनि पक्कै गरेको छ । तर क्लाइन्ट खोसाखोस हुने, कम रेटमा काम हुने जस्ता समस्यालाई उसले सम्बोधन गर्न सकेको छैन । यसपालीको नेतृत्वबाट यस्तो कामको आशा गरिएको छ । तर अव के हुन्छ, त्यो भविष्यले नै बताउला ।
कुनैले कर छाल्दा सबै एजेन्सी निशानामा !
नाफा कम हुने भएपनि बिज्ञापन एजेन्सीको कारोबार ठुलो हुन्छ । कारोबार ठुलो भएपछी अधिकांस ठुला बिज्ञापन एजेन्सी ठुला करदातामा पर्छन् । यसो त कर छल्ने एजेन्सीहरु पनि नभएका होइनन् । तर केहिले भ्याट र आयकरमा छली गर्दा राम्रो काम गर्ने एजेन्सीपनि राजश्व अनुसन्धानको निशानामा पर्छन् । यो बीचमा धेरै बिज्ञापन एजेन्सीहरुलाई अन्तरिक राजश्व विभागले छापा मारेको पनि छ । छापा मारिएकाहरुमध्ये धेरै ठाउँमा गलत काम भएको प्रमाणित पनि भएको छ ।
कुन एजेन्सीले कति कर कुन बेला छलेको थियो ? को राजश्व अनुसन्धानको निशानामा परे र कस्तो कारवाही भोगे ? हामी विशेष सामग्री लिएर अर्को अंकमा प्रस्तुत हुनेछौं । तर केहि कहिले गलत गर्दा समग्र राम्रो काम गरिरहेका र राज्यलाई तिर्नुपर्ने कर राम्रैसँग तिरिरहेका एजेन्सीहरुपनि राजश्व अनुसन्धानको निशानामा परिरहेका छन् । यसले गर्दा उनीहरुलाई अनावश्यक तनाव त परेको छ नै, ‘क्रिएटिभ काम’ गर्नुपर्ने एजेन्सीको सिर्जनशीलतामाथि पनि प्रश्न उठ्ने गरेको छ ।
(बाँकी अर्को अंकमा)