म पोखराको व्यवसायी हुँ । पोखराको पन्थी गल्लीमा मेरो डेरी फर्म छ । दुध ओसारपसारका क्रममा मेरो दुधको गाडी र अन्य गाडीहरु विभिन्न ठाउँमा गुडीरहन्छन् । यस्तै क्रममा मेरो कम्पनीको गाडीले बाग्लुङमा गुडीरहेको एक गाडीलाई ठक्कर दियो । प्रहरी आयो, सबै मुचुल्का उठायो । मेरो गाडीको दोष देखाइयो । ठक्कर खाएको गाडी बनाइदिने सहमति भयो । गल्ती भएकाले त्यो गाडी बनाइदिनु नै थियो । तर हामीलाई ‘थर्ड-पार्टी’ इन्स्योरेन्सको पैसा आउने हुनाले आर्थिक गाह्रो केहि थिएन । यस्तै भैपरि आउँछ भनेर नै इन्स्योरेन्स गर्ने हो।
मैले ठक्कर खाएको गाडीका प्रतिनिधिलाई गाडी बनाउ, बिल बुझाउ, इन्स्योरेन्स सर्भेयरले भने अनुसार पैसा दिन्छु भनें । तिनले गाडी बनाए र बिल पनि बुझाए । उनले २ लाख ८६ हजार रुपैयाँको बिल ल्याए । सर्भेयरले २ लाख ८६००० दिनुहोस् भने । मैले सर्भेयरमात्र भएर हुँदैन नेपाल इन्स्योरेन्सका प्रतिनिधि पनि रोहबरमा चाहिन्छ भनें । सबैको त्यहि सहपति भयो । नेपाल इन्स्योरेन्स कम्पनीबाट दीपक तिवारी नामका प्रतिनिधि आए । प्रहरीको रोहबरमा सबैलाई साक्षी राखेर पैसा दिएँ । त्यहि बेला मैले सर्भेयरलाई ‘केहि कागज नपुगेको भए भन्नुहोस्’ पनि भनें । उनले सबै कागज पुगेको बताए । मैले क्षतिपूर्तिवापत तिरेको रकम एक हप्तामै मलाई इन्स्योरेन्स कम्पनीबाट भरपाई हुने भनियो । म ढुक्क भएर अरु काम गर्न थालें ।
तर एक हप्ता पुग्यो तर मलाई पैसा दिने भन्ने खबर आएन । अन्य काममा पनि लाग्नुपर्ने भएकाले मैले कुरिरहें । तर बैशाख ८ गते बुझाएको पैसा असारमा पहिलो हप्ता पनि आएन । मैले त्यसपछि कम्पनीलाई फोन गरें । कम्पनीले सर्भेयरले कागज बुझाएको छैन भन्ने जानकारी दियो । सर्भेयरलाई ९० दिनसम्मको म्याद हुने रहेछ । एक हप्ता भनेको रकम पूरै तीन महिना नभई नआउने देखियो । सर्भेयरले झुट बोलेको प्रष्ट भयो ।
हदै भएपछी मैले त्यसपछि मैले काठमाडौँमा विक्रान्त पाण्डेलाई फोन गरें । उनी नेपाल इन्स्योरेन्सका डेपुटी जनरल मेनेजर हुन् । बल्ल सर्भेयरले रिपोर्ट बुझाएछन् । रिपोर्टमा मैले बुझाएको पैसामा ६० हजार घटाएर बुझाइएछ । रिपोर्टमा २ लाख २६ हजार रुपैयाँ मात्र उल्लेख गरिएछ । चेक लिने बेलामा २ लाख २६ हजार रुपैयाँ देखेपछि मात्र मैले यो थाहा पाएँ । पूरा पैसा नभएकाले उक्त पैसा लिने कुरा भएन । मैले लिइन । फेरी विक्रान्त पाण्डेलाई फोन गरें । उनको फोन उठेन । १७ दिन सम्म निरन्तर उनको फोन उठेन । त्यसपछि एक दिन उनले आफैं फोन गरेर मलाइ काठमाडौँ बोलाए । म काठमाडौँ गएँ । भोलि नै काम हुन्छ, पर्सी नै काम हुन्छ भनियो तर भएन । मैले सीइओलाई भेट्छु भनेर अनुरोध गरें, तर भेट्न दिइएन ।
त्यसपछि भोलि पर्सि भन्दा भन्दै १३ दिनसम्म काम भएन । अव त अत्ति नै भयो भनेर एक दिन विहानै कम्पनीमा गएँ । कम्पनीको गेटमा सीइओलाई भेटें । ‘तपाईंले भेट्न पनि दिनुभएन, मेरो काम पनि भएन’ भनेर गुनासो मात्र के पोखेको थिएँ, उनले त उल्टै ‘तपाईं को हो र ? मैले भेट्न ? भन्दै थर्काए । मैले पनि ‘म पीडीत हुँ, मलाइ पूरै पैसा दिइएन’ भनें । उनले तुरुन्त रिसेप्सनमा ‘पुलिस बोलाएर यो मान्छेलाई थुन्न पठाउ’ भनें । मेरो पनि अव रिसको पारा छुट्यो । म पीडीत, अनि मलाइ नै उल्टै पुलिसको धम्की दिने ? मैले मै बोलाउँछु पुलिस भनें । र १०० डायल गरेर खबर गरें । केहिछिनमा पुलिस आयो । प्रहरीले पनि इन्स्योरेन्स कम्पनीकै गल्ती देखायो । ‘हो हल्लाचाहिं नगर्नुहोस्, केहि परे खबर गर्नुहोस्’ भनेर प्रहरीको टोली गयो ।
म उनीहरुको धम्कीदेखि नडराउने देखेपछी उनीहरुले चौथो दिनमा पूरै २८६००० रकम भुक्तानी दिए । म त कम्पनी गएँ, आफ्नो कुरा राखें, प्रतिवाद गरें र बल्ल भुक्तानी पाएँ । यो कम्पनीमा कति त्यस्ता पीडीत होलान् जो बोल्न सक्दैनन् र घाटामा परिरहेका छन् ।
(कुराकानीमा आधारित)