
कञ्चनपुर । कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि गौरा पर्व शुरु भएको छ । शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेका छन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारी एवं धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाई महेश्वरको आह्वान गरी विरुडा राख्ने कार्य गरिएको स्थानीय समाजसेवी रमेश पाण्डेयले बताउनुभयो ।
महिलाले माङ्गलिक गीत गाउँदै गाउँका पँधेरो, खोला र नदीका मुहानमा बिरुडा भिजाउने कार्य गरेको उहाँले बताउनुभयो । षष्ठीका दिन पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती) को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने विवाहित महिलाले गौरा पर्वमा व्रत बसी कण्ठसूत्र ()धारणा गर्नुपर्ने र पुरुषसरह गायत्री जप गरी भोजन ग्रहण गर्ने प्रचलन छ । सप्तमीका दिन महिलाले दिनभरि व्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायुको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत विद्यमान छ । सात गाँठो पारिएको दुबोसहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुट्टामा राखिन्छ ।
अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीति कथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाच्ने गर्दछन् । यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ ।
विगतमा सामूहिक भेला भई गौरा भित्राउने चलन रहे पनि कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण महिलाले घरपरिवारका सदस्य मिलेर गौरा भित्राएका छन् । गौरा पर्वको महत्वपूर्ण दिन अष्टमीमा महिलाले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आगनमा ल्याई श्रृङ्गार गरी सगुन गीत गाउँदै टाउकामा राखेर नाच्ने गर्दछन् ।
अठेबालीका दिन आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेबाली भन्ने गरिएको सुदूरपश्चिमेली संस्कृतिका जानकार मानसिंह भण्डारी बताउनुहुन्छ । अठेवाली गीत गाउँदा महिलाले एकले अर्काको कान्छी औंला अठ्याएर समाती गोल घेरा बनाई परम्परागत तरिकाले नृत्य र गीत प्रस्तुत गर्ने गर्दछन् ।यसै अवसरमा गौराको पहिलो दिन पाँच अन्न भिजाएर बनाएको बिरुडा गौरा देवीको पूजाआजा गर्न प्रयोग हुन्छ । अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने पनि गरिन्छ । पहिले गाउँका प्रतिष्ठित व्यक्तिका घरमा सामूहिक रुपमा बिरुडा भिजाउने चलन थियो । अहिले मानिसले सुविधाका लागि गौरा मन्दिर, सगोल तथा घरघरमा भिजाउने गरेका छन् ।
हिमालयकी छोरी पार्वतीले शिवलाई पति पाउन गौरादेवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको भण्डारीको भनाइ छ । पार्वतीले शिव पति पाए झैं अविवाहित युवती शिव जस्तै पति पाउन भनी व्रत बस्ने गर्दछन् । व्रत बसेको अठेबालीका दिन महिलाले गौरादेवीको प्रतिमालाई टाउको राखेर नचाउने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् ।
धुमारी र ढुस्को र ठाडो खेलमा महाभारत, रामायणसहित धार्मिक ग्रन्थमा आधारित कथा भन्ने गरिन्छ । बिरुडा भिजाएर शुरु हुने गौराको विसर्जन नहुँदासम्म महिला र पुरुष सबैले ठाडो खेल र देउडा खेलेर धुमधामसँग मनाउने गर्छन् । गौरीको प्रतिमासँगै पहेँलो कपडाले बेरिएको काठको पिर्कालाई शिवको प्रतीक मानेर राख्ने गरिन्छ । यस बेलामा दुबो धागोलाई पूजाआजा गरी गौरीको प्रतिमा चढाउने गरिन्छ । यस बेलासम्म महिलाहरु निराहार हुन्छन् र कसैले फलाहार गर्छन् ।
यसअघि महिलाहरुले आफना पति र सन्तानको दीर्घायुको कामना गर्दै बिरुडाले पूजा गर्छन् । अठेबालीपछि गौरीको प्रतिमा राखिएको डालोलाई टाउकामा राखेर नाच्ने गरिन्छ । गौरा नचाएका बेलामा अन्य महिलाले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् । स्थानीय भाषामा गौरीको प्रतिमालाई लली घुमारा भन्ने गरिएको संस्कृतिका जानकार टेकबहादुर हमाल बताउनुहुन्छ ।अठेबालीका दिन महिला र पुरुष छुट्टाछुट्टै गौरामा रमाउँछन् । पुरुषहरुले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को, देउडा खेल्ने गर्छन् । धामी झाँक्रीलाई खुशी बनाउन अठेबालीका दिन पुरुष विशेषगरी देवताका गाथा समेटिएका खेलमा रमाउँछन् ।
महिलाहरुले गौरालाई नचाएपछि साँझतिर डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई पुरुषले आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ । त्यो फल आकाशमा चुम्यो भने चिताएको मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ । अठेबालीका दिन पुरुषहरुले आफ्नो जनै समेत फेर्ने गर्छन् भने व्रत बसेका महिलाले नयाँ दुबो धागो लगाउने गर्छन् । बिरुडा घरमा ल्याएर ठूलाबडाले सानालाई पूज्ने गरिन्छ । पुरुष रातिसम्म गौरा खलोमा ठाडो खेल खेल्ने गर्छन् । बर्खे खेती लगाएर फुर्सिदिला हुँदा दिउँसो खाना खाएर सबैजना गौरा खलोमा पुग्ने गर्छन् ।
गौरा मनाउन देशविदेशबाट समेत घर आउने चलन छ । गौरामा नयाँ लाउने र मीठो खाने गरिन्छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि यस वर्ष विदेशबाट फर्कनेहरु अगाडि नै घर फर्के पनि गौराको रौनक भने छैन ।समाजसेवी शेरबहादुर भण्डारीले भन्नुभयो, “यस वर्ष घरभित्र सीमित रहेर गौरा बनाइन थालेकाले पर्वको खासै रौनक छैन ।” बर्खे खेतीपछिको थकाइ मार्न सबै गौरामा रमाउँछन्, धनी गरीब भनिँदैन, सबैले गच्छेअनुसार मनाउँछन् । गौराको अन्तिम नदी बाजागाजासहित जलाशय वा नदी किनारमा विर्सजन गरिन्छ । सरकारले गौरा पर्वमा बिदा दिने गरेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्