
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कोभिड-१९ को रोकथामका लागि जारी बन्दाबन्दीमा सुनसान देखिएको नेपालगञ्जदेखि कैलालीको भजनीमा चैते धान गोडमेल गर्दै एक किसानसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
कोभिड-१९ को रोकथामका लागि जारी बन्दाबन्दीमा सुनसान देखिएको नेपालगञ्ज ।

कैलालीको भजनीका किसान चैते धान गोडमेल गर्दै । भजनी क्षेत्रका किसानले वर्षातमा डुबान र बाढी आउने भएकाले चैते धान खेती गर्ने गरेका छन् । आजभोलि गोडमेल गरिने धान जेठ र असारमा काट्न तयार हुन्छ ।

हाते ट्रयाक्टर चलाउने प्रविधिबारे कृषकलाई स्थलगत जानकारी दिँदै रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय । हिजोआज नगरपालिकाले अनुदानमा हाते ट्रयाक्टर वितरण गर्न थालेपछि यसको प्रयोग गर्ने कृषक बढ्दै गएका छन् ।

म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोत मन्दिरमा प्राण प्रतिष्ठाका लागि बुधबार अन्नपूर्ण र जगन्नाथको मूर्तिलाई रथयात्रा गराइँदै । गत वर्ष पुनःनिर्माण भएको ताकमकोत मन्दिरमा रु १५ लाख खर्चेर निर्माण गरिएको मूर्ति राखिएको छ ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भएको भेटवार्ताको क्रममा नागपोखरीस्थित एक होटलबाट निर्माण सम्पन्न हुँदै गरेको धरहराको टावर नियाल्दै नेताद्वय । 

विश्व पृथ्वी दिवसका अवसरमा बिहीबार मनाङ पुग्नुभएका महानायक राजेश हमाल नासो गाउँपालिका– १ स्थित तालगाउँमा निर्माणाधीन पार्कमा धुपी सल्लाको बिरुवा रोप्दै ।

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा परम्परागत मौलिक राधाकृष्ण नाच प्रस्तुत गर्दै कलाकार । ताकमकोत मन्दिरमा प्राण प्रतिष्ठाका लागि बुधबार अन्नपूर्ण र जगन्नाथको मूर्ति रथयात्राका क्रममा राधाकृष्ण नाच देखाइएको हो ।

बागलुङको कालिका भगवती मन्दिर परिसरमा बिक्रीका लागि राखिएका स्थानीय कालिगढद्वारा निर्मित घरेलु हातहतियार ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का अग्निपीडित सन्तबहादुर भुजेलको परिवारलाई त्रिपाल हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल । गाउँपालिकाले पीडित परिवारलाई खाद्य पदार्थका साथै रु २५ हजारसमेत प्रदान गरेको छ ।
