३ करोडभन्दा बढी लागतमा दिउँसै डरलाग्दो देखिने नदी छेउको थुम्को बन्यो पवित्र धाम !

GARIMA BANK
दमौली । पृथ्वी राजमार्ग नजिकै छ सेती नदीको किनार । जताततै ढुङ्गैढुङ्गा । दिउँसो पनि एक्लै हिँड्न डराउनुपर्ने अवस्था । नदीको तिरसम्म पुग्न साँघुरो गोरेटो थियो, मुस्किलले आउजाउ गर्न सकिने । उराठलाग्दो देखिने गाछेपानीस्थित सेती नदी ढुङ्गाले भरिएका किनारको स्वरुप एक दशकमा फेरिएको छ । दिउँसै डरलाग्दो त्यो नदी छेउको थुम्को अहिले पवित्र धाम बनेको छ । अहिले झकिझकाउ मन्दिर छ । त्यही स्थान अहिले धार्मिक पर्यटकको गतिलो गन्तव्य बनेको छ ।
पहिले एक्लै हिँड्न पनि डरलाग्ने कुरुप साँघुरो ठाउँ फेरिएर यति सुन्दर र फराकिलो पर्यटकीय गन्तव्य बनेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीका स्थानीयको पहलले यो ठाउँ तनहुँकै चर्चित धार्मिकस्थल बन्दैछ । नदी छेउको थुम्को मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम (मिनी मुक्तिनाथ) नामले चिनिन थालिसकेको छ । यस ठाउँ भगवान शिवजी प्रति आस्थावान् भक्तजनको आकर्षणको केन्द्र बनेको छ । हिन्दू धर्मको मात्र होइन च्यवनधाम बौद्ध धर्मलम्वीहरुको पनि आस्थाको थलो हो ।
विसं २०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले हडप्न नखोजेको भए यो परिवर्तन सम्भव थिएन । ‘यहाँको २३ रोपनी जग्गा हडप्न खोजिएको थियो । गण्डकीको तिरसम्म पुग्ने बाटो पनि नहुने भएपछि संरक्षणमा हामी लाग्यौँ’, मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामका सचिव दुर्गादत्त सापकोटा भन्नुहुन्छ, ‘जग्गा संरक्षण गर्न भुलभुले बाराही एकता समाजले वृक्षारोपण गर्यो । यहीँको पुन मगर समाजले तारबार लगाए ।’ पुन मगर समाजले तारबारमा साथ दिनुको कारण उनीहरुको अन्तिम घर अर्थात चिहान त्यही आडैमा थियो ।
जग्गा संरक्षणको दुई वर्षपछि विसं २०६७ सालमा काठमाडौं बस्दै आउनुभएका ऋषिगुरु श्रीराम पौडेलसँग स्थानीयको सम्पर्क भयो । पौडेलले सेतीको तिर तपोभूमि भएको सुनाउनुभयो । त्यसो त शुक्लागण्डकी क्षेत्र च्यवन ऋषिको तपोभूमिको रुपमा पनि परिचित थियो । ‘गुरुले मुक्तिनाथमा गएर ध्यान बस्दा यहाँको वस्तुस्थिति देखेको सुनाउनुभयो । उहाँले नै तपोभूमि बन्छ भनेपछि हामीले मन्दिरको अवधारणा बनायौ’, सापकोटा विगत सम्झदै भन्नुहुन्छ ।
त्यही वर्षको कात्तिकमा मन्दिर सहितका पूर्वाधार निर्माणका लागि लालप्रसाद गर्तौलाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको थियो । माघमा यो क्षेत्रलाई श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम नामकरण गरियो । समिति मन्दिर बनाउन कस्सिएपनि आर्थिक अभाव आइलाग्यो । देशभर आर्थिक सङ्कलनका लागि महायज्ञ गर्ने परम्परा चलेको बेला त्यसैलाई अनुसरण गर्ने उपाय निकाल्यो उक्त समितिले । पूर्वाधार निर्माणमा आर्थिक सङ्कलन गर्ने उद्देश्यले सोही वर्षको चैत १० गतेदेखि १७ गतेसम्म सञ्चालन भएको महायज्ञमा १ करोड ५० लाख सङ्कलन भएपछि मन्दिरमा पूर्वाधार निर्माणको काम सुरु भएको हो । 
महायज्ञमा उठेको रकमले समितिलाई हौसला थपेको सापकोटाले सुनाउनुभयो । महायज्ञ लगाएको छ महिनापछि विसं २०६८ कत्तिकमा मन्दिर शिलान्यास भयो र पूर्वाधार निर्माण सुरुभयो । च्यवनधाम परिसरमा अहिले आकर्षक शुक्लेश्वर महादेव मन्दिर छ । मन्दिरको छानो तामाको छ । शुक्लेश्वरको आसपासमा सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी र गणेशको मन्दिर छ ।
यहाँ मुक्तिनाथकै झल्को दिने एक सय आठ धारा, एक सय आठ ओमकार कल्पवृक्ष, एक सय आठ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायतका संरचना छन् । च्यवनधाम परिसरमा बौद्ध गुम्बा छ । गुम्बाले एक अर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने सापकोटाको भनाइ छ । मन्दिर क्षेत्रमा एक दशकको अवधिमा ३ करोडभन्दा बढी पूर्वाधार निर्माणमा लगानी गरिएको छ । उक्त रकम दान सङ्कलनसँगै सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि उपलब्ध गराएका छन् । ‘च्यवनधाममा पूर्वाधार थप्दै गएपछि आन्तरिक पर्यटकको उत्कृष्ट केन्द्र बन्नेछ,’ सापकोटाले भन्नुभयो ।
मन्दिरमा अझै पनि पूर्वाधार थप गर्ने योजना छ । त्यसका लागि तीन तहका सरकारसँग सहयोग मागिनेछ । सरकारी निकायबाट सहयोग आइरहेपनि जति सहयोग आउँछ त्यो भन्दा दोब्बर तेब्बर खच समितिले गरेको उहाँले सुनाउनुभयो । मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष अर्जुन लम्सालले धाम परिसारमा योजनाअनुसार निर्माण गरिने बताउनुभयो । ‘गुम्बाको तलपट्टी मिनी चिडियाखाना बनाउने योजना बनाइएको छ । गण्डकीको तिरको ढिस्कोको माथिपट्टी हनुमानको मूर्ति र त्यसको तलपट्टी शनि देवताको मूर्ति बनाउने योजना छ ।
च्यवनधाममा नयाँ वर्ष, साउने सोमबार, कृष्ण अष्टमी, बाला चतुदर्शी र शिवरात्रीमा भक्तजनको बढी घुइँचो लाग्छ । प्रत्येक वर्षको साउन महिनामा शिवपुराण लगाउने गरिएको छ । उहाँका अनुसार साउनमा प्रत्येक सोमबार र शिवरात्री पर्वको बेला यहाँ दैनिक पाँच हजार बढी भक्तजन भेला हुन्छन् । च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको मन्दिरमा पूजाअर्चना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ ।
यो वर्ष गण्डकी प्रदेश सरकारको लगानीमा २५ लाख खर्च गरी यहाँ रहेको एक सय आठ धाराको माथिपट्टी कृत्रिम हिमाल निर्माण गरिएको छ । कृत्रिम हिमाल बनाएपछि मन्दिरमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको मन्दिर व्यवस्थापन समितिका सहसचिव अस्मिता खनाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कृत्रिम हिमालले आन्तरिक पर्यटकमा वृद्वि हुने लक्षण देखाइसकेको छ ।’ यही बाटो भएर तनहुँकै प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर पुगिन्छ । ढोरवाराही जाने धार्मिक पर्यटक पनि च्यवनधाममा आउने गरेको उहाँको भनाई छ । ढोरबाराही र च्यवनधामलाई जोडेर प्रचार गर्न सके दैनिक हजारौँ धार्मिक पर्यटक भित्र्याउन सकिनेमा खनाल विश्वस्त हुनुहुन्छ ।
मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मिलेनियम ट्रेकको सुरुआती विन्दु हो । सन् २००० देखि सुरु भएको तनहुँ र स्याङ्जालाई जोड्ने ७२ किलोमिटर दूरीको मिलेनियम ट्रेक यहीँबाट सुरु हुने भएकाले पनि पर्यटनमा यथेष्ट सम्भावना छ । च्यवनधामको नजिकै सेती नदीमा बग्ने पानीको वहावले कुँदेर बनाएको प्राकृतिक ढुङ्गे बगैँचाले जोकोहीलाई लोभ्याउन सक्छ । च्यवनधाम र ढुङ्गे बगैचामा म्युजिक भिडियो छायाङ्कन गर्ने लहर पनि बढेको छ ।
च्यवनधामलाई तनुहँकै उत्कृष्ट गन्तव्य बनाउन स्थानीयवासीसँग स्थानीय सरकारले हातेमालो गरिरहेको वडाध्यक्ष जगतबहादुर गुरुङले बताउनुभयो । मिनी मुक्तिनाथको अवधारणा भएको हुँदा पूर्वाधार निर्माणमा नगरले वर्षेनि बजेटको व्यवस्था गरेको उहाँले सुनाउनुभयो । ‘पूर्वाधार बनेपछि प्रचारप्रसारमा जोड दिन्छौँ’, उहाँले भन्नुभयो, ‘वरपरका गन्तव्यसँगै मुक्तिनाथ पुग्ने पर्यटकलाई च्यवनधाममा आउने वातावरण बनाउँछौँ ।’ -रासस
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal