- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौको जोरपाटीमा रहेको बोधिसत्व इन एक्सन (बिआइए) नामक अशक्त व्यक्तिहरुलाई आश्रय प्रदान गर्ने गैरसरकारी संस्थालाई अशक्त माथि नै श्रम शोषण गरेको आरोप लागेको छ । शारीरिक रुपमा अशक्त व्यक्तिहरुको आश्रय स्थलका लागि स्थापना गरिएको यस संस्थाले प्रत्यक्ष रुपमा आश्रय प्रदान गरेजस्तो देखिए पनि आन्तरिक रुपमा अशक्तहरु माथि नै चरम श्रम शोषण गरेको भन्दै पीडीतहरुले यसविरुद्ध आवाज उठाईदिन भन्दै मिडियाको सहयोग मागेपछि संस्थाभित्रको गलत धन्दा बाहिरएको हो ।
के हो बिआइए ? किन आयो विवादमा ?
सन् २०१४ मा छोग्यल रिम्पोचेले यस संस्थाको स्थापना गरेका हुन् । रिम्पोचेले संस्था स्थापना गरेर आर्थिक सहयोग गर्दै आएको भएपनि व्यवस्थापकको गैर जिम्मेवारीपुर्ण व्यवहारले संस्था भित्र आश्रय लिईरहेका अशक्त नागरिक अन्यायमा परेको पीडीत भनिएकाहरुको भनाइ छ । दाताहरुको सहयोग र संस्थापक छोग्यल रिम्पोचेको आर्थिक सहयोगमा चल्ने यो संस्थाले शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई सिप प्रदान गरेर थान्का, मुर्ति गलैँचा, डोका, मुर्ति आदि उत्पादन गर्ने गर्दछ । उनीहरुले उत्पादन गरेका धूप, थान्का, एप्लिक, बाँसका डोका डाला, मूर्ति, पस्मिनाका सल, गलैँचाजस्ता सामानहरु सबै बिआइएले विक्रि गर्दछ । विआइएको नारायणटार शाखामा करिब चालिस जना अशक्त व्यक्तिहरु सिप सिकेर सामान उत्पादन गर्ने गर्दछन् । करिब सय जना अशक्त रहेको विआइएका व्यवस्थापक गोकर्ण ढुंगाना छन् ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/06/333-1.jpg)
कसरी गरियो श्रम शोषण ?
आफैमा शारिरिक रुपमा अशक्त व्यक्तिहरुले दिनभरी कडा मिहिनेतका साथ उत्पादन गरेका सामानहरुको उचित ज्याला भने पाएकाछैनन् । आफ्नो मिहेनेत अनुसारको ज्याला नपाएका कारण अशक्त व्यक्तिहरु संस्थाको व्यवस्थापन प्रति रुष्ट छन् । ‘जति धेरै मिहिनेतका साथकाम गरेपनि व्यवस्थापकले अशक्तहरुलाई महिनामा प्रतिव्यक्ति चारहजार मात्रै दिने गरेको छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक पीडीतले भने, ‘व्यवस्थापक ढुंगानाले अशक्तमाथि श्रम शोषण मात्र नगरेर मानसिक यातना समेत दिने गरेका छन् । म संस्था स्थापना भए देखिनै यहाँ बसिरहेको छु । मेरो मेरुदण्डमा चोट लागेपछि म यता आएको हुँ । मैले थान्कामा ड्रईङ्ग गर्ने काम गर्छु । हामीलाई अहिले प्रति महिना चार हजार रुपैँया दिईन्छ । अघिल्लो महिनासम्म तिन हजार मात्रै दिने गरेका थिए । सबैजनाले पैँसा कम भयो भनेपछि यो महिना देखि एक हजार थपेर चार हजार दिने गरेकाछन् ।’
ह्विल चेयरको सहयताले हिडडुल गरेर सात वर्षसम्म थान्का कोर्दै आएका पीडीतका अनुसार पैसा कम भयो भन्दा अझै सिक्न बाँकी छ भन्ने उत्तर ढुंगानाबाट आउने गरेको छ। ‘मैले सात वर्षदेखि थान्का कोर्दै आएको छु । पैँसा कम भयो भन्दा अझै सिक्न बाकि छ भन्नुहुन्छ । यति मै गर्ने भए गर नत्र यताबाट गए हुन्छ भन्नुहुन्छ । हामी आफै शारिरिक रुपमा अशक्त छौँ कहाँ जानु । कहिलेकाहिँ त निकै रिस उठेर पनि आउँछ । तर के गर्ने हाम्रो नै अवस्था यस्तो छ ।’ संस्थामा उत्पादन हुने थान्का बजारमा पाईने थान्का भन्दा राम्रो हुने पनि उनिहरुको भनाई छ । ‘हामीले उत्पादन गरेको थान्का अरुको भन्दा राम्रो हुन्छ । हामी विस्तारै काम गर्छाै । राम्रो काम गर्छाै । हामीले बनाएको थान्का सजिलै बिक्री पनि हुन्छ ।’ एक पीडीतले भने । ती पीडीतका अनुसार संस्थामा बनेको एउटा थान्का न्युनतम पनि पन्ध्र हजारमा विक्रि हुने गरको छ । थान्काको बनावट हेरेर पचास हजारदेखि एक लाखसम्ममा पनि थान्का बिक्री हुने व्यवसायीहरु बताउँछन् । ‘अपाङ्गहरुमाथिको यस्तो अन्याय कहिलेसम्म?’ यता पीडीतहरुको गुनासो छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/06/55555-1.jpg)
रिम्पोचेको समेत छवि बिगार्दै संस्थाका व्यवस्थापक !
संस्थामा बसिरहेका व्यक्तिहरुको संस्थापक रिम्पोचे प्रति भने कुनै गुनासो छैन । संस्थापक रिम्पोचेको बारेमा उनिहरु खुलेरै प्रशंसा गर्छन । उनले गर्दा आश्रय पाएकोमा रिम्पोचेलाई भगवान नै मान्छन् । संस्था संचालनका लागि आवश्यक पर्ने रकम दाताहरुबाट र रिम्पोचेको सहयोगबाट जुटाउने गरेको संस्थाका सचिव छिरी शेर्पाले बताए । अहिले पनि लकडाउनमा दाताहरुले सहयोग गर्न नसकेको हुँदा रिम्पोचेले नै सबै खर्च व्यहोरीरहेको सचिव शेर्पाको भनाई छ । रिम्पोचे आफै बौद्ध धर्म गुरु हुन् । उनले बिआईए मात्र नभई स्वयम्भुमा रहेको अनाथ आश्रम, भारतको कालीम्पोङमा असहाय बालबालीकालाई संगीत संस्थाको पनि स्थापना गरिदिएका छन् ।
यस विषयमा बुझ्न हामीले गोकर्ण ढुंगानालाई सम्पर्क गर्ने प्रयास गरेका थियौं । तर उनको ९८०२०****५ नम्बरको मोबाइलमा एनसेलले आगमन कल नै निषेध गरिदिएको रहेछ ।