NABIL AD

सुपर मादी जलविद्युत् आयोजनामा क्षति, झण्डै १ अर्ब बराबरको नोक्सानी

GARIMA BANK
कास्की । मङ्गलबारको बाढीका कारण झण्डै डेढ दर्जन जलविद्युत् आयोजनामा सानाठूला क्षति पुगे । सोही क्षतिका कारण सरकारी तथा निजी क्षेत्रका केही आयोजना अझै पनि पुनः सञ्चालनमा आउन सकेका छैनन् । कास्कीमा निर्माणाधीन अवस्थामा रहेको ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनामा सबैभन्दा ठूलो क्षति पुगेको छ । सुपर मादी हाइड्रोपावरका अध्यक्ष पुष्पज्योति ढुङ्गानाका अनुसार बाढीका कारण झण्डै १ अर्ब बराबरको नोक्सानी भएको छ ।
उहाँका अनुसार मादी नदीमा आएको बाढीले निर्माणाधीन आयोजनाको हेडबक्स, पावरहाउस, कामदार आवास एरियालगायत स्थानमा ठूलो क्षति पुर्याएको छ । यस्तै लोडर, एक्साभेटर, पेनस्टक पाइप, कर्सर प्लान्ट, आरएमसी प्लान्ट, हेभी जेनेरेटरलगायत पावरहाउस क्षेत्रबाट निर्माण सामग्रीसमेत बगाएको छ । आज मात्रै नेपाल चीन सीमा क्षेत्र नजीकै रहेको रोजिया शहर र सोको आसपासमा भारी वर्षा भएसँगै पहिरो आउँदा नदीको बहाव रोकिन गएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले सचेत रहन सूचना जारी गरेको छ । नेपाल चीन सीमा क्षेत्रको बस्ती तथा तामाकोशी नदी तटीय क्षेत्रमा जोखिम उत्पन्न हुने सूचनामा उल्लेख छ ।
तामाकोशी नदीमा नै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ । बाढीका कारण दोर्दी करिडोरमा निर्माणमा रहेका आयोजनामध्ये केहीमा सामान्य क्षति पुर्याएको छ । बाढीका कारण दोर्दी करिडोरमा निर्माणाधीन अवस्थामा रहेका आयोजना क्षति पुगेको छ । कूल ५४ मेगावाट क्षमताको सुपर दोर्दी (ख), १२ मेगावाट क्षमताको दोर्दी १ मा बाढीले समस्या पारेको छ । रसुवामा निर्माण भइरहेको रसुवागढी आयोजनाको टेलरेसबाट बाढी पसेको छ । बाढीले आयोजनामा आवतजावतका लागि निर्माण गरिएको बेलीब्रिज बगाएको छ ।
मेलम्चीमा आएको बाढीले पुर्याएको जनधनको क्षति असाध्यै ठूलो छ । वातावरण विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आउनुभएका रविन निरौलाका अनुसार कमजोर भूसतहमा सामान्य पहिरो जाँदा पनि तल्लो तटमा ठूलो क्षति पुगेको छ । मेलम्चीको हकमा पहिरो खसेर ४५ मिनेट बढी खोला थुनिएको देखिन्छ । मनसुनको समयमा नदी त्यसले कति विकराल रुप लिन्छ भनेर मेलम्चीको अवस्थाबाटै थाहा भएको छ । बाढीपहिराले नेपालको हिमाली तथा पहाडी क्षेत्रमा निर्माण भएका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार बाँधस्थल तथा अन्य संरचनामा बाढीले समस्या पारेको छ ।
जानकारहरुका अनुसार नेपाल आफैँमा प्राकृतिक विपत्तिको जोखिममा छ । ‘गोरखा भूकम्प’ का कारण भौगोलिक रुपमा नै केही जटिलता सिर्जना भएका छन् । त्यसमाथि जलवायु परिवर्तनका कारण एकै स्थानमा धेरै वर्षा हुने कारण पनि बाढीपहिराको जोखिम उत्तिकै बढी देखिन्छ । यस्तो अवस्थामा भौतिक पूर्वाधार निर्माण गर्दा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । विशेषगरी उत्तरी क्षेत्रमा निर्माणमा रहेका र सञ्चालनमा आइसकेका जलविद्युत् आयोजनामा पछिल्ला बाढीपहिराले झनै समस्या थपिदिएको छ । लागत र समय मात्रै बढेको छैन, आयोजनाको भविष्यमा समेत प्रश्नचिह्न खडा भएको छ ।
यस्तो विषम अवस्थामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनीयरिङका प्रबन्ध सञ्चालक माधव कोइराला भन्नुहुन्छ, ‘हामीले विशेषगरी खोलाको अवस्थालाई ख्याल गरेर मात्रै निर्माणका काम अगाडि बढाउनुपर्छ ।’ उहाँका अनुसार हामीले कस्तो संरचना बनाउँदैछौँ, त्यहाँको भूगोल कस्तो छ भन्ने जस्ता विषयमा मिहीन अध्ययनको जरुरी देखिएको छ । यस्तै सुरक्षाका उपाय के कति मात्रामा अवलम्बन गरेका छौँ वा जोखिम न्यून गर्ने मापदण्डलाई के कसरी आत्मसात् गरेका छौँ भन्ने विषय पनि यसमा जोडिएर आएको प्रबन्ध सञ्चालक कोइरालाको भनाइ छ । भइहाल्छ वा चलिहाल्छ नि भन्ने मान्यताले कतिपय विकास निर्माणका काममा गुणस्तरलाई ख्याल नगर्ने प्रवृत्ति पनि उत्तिकै छ । सही डिजाइन भयो वा भएन, डिजाइनअनुसारका संरचना तयार भए वा भएनन् भन्ने कुरालाई विशेष ख्याल गर्नुपर्ने र सोही अनुसारका संरचना बनाउन लागिपर्नुपर्ने कोइरालाको भनाइ छ ।
चिलिमे जलविद्युत् आयोजनादेखि नेपाल चीन सीमा क्षेत्र नजीक निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी आयोजनाको समेत प्रमुख भएर काम गरिसक्नुभएका कोइरालाको विचारमा ‘सही स्थानमा सही संरचना (राइट प्लेस, राइट स्ट्रकचर)’ हुनु आवश्यक छ । परियोजनाको छनोटदेखि नै भौगर्भिक रुपमा जोखिमम छन् वा छैनन् विषयमा राम्रो खोज आवश्यक रहेको पछिल्ला दिनमा देखिएको बाढीपहिराले देखाएको कोइरालाको बुझाइ छ । उहाँ भन्नुहुन्छ, “हामीले अब इन्जिनीयरिङलाई पनि सोही अनुसार अगाडि बढाउनुपर्ने देखिन्छ, सही डिजाइन र मापदण्डको पूर्ण कार्यान्वयन जरुरी देखिन्छ ।’ एनइए इन्जिनीयरिङ कम्पनीले गरिरहेका कामलाई समेत अब थप गुणस्तरीय र प्रभावकारी बनाउने तथा जोखिम कम गर्नेतर्फ ध्यान दिने उहाँको भनाइ छ ।
ठूला प्राकृतिक विपत्तिलाई रोक्न नसकिए पनि क्षति कम गर्नेतर्फ सोच्नु जरुरी छ । किनकि, नेपालको विकास निर्माण प्रक्रियामा सुरक्षाका उपाय अवलम्बन नगर्ने प्रवृत्ति पनि उत्तिकै छ । पूर्वसावधानी अपनाउन सकिए क्षतिलाई घटाएर भौतिक संरचनाको सुरक्षा गर्न सकिने प्रबन्ध सञ्चालक कोइरालाको भनाइ छ । ठूला भौतिक पूर्वाधार निर्माण गर्दा सामान्यता १०औं  वर्षको मौसमी विवरण आवश्यक पर्दछ । त्यसमा अध्ययन गरिन्छ । त्यसमा पनि अर्थतन्त्रको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रका परियोजना निर्माण गर्दा झनै मिहीन अध्ययनको जरुरी देखिन्छ । बाढीपहिराका कारण जलविद्युत् आयोजनाका उपकरणमा नदीको बालुवा तथा लेदो पसेकाले पनि केही दिन विद्युत् उत्पादन बन्द हुने उनीहरुको भनाइ छ ।
मेलम्चीको बाढीले इन्द्रावती तेस्रोको विद्युत् उत्पादन बन्द छ । कूल ७.५ मेगावाट क्षमताको सो आयोजना मङ्गलबार साँझदेखि बन्द रहेको छ । मुख्य संरचना सुरक्षित रहेको भए पनि बाँधको गेटमा समस्या देखिएको बताइन्छ । नेशनल हाइड्रोपावर प्रवर्द्वक रहेको सो आयोजनाको क्षतिका बारेमा मूल्याङ्कन भइरहेको जनाइएको छ । कम्पनीका अध्यक्ष कुमार पाण्डेका अनुसार क्षतिको मूल्याङ्कन भइरहेको छ । यस्तै सो आयोजनाका तीन टावरमा क्षति पुगेको छ । गत माघमा भारतको उत्तराखण्डको चमोलीमा आएको हिमपहिराले बूढीगङ्गालगायतका आयोजनालाई क्षति पु¥याएको थियो । हिमाली क्षेत्रमा हिमपहिरो तथा बाढीको पनि जोखिम उत्तिकै भएकाले भौतिक पूर्वाधार निर्माणलाई कसरी सुरक्षित बनाउने भन्नेमा सरोकारवालाको ध्यान जानु जरुरी रहेको बताइन्छ । -रासस
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal