काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स् संस्था (आइक्यान) २५औँ वर्षमा प्रवेश गरेको छ । संस्था सोमबारबाट २४औं वर्ष पुरा गरी २५औँ वर्षमा प्रवेश गरेको हो । सो अवसरमा संस्थाले भर्चुअल माध्यम (जुम) बाट एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।
कोभिड–१९ को महामारीबाट बच्न अपनाउनु पर्ने सावधानीलाई ध्यानमा राखी कार्यक्रम भर्चुअल रूपमा प्रसारण गरिने भएको छ । संस्थाले सबै सदस्यहरू, विद्यार्थीहरू, लेखा व्यवसायीहरू र सरोकारवालाहरूलाई यस कार्यक्रममा सामेल हुन आह्वान गरेको छ ।
भर्चुअल माध्यमबाट प्रधानमन्त्री शेर बहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्र बैंकका गभर्नर एवंम् सिए महाप्रसाद अधिकारी, महालेखा परिक्षक टंकमणि शर्मालगायतको उपस्थिति रहने संस्थाले जनाएको छ । यस अवसरमा आइक्यानले लेख, सम्झना, शुभकामना र सिंहावलोकन समेटिएको स्मारिका प्रकाशित गर्नेछ भने संस्थानको २५ वर्षको यात्राको व्यावसायिक गतिविधिहरू पनि सार्वजनिक गरिनेछ ।
आर्थिक वर्ष २०७८/७९-२०८०/८१ को लागि रणनीतिक योजना र आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पनि सार्वजनिक हुनेछ ।
![](https://arthasarokar.com/wp-content/uploads/2022/01/1-95.jpg)