Skip to content
LAXMI SUNRISE BANK

किर्ते जग्गा राखेर सिटिजन्स बैंकबाट सवा करोड ऋण, जग्गाको भाउभन्दा तेब्बर लगानी ! (भिडियोसहित)

अर्थ सरोकार

काठमाडौँ । सबै धनबहादुरहरु धनी नहुँदा रहेछन् । सबै मनबहादुरहरु मनकारी नहुँदा रहेछन् । नामै त हो, इन्टरनेशनल झुण्ड्याउँदैमा बैंक अन्तराष्ट्रिय स्तरको नहुने रहेछ । समाचार पढ्नेहरु, सुन्नेहरु, हेर्नेहरु बरु कति सिटिजन्सका मात्र काण्ड आएका हौ भन्न थालिसके, तर उही सिटिजन्स बैंकभित्रको बेथिति कम भएको छैन । कहिले खाताबाट पैसा नै हराउने, त्यो पनि एफवान सफ्टको, कहिले सुन नै गायब हुने । कहिले नक्कली सर्टिफिकेटका भरमा कर्मचारीले जागिर खाएको खुलासा, कहिले बैंकका सिइओमाथि नियामक आइक्यानको अनुशासनको कारवाही, कहिले सीएसआरको पैसा दुरुपयोग गरेर कर्मचारीलाई चकलेट खुवाएको काण्ड, कहिले शाखाबाटै करोडौँ घोटाला भएको लफडा, कर देखि कर्मचारीविवादका घटना त सिटिजन्स बैंकका लागि नौला हुँदै भएनन् । राष्ट्र बैंकले कारवाही नगरेको पनि होइन, पुलिसले नक्कली सर्टिफिकेटका भरमा जागिर खानेहरुलाई नसमातेको पनि होइन । कर्मचारीले विद्रोह नगरेका पनि होइनन्, ग्राहकले आवाज नउठाएका पनि होइनन्, तर सिटिजन्सको बेथिति कहिल्यै सकिएन । अति होइन, अतिको पनि अति भएपछि आफ्नो गतिको खति कम गर्न अवार्डका लागि बेमौसमी खर्च गरेको चर्चाका बीच केही समय यता सिटिजन्स बैंककै कर्मचारीहरु भन्दै थिए, ’आजकल हाम्रो बैंकको काण्डहरु किन बाहिर आउँदैन । थिति बसेर त पक्कै होइन होला, तपाईंहरुको नजर पुगेन कि !’

नभन्दै विराटनगरमा यस्तै घटना सार्वजनिक भएको छ, जहाँ भूमि प्रशासन कार्यालय विराटनगरका कर्मचारीसँगको मिलेमतोमा मोही कायम रहेको जग्गाको अभिलेख कीर्ते गरी बिक्री गरिएको र त्यही जग्गा धितो राखेर यही सिटिजन्स बैंकबाट एक करोडभन्दा बढी ऋण प्रवाह भएको तथ्य सार्वजनिक भएको छ । 

अरु बैंकका कर्मचारीहरु असार मसान्तमा हिसाब मिलाउन र रिकभरीमा व्यस्त थिए । तर, सिटिजन्स बैंकका कर्मचारी किर्ते जग्गाउपर सो जग्गा नामसारी भएको २४ घण्टा नबित्दै १ करोड ३० लाख रुपैयाँ लगानी गर्नमा व्यस्त थिए । बैंकका कर्मचारीले यति फास्ट रफ्तारमा काम गरेका छन् कि, करिव ३ घण्टामा ऋणको सबै काम सकिएको छ, र हतार हतार पैसा डिसपर्स गरिएको छ । 

जग्गाको मूल स्रेस्तामा मोहीको नाम स्पष्ट रूपमा उल्लेख हुँदाहुँदै जग्गा नयाँ व्यक्तिले किन्दा खरिदकर्ताको लालपुर्जामा मोहीको महल खाली राखिएको थियो । अनि, असार मसान्तको छेको पारेर, सिटिजन्स बैंकले सोहि जग्गा राखेर ऋण दिएको देखिन्छ ।  

भूमि व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्थाअनुसार मोही रहेको जग्गामा मोहीको हक सुरक्षित नगरी वा मोहीको लगत कट्टा नगरी त्यस्तो जग्गा धितो राखेर ऋण प्रवाह नै गर्न पाइँदैन । तर, सिटिजन्स बैंकलाई के को कानुन न सानुन भन्ने शैलीमा मोही हटाएर किर्ते गरिएको कागजमा बैंकले ऋण दिएको छ । बैंकको तर्क छ- ‘हामीले त कागज हेर्यौं ऋण दियौँ । तर एउटा अनपढ गवारले पनि बुझ्छ, असार ३१ गते ऋण प्रवाह हुनु, त्यो पनि नामसारी भएको २४ घण्टा नबित्दै, त्यो पनि ३ घण्टा भित्र ऋणको सबै काम सक्नेगरी, यस्तो हुनु स्वाभाविक हुँदै होइन । यसै पनि केहि एकाध राम्रा फाइललाई छाडेर असार मसान्तको बेला प्रवाह हुने ऋण, कि यस्तै लफडा वाला हुन्छ, कि पूरानो किस्ता तिर्न प्रवाह भएको नयाँ ऋण हुन्छ, कि टार्गेटका नाममा डिस्पर्स हुने फाइल हुन्छ । यहाँ त भोलि कुरा उठे, थाहा छैन भनिदिउला भन्ने शैलीमा असारको ३१ गते नामसारी भएको २४ घण्टा पनि नबित्दै सोहि जग्गा राखेर हतार हतार ऋण दिईएको छ । एकै दिनमा धितो मूल्याङ्कन सकिएको छ, आवश्यक प्रक्रिया सकिएको छ, र ऋण स्वीकृति पनि सम्पन्न भएको छ । एक दिनमा धितो मूल्यांकनको काम त राम्रोसँग फाइल हेरे सकिन्न भने यत्रो काम सबै एकै दिनमा रकेट गतिमा सकेर ऋण प्रवाह भएको छ भने यहाँ शंका गर्ने ठाउँ पक्कै छ ।

सिटिजन्स बैंकमाथि शंका गर्ने ठाउँ यतिमात्र छैन, बैंकले एक करोड ३० लाख बराबर धितो मूल्याङ्कन गरेको उक्त जग्गाको वास्तविक बजार मूल्य भने करिब ३० देखि ३२ लाख भन्दा बढी छैन भन्छन् स्थानीयहरु ।  अनि जग्गा पास गर्दा ४३ लाख ६५ हजार ६०० को थैली राखेर भोलिपल्टै १ करोड ३० लाख रुपैयाँ ऋण प्रवाह हुन्छ भने यो अनुसन्धानको विषय किन होइन ? 

सेटिङ्गको गन्धबारे तथ्य सार्वजनिक भएपछि भूमि प्रशासन कार्यालयले आफ्नो कमजोरी लुकाउन कार्यालयको स्रेस्तामा रहेको मोहीको नाम–थर महलमा पछि हतारहतार डटपेनले ‘अजबलाल केवट’ थपिएको देखिएको छ । तर ढाँटेको कुरा काटेर कहाँ मिल्थ्यो र ? तथ्य आखिर बाहिर आएरै छाडेको छ । 

अहिले सरकारी ढड्डामा एउटा विवरण छ, बैंकले धितो राखेको पूर्जामा अर्को विवरण छ । बैंकको बदमासी कसैगरी लुक्न सकेको छैन, र त बैंकका विराटनगर शाखाका प्रबन्धक प्रणव तिमिल्सिना सम्पर्कमा आउन चाहिरहेका छैनन् भने बैंकका सूचना अधिकारी नारायणराज अधिकारी फाइल अध्ययन नगरी केहि भन्न नसकिने रेडिमेड जवाफ दिईरहेका छन् । 

ऋण लिने ऋणी पनि जग्गा पास गरेको भोलिपल्टै ऋण लिएको स्वीकार्छन् ।  १ करोड ३० लाख ऋण निकालिएको प्रकरण प्रहरीसम्म पुगेको छ । जग्गाको लफडा र झमेला थप छन् । तर प्रश्न बैंकले एकै दिनमा कसरी ऋण दियो भन्नेतर्फ सोझिएको छ । 

नेपाली बैंकिङ क्षेत्रमा विवादको अर्को नाम बनेको बैंक हो सिटिजन्स बैंकबैंकको क्वार्टर रिपोर्ट बरु ढिलो आउला, ३-३ महिनामा नछुटाई बैंकका काण्डहरु आईराख्नु राम्रो होइन । आफन्तलाई भेट्ने बहानामा सम्मानको छेको पारेर अवार्ड लिने बहानामा आउजाउ गर्दैमा बैंकको बेथिति छुप्दैन भन्ने तथ्य फेरी एक पटक सार्वजनिक भएको छ । सिटिजन्स बैंकको बेथिति जरैबाट फाल्न अव घटना सार्वजनिक भईसकेपछि केही कर्मचारीलाई लाज छोप्न निलम्बन गरेर हुन्न, संस्कार नै परिवर्तन गर्नुपर्छ भन्ने तथ्य फेरी एक पटक प्रमाणित भएको छ । सिटिजन्स बैंकका सीइओले केही दिन अघि मात्र बैंकमा २० औं बर्ष बिताएका छन् । अव २१ बर्षमा २१ काण्ड पुर्याएर बिदा हुने छाँट हो भने त फरक कुरा, होइन भने, ध्यान अव अवार्ड किन्ने कसरी होइन, बेथिति चिर्ने कसरीतिर लाग्नुपर्छ । किनकि सिटिजन्स बैंक फगत बैंक होइन, यो धेरै जनताको विश्वास जोडिएको ठाउँ हो, बोनस र क्यास खासै नपाएर पनि सेयरधनीहरुले लगानी गरिरहेको कम्पनी हो । एउटा बैंकको बेथितिसँगै मात्र बैंक बदनाम हुँदैन, बैंकिङ माथि पनि प्रश्न उठ्छ, सिटिजन्स बैंकले अव चेत्न ढिलो गर्नु हुँदैन ।

यो प्रकरणमा दोषी माथि कारवाही होस् । सिटिजन्स बैंकमा बदमासी गर्नेहरुमाथि पनि कारवाही होस् । दुई पटक अवार्ड पाएर पनि बदनाम बैंक होइन, सिटिजन्सको परिचय साँच्चै सुध्रिदैछ सिटिजन्स बैंक भन्ने सन्देश जाओस् । मिडियालाई प्रति समाचार यति हजार वा यति लाख भनेर आफ्नो नाक बचाउने समय अव गईसक्यो, राम्रो गर्दा राम्रो लेख्ने, नराम्रो गर्दा नराम्रै देख्ने मिडियाहरु अझै ज्युँदैछन् । सिटिजन्स ब्वैंकका हाकिमहरुलाई चेतना भया । (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK