काठमाडौं । ‘म घाम तापिरहेको थिएँ । घाममा बसेर चिया खाँदा खाँदै माथिबाटै जहाज बत्तिएर आयो र सेतीको खोँचमा बजारिएको हो । पाइलटले प्लेन जोगाउन धेरै कोसिस गरेको देखिन्थ्यो, तर सकेनन् ।’
दुर्घटनास्थलको केही दुरीमा रहेको खाली भाग देखाउँदै विकास बस्यालले भने- ‘त्यो ठाउँमा प्लेन ल्यान्ड गर्न खोजेकै हो, तर अगाडीको पाङ्ग्रा ठोक्किने बित्तिकै आँखै अगाडी जहाज पड्कियो ।’
‘आफ्नै आँखो सब देखेपछि खाली खुट्टा दगुर्दै म प्लेन दुर्घटना भएको ठाउँमा पुगे । वारीपारीबाट मान्छेहरुले हेरिरहेका थिए । तर, कोही आएनन् । ए जाउँ न हो भन्दा पनि त्यहाँ जाने आँटै गरेनन् ।’ उनले भने, ‘ए आउनु न, मानवता भन्ने चिज छैन तपाईहरुमा ? भने तर पनि कोही आएनन् ।’
‘काँडैकाँडा थियो, मैले केहीको वास्ता नै नगरी मान्छे बचाउन सक्नेजति कोसिस गरेँ तर सकिन’, उनले भक्कानिदै भने, ‘सबैजना टिकटक बनाएर, भिडियो खिचेर बसे । पिल्ज आउनुस न, तपाईहरुको बुबा–आमा पनि होलान् नि ! भनेर गुहार माग्दा पनि कसैले सहयोग गरेनन् ।’
‘मैले देखेजति सबैलाई तानेर बचाउन खोजेँ । एकजनालाई मात्रै तान्न सकिन, एकजना थप कोही आएको भए तान्न सक्थेँ होला । मान्छे जलिरहेको थियो, सास चलिरहेको थियो । कतिले त ‘कस्तो घिन लाग्दो’सम्म पनि भने । तर, मरिसकेको मान्छेलाई पनि मैले काँधमा बोकेर बाहिर निकालेको हो ।’- बस्यालले भने ।
‘एकजनाको त सास नै चलिरहेको थियो । मैले पानी नहाल्दिनु, नहाल्दिनु भन्दै थिएँ, एकजना बाजेले पानी हाल्दिनुभयो । त्यसपछि झन् आगो दन्कियो । ८ जनालाई त निकाले तर अरुलाई निकाल्न सकिन ।’- उनी थप भक्कानिए ।