नवसामन्ती बनेर लघुवित्तले ठगे, गरिबलाई झन् गरिब बनाए भनेर अहिले देशभर लघुवित्तविरुद्ध आन्दोलन भईरहेका छन् । दुर्गा प्रसाईं अभियान नै बनाएर लघुवित्त र सहकारीको ऋण मिनाहा हुनुपर्छ भनिरहेका छन्, अर्को संघर्ष समितिको आन्दोलन उस्तै चर्को छ । यहि बेला लघुवित्तका संचालकहरु, सीइओहरु,लघुवित्तले समाजमा ठुलो योगदान दिएको भन्दै प्रष्टिकरण दिन व्यस्त छन् । जरुर, लघुवित्तले राम्रा कामहरु पनि गरेका छन्, लघुवित्तबाट ऋण लिएर जीवन परिवर्तन गरेका कथाहरु पनि थुप्रै छन्, तर केहि लघुवित्तमा हुने मनपरीले आज लघुवित्त क्षेत्र नै बदनाम भएको सत्य हो । कहिले सद्दे कर्मचारीलाई पागल भनिदिने त कहिले सक्दै नसकिने टार्गेट दिएर कर्मचारीलाई तनाव दिने काम लघुवित्तमा भईरहेको छ । यहाँसम्म त छँदै थियो, अव त लघुवित्तमा पैसाको व्यापक अपचलन हुने, हाकिमले कर्मचारीलाई पशुझैं व्यवहार गर्ने, ऋणीको नाममा ऋण लिएर कर्मचारी आफैंले चलाईदिने, हुँदा हुँदा मरिसकेको मान्छेका नाममा ऋण लिएर आफैं चलाउने, अनि त्यो मान्छे पछि मरेको हो भनेर सो ऋण पनि मिनाहा गराई उल्टै बीमा दाबी भुक्तानीसमेत दिने । यी तथ्य र उदाहरणले सबै लघुवित्तको प्रतिनिधित्व एकमुष्ट गर्दैन, तर यस्ता बदमासका बादसाह बनेर मनपरी गर्नेलाई अव लघुवित्त क्षेत्रबाटै लखेट्नुपर्छ भन्नेचाहिं आजको सत्य मात्र होइन, आवश्यकता पनि हो ।
मरेको मान्छेको नाममा ऋण । तपाईंलाई लाग्दो हो, यस्तो पनि हुन्छ । हुन्छ मात्र होइन, भईसक्यो । पटक पटक विवादमा आईरहने स्वावलम्बन लघुवित्तमा यस्तै घटना घटेको तथ्य अर्थ सरोकारले फेला पारेको छ । वलम्बन लघुवित्तमा एक कर्मचारीले मरिसकेको मान्छेका नाममा ऋण लिएर आफैँ चलाएको र पछि उनको मृत्यु भईसकेको कागज देखाएर सो ऋणसमेत मिनाहा गरेको पाइएको छ । अझ, ती व्यक्तिले ऋण लिईसकेपछि मृत्यु भएको भन्दै झुटो कागज बनाएर बीमा दाबी भुक्तानीसमेत गरेको पाइएको छ । घटना काभ्रेपलाञ्चोकको हो । लघुवित्तको काभ्रेपलाञ्चोकस्थिति साखाबाट संस्थाका सहायक प्रबन्धक भुभन खतिवडाले मृत्यु भईसकेका व्यक्तिका नाममा ऋण प्रवाह गरेका थिए । संस्थाका अनुसार यसरी प्रवाह भएको ऋण उनी आफैँले चलाएका थिए । आफैंले ऋण चलाएको केहि समयपछि सो ऋणीको निधन भएको भनी पछिल्लो मितिमा मृत्यु दर्ता गराई, सो ऋण मिनाहासमेत गरिएको र बीमा दाबी भुक्तानीसमेत खतिवडाकै पहलमा दिलाईएको थियो । यो काममा खतिवडालाई मृत्यु दर्ता बनाईदिने सम्बन्धित वडाका कर्मचारी र मृतक परिवारका केहि आफन्तले समेत सहयोग गरेको देखिन्छ । यसो त खतिवडाले लघुवित्तका ग्राहक सदस्यहरुबाट संकलन गरेको रकममध्ये आधा पैसा आफै चलाउने गरेकोसमेत पाइएको छ । लघुवित्तका विभिन्न सदस्य समूहबाट संकलन गरेको रकमध्ये आधार रकम मात्रै कार्यालयमा दाखिला गरेर बाँकी रकम आफै चलाउने गरेको तथ्य पनि फेला परेपछि रकम हिनामिना गरेको, र संस्थाको नियम विपरित काम गरेको भन्दै उनलाई संस्थाले कारवाहीसमेत गरेको छ । लघुवित्तले मिति २०८० बैसाख १४ गते उनलाई बर्खास्त गरिएको भन्दै संस्थाले आफ्ना सम्बन्धित साखाहरुमा पात्राचार गरेको छ । गैरकानुनी रुपमा काम गरी संस्थाको लाखौं रकम भ्रष्टाचार गरेको पाइएकोले निज कर्मचारीलाई बर्खास्त गरिएको पत्रमा उल्लेख छ । संस्थाले खतिवडालाई अन्य वित्तीय संस्थामा काम गर्नसमेत अयोग्य ठहर हुनेगरी कारवाही गरेको छ । यसको अर्थ उनी अव कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न पाउने छैनन् ।
अव लागौँ हाकिमले गर्ने अपमानका कारण लघुवित्तका कर्मचारीले भोगिरहेको सास्तीतर्फ । घटना एनएमबि लघुवित्त वित्तीय संस्थाको हो । केहि दिनअघि मात्र एनएमबि लघुवित्त वित्तीय संस्थामा कार्यरत सयौँ कर्मचारीले एकसाथ सामुहिक राजिनामा दिएका थिए । लघुवित्तको कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका सय बढी कर्मचारीले सामुहिक राजिनामा दिएका दिएपछि पूरै संस्थाको काम प्रभावित भयो । लघुवित्तको व्यवस्थापन पक्षले आफूहरुलाई गाली–बेइज्जती गरेको, हेपाहा प्रवृति देखाएको, कामचोर भनेर मनपरी बोलेको, पटक पटक निकाल्ने धम्की दिएको लगायतका कारण आफुहरुले राजिनामा दिनुपरेको कर्मचारीहरुको दाबी थियो । सामुहिक राजिनामा दिएर उनीहरु घुवित्तमा धर्नासमेत बसेका थिए । उनीहरुको पहिलो माग थियो, कर्मचारीलाई निकै तल्लो स्तरको व्यवहार गर्ने आफ्ना हाकिम कमल पोखरेलले संस्था छोड्नुपर्छ । पोखरेललाई संस्थाले निकाल्नुपर्ने माग गर्दै उनीहरुले शाखा कार्यालयहरु बन्दको घोषणासमेत गरेका थिए। सयौं कर्मचारीहरुले एक साथ राजिनामा दिएर संस्थामा धर्ना दिएपछि संस्थाको काम प्रभावित बन्यो । हदै भएपछि संस्थाको आकस्मिक बैठक बस्यो र कर्मचारीको माग अनुसार नै पोखरेललाई संस्थाबाट बिदा गर्ने सहमति भयो । यसैबीच पोखरेलले संस्थाबाट राजिनामा दिए र अहिले केस केहि मथ्थर भएको छ । यद्यपी अझै पनि कर्मचारीहरु पोखरेलले माफी माग्नुपर्ने माग गरिरहेका छन् । उही गीत नै छ नि- ‘रुखो बोली नबोल निरमाया, बचनको घाउ निको हुँदैन’ भनेजस्तै भएको हुँदोहो कर्मचारीलाई पनि ।
अव गलत काम गरेको प्रमाणित भएपछि मिर्मिरे लघुवित्तका अध्यक्षलाई राष्ट्र बैंकले गरेको कारवाहीका विषयमा चर्चा गरौँ । घटना केहि दिनअघिको मात्र हो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका अध्यक्ष टेकबहादुर बोहोरालाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको छ । वित्तीय स्वार्थ रहेको कम्पनीमा ऋण स्वीकृत तथा प्रवाह गरी नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन २०७८ को निर्देशन नं ६ को बुँदा नं १ को २ (क) र (ख) मा भएको व्यवस्था क्रमशः संस्थाको हित विपरितको कार्य तथा वित्तीय स्वार्थ हुने कार्यमा संलग्न देखिएको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २३ को व्यवस्थाको समेत उल्लंघन गरेको ठहर गर्दै राष्ट्र बैंकले बोहोरालाई कारवाही गरेको हो । बोहोराले आफ्नी श्रीमतीको नाममा रहेको सौगात ट्रेड एण्ड सप्लायर्सलाई संस्थाले तोकेको सिमाभन्दा बढी ऋण स्वीकृत तथा प्रवाह गरेको पाइएपछि राष्ट्र बैंकले उनलाई १५ दिने स्पष्टिकरणपत्र थमाएको थियो । स्पष्टिकरण चित्त नबुझेपछि बोहोरालाई राष्ट्र बैंकले ५ लाख नगद जरिवाना गरेको हो । राष्ट्र बैंकको यो कारवाहीसँगै अव बोहोरा कुनै पनि बैंक तथा वित्तीय संस्थामा ५ बर्षसम्मका लागि अध्यक्ष बन्न पाउने छैनन् ।
‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम तपाईंलाई ५ लाख रुपैयाँ जरिवाना किन नगर्ने ? यस विषयमा स्पष्टिकरण पेश गर्नु होला ।’ भनी १५ दिनको समयसिमा दिएर सोधिएको स्पष्टिकरण पत्रको जवाफ दिँदै अध्यक्ष बोहोराले सो कम्पनी आफ्नो श्रीमतीको नाममा रहेको र यसमा कसलाई कर्जा दिने भन्ने काम आफ्नो भन्दा पनि कर्मचारीको निर्णय भएकोले आफ्नो गल्ती नरहेको दाबी गरेका थिए । तर उनको जवाफ चित्तबुझ्दो नभएको र एकासगोलको परिवार संचालक भएको कम्पनीमा लघुवित्तका अध्यक्ष भएको संस्थाले ऋण सिमा नाघेर ऋण प्रवाह गर्नु संस्थागत सुशासनबाहिरको काम भएको निष्कर्षसहित राष्ट्र बैंकले उनलाई ५ लाख रुपैयाँ नगद जरिवाना गराउने गरेको हो । यो कारवाहीसँगै मिर्मिरेभित्र हुने गरेको संस्थागत सुशासनहीनताको कामसमेत छताछुल्ल भएको छ ।
प्रचलित बैंक तथा वित्तीय संस्था ऐन र नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशिका विपरित काम गरेको ठहरसँगै नेपाल राष्ट्र बैंकले कारवाही गरेपछि यतिबेला संस्थाका पूर्व अध्यक्ष बोहोरा आफुलाई घुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख रेवतीप्रसाद नेपालले इगो साँधेर कारवाही गरेको बताईरहेका छन् । जवकी आफुलाई बचाईदिन भन्दै उनले पटक पटक राष्ट्र बैंक पुगेर नेपालसँग अनुरोध गरेका थिए । फाइल अध्ययनका क्रममा बोहोराले गल्ती गरेको स्पष्ट देखिएकाले छुट दिन नसकिने भन्दै नेपालले कारवाही प्रक्रिया अगाडी बढाएपछि अहिले बोहोरा नेपाल र आफ्ना सीइओ सँगै बसेको, उनीहरुको सम्बन्ध राम्रो भएको लगायतका कारण देखाएर आफ्नो गल्ती ढाकछोप गर्न खोजिरहेको राष्ट्र बैंकका अधिकारीहरुको तर्क छ । आफुले गल्ती गरेको प्रमाणित भएपछि राष्ट्र बैंकले गरेको कारवाही गलत देखाउन अहिले बोहोरा आफैंले संस्थामा ल्याएका सीइओ पुष्करराज जोशीलाईसमेत दोष दिईरहेका छन् । जोशी संस्थागत सुशासनलाई विशेष ख्याल गर्ने मान्छे भएको ब्रिफिङ गराएर बोहोराले नै उनलाई सीइओका रुपमा संस्थामा भित्र्याएका थिए ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाका पूर्वअध्यक्ष बोहोराकी आफ्नै श्रीमती जननी केसीका नाममा संचालित सौगात ट्रेड एण्ड सप्लायर्सबाट लघुवित्तका ३६ जना ऋणी सदस्यहरुले मिर्मिरेबाट नै कर्जा लिएर सोही कम्पनीबाट ट्याक्टर खरिद गरेका थिए । अर्थात, ती सदस्यहरुले संस्थाबाट लिएको ऋणबाट संस्थाकै अध्यक्षकी श्रीमतीको कम्पनीलाई लाभ देखिएको राष्ट्र बैंकको ठहर छ । प्रचलित कानुनले श्रीमतीलाई एकासगोलको परिवारको रुपमा व्याख्या गर्छ । श्रीमतीलाई हुने लाभमा बोहोरा स्वयम् संलग्न रहेको राष्ट्र बैंकको ठहर छ । तर पूर्वअध्यक्ष बोहोराले भने त्यसमा आफ्नो नियत गलत नभएको दाबी गर्दै स्पष्टीकरण पठाएका थिए ।कसलाई ऋण दिने भनेर स्वीकृत गर्ने भन्ने अधिकार सञ्चालकलाई नरहेको, कर्जाबारे अध्ययन गर्ने र कर्जा स्वीकृत गर्ने जिम्मेवारी लघुवित्तका कर्मचारीहरुको भएको र सो ऋणको जिम्मा पनि व्यवस्थापनले लिनुपर्ने भन्दै उनले स्पष्टिकरण पत्रको जवाफ पठाएका थिए । राष्ट्र बैंककोकारवाही फिर्ताको माग गर्दै बोहोराले यतिबेला अदालतको बाटो रोजेका छन्। तर यसअघिका यस्तै केसमा पनि अदालतले राष्ट्र बैंकलाई नै केस जिताएको नजिर छ । उनी स्वत: पदमुक्त भएपछि मिर्मिरेमा संस्थाका संचालक संजय श्रेष्ठलाई अध्यक्ष चयन गरिएको छ ।
अव यी तीन घटनालाई एकसाथ हेरौं त । एउटा लघुवित्तका अध्यक्षले नियमविपरित काम गर्ने, अनि सबै लघुवित्तका अध्यक्षले, ‘यी लघुवित्तका अध्यक्षहरु यस्तै हुन्, हामीलाई ठग्न लघुवित्तको अध्यक्ष बन्ने हुन्’ भनेर गाली खानुपर्ने । व्यवस्थापनमा बस्ने एनएमबिका कमल पोखरेलजस्ता एक जनाले कर्मचारी थर्काउने, अनि सबै हाकिम यस्तै छन् लघुवित्तमा कर्मचारीलाई पेलानको हद गरे भनेर सबै उच्च तहका कर्मचारीले गाली खानुपर्ने । भुभन खतिवडाले स्वाभलम्बनमा ऋणीको पैसा खाईदिने, मरेको मान्छेलाई ऋणी बनाएर पैसा आफैं चलाएर, उल्टै ऋणीको मृत्यु भयो भनेर ऋण मिनाहा गराई पैसा झ्वाम पारिदिने अनि गालीचाहिं फेरी सबै लघुवित्तका कर्मचारीले खानुपर्ने । यस्ता गलत प्रवृतिलाई जरैबाट नउखली लघुवित्तको भलो हुने देखिन्न । त्यसैले भोलि होइन, आजै, आज होइन, अहिल्यैबाट यस्ता खराब प्रवृतिलाई निस्तेज पार्न सक्नुपर्छ, पार्न खोज्नुपर्छ । होइन भने हिरो लघुवित्त होइन, मनिराम ज्ञवालीहरु हुन्छन् । नियामक राष्ट्र बैंक र लघुवित्तहरुलाई चेतना भया।