×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रीज्यू, ‘कसको आँखा लाग्यो बरै, सेयर लगानीकर्ताको खुसी माथि’

PRIME CA

मन्त्रीज्यू, ‘कसको आँखा लाग्यो बरै, सेयर लगानीकर्ताको खुसी माथि’

१४ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

‘कसको आँखा लाग्यो बरै मेरो खुसी माथि’ भन्ने गीतजस्तै नेपाली सेयर बजारका लगानीकर्ताको खुसीमा पनि कसको आँखा लाग्यो, लाग्यो, बजारमा साँढेमाथि भालुको जीतले सेयर लगानीकर्ताहरु आजित भएका छन् ।
बजार ३००० माथि जाँदै गर्दा, कारोबार नै नभईरहेको कम्पनीमा जोखिम छ भनेरसमेत उल्लेख गर्ने ५१ वटा कम्पनीको हावादारी सूची निकाल्ने तत्कालीन धितोपत्र बोर्डका हाकिमहरुको आँखा लाग्यो । त्यसपछि सेयर किन्न त म यति भन्दा ऋण नै दिन्न भन्ने राष्ट्र बैंकको आँखा लाग्यो । कहिले ब्याज नबढाई हुन्न भन्नेको आँखा लाग्यो, कहिले अरुले ब्याज घटाए पनि म बढाउँछु भन्ने बैंकको आँखा लाग्यो । कहिले थितिको आँखा लाग्यो, कहिले नीतिको आँखा लाग्यो । आँखा पनि यसरी लाग्यो, अलिकति त बढ्नै नहुने आँखालगाउनेहरु आँखा बिझ्न थालिहाल्ने भयो ।
अहिले स्थिति सबै ठिक हुँदै थियो र छ । अर्थमन्त्रीले ढुक्कसँग लगानी गर्नु भनेर नियामकसँग सुझाव माग्दा ती सुझाव नै लुकाईदिनेहरुले फेरी आँखा लगाईरहेका छन् सेयर बजारमा । सबै बैंकले ब्याज घटाएका थिए, नघटाएकाहरुले पनि स्थिर राखेका थिए । यहि बेला होइन, हामी त बढाउने हो भनेर ब्याज बढाएको एनआईसी एशिया पनि सायद आँखा लाग्यो सेयर बजारमा । राम्रो अध्यक्ष बोर्डमा आएपछि थप केहि काम हुन्छ कि भन्ने थियो, तर बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामै केहि माफियाहरुको आँखा लागेको बुझ्न गाह्रो छैन । फेरी पनि केहि बैंकले ब्याज घटाउँदैछन्, केहिले होइन, ब्याज घटे त बजार बढीहाल्छ नि भन्ने शैलीमा आँखा लगाउन ठिक्क परेर बसेका छन् ।
यहाँ आँखा लगाउनुको अर्थ कुभलो चिताउन खोजियो कि भन्ने शंकाको विम्ब हो । अहिले सेयर लगानीकर्ताहरु बजार सबैजसो कुरा ठिकजस्तो देखिएर पनि के बेठिक भएका कारण बजार घट्यो भन्ने तनावमा छन् । अर्थमन्त्रीले ढुक्क भएर लगानी गर्नु भनेका कारण लगानी गरेका लगानीकर्ताहरु पैसा फसेर तनावमा छन् । ब्याज अझै घट्ने संकेत देखिए पनि बैंकहरुले ऋण दिन नसकेको स्थितिले तनावमा रहेका सेयर लगानीकर्ताहरु अझै पनि कसैले बजारको काँध किन नथापिदिएको होला भनेर चिन्तित छन् ।
हुन पनि बजारबारे सोच्ने फुर्सद कसलाई पो छ र यहाँ ? सोच्नुपर्ने धितोपत्र बोर्डले हो, त्यहाँ अध्यक्ष छैनन् । बाँकी हाकिमहरु अध्यक्ष बनाईदिनुपर्यो भनेर नेतालाई चाकडी गर्न नै व्यस्त छन् । अर्थ मन्त्रालय कसको ठाउँमा कति बजेट पुर्याउने भन्ने ध्याउन्नमा छ । सरकारी ढुकुटीको तनाव त छँदै छ । नेप्सेका सीइओ आफैँ बोर्ड अध्यक्ष बन्ने ध्याउन्नमा छन् । बाँकी हाकिम कृष्ण कार्कीलाई अध्यक्ष बन्न नदिन अर्कोखाले लविङमा छन् । अनि कसले सोचिदिने ? कसले बुझिदिने लगानीकर्ताको पीडा ?
बजार यतिबेला न्युन विन्दुमा छ र कन्फीडेन्स खोजिरहेको छ । अलिकति पनि आत्मविश्वास दिने हो भने बजारले सर्किट लगाउँछ भन्ने कुरा बुझ्न पछिल्ला केहि सर्किट नै काफी छन् । सरकार ! प्यासीलाई चाहिने एक गाग्रो पानी होइन, केहि घुडकी जल हो । भोको पेटलाई एक भकारी चामल देखाएर हुन्न, ३-४ गाँस खाना दिए पुग्छ । त्यस्तै सेयर लगानीकर्ताहरुलाई अहिले थोरै भए पनि आत्मविश्वास चाहिएको छ । दौडन लगानीकर्ता नै सक्षम छन्, बस्, हिड्ने बाटो देखाईदिए मात्र पुग्छ । अझ बाटोमा अवरोध नगरेमात्र पुग्छ । यस विषयमा अर्थमन्त्री बर्षमान पुनसहित अन्य सरोकारवालाहरु अलि गम्भीर बन्ने कि ! ६० लाख बढी जनता रुवाएर गरेको राजनीतिले नतिजा पक्कै राम्रो नदेला कि !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: