खुसी हराउँदा बा आमा छोराछोरीको मुख हेरेर सन्तोष लिन्छन् । ओठमा मुस्कान हराउँदा तिनै बा आमा आफ्ना छोराछोरीको मुख हेरेर मुस्कुराउन खोज्छन् । समाजको काँध र भाग्यको साथ हराउँदा पनि बा बामाहरु आफ्ना छोराछोरीको मुख हेरेर चित्त बुझाउँछन् । तर छोराछोरी नै हराएपछि कठै कसरी सहनु बाआमाको मनले ।
यस्तै भएको छ सूदूरतिर । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा तरकारी व्यवसाय गर्दै आएका उदयबहादुर कार्की अहिले आफ्नो २१ वर्षको छोरो हराएपछि पीडामा छन् ।
छोरोले मानसिक सन्तुलन गुमाएका थिए । र पनि आमाबाका लागि उ संसार थियो । बाटोमा सागमा एक एक मुठा बेचेर, सिमीका एक एक कोसा बेचेर आफैंसँग राखेको छोरो हराएपछि आमाबासँग रुनुको विकल्प छैन ।
एक त गरिब परिवार, त्यसमाथि छोरोको मानसिक सन्तुलन ठिक नभएको स्थिति । उपचारकै लागि पाटन अस्पतालसम्म पुगे पनि पैसा धेरै लाग्ने भएपछि घर फकेको एउटा विवस परिवार । के गर्नु, सन्तानको माया न हो, कार्कीको परिवारले न केहि भई पो हाल्छ कि भनेर भारतको बनारस गएर उपचार गराउन खोजे । तर यता पेट पाल्ने मेसो पनि गर्नुपर्ने भएकोले चिनजानका साथीलाई छोडेर उनीहरु घर आए । सबै ठिकठाक चल्दै थियो, एकदिन साथीहरु ड्यिुटी गएको बेला उदयबहादुरको छोरा कोठाबाट साथीसँगै निस्किएर हिँडे र बेपत्ता भए ।
छोरो हराएको हप्ता दिन बढी भएको छ । तर, न छोरो भेटिएको खबर आयो, न त छोरो खोज्न जान नै सके उदयबहादुर । तरकारी बेचेर जम्मा भएको पैसाले साँझ–बिहान हातमुख जोड्ने उदयबहादुरको परिवारसँग अहिले न छोरो खोज्न जाने पैसा छ, न कसैले सहयोग गरिरहेको छ ।
संसारमा बाआमाको जति माया अरुको हुनै सक्दैन । आफ्ना छोराछोरीजस्तो प्यारो अरु हुनै सक्दैन । तपाईं पनि सकेसम्म यो विवस परिवारलाई सकेको खालको सहयोग गर्नुहोला । उनको छोरो भेट्टाउन यो भिडियोलाई सकेसम्म सेयर गरिदिनुहोला । भिडियो: