काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कपडामा लेपन गरिएको सुन बरामद गरिएको छ । कपडामा लेपन गरेर सुन तस्करी गर्दै गरेको भन्ने सूचनाका आधारमा विमानस्थल प्रहरीले कपडामा लेपन गरिएको सुन बरामद गरेको हो ।
प्रहरीका अनुसार दुबईबाट फ्लाइ दुबईको विमानमार्फत आएका भारतीय नागरिकको साथबाट उक्त सुन बरामद गरिएको हो ।
प्रहरीका अनुसार ती व्यक्तिले आफूले प्रयोग गरेको अन्डरवेयर, हुडी र पाइन्टमा सुन लेपन गरेर तस्करी गर्ने प्रयास गरेका थिए । उनको कपडामा लेपन गरिएको सुनको तौल भने यकिन भइसकेको छैन ।
ती व्यक्तिलाई भन्सार जाँचपास पार गरेपछि विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको थियो । हाल ती व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।