×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेफ सन्तोष साहको ‘मिथिला थाली’ दोस्रो वर्षमा प्रवेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेफ सन्तोष साहको ‘मिथिला थाली’ दोस्रो वर्षमा प्रवेश

६ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बिबिसीका मास्टर सेफ सन्तोष साहले सुरु गरेको ‘मिथिला थाली’ रेस्टुरेन्ट दोस्रो वर्षमा प्रवेश गरेको छ । मिथिलाको मौलिक परिकार प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षको असार ६ गते आमाको हातबाट रिबन काटेर जनकपुरमा मिथिला खानाको रेस्टुरेन्ट सुरु गरेका साहले दोस्रो वर्ष नपुग्दै राजधानी काठमाडौँमा तीन शाखा विस्तार गरेका छन् ।

जनकपुर तथा मधेसको मौलिक परिकारको स्वाद काठमाडौँबासीलाई खुवाउने योजनाका साथ उनले केही समय अघि झम्सिखेलमा मिथिला थाली सुरु गरेका थिए । साथै दोस्रो बर्ष पुगेको अवसरमा गौशालामा मिथिला थालीको तेश्रो आउटलेटको बिहिवार सफ्ट ओपनिङ गरिएको छ भने नक्सालको गैरीधारामा केही दिनमै नयाँ रेस्टुरेन्ट सञ्चालन हुने उनले जानकारी दिए ।

‘जनकपुरमा अपेक्षाकृत सफलतापछि काठमाडौँ उपत्यकाको झम्सिखेलमा रेष्टुराँ सुरु गरेका थियौँ’, उनले भने, ‘झम्सिखेलको रेष्टुराँमा उत्साहजनक प्रतिक्रियापछि गौशाला र गैरीधारामा रेस्टुरेन्ट सुरु गर्न लागिएको हो ।

उनका अनुसार गौशालाको आउटलेटमा विशुद्ध शाकाहारी परिकार उपलब्ध हुनेछ । पशुपतिनाथ मन्दिर दर्र्शन गर्न आउने तिर्थयात्रीलाई लक्षित गरी शाकाहारी रेस्टुरेन्ट सुरु गर्न लागिएको उनको भनाइ छ । साहले अब काठमाडौँबासीले गौशालामै मिथिला क्षेत्रको मौलिक परिकारको स्वाद लिन पाउने बताए । मिथिला थाली अन्तर्गत ग्राहकले एकै थालीमा १७ परिकारको स्वाद लिन पाउने उनको भनाइ छ ।

‘मेरो उद्देश्य मिथिलाको मौलिक खानासँगै संस्कृति र कला पनि प्रवर्द्धन गर्नु हो’, उनले भने, ‘त्यसैले रेष्टुराँमार्फत मिथिला झल्कने गरी मिथिला कलाले सजाइएको छ ।’ रेष्टुराँमा आउने ग्राहकले मिथिला आर्ट खरिद गरेर कलाकारलाई सहयोग पनि गर्न सक्ने साहको भनाइ छ । ‘हामीले मिथिला कलाकारका सिर्जनालाई यहाँ राखेका छौँ, ग्राहकहरुले यी कला खरिद गरेर उहाँहरुलाई आर्थिक रुपमा सहयोग गर्न सक्नुहुनेछ’, उनले भने ।

दाई दिलिप साहको प्रेरणाबाट सेफ बनेर बिबिसीको मास्टर सेफ २०२०को उपविजेता र मास्टर सेफको प्रोफेसनल रिम्याच २०२१को बिजेता बन्दै विश्वभर नेपाली परिकार चिनाउन सफल साहले अहिले पनि दाईसँगै सहकार्यमा रेष्टुराँ विस्तार गरिरहेका छन् ।

साह पछिल्लो समय उनी फूड टुरिजम प्रवर्द्धन गर्न पनि उत्तिकै सक्रिय छन् । गौशालाको रेस्टुरेन्टमा मिथिलाको शाकाहारी खाना मात्रै उपलब्ध हुने भए पनि गैरीधारा र झम्सिखेलका रेष्टुराँमा भने साहको कस्टमाइज मेनु उपलब्ध हुने र ग्राहकले नयाँ परिकारको स्वाद लिन पाउने उनको भनाइ छ ।

साहले फूड टुरिजम अन्तर्गत माता सिताको जन्मभूमिको परिकारलाई भगवान रामको जन्मभूमि भारतको अयोध्यामा पुर्‍याउने गरी काम भइरहेको जानकारी दिए । उनका अनुसार अबको एक वर्षभित्रमा अयोध्यामा मिथिला थाली सुरु हुनेछ ।

साथै कतारको राजधानी दोहामा पनि एक वर्षभित्रै रेस्टुरेन्ट सुरु गर्ने योजना रहेको उनको भनाइ छ । त्यसका साथै आगामी दिनमा मुलुकमा विभिन्न मुख्य सहरमा पनि रेस्टुरेन्ट विस्तार गर्ने उनको योजना छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी