×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरबुजा बेचेर ३ महिनामा १० लाखको कारोबार, नाफामात्रै ५ लाख !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तरबुजा बेचेर ३ महिनामा १० लाखको कारोबार, नाफामात्रै ५ लाख !

Artha Sarokar

३२ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रोल्पा माडी गाउँपालिका-१ जबाङ दुदिलाबोटका २६ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका-५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् ।

घोराही उपमहानगरपालिका-७ घुस्रामा ती युवा मिलेर बबई नदी किनारमा तरबुजाखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । विगतमा बालुवैबालुवाले उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू खुसी भएको किसान खड्का बताउँछन् ।

कृषि विषय अध्ययन गरेका उनी आफ्नै ठाउँमा कृषि पेसाबाट अगाडि बढ्ने बताउँछन् । ‘कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले छ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, एकजना साथी थपिएपछि अहिले दुईजना मिलेर घोराहीमा व्यावसायिक तरबुजाखेती पनि सुरु गरेका हौँ ।’, उनले भने, ‘यसबाट राम्रो आम्दानी भइरहेको छ ।’ उनले दाङ एग्रोमार्ट कृषि फार्ममार्फत व्यवसाय गर्दै आएका छन् ।

घुस्रामा चार बिघा र झिँगौरामा नौ कठ्ठा जग्गा रु ५० हजार तिर्ने गरेर तीन महिना अवधिको लागि जग्गा भाडामा लिएर तरबुजाखेती गरिरहेका छन् । अहिले सरस्वती र विशाला जातको तरबुजा रु ५० किलोका दरले र आरोही रु ७० किलोका दरले बिक्री गर्दै आइरहेको अर्का किसान वीरेन्द्र वली बताउँछन् । अहिले दैनिक सात-आठ सय किलो बिक्री हुन्छ । हालसम्म १४ हजार किलो बिक्री गरिसकेको उनले जानकारी दिए । तीन महिनाको अवधिमा रु १० लाखको कारोबार गर्ने र आधाभन्दा बढी रकम बचत गर्ने लक्ष्य रहेको उनी बताउँछन् ।

‘सोचेभन्दा राम्रो आम्दानी भइरहेको छ ।’, किसान वलीले भने । अरुको देशमा जानुभन्दा स्वदेशमै आत्मनिर्भर हुनका लागि कृषि पेसा रोजेको हुँदा यसैलाई निरन्तरता दिने उनले बताए । ‘तर केही बजारीकरणमा समस्या भएको हुँदा सरकारले बाहिरी देशबाट आउने तरबुजालाई रोक्ने प्रयास गर्यो भने आफूलगायत अन्य किसानलाई सहज हुनेछ ।’, उनले थपे, ‘कम विषादीयुक्त र जैविक उत्पादन गरिरहेकाले आम उपभोक्ताको रोजाइमा परेको छ ।’

दाङ एग्रोमार्ट कृषि फार्ममा तरबुजा किन्न पुग्नुभएका घोराही उपमहानगरपालिका-१४ निवासी अर्जुन गौतम गर्मीको समयमा यसको महत्व धेरै हुने भएकाले खान मन लागेको समयमा यही आएर लैजाने गरेको उनी बताउँछन् । यहाँ आएर लैजाँदा ताजा, जैविक पाइने हुँदा स्वास्थ्यलाई फाइदा पुग्ने गौतमको भनाई छ । बाहिरी देशबाट आएको खानुभन्दा आफ्नै गाउँठाउँमा उत्पादित वस्तु खान अन्य नागरिकलाई पनि उनले आग्रह गरेका छन् । यसअघि किसान वीरेन्द्र खड्काले घोराही उपमहानगरपालिका-१४ झिँगौरामा गरेको स्ट्राबेरीखेतीबाट रु १४ लाख बढीको कारोबार गरेका थिए । खेर गइरहेका बगरमा यसरी तरबुजाखेती गर्नसके स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भने सीप र जाँगर भए विदेशिनु पर्दैन भन्ने दरिलो उदाहरण युवा किसानले दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी