×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाइड्रोपावर प्रोजेक्टमा बाढीको कहरः ३६ हाइड्रोपावर क्षतिग्रस्त, सबैभन्दा ठूलो क्षति अपर तामाकोशीमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हाइड्रोपावर प्रोजेक्टमा बाढीको कहरः ३६ हाइड्रोपावर क्षतिग्रस्त, सबैभन्दा ठूलो क्षति अपर तामाकोशीमा !

१६ आश्विन २०८१, बुधबार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

काठमाडौँ । बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव फेला पर्यो । बाढीले उनीहरुका परिवारको खुसी उजाडियो । लालाबाला टुहुरा भए । आयोजना एकाएक खण्डहरमा परिणत भयो । करोडौँ मूल्यका सामान बाढीले बेपत्ता बनायो । हेवा खोलाको बाढीको वितण्डाले उठ्नै नसक्ने गरी समस्यामा पारिदिएको आयोजनाको नाम हो ‘सुपर हेवा पावर कम्पनी’ ।

सिन्धुपाल्चोकका निमा लामा पहिलो पटक जलविद्युत् आयोजनामा जोडिएर लगानी गरेका थिए । आयोजनाबाट बिजुली बाल्ने अन्तिम तयारी हुँदा गर्दा २०८० असार १ र २ गतेको अविरल वर्षापछिको बाढीले दिएको दुःख भूल्दै फेरि निर्माणमा जुटनुभएका लामालाई यस वर्षपनि गत वर्षकै पीडा दोहोरियो । गत वर्षको बाढीले आयोजनाको पाइप र अन्य निर्माण सामग्री बगाएको थियो । त्यो बेला झण्डै रु ४० करोड बराबरको क्षति भएको थियो । निर्माण व्यवसायीले बीमा नगर्दा क्षतिपूर्ति पाउन समेत समस्या भयो ।

उपकरणको भन्दा पनि मानव जीवनको क्षति ठूलो भयो । बेपत्ता भएका बर्दियाका कामदारको अवस्था हालसम्म पत्ता लागेको छैन । निर्माणमा संलग्न मजदुर छोराछोरी जस्तै प्रिय थिए । आफ्ना प्रिय मान्छेहरुलाई खोलाले निलेपछि निमाको आँखा धेरैदिन ओभानो भएन । ‘म धेरै दिनसम्म रोएँ । मलाई असाध्यै नरमाइलो लागिरह्यो । मेरो आयोजनामा काम गर्न आएका मजदुरको शव समेत हालसम्म फेला परेको छैन । फेरि त्यस्तै कहर यसपटक पनि आयोजनाले खेप्नु परेको छ ।’, उनले भने ।

बीमालगायत प्रत्येक मजदुरका परिवारलाई रु आठ लाख बराबरको राहत उपलब्ध गराइए पनि मानव जीवनको क्षतिपूर्ती कसरी हुँदो हो र ? निमा भन्छन्, ‘आयोजनाको फेरि निर्माणका लागि भन्सारमा सामान रोकियो । अनेकन हण्डर ठक्कर व्योहोरेर पुनः आयोजना सुरु गर्दा नगर्दै समस्या दोहोरियो ।’

गत वर्ष जनधन दुवैको क्षति भएको भएपनि यस वर्ष मानव क्षति भने भएन । यसैमा खुसी छन् निमा । चैनपुर सिद्धपोखरीदेखि आयोजनास्थल मुच्छेबुङसम्म पुग्ने पहुँचमार्गको छ किलोमिटर खण्डको दर्जनौ स्थानमा पहिरो गएको छ । नियमित काम हुन पाएको भए आगामी कात्तिक मसान्तसम्म आयोजनाबाट बिजुली उत्पादन हुने थियो । तर यसपटक पनि प्राकृतिक विपत्तिका सामू उनको केही लागेन । हेवामा गत वर्षको जस्तै बाढी आयो । क्षति पुर्यायो, बिजुली बाल्ने सपना पर धकेलियो ।

निमाले भने, ‘प्राकृतिक विपत्तिले दिनुसम्मको दुःख दियो ।’ कुल ६ मेगावाट क्षमताको सो आयोजना आकर्षकमध्येको एक हो । जलविद्युत् क्षेत्रमा लगानी गर्ने मनसाय राखेर ठूलो दुःखका साथ लागिपरेको भएपनि प्रकृतिसँग केही नलागेपछि उनी दुःखी देखिन्छन् ।

सरकारी निकायले समन्वय नगर्दा भन्सारमा सामान रोकिने, निर्माणको काम गतिका हुन नसक्दा दिनप्रतिदिन लागत बढेको उनी सुनाउँछन् । बाढीका कारण सिभिल काम, इन्टेक, बालुवा थिग्रयाउने पोखरी, बाँध, विद्युत् गृह, टेलरेसलगायतका संरचनामा क्षति पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौताअनुसार विद्युत् जोड्ने समय २०८० असार ३१ गते थियो । बाढीले ती सबै लक्ष्यमाथि तुषारापात गरिदिएको उनको भनाइ छ । अब त सरेर आगामी माघसम्म पुग्ने होला भन्ने चिन्तामा छन् उनी ।

गत वर्षको बाढी र यस वर्षको बाढीले धेरै जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । गत वर्ष मात्रै निर्माणमा रहेका १८ वटा परियोजनामा क्षति पुगेको थियो । त्यसबाट मुलुकले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । यही असोज ११ र १२ गतेको अविरल बर्षाका कारण नदीहरुमा आएको बाढीका कारण ३६ आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले जनाएको छ । यसपटकको बाढीले रु दुई अर्ब ५० करोड बराबरको क्षति पुर्याएको छ । क्षतिको विवरण सङ्कलन काम भइरहेकाले केही बढ्न सक्ने देखिन्छ । गत वर्षको बाढीले रु १० अर्ब बराबरको क्षति भएको इप्पानले दाबी गरेको थियो । गत वर्ष पूर्वी नेपालमा मात्रै क्षति भएको भएपनि यस वर्ष धेरैतिर भएको अनुमान छ ।

इप्पानका अनुसार यस वर्षको बाढीबाट ३६ वटा आयोजना प्रभावित भएका छन् । यस वर्ष बाढीका कारण माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धिधत २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ । सो आयोजना गत वर्ष पनि बाढीबाट प्रभावित भएको थियो । हाल उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ ।

पाँचथर पावरद्वारा प्रवर्द्धिधत १४.९ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि बन्द भएको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा आयोजना पुनः क्षतिग्रस्त भएको हो ।

साहस ऊर्जाद्वारा प्रवर्द्धिधत ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको बाँध स्थलमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द छ । सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धिधत तीन मेगावाट क्षमताको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँधलगायतका संरचनामा क्षति पुगेको छ । इप्पानका अनुसार सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धिधत ९.६ मेगावाट क्षमताको माइखोला जलविद्युत् आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेको छ । फेमे खोला जलविद्युत् आयोजना सिउरीखोला पनि बाढीले क्षति पुर्याउँदा विद्युत् उत्पादन बन्द भएको जनाइएको छ ।

कूल ४० मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्ग र सुरक्षा पर्खालमा बाढीका कारण क्षति पुगेको छ । इलेप खोला तातोपानी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति गरेको छ भने कोरियन लगानी रहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ को क्याम्प हाउस र पहुँचमार्गमा क्षति भएको छ । निर्माण सामग्री राखिएको तीन वटा कन्टेनर बगाएको छ । हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको छ भने पहुँचमार्गमा क्षति भएको छ । यस्तै, बाढीका कारण प्रसारणलाइनको टावर ढलेका छन् भने पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ ।

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको पहुँचमार्गमा पहिरोका कारण समस्या उत्पन्न भएको छ । यसैगरी पावरहाउस पुरिएको र बाँधमा क्षति हुन गएको छ । इप्पानका अनुसार सभाखोला ‘सी’ जलविद्युत् आयोजना पहुँचमार्गमा क्षति पुगेको छ भने लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पनि सडक पूर्वाधार बगाएको छ ।

बाढीले सुपर त्रिशूली जलविद्युत् आयोजनाको निर्माण उपकरण बगाएको छ । कूल एक सय मेगावाट क्षमताको सो आयोजना निर्माणको क्रममा छ । आयोजनाको दुई वटा स्काभेटर लोडर र तीन वटा ट्रिपर बगाएको छ । त्यस्तै, बेलीब्रिज र खन्ने क्रममा रहेको पावर हाउस पुरिएको छ ।

तामाकोशीको क्षति ठूलो
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको क्षति यकिन हुन बाँकी छ । हाल प्राविधिकहरु आयोजना स्थल पुगेर मूल्याङ्कन गरिरहेको जनाइएको छ । बाँधस्थलमा अवस्थित ‘कन्ट्रोल रुम’मा पूर्ण रुपमा क्षति भएको छ । ‘सेटलिङ बेसिन’, ‘बक्स बेसिन’, ‘बक्स कल्भर्ट’मा बालुवा र ग्रेगान थुप्रिएको छ । बाढीका कारण दुई सुरक्षाकर्मी र दुई कर्मचारीलाई तामाकोशी नदीले बगाएको थियो ।

कूल चार सय ५६ मेगावाट क्षमताको सो आयोजना बन्द हुँदा बिजुली व्यवस्थापनमा प्राधिकरणलाई समस्या भएको छ । सो आयोजनाको बिजुली आन्तरिक रुपमा खपत गरेर अन्य आयोजनाको बिजुली भारत निकासी हुँदै आएको थियो । क्षतिको मूल्याङ्कन भइरहेको जानकारी दिँदै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो समयसम्म आयोजना बन्द हुने अवस्था आए हिउँदमा बिजुली व्यवस्थापन गर्न गाह्रो हुने बताएका छन् ।


इप्पानका अनुसार, गत वर्षको बाढीले सुपर हेवा खोला (६ मेवा) पिलुवा खोला (४मेवा), सवा खोला ‘बी’ (२१.५ मेवा), सवा खोला ‘सी’ (६.३ मेवा), इन्ग्वा खोला (९.७ मेवा), सुपर काबेली ‘ए’ (१३.५ मेवा), सुपर काबेली खोला क्यासकेड (१२ मेवा), काबेली (२१.९३ मेवा), काबेली ‘ए’ (३७.६ मेवा), हेवा खोला ‘ए’ (७.५ मेवा), इसुवा खोला (९७.५ मेवा), इसुवा क्यासमेड (४० मेवा), तल्लो इर्खुवा (१४.१ मेवा), माथिल्लो इर्खवा (१४.५ मेवा), सवा खोला ‘ए’ (१०.४ मेवा), माया खोला (१४.९ मेवा)मा समस्या पारेको थियो । ती सबै आयोजना निर्माधिन अवस्थामा थिए ।

बाढीका कारणले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा रहेका २३ वटा जलविद्युत् आयोजना प्रभावित भएका थिए । उक्त वर्ष हेवाखोला, माया खोला, काबेली, इवा र इङ्गुवा खोला तथा नदी बेसिनमा निर्माणाधीन तथा सञ्चालनमा रहेका २३ जलविद्युत् आयोजनामा क्षति पुगेको थियो ।

निजी क्षेत्रका ऊर्जा उत्पादकले निर्माण अवधिको ब्याज छुटदेखि पुनःनिर्माणमा प्रयोग हुने स्पेयर्स पार्टसको भन्सार दर एक प्रतिशत नै कायम गर्न माग गरेको भएपनि हालसम्म पूरा नभएको जनाइएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले भन्सार महसुल वृद्धि हुँदा मर्मतको उपकरण ल्याउन समस्या भएको गुनासो गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा यही असोज १३ गते आयोजित पत्रकार सम्मेलनमा उपस्थित कार्कीले ऊर्जा मन्त्रालय र अर्थ मन्त्रालयमा फाइल पठाउने काम मात्रै भएको र गत वर्षको बाढीका कारण समस्यामा परेका आयोजनाको हालसम्म सम्बोधन हुन नसकेको बताएका थिए । गत वर्षको बाढीले ९५ प्रतिशत निर्माण पूरा भएको आयोजनाको सबै संरचना बगाएको थियो । अघिल्ला वर्षहरुको बाढीले क्षति पुर्याएर पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएका आयोजना समेत प्रभावित भएका थिए ।

निजी क्षेत्रको माग
निजी क्षेत्रले आयोजनाको अनुमतिपत्रको म्याद थप, पुनरकर्जाको माग गर्दै आएका छन् । इप्पान अध्यक्ष कार्कीले यस वर्षपनि आफूहरुको माग पुरानै रहेको बताए । उनले जलविद्युत् आयोजनाका प्रवर्द्धकले बीमा गरेको भएपनि बीमाको दाबी भुक्तानीका लागि समस्या भइरहेको बताएका छन् ।

ऋण लगानी गर्दा कुनै एउटा संस्थाको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले सहवित्तीयकरण गरे जस्तै बीमामा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने माग गरेका छन् । गत वर्षको जस्तो जलविद्युत् आयोजनामा मानवीय क्षति नभएपनि अन्य संरचनामा पुगेको क्षतिले समग्र अर्थतन्त्रमा समस्या ल्याउन सक्ने देखिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी