काठमाडौँ । बेलाबेलामा बिग्रिरहने तथ ह्याकरको निसानामा रहेको इसेवालाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले शुद्धिकरण (मनी लाउन्डरिङ्ग) नियमावली, २०८१ को परिच्छेद-६ को नियम ६९ को उप नियम (३) मा भएको व्यवस्था अनुसार ‘भुक्तानी सेवा प्रदायकहरूको लागि लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धी निर्देशिका’ जारी गरेको हो ।
योसँगै अब अलाइन भुक्तानी सेवा प्रदायक संस्थाहरुले सरकार र यूएन लगायतका निकायले वित्तीय कारोबारका लागि प्रतिबन्ध लगाइएकाहरुबाट हुनसक्ने कारोबारमा निगरानी राख्नुपर्नेछ ।
सम्पीत्त शुद्धीकरण निवारण सम्बन्धमा पालना गर्नुपर्ने नियम पालना नगरेको भन्दै एक्सन टास्क फोर्स (एफएटिएफ)को एशिया प्रशान्त समूहले नेपाललाई ‘ग्रे-लिस्ट’मा राखेको छ । सोही कारण पनि राष्ट्र बैंकले यस्ता कारोबारमाथि निगरानी बढाउन यस्तो निर्देशिका जारी गरेको हो ।
यसो त ह्याकरको निशानामा रहेको इसेवा यसअघि भएका विभिन्न आपराधिक कारोबारमा प्रयोग भएको पाइएको छ । हुण्डी, अवैध जुवा लगायतका कारोबार पनि इसेवाबाट हुने गरेको प्रहरी अनुसन्धानबाट समेत पुष्टि भइसकेको छ । इसेवामा आपराधिक गतिविधिहरु बढ्न थालेपछि राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुका लागि भनिए पनि इसेवालाई लक्षित गर्दै यस्तो निर्देशन जारी गरेको स्वयम् राष्ट्र बैंकका अधिकारी बताउँछन् ।
यो निर्देशिका जारी भएसँगै अब इसेवा लगायतका भुक्तानी सेवा प्रदायकले अन्तराष्ट्रिय शान्ति-सुरक्षाविरुद्ध गतिविधि, आतंकवाद वा विनाशकारी हतियारको प्रसारमा संलग्न व्यक्ति वा यूएन र गृहमन्त्रालयको वित्तीय प्रतिबन्ध सूचीमा रहेकाहरुको खातामा सञ्चित रहेको रकम र सेवा बन्द गर्नुपर्नेछ र त्यसको जानकारी तीन दिनभित्र राष्ट्र बैंकमा गराउनुपर्नेछ ।
राष्ट्र बैंकले जारी गरेको निर्देशिका पालना नगरेमा त्यस्ता कम्पनीलाई १० लाखदेखि २० लाखसम्म जरिवानासँगै लाइसेन्ससमेत खारेजसम्मको कारवाही गरिने राष्ट्र बैंकले चेतावनी दिएको छ ।