भर्खर कक्षा ६ सकेर ७ मा भर्ना भएकी मेरी बहिनी मंजिला आफ्ना नयाँ किताबहरू सुम्सुम्याउँदै थिई। किताबमा हालेको गाता उनका लागि दशैंमा बा-आमाले किनिदिएको नयाँ घांगरजस्तै प्रिय बनेको देखेपछि मैले सोधेँ-
‘तिमी ठूली भएपछि के बन्छौ, बहिनी?’
मेरो प्रश्न भुईँमा खस्न नपाउँदै बहिनी बोली-‘नर्स।’
भर्खर कक्षा ६ सकेकी कलिली बहिनीको दिमागले बोल्यो वा मनले, भगवान् जानुन्। तर उनको उत्तर केवल एउटा मामुलो जवाफ थिएन- ती आँखाभित्र सपनाहरू पिलिक्क हाँसेजस्ता देखिन्थे।
मैले उसका आँखामा हेरेर सोधेँ, ‘अनि नर्स बनेर के गर्छौ ?’
नयाँ किताब सुम्सुम्याउँदै ऊ बोली, ‘हाम्रा बा- आमा बिरामी हुनुभयो भने म आफैं उपचार गर्छु। अस्ती आमाले घाँस काट्दा हात काटिएको थियो। बनमारा निचोरेर लगाउनुभयो, फरियाको फेरो च्यातेर बाँध्नुभयो। तर, हाम्रो स्कुलमा त विदेशी आएर औषधि राखिदिएका छन्, हात काट्दा टाँस्ने टेप पनि छन्। म नर्स भएपछि मेरो आफ्नै क्लिनिक हुन्छ नि दिदि! आमाका लागि म त्यस्ता टेपहरू जगेडा राखिदिन्छु। बुबा बेला- बेला प्रेसर बढ्यो कि भनेर चिन्ता गर्नुहुन्छ, मेडिकलसम्म जान आँट गर्नुहुन्न। म नर्स भएपछि बुबाको प्रेसर आफैं जाँचीदिन्छु नि, औषधि पनि लेखिदिन्छु।’
बहिनी एकोहोरो बोलिरही, म सुनिरहेँ। नर्सले के गर्छ भन्ने पनि नजानेकी बहिनीले नर्स बन्ने सपना दिमागमा होइन, मनमा हुर्काइसकेकी थिई
ऊ बेला- बेला एकोहोरो भन्थी, ‘दिदि ! मलाई सेतो कुर्तामा निलो सल कति सुहाउँछ होला, है?’
‘सुहाउँदैन!’ म जिस्किंदै भन्थेँ, ‘किन सुहाउँदैन? मज्जाले सुहाउँछ।’ ऊ फुर्किंदै भन्थी, ‘मलाई सुहाउँदैन भनेको होइन ? पर्खिनु त! तपाईंलाई सुई लगाउँदा म दुख्नेगरी लगाइदिन्छु, बाबाआमालाईचाहिँ नदुख्नेगरी।’
यति भनेर ऊ खेल्न गइ, उसका सपनामा नर्स बन्ने कत्रो रहर थियो, ती रहरभित्र अरू कैयौँ स-साना सपना लुकेका थिए। तर म सोच्थेँ, ‘साथी विनिता पनि त नर्स बनेकी छे, लाखौँ खर्च गरेर पढेकी ऊ अहिले देशमा काम नपाएर पासपोर्ट बनाउन सदरमुकाम पुगेकी छे। सुस्मिता त भन्थी, “म यो माटो छोड्दिन।” तर ऊ पनि अस्ती मात्र देश छोडी।’
म कलिली बहिनीको सपना मार्न सक्दिन, तर सपनाको यात्रामा ऊ पनि हारेर देश छोडोस् भन्ने पनि मनले सहँदैन, त्यसैले मौन रहन्छु, ‘नर्स पढ्छु भन्छे तर पढाइ गतिलो छैन,’ बुबा बेला- बेला गुनासो गर्नुहुन्थ्यो। ‘त्यो हिसाब त अलि कमजोर हो नि, तर म मेहनत गर्छु,’ ऊ भन्थी। नर्स पढ्न पढाइ राम्रो हुनुपर्छ भन्ने थाहा पाएदेखि नै ऊ मेहनती भएकी थिई, पहिले कक्षामा १५औँ हुन्थी, पछि सातौँ हुन थाली, हरेक रिजल्टपछि गर्वले भन्थी, ‘दिदि! मेरो पढाइ सुध्रिएको छ नि, अब त नर्स पढ्न पुग्छ होला, है?’
अब ऊ १० कक्षा पढ्ने भइ, एसएलसी एसईई बनेको थियो, ‘ब्रिद कोर्स पढे नर्स पढ्न सजिलो हुन्छ’ भन्ने सुनेर ऊ काठमाडौँ गइ, एसईईमा स्कुलभरिकी चौथी भएकी थिई, उसलाई स्कुलले २५०० रुपैयाँ पुरस्कार दिएछ, उ शहर भएकीले आमाले सम्मान ग्रहण गर्नुभयो । उसलाई फोनमा यो खुसी सुनाउँदा मेरा आँखाबाट बहिनीप्रतिको माया बगे, आमाको ओठमा देखिएको मुस्कानले दिएको तृप्ति बगे ।
‘दिदि! म नर्स बन्छु, बनेरै छोड्छु। बाबाले जग्गा बेचेर भए पनि पढाउँछु भन्नु भएको छ। तँ पनि खुसी छेस् नि, है?’ म स्तब्ध भएँ।
‘कस्तो रहेछ त काठमाडौँ?’ मैले कुरा मोडें।
‘जेठी फूपू मनकारी हुनुहुन्छ। बनस्थली रमाइलो छ। दाइले साथ दिएको छ। म निम्स नर्सिङ इन्स्टिच्युटमा पढ्न थालेकी छु। बिहान ६ बजे घरबाट निस्किन्छु, बाघबजार पुग्न गाडी कुर्नुपर्छ। इन्टरनलमा पनि राम्रो नम्बर आएको छ। म मेहनत गर्दैछु,’ ऊ भन्थी।
‘राम्रोसँग पढेस् है,’ मैले मात्र भनें।
परीक्षा दिई। ‘राम्रो भयो,’ भनी।
त्यसै बेला विनिताको मेसेज आयो, म फेरी स्तब्ध।
केही हप्ता पछि बहिनी गाउँ आउने भनी, म बसपार्क पुगें, हातमा जेब्रा झोला बोकेर झर्दै गरेकी मंजिलाको अनुहारमा यसपालि रत्तीभरि पनि खुसी थिएन, ‘के भयो? परीक्षा बिग्रियो कि?’ मैले सोधेँ, ‘परीक्षा त राम्रो भयो दिदि, तर म नर्स बन्दिन।’
‘किन? के भयो?’
‘म हेरेरै अघाएँ दिदि। सपनासँग वर्तमान पनि हुनुपर्छ, पेशाले तपाईंलाई खुसी दिनुपर्छ, जीवनका लागि संघर्ष गर्नुपर्छ, पेशाकै लागि संघर्ष गरेर सपना कसरी पूरा गर्नु?’
त्यो क्षण, मेरी बहिनी ठूली नारीजस्तै बोल्दै थिई। बाटोभरि ऊ मौन रहिन्।
घर पुग्दा भाइले जिस्कायो-
‘हेर, हुनेवाली नर्स आइन!’
अरुबेला मख्ख पर्ने मंजिला आज रिसाएजस्ती भइ।
बेलुकी मैले सोधेँ-
‘किन नर्स नबन्ने भनेकी? के भयो त?’
उ झ्यालबाट आकाशमा चम्किरहेको तारा देखाउँदै भनी
‘थाहा छ दिदि? यहाँबाट त्यो तारा कति सानो देखिन्छ, तर वास्तवमा कति ठूलो होला? कहिल्यै सोचिएको छैन।’
‘नर्स पढाउन पठाएको तँ त कवि पो भईछस्!’ म हाँसेँ।
ऊ गम्भीर हुँदै बोल्न थाली-
‘एकदिन बाघबजारमा चोकमा निलो कुर्ता लगाएका धेरै नर्स दिदीहरू देखेँ। मन लोभिइहाल्यो। उनीहरू चिया पसलमा गफिन थालेका थिए। एउटा दिदी भन्थिन्- “बुबाले ऋण गरेर मलाई नर्स पढाउनुभयो। बहिनी पनि नर्स पढ्दै छे। दुवै छोरी नर्स भएपछि ऋण तिरिन्छ भन्ने लागेको छ बालाई। तर मेरो तलब ८ हजार छ। ओभरटाइम गरेर पनि १२ हजार पुग्दैन। घरमा बा-आमा र हामी दुई छोरी मात्र छौं। अब बहिनीको फी तिर्ऊँ कि बुबाको औषधि किनूँ?”’
त्यो कुरा सुन्दा मेरो मुटु चस्स भयो।
त्यही बेला रेडियोमा समाचार बज्दै थियो-
‘नर्सहरूको आन्दोलन आज पनि जारी, अस्पतालमा चरम श्रमशोषण। ८ हजारमा महिनाभरको काम! भकाभक विदेशिँदै नेपाली नर्सहरू।’
रेडियोमा आन्दोलनरत एक नर्सको आवाज गुन्जियो-
‘हामीलाई दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरियो। मेरो बहिनीहरूले, मेरा चिनजानका कसैले पनि नपढोस् नर्स!’
त्यो सुनेपछि ती दिदीहरूले पनि भन्थे-
‘केका बहिनीहरू, दुश्मनले पनि नपढोस् नर्स!’
त्यो क्षण म आत्तिएँ। मेरो सपनाको पेशा देखेर मन अमिलो भयो। टेलिभिजनमा पनि नर्सहरूको आन्दोलन देखेँ-
‘८ हजार तलब बढाएर १० हजार पुर्याउनसमेत अस्पतालहरूले मानेनन्।’
नर्सहरू कराउँदै थिए-
‘हाम्रो श्रमको मूल्य देऊ! थोरै तलब, धेरै जिम्मेवारी!’
मलाई लाग्यो, म जीवनमै हारेँ।
‘१२ सकेर विदेश जाऊँ कि मेनेजमेन्ट पढेर बैंकमा काम गरुँ?’ ऊ भन्थी।
‘अव के निर्णय गरिस्?’ मैले सोधेँ।
‘म अब पत्रकारिता पढ्छु, दिदि, म नर्स दिदीहरूको पक्षमा बोल्ने, लेख्ने बन्छु। देशले केही नदिँदा विदेशिनेहरूबारे लेख्छु, धनीका मात्रै होइन, गरिबका कुरा लेख्छु।’
‘तर त्यहाँ पनि त पत्रकारहरू तलब नपाएर आन्दोलन गर्छन् नि!’ मैले जिस्काएँ।
‘सबैतिर सबै उस्तै हुँदैन दिदि, पत्रकारितामा भविष्य छ, पढाइको खर्च पनि धेरै छैन। पैसा भन्दा माथि अब मेरो सोच पुगेको छ। मान्छेको अन्तिम चाहना सन्तुष्टि हो। म अरूका लागि बोलेर, लेखेर सन्तुष्ट हुन्छु,’ ऊ बोली।
त्यो सुनेर म आनन्दित भएँ, मिडियामा काम गर्ने मेरो सपना समाजले नर्स पढ भन्नुका बीच हराएको थियो। आज बहिनीले त्यो अधुरो सपना पूरा गर्ने साहस देखाइ।
त्यसैबीच विनिताको मेसेज आयो, म फेरि स्तब्ध भएँ।
‘तपाईं किन आत्तिनुहुन्छ बिनिता लेखिएको नम्बर देख्दा?’ बहिनीले सोधी।
अब म जवाफ दिन सक्थें-
‘तिमीले चिया पसलमा भेटेकी ती विनिता हुन्। उनी मेरो साथी थिइन्। उनी पनि नर्स थिइन्। मलाई गाली गर्थिन्- “तैंले आफ्नी बहिनीलाई नर्स पढाउन लागेकी? मैले भोगेको थाहा छैन त?” म के भनुँ र? सपना कसरी मारूँ? त्यसैले म मौन रहेँ। फोन नउठाउँदा ऊ मेसेज पठाउँथी-“तैंले सम्झा बहिनीलाई, म सकिन। तैंले रोक।” म स्तब्ध रहन्थेँ।’
त्यसपछि लामो मौन छायो, म अर्को कोठामा आएँ र यो डायरी लेखिरहेकी छु, अझ धेरै कुरा बाँकी छन्, लेख्नेछु !
त्यो तिहारमा घर फर्केकी दिदि र हाम्रा पुराना कुरा चल्दै थिए।
‘दिदि, ठूलीदिदि पनि खुब लेख्नुहुन्छ नि!’ मंजिलाले भनिन्।
डायरी हेर्दा जे देखें, त्यही तपाईंले माथि पढ्नुभयो।
छिट्टै तपाईंले उहाँको पत्रकार बन्ने सपना पूरा भएको पनि देख्नुहुनेछ।
तिहारमा मैले त्यो डायरी पढेकी थिएँ। आज देशभर नर्सहरू फेरि आन्दोलनमा छन्- समस्या उही, तलब छैन, श्रमशोषण छ।
फरक केवल यति हो- यसपालि ‘सरकार बुझ्ने खालको छ’ भनिएको छ।
हेरौँ, के हुन्छ ?
हामी बोलिरहनेछौं-नर्सहरूको पक्षमा…
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्