Skip to content
LAXMI SUNRISE BANK

नेपालको अटोमोबाइल उद्योगः अर्थतन्त्रको बलियो स्तम्भ

अर्थ सरोकार

काठमाडौँ । रोजगारी सिर्जनादेखि मुलुकको आर्थिक गतिविधि चलयमान बनाउने कार्यमा अटो क्षेत्रले दशकौँदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । मानिसको आधारभूत आवश्यकता बनिसकेको सवारीसाधन खरिदबिक्रीको बजार निरन्तर मुलुकलाई आर्थिक पाटोमा योगदान गर्ने मुख्यमध्येको एक बनिसकेको छ । अटोमोबाइल्स उद्योग देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने क्षेत्र बनिसकेको छ । नेपालको अटोमोबाइल्स उद्योग सवारीसाधन बिक्रीको कारोबार मात्र नभई सम्पूर्ण अर्थतन्त्रको एक बलियो स्तम्भ हो ।

रोजगारीको दृष्टिकोणबाट हेर्दा, अटो मोबाइल क्षेत्र नेपालमा एक प्रमुख रोजगारी सर्जक उद्योगको रूपमा स्थापित छ । हाल यो क्षेत्रले १ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने १० लाखभन्दा बढी मानिस अप्रत्यक्ष रोजगार छन् । आयातकर्ता, डिलर, सेल्स एजेन्ट, सर्भिस सेन्टर, मर्मत–सम्भार प्राविधिकदेखि ड्राइभर र सहायकसम्म छन् । अप्रत्यक्ष रूपमा यो क्षेत्र पेट्रोलियम व्यवसाय, बीमा कम्पनी, वित्तीय संस्था, स्पेयर पाट्र्स सप्लायर र ट्रान्सपोर्ट सेवा प्रदायकहरूसँग गाँसिएको छ ।

ग्रामीण भेगमा साना ग्यारेज र स्पेयर पाट्र्स पसलहरू स्थानीय रोजगारीको मुख्य आधार बनेका छन् । यसरी अटोमोबाइल उद्योगले देशको हरेक तह र तप्कामा आयआर्जनका अवसरहरू सृजना गरेको छ । हाल विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र गतिमा बढिरहेको सन्दर्भमा नेपाल पनि सो प्रवृत्तितर्फ उन्मुख हुँदै छ । सरकारले विद्युतीय इकोसिस्टम प्रवद्र्धनका लागि करछुट, चार्जिङ स्टेसन स्थापनाको अनुमति र आयातमा सहुलियतजस्ता कदमहरू चाल्दै आएको छ । यसले वातावरणमैत्री प्रविधि प्रोत्साहन मात्र होइन, नयाँ उद्योग र रोजगारीका सम्भावनाहरु पनि खोलिरहेको छ ।

त्यति मात्र मात्र होइन, कुनै पनि राष्ट्रको विकासमा मोबिलिटीको ठूलो भूमिका हुन्छ । सडक पूर्वाधार र सवारीसाधनको पहुँच यो मोबिलिटीको ठूलो अंश हो । सडक पूर्वाधार तीव्र विकास हुँदै रहेको अहिलेको अवस्थामा पनि करिब २० प्रतिशत नेपालीमा निजी सवारीको पहुँच पुगेको छ । अटो मोबाइल क्षेत्र विलासिता नभई यातायात, रोजगारी, औद्योगिक विकास र क्षेत्रीय समावेशीकरणमा योगदान दिने आधारभूत र अत्यावश्यक क्षेत्रको रुपमा स्थापित भइसकेको छ ।

तर, भदौ २३ र २४ गते भएका घटनाक्रमले अटो क्षेत्रमा प्रत्यक्ष रुपमा ठूलो प्रभाव परेको छ । कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति चिन्ता बढेको छ । देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर पु¥याएको छ भने लगानी र रोजगारीमा पनि चुनौती थपिएको छ । यस्तो अवस्थामा व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै सरकार अगाडि बढ्नुपर्ने देखिन्छ ।

अटोमोबाइल उद्योगले नेपालको आर्थिक संरचना र सामाजिक गतिशीलतामा गहिरो प्रभाव पारेको छ । यो उद्योग केवल सवारीसाधनको उत्पादन, आयात र बिक्रीमा सीमित छैन; यसले देशको राजस्व, रोजगारी, लगानी र प्रविधिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउंदै आएको छ । नेपालमा अटोमोबाइल उद्योग अझै प्रारम्भिक चरणमै रहेको भए पनि यसको प्रभाव व्यापक र गहिरो बनिरहेको छ । विशेषगरी सवारीसाधनको आयातनिर्यातमा हुने उतारचढावले सरकारको राजस्व संकलन, उपभोक्ताको खरिद क्षमता, वित्तीय बजार र उद्योगको उत्पादन सञ्जालमा प्रत्यक्ष असर पार्ने गरेको छ । अर्थतन्त्रका विभिन्न सूचकहरू अटो क्षेत्रसँग गाँसिएका छन् । जस्तै, गाडीको बिक्री घट्दा बीमा कारोबार, बैंक तथा वित्तीय संस्थामा सवारी कर्जाको माग, पेट्रोलियम पदार्थको खपत र मर्मत–स्पेयर पाट्र्स व्यापारमा समेत नकारात्मक प्रभाव पर्छ । त्यस्तै, बजार विस्तार हुँदा यी सबै क्षेत्रहरू चलायमान हुँदा आर्थिक गतिविधि पनि तीव्र रुपमा बढ्ने हुन्छ ।

अटोमोबाइल उद्योगले औद्योगीकरण, प्रविधि हस्तान्तरण र ऊर्जा रूपान्तरणको दृष्टिले पनि ठूलो सम्भावना बोकेको छ । त्यसैले, यो क्षेत्रलाई दीर्घकालीन नीतिगत प्राथमिकता दिई स्थायित्वपूर्ण कर नीति, पूर्वाधार विकास र लगानीमैत्री वातावरण सिर्जना गर्न जरुरी छ । यस्ता पहलले अटोमोबाइल उद्योगलाई मात्र होइन, सम्पूर्ण राष्ट्रिय अर्थतन्त्रलाई गतिशील र सुदृढ बनाउनेछन् । सरकारले अटोमोबाइल क्षेत्रको आर्थिक महत्वलाई गम्भीरतापूर्वक बुझी आवश्यक सहयोग र तत्काल नीतिगत हस्तक्षेप गर्नुपर्छ ।

नेपालमा अटोमोबाइल्स उद्योगले राजस्व संकलनमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । सवारीसाधन आयात गर्दा भन्सार महशुल, कर तथा अन्य शुल्कहरूबाट सरकारले ठूलो आम्दानी प्राप्त गर्छ । त्यसैगरी, सवारीसाधन दर्ता, बीमा, सडक कर र पेट्रोलियम पदार्थमा लाग्ने करहरू पनि राज्यका लागि प्रमुख आम्दानीका स्रोत हुन् । प्रत्येक नयाँ सवारीको बिक्रीले संघ, प्रदेश र स्थानीय तिनै तहका सरकारहरूलाई राजस्ववृद्धिमा सहयोग पु¥याउँछ । उचित नीतिगत व्यवस्थापन र दिगो प्रविधिको प्रयोगसँगै यो उद्योगले भविष्यमा अझ ठूलो आर्थिक मूल्य सिर्जना गर्न सक्ने सम्भावना छ । तर, यस उद्योगसँग केही चुनौतीहरू पनि छन् । इन्धनमा निर्भरता, ट्राफिक जाम, प्रदूषण र आयातमुखी बजारले दीर्घकालीन दृष्टिकोणमा चुनौती सिर्जना गरेका छन् । त्यसैले भविष्यमा विद्युतीय सवारीसाधनको प्रवद्र्धन, करनीतिमा सुधार र वातावरणमैत्री नीतिहरू लागू गर्न आवश्यक देखिन्छ ।

जेनजी आन्दोलनपछि अटोमाबाइल उद्योगको अवस्था
कोरोनापछि थलिएको अटोमोबाइल बजार भर्खरै चलहपहल सुरु भएको थियो । अर्थतन्त्रका केही सूचकहरू सुधारोन्मुख देखिन थालेपछि उपभोक्ताहरूमा नयाँ आशा र उत्साह पैदा भएको थियो । केही वर्षयता आयात प्रतिबन्ध, विदेशी मुद्राको अभाव र आर्थिक मन्दीले अटो क्षेत्र निकै दबाबमा भएको बजार पुनः सुधार भएर अर्थतन्त्रले विस्तारै लय समात्न खोजिरहेको थियो ।

अटो उद्योगमा नयाँ मोडेलहरूको आगमनले बजारमा प्रतिस्पर्धा र आकर्षण दुवै बढाएको थियो । अन्तर्राष्ट्रिय ब्रान्डहरूले उपभोक्ताको माग र प्राथमिकतालाई ध्यानमा राख्दै नेपालमा आफ्ना नयाँ उत्पादन ल्याउन थालेका थिए । बैंक तथा वित्तीय संस्थाहरूले अटो लोन सहज र आकर्षक बनाएका कारण उपभोक्ताहरूले सवारीसाधन खरिद गर्न सहज महशुस गर्न थालेका थिए । चाडपर्वको सिजनमा अटो बजार स्थायित्वको दिशातर्फ फर्किदै गरेको अवस्थामा एकाएक भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित बनायो ।

आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले अटो व्यवसायीहरूलाई ठूलो नोक्सानी पुग्यो । सवारीसाधन खरिदबिक्रीको मुख्य सिजनमा आन्दोलन भएका कारण एकाएक व्यवसाय खस्कियो । अटो व्यवसायको मुख्य सिजन दशैँ र तिहारअगाडिको घटनाले व्यवसायीको मनोबलमा गिरावट ल्यायो । दुई दिनको आन्दोलनले सवारीसाधन क्षति हुनुका साथै वितरणमा अवरोध, आवतजावतमा कठिनाइ र जनताको मनोविज्ञानमा परेको असरले बजार प्रभावित भयो । जसको असर दशैँ र तिहारजस्ता मुख्य सिजनमै बिक्री घट्न पुग्यो । तर, यो दीर्घकालीन होइन ।

जेनजी आन्दोलनका क्रममा अटोमोबाइल्स क्षेत्रमा कति क्षति भयो भन्ने आँकडा आइसकेको छैन । तर, तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरूले देशभरका सवारीसाधन व्यवसायीहरूलाई ठूलो धक्का पु¥याएको छ । केही क्षतिको कभर बीमाले गर्ने भए पनि केही गैरबीमित क्षतिहरू व्यवसायीहरूले आफ्नै प्रयासबाट सामना गर्नुपर्ने अवस्था छ ।

नाडाले आफ्ना सदस्यहरूबाट क्षतिको विस्तृत विवरण संकलन गरी बीमा कम्पनी र सरकारसँग क्षतिपूर्ति प्रक्रिया अघि बढाउने पहल गरिरहेको छ । क्षतिग्रस्त भएका धेरै शोरुमहरू पुनर्निर्माण र मर्मतपछि पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ, जसले गर्दा यस क्षेत्रको व्यावसायिक गतिविधि चाँडै सामान्य अवस्थामा फर्किने विश्वास गर्न सकिन्छ ।

जेनजी आन्दोलनको क्रममा गाडी र मोटरसाइकलका शोरुमहरूमा भएको आगजनी र तोडफोड कुनै एक व्यवसाय वा घरानालाई लक्षित गरेर भएको होइन । यो व्यापक जनआन्दोलनको आवेग, असन्तुष्टि र क्षणिक आक्रोशको परिणाम हो भन्ने लाग्छ । अटोमोबाइल क्षेत्र दृश्यात्मक रूपमा आकर्षक र प्रतीकात्मक रूपमा सम्पन्न वर्गसँग जोडिएको देखिने भएकाले गाडीका शोरुमहरु सजिलै निशानामा परेको अनुमान गर्न सकिन्छ । हाम्रो बुझाइमा यो कुनै व्यक्तिगत द्वेष वा व्यावसायिक दुश्मनीको कारण नभई भावनात्मक क्षणमा भएको अराजकता हो । अहिले सबैले आत्मसंयम र पुनर्निर्माणको बाटो रोजेका छन् । स्थिति विस्तारै सुधारिँदै छ र बजार पुनः स्थायित्वतर्फ फर्किने सम्भावना देखाइरहेको छ ।

नयाँ सरकारबाट सहयोगको आश्वासन
आन्दोलनका क्रममा भएको अटो क्षेत्रको क्षतिको बारेमा नयाँ सरकारसँग छलफल सुरु भइसकेको छ । हामीले उद्योग पुनर्निर्माणका विषयमा सरकारसँग संवाद गरिरहेका छौँ । पछिल्लो समय विभिन्न घटनाक्रमबाट क्षतिग्रस्त भएका व्यवसायहरूका लागि बीमा दाबी भुक्तानीमा ढिलाइ हुनु चिन्ताको विषय बनेको छ । बीमा दाबी भुक्तानी प्रक्रियालाई छिटो र सरल बनाउने, क्षतिग्रस्त व्यवसायहरूलाई कर वा ब्याजमा राहत दिने र अटो उद्योगका दीर्घकालीन नीतिहरूमा स्पष्टता ल्याउने विषयमा हामीले सरकारसँग छलफल गरिरहेका छौँ र सरकारी अधिकारीहरूबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ ।
सरकारी अधिकारीहरुले निजी क्षेत्रको समस्याप्रति गहिरो सहानुभूति प्रकट गरेका छन् र पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानमा पूर्ण सहयोगको आश्वासन दिएका छन् । जसले अटो क्षेत्रप्रति सकारात्मक सन्देश दिएको छ । आगामी दिनमा सरकार र निजी क्षेत्र हातेमालो गर्दै अगाडि बढेमा त्यसको फाइदा व्यवसायीलाई मात्रै हुँदैन, त्यसको लाभ मुलुक र आम नागरिकले पनि प्राप्त गर्दछन् । यसर्थ, यस विषयलाई सबैले मनन गरेर अगाडि बढ्न आवश्यक छ ।

लाखौँको रोजगारी सिर्जना गर्ने र मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने अटोमोबाइल क्षेत्रलाई कुनै पनि बहानामा अप्ठ्यारोमा पार्ने काम उचित हुँदैन । बरु यसबाट बढीभन्दा बढी नीतिगत सहजता अपनाएर राज्यले लाभ लिन सक्नुपर्दछ । यसले मुलुकको अर्थतन्त्र चलयमान बनाउन महत्वपूर्ण भूमिका खेल्दछ ।

आगामी दिनमा हामी सरकारबाट अटोमोबाइल उद्योगका लागि स्थायित्व, स्पष्ट नीति र दीर्घकालीन दृष्टिकोण चाहन्छौँ । अटो उद्योगले कर, रोजगारी र प्रविधिमा ठूलो योगदान दिएको छ, त्यसैले नीति निर्माणमा प्राथमिकता आवश्यक छ । व्यवसायीले चाहेको भनेको नीतिगत स्थायित्व, सहज वित्तीय पहुँच, दिगो ईभी नीति र निजी क्षेत्रसँगको निरन्तर सहकार्य हो । व्यवसायीहरू लगानी गर्दा भविष्यको सुनिश्चितता चाहन्छन् । हरेक नयाँ बजेट वा सरकार परिवर्तनसँगै कर, भन्सार महसुल र आयात नीतिमा हुने अकस्मात् परिवर्तनले लगानीकर्ताहरूमा अन्योल र असुरक्षा पैदा गर्छ । तसर्थ, उद्योगले पाँच वर्षका लागि एक स्पष्ट, स्थिर र पूर्वानुमान गर्न सकिने नीतिगत ढाँचाले दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्नुका साथै ग्राहकको विश्वास बढाउन पनि मद्दत पुग्छ ।

अहिले बैंकिङ प्रणालीमा उच्च ब्याजदर र ऋण पहुँचको कठोरता (उच्च ब्याजदर र कठोर कर्जा नीति) का कारण धेरै अटो व्यवसायहरू संकटमा छन् । सरकारले बैंकहरूलाई उद्योगमैत्री नीति अपनाउन प्रेरित गर्नुपर्छ, जसले अटोमोबाइल क्षेत्रका उद्यमी र उपभोक्तालाई सहज ऋण सुविधा उपलब्ध गराओस् ! विशेष गरी निजी सवारी साधनका लागि अटो कर्जामा लगाइएका सीमाहरू तत्काल हटाउनुपर्छ । उद्योगले सहज र सहुलियतपूर्ण वित्तीय पहुँचको अपेक्षा गरेको छ, जसले नयाँ सवारीे खरिदलाई प्रोत्साहित गर्न र बजारमा तरलता बढाउन सहयोग पुगोस् ! स्वस्थ वित्तीय वातावरणले मात्र यो उद्योगलाई सामान्य अवस्थामा फर्काउन सक्छ ।

अर्काे भनेको अटो व्यवसायीहरुले दिगो ईभी नीति चाहेका छन् । अहिले सरकारले ईभीलाई प्रोत्साहन गरे पनि यसको नीति अस्थिर र परिवर्तनशील छ । ईभीको प्रयोग बढाउन ईभी नीति दीर्घकालीन र स्पष्ट हुन आवश्यक छ । सरकारले अटोमोबाइल उद्योगलाई विलासिताको वस्तुको रूपमा मात्र नहेरी यसलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा लिनुपर्छ । स्थायित्व, स्पष्ट नीति, सहज वित्तीय पहुँच र सहकार्यको माध्यमबाट मात्र अटो उद्योगले आफ्नो पूर्ण क्षमतामा देशको आर्थिक समृद्धिमा योगदान दिन सक्छ ।

अटोमोबाइल उद्योग केवल व्यापार होइन । यो देशको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना र प्रविधि विकासको मेरुदण्ड हो । सरकारले यदि स्थायित्व, पारदर्शिता र साझेदारीमा आधारित नीति अपनायो भने यो क्षेत्रले देशलाई दिगो आर्थिक समृद्धितर्फ डो¥याउने क्षमता राख्छ । अटो उद्योग सरकारसँग सहकार्यका साथ देशको आर्थिक पुनरुत्थानमा साझेदार बन्न तयार छ ।

  • करन चौधरी (अध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK