Skip to content
LAXMI SUNRISE BANK

‘लगानीका नयाँ क्षेत्र पहिचान हुँदैछन्’

अर्थ सरोकार

काठमाडौँ । गत पुसमा सरकारले व्यावसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धिसम्बन्धी अध्यादेशसँगै अन्य २९ कानुन संशोधन गरेको थियो । तत्कालीन सरकारले लगानीको वातावरण सुधार गर्न विभिन्न ऐन कानुनमा संशोधन गरेर वैदेशिक लगानी प्रोत्साहन गरेको थियो । सरकारले ऐन नै संशोधन गरेर विदेशी लगानी प्रोत्साहन गर्दा पनि धेरै देशहरूबाट लगानी भित्र्याउन निकै समस्या भइरहेको छ । चीनलगायतका मुलुकहरू आफ्नो उत्पादनमा दक्ष भएका कारण त्यहाँका उत्पादनहरूले निकै प्रतिस्पर्धी बजार पाइरहेका छन् । जसले गर्दा उनीहरू अन्य मुलुकमा लगानी गर्न चाहिरहेका छैनन् ।
अर्कोतिर नेपालजस्ता ‘नन–कोस्टल’ एरियामा भएको लगानी भित्र्याउन विविध किसिमका चुनौतीहरू छन् । नेपालले विदेशी लगानी भित्र्याउनु चुनौतीपूर्ण काम हो । विगतदेखि नेपालले विदेशी लगानी भित्र्याउन चाहँदा पनि विदेशी लगानी भित्रिन सकिरहेको छैन । वैदेशिक लगानीका लागी धेरै समस्या झेल्नुपरेका कारण हामीले आफ्नो देशका लागि चाहिने वस्तुहरूको केही हिस्सा आफ्नै देशमा उत्पादन गर्ने गरी अघि बढ्नुपर्ने देखिन्छ । यसका लागि सरोकारवालाहरू सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।

नेपालले ऊर्जा क्षेत्रमा जसरी काम गरिरहेको छ, त्यसरी नै अन्य क्षेत्रमा पनि काम गर्नुपर्ने आवश्यकता छ । आफ्नो देशलाई चाहिने वस्तुको केही हिस्सा यहीँ उत्पादन गर्ने नीतिमा लाग्नुपर्छ । विभिन्न कारणले सम्भावना भएका क्षेत्रहरूमा पनि काम गर्न सकिएको छैन । अहिले नेपाल आर्थिक अभावमा छैन । तर, केही राजनीतिक र नीतिगत पहलहरू भने अहिलेको अवस्थामा अत्यावश्यक छ ।

समग्रमा लगानी भित्र्याउन नेपालमा चुनौती नै छ । यो समयमा नेपाल राष्ट्र बैंकले पनि लगानी भित्र्याउनका लागि लगानीका क्षेत्रहरू पहिचान गरेर सहजीकरण गरिदिने काम गर्दै आइरहेको छ । यता लगानी बोर्ड नेपालले पनि लगानीका क्षेत्रहरू पहिचान गराउन काम गरिरहेको छ । लगानी बोर्डसँगै अन्य निकायहरूले पनि लगानीको क्षेत्र पहिचान गराउने काम गरिरहेका छन् । तर, यसको नतिजा आउन भने केही समय लाग्ने नै छ ।

पछिल्लो बजारको अवस्थालाई नियाल्ने हो भने ऊर्जा क्षेत्र केही उत्साहित देखिएको छ । अरु क्षेत्रहरूमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा नै बढी छ । उपभोग हुने चिजबाहेक अरुको लागि लगानी ल्याउन मुस्किलै छ भन्ने बुझाइ रहिआएको छ । मुलुकभित्र देशकै उद्यमीहरूलाई अलिकति उत्साहित बनाइराख्नुपर्छ । प्रविधि भित्र्याउँदै उनीहरूले लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्छ । मुलुकै उद्यमीहरूले पनि बैंकमा पैसा राखेर बस्नुपर्ने बाध्यता छ, यस्तो परवेशबाट बाहिर निस्किन उद्योगीहरूलाई आवश्यक सहयोग गर्नुपर्ने आवश्यकता छ । अहिलेको अवस्थामा मुलुकभित्रकै लगानीकर्ताले लगानी गरेर अन्तर्राष्ट्रिय लगानी भित्र्याउने गरी लगानीकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्छ ।

यस्तै, लगानीको वातावरण सिर्जना गर्नकै निमित्त लगानी सम्मेलनको समयमा हामीले झण्डै आधा दर्जनभन्दा बढी ऐनहरू संशोधन ग¥यौँ । त्यसपछि नीतिगत रूपमा सहजीकरण भएको छ । तर, हामीले अन्तर्राष्ट्रियस्तरमा यस नीतिलाई प्रचार गर्न भने सकिएको छैन । यता कर्मचारीलाई नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिन सकिरहेको अवस्था नहुँदा पनि केही चुनौती सिर्जना भएको छ ।

लगानिकर्ताको लगानी सुरक्षाका लागि राष्ट्र बैंकले विदेशी लगानीकर्ताले कमाएको सम्पत्ति विदेश लैजान सक्ने वातावरण सिर्जना गरिसकेको छ । विदेशी लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल (रिटर्न) विदेश लैजान सक्ने स्थिति छ । यसमा कुनै समस्या छैन । आवश्यक सबै कागजात पेस गर्नेहरूलाई रिटर्न लैजान रोकेको स्थिति छैन । हामीसँग पर्याप्त विदेशी मुद्रा भएका कारण पनि विदेशी लगानीकर्ता हतोत्साहित हुनुपर्ने अवस्था छैन । साथै, हामीले नीतिगत रूपमा सरकारले गर्ने कुराहरूमा सहजीकरण गर्दै आइरहेका छौँ ।

यसैबीच, गत भदौ २३÷२४ गते भएको जेनजी आन्दोलनका कारण पनि केही विदेशी लगानीकर्ता हतोत्साहित हुनेजस्तो देखिन्छ । जेनजी आन्दोलनमा बैंक तथा वित्तीय संस्थाको विभिन्न शाखाहरूले केही क्षति भोगेका छन् । राष्ट्र बैंकले आफ्नो सुरक्षाका लागि नेपाली सेनासँग समन्वय गरिराखेका हुँदा सुरक्षित नै छ । जेनजी आन्दोलनमा पनि राष्ट्र बैंकका मुख्य कार्यालयहरूमा कुनै पनि प्रभाव परेको थिएन । राष्ट्र बैंकको सुरक्षा घेराबाहिरको एउटा कार्यालयमा मात्रै केही नोक्सानी भएको छ । आन्दोलनहरूबाट राष्ट्र बैंकमा हिंसा हुन्छ भन्ने आशंका पनि छैन र पूर्ण रूपमा सुरक्षित छ ।

राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि राष्ट्र बैंकले गृह मन्त्रालय र नेपाली सेनालगायत सम्बन्धित निकायहरूसँग समन्वय गर्ने गरेको छ । वित्तीय प्रणाली भनेको मुलुकको मुटु भएका कारण पनि यस क्षेत्रलाई आक्रमण गरेर कसैलाई फाइदा छैन । यस्तै, बैंकहरूको एटीएम बुथहरूमा क्षति पु¥याए पनि पैसा लैजान सक्ने स्थिति छैन । त्यसैले बैंकहरूमा आक्रमण गर्नु भनेको अपराध मात्रै हो भनेर सर्वसाधारणले बुझ्न जरुरी छ ।

जेनजी आन्दोनमा बैंक तथा वित्तीय संस्थामाथि एक किसिमले आक्रमण भयो । अहिले पुनः बैंक तथा वित्तीय संस्थामा चन्दा संकलनका विषय बाहिरिएका छन् । यस्ता किसिमका क्रियाकलापहरू सबै आर्थिक अपराधमा पर्छन् । यस्ता अपराधमा संलग्न हुुने जो कोही व्यक्तिहरू कानुनी दायरामा आउँछन् ।

बैंकहरूको अबको बाटो
यतिबेला बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यून विन्दुमा छ । बैंकिङ प्रणालीमा इतिहासकै सबैभन्दा बढी तरलता छ । कर्जा प्रवाह हुन नसकेका कारण बैंकहरू पर्याप्त तरलता बोकेर बस्न बाध्य छन् । यस्तो अवस्थामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कृषिलगायतका विभिन्न क्षेत्रमा रहेको प्रोडक्टहरू अपर्याप्ततालाई सम्बोधन गर्ने गरी अघि बढिरहेको छ । प्रोडक्टहरूको पर्याप्ततालाई नियाल्न राष्ट्र बैंक बैंकहरूसँग सहकार्य गरिरहेको छ । राष्ट्र बैंकका कर्मचारीहरू वा म स्वयंले पनि प्रत्यक्ष रुपमा बैंकका प्रोडक्टबारे जानकारी लिइरहेका छौँ ।

राष्ट्र बैंकले नयाँ–नयाँ नीतिहरू ल्याएजसरी बैंकहरूले पनि नयाँ नयाँ प्रोडक्टहरू ल्याउनुपर्छ । नीति र नयाँ प्रोडक्टहरूमा बैंकहरू अलि आक्रामक हुनुपर्नेछ । बैंकहरू बढी इन्नोभेटिभ, सिर्जनशील भएर अघि बढ्नुपर्छ । अहिलेको समयमा बैंकहरूले लगानी गर्न सक्ने विभिन्न नयाँ क्षेत्रहरू आएका छन् । उदाहरणका लागि, आईटी क्षेत्रलाई लिन सकिन्छ । विगतदेखि लगानी गर्दै आइरहेको कृषि क्षेत्रमा नै पनि गएको ऋणको सही अनुगमन र निरीक्षण गरेर नयाँ तरिकाले कर्जा विस्तार गर्न सकिन्छ ।

सरकारको वित्त नीतिले कुनै कुनै क्षेत्रमा लगानी जान नदिने गरी रोकिएको परिस्थितिलाई खुला गरी खर्च गर्नलाई नयाँ क्षेत्रहरू पहिल्याउनु पर्छ । सरकारले खर्च गर्न नयाँ क्षेत्र पहिल्याउन ढिलाइ गर्ने र बैंकहरू पनि ‘इनोभेटिभ’ नबन्ने हो भने बैंकिङ क्षेत्रमा बढिरहेको तरलता लगातार रुपमा बढ्नेछ ।

अहिले लगानीको ढाँचा नै परिवर्तन गर्ने विषय पनि उठिरहेको छ । लगानीको ढाँचा परिवर्तनमा संसारभरि नै म्यानुफ्याक्चरिङ समस्यामा छन् । चीनको पनि म्यानुफ्याक्चरिङ अधिक भएको हुनाले त्यस्तो स्थिति देखिन्छ । अर्को आर्टिफिसियल इन्टेलिजेन्सदेखि रोबोटजस्ता प्रविधिका कारण केही देशहरूको इफिसियन्सी एकदमै धेरै, अरु देशहरू भेट्टाउन गाह्रो हुने, मूल्य प्रतिस्पर्धाहरूमा पछाडि पर्ने गरेको पाइन्छ । अहिले इफिसियन्सी राम्रो भएको देशहरूले भने घाटामै बेचेर भए पनि बजार सुरक्षित गर्न सक्ने स्थिति छ । अन्तर्राष्ट्रिय परिस्थितिका कारण पनि हामी अलि सावधान भएर अघि बढ्नुपर्ने आवश्यकता छ । यस्तो परिवेशमा लगानीहरू आउन केही चुनौती सिर्जना भएको विषयलाई हामीले पनि बुझ्नुपर्ने हुन्छ ।

अर्कोतिर ऊर्जा, सूचना प्रविधि क्षेत्रहरूअन्तर्गत लगानी बढ्नुपर्ने स्थिति छ । त्यसबाहेक मुलुकभित्र आधुनिकीकरण गर्नुपर्ने धेरै क्षेत्रहरू बाँकी छन् । त्यसको लागि सडक, स्वास्थ्य, शिक्षा, ग्रोसरी स्टोर, चलचित्र हल, स्टेडियम, स्पोट्र्स क्लबहरूमा लगानीहरू बढाउनुपर्ने बेला छ । लगानी गर्ने धेरै ठाउँहरू छन् । त्यसैले लगानीको पद्धति समयसँगै केही परिवर्तन हुन स्वाभाविक नै छ । लगानीको ढाँचा बदलिँदो अवस्थामा रहेको समयमा राष्ट्र बैंकले निर्देशित कर्जाहरू जारी गरिरहेको छ ।

यतिबेला सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये धेरै सम्पत्तिको आधारमा ठूला बनेका १० वाणिज्य बैंकहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट ‘लोन पोर्टफोलियो रिभ्यु’को काम भइरहेको छ । यी १० वाणिज्य बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षण छिट्टै सक्ने तयारीमा छौँ । अहिलेसम्मको स्थितिलाई हेर्दा सीमान्तकृत (मार्जिनल्ली) केही हेरफेर हुनसक्ने देखिएको छ । धेरै नै फरक आयो भने राष्ट्र बैंकले अन्य बैंकहरूको पनि यस प्रक्रियाबाट लेखापरीक्षण (अडिट) गर्नेछ । राष्ट्र बैंक र अन्तर्राष्ट्रिय लेखापरीक्षणमा धेरै अन्तर आउने देखिएन भने सामान्य रुपमा अघि बढ्छौँ ।

मौद्रिक नीतिको सीमित भूमिका हुन्छ । जसमा बैंकहरूमा अत्यधिक तरलता रहँदा कर्जाहरू सकेसम्म धेरै लगानी भएर मुलुकको समग्र आर्थिक नीति सफल होस् भन्नेमा राष्ट्र बैंक अघि बढ्छ । त्यो सिंहदरबारको शक्ति हो । सिंहदरबारको शक्तिलाई सम्मान गरेर राष्ट्र बैंक अघि बढ्छ । सरकारको आर्थिक नीतिहरूलाई सफल बनाउने काम राष्ट्र बैंकको हुन्छ । सिंहदरबार भनेको वैधानिक सरकारको ठाउँ हो ।

राष्ट्र बैंकले मुलुकको वित्तीय क्षेत्रको स्थिरता, स्थायित्वलाई ध्यान दिएर काम गरिरहेको छ । अन्तर्राष्ट्रिय परिस्थिति हेरेर, मुलुकको तरलताको अवस्था हेरेर राम्रो आकलन गरेर कहिले कसलाई, कहिले कसलाई सहुलियत (इन्सेन्टिभ) दिने, क्षेत्रहरू तय गर्ने, कहिले कुन क्षेत्र, कहिले अर्को कुनै क्षेत्रलाई इन्सेन्टिभ दिने भन्ने निर्धारण गर्छौँ । राष्ट्र बैंकले सरकारले ल्याएको आर्थिक नीतिहरूलाई सफल बनाउने गरी काम गर्छ । राष्ट्र बैंकको दायित्व पनि वित्त नीतिलाई सफल पार्नु हो ।

  • डा. विश्वनाथ पौडेल (गभर्नर, नेपाल राष्ट्र बैंक)
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK