काठमाडौँ । पारम्परिक खेतीबाट पृथक किसानको आर्थिक अवस्था बलियो बनाउने मात्रै होइन, त्यस भेगको अन्य किसानको लागि प्रेरणास्रोत पनि हुन सक्छ बाँस खेती । बाँस खेतीबाट प्रत्येक वर्ष लाखौं रुपैयाँ आर्जन गर्न सकिन्छ । बाँसको १६०० प्रजाति हुन्छ त्यसमध्ये जाभ, हरोथ, मौकला र बनबा“स जस्ता कैयन मुनाफा दिने खालको बाँस लगाउन सकिन्छ । बाँसको यो किसिम फर्निचर तथा घर बनाउन र निर्माण कार्यमा प्रयोग हुन्छ । त्यसैले बजारमा यसको राम्रो माग रहेको छ । बाँसको खेती एक पटक शुरु गरेपछि वर्षौ वर्षसम्म उत्पादन लिन सकिन्छ ।
बाँसको बिरुवा लगाउने सबैभन्दा राम्रो मौसम वर्षा शुरु हुनुअघि अर्थात् मार्च, अप्रिल, मई र चिसो मौसममा नवम्बर, दिसम्बर, जनवरी महिना उपयुक्त मौसम हो । दुई बिरुवा बीचको दूरी करिब ३ मिटर लामो र ४ मिटर चौडा कायम राख्नुपर्छ । यसरी एक एकड खेतीमा लगभग ७०० देखि ८०० बिरुवा लगाउन सकिन्छ । बाँसको बोट विस्तारै बढ्छ र करिब ३ देखि ४ वर्षमा पूर्ण रुपमा तयार हुन्छ । एक पटक जव बोट तयार हुन्छ तव प्रत्येक वर्ष कटान गरी प्रत्येक पटक राम्रो मुनाफा आर्जन गर्न सकिन्छ ।
बाँसको प्रोसेसिङ्ग र ग्रेडिङ्ग गर्ने सीप सिक्न सके बजारमा राम्रो मूल्य पाइन्छ । बाँसको खेती किसानको लागि एउटा लाभकारी विकल्प मात्रै नभएर पर्यावरणको दष्टिकोणले पनि फाईदाजनक छ । रुख झैं बाँसको बोट ठूलो भएपछि कार्बन सिङ्क झैं काम गर्न थाल्छ । बाँसले रुख प्रजातिभन्दा बढी कार्बन अवशोषण गर्दछ । इण्टरनेशनल बेम्बू एण्ड रतान अर्गनाइजेशन र नेदरल्याण्डको डेफ्ट टेक्नोलोजी (आईएनबीएआर) विश्वविद्यालयको एउटा प्रतिवेदन अनुसार बाँसको एउटा नर्सरी प्रति हेक्टर ४०१ टन कार्बनको भण्डारण गर्न सक्छ ।
बाँसले भूक्षय (पहिरो) लाई रोक्दछ । यसले माटोको गुणस्तरलाई सुधार्छ र जल संरक्षणमा मद्दत गर्छ । पर्यटन र इथानोल उद्योगमा बाँसको प्रयोग गर्न सकिन्छ । इण्टरनेशनल स्ट्याण्डर्ड अर्गनाइजेशनको तर्फबाट पहिलो पटक इञ्जिनियर्ड ब्याम्बू टेस्टिङ्गसंग सम्बन्धित मापदण्ड प्रकाशित गरिएको हुँदा यसबाट ब्याम्बू इञ्जिनियरिङ्ग, डिजाइनिङ्गसँग आबद्ध मानिसलाई ब्याम्बू मेटेरियल प्रयोग गर्न मद्दत गर्नेछ ।
बाँस विश्वको सबैभन्दा चाँडै हुर्किने घाँस प्रजातिको बोट हो । यसको कुनै कुनै प्रजाति एक दिनमा एक मिटरसम्म अग्लिन्छ । एक चोटी यसको कटान गरे भने पनि पुनः उम्रिन्छ । एशियामै निर्माण क्षेत्रमा बाँसको प्रयोगको पुरानो इतिहास छ । बाँसलाई धेरै घाम र केही मात्राको पानीको आवश्यकता पर्ने भएकोले यूरोप र अमेरिका जस्ता चिसो क्षेत्रका मानिसहरु बाँससंग परिचित नहुँदा त्यहाँ खासै प्रयोग हुँदैन ।
मेघालय यू–मावरिंगखांगको बाँस ट्रेक : विश्वमा सबैभन्दा बढी वर्षा हुने ठाउँ चेरापुञ्जी मेघालयमा पर्छ । मेघालय शिलोङ्गदेखि करिब ४० किलोमिटर टाढा वाहखेन गाउँमा पर्ने भारतकै सबैभन्दा खतरनाक ट्रेक एउटा प्राचीन लोककथाको लागि प्रसिद्ध छ ।
यो ट्रेक कुनै साधारण मार्ग होइन, बरु बाँस निर्मित इञ्जिनियरिङ्गको अदभूत् नमूना हो । साहसिक पर्यटन मन पराउनेहरुका लागि यो एउटा राम्रो गन्तव्य स्थल हो जहाँ पर्यटकले करिब ३ हजार सिढी उक्लिनुपर्छ । यो ट्रेक एउटा अक्करे भिरमाथि बनेको छ जुन नदीको एउटा किनारादेखि अर्को किनारासम्म फैलिएको छ । अहिले ‘यू–मावरिंगखांग’ न केवल लोकप्रिय ट्रेकिङ्ग स्थल हो साथै यो मेघालयको समृद्ध संस्कृति र लोककथाको प्रतीक पनि हो ।
यस यात्रालाई पूरा गर्नका लागि सामान्यतया ३ देखि ५ घण्टाको समय लाग्छ । सुरक्षाको दृष्टिकोणले बाँसको पुलमा एक साथ धेरै जनालाई हिड्न अनुमति नदिने विशेष नियमको पालना गर्नुपर्छ । वर्षाको मौसममा त्यहाँ जानु चुनौतीपूर्ण हुन सक्ने भएकोले अक्टुबरदेखि मार्च महिनासम्म त्यहाँ जानु धेरै उपयुक्त हुन्छ । यस दौरँन ट्रेकबाट चिप्लिने डर हुँदैन ।
बाँसमा आधारित विश्वकै पहिलो इथानोल उद्योग आसाममा : भारत आसामको गोलाघाट जिल्ला अन्तर्गत् नुमालीगढमा स्थापित विश्वकै पहिलो बाँस आधारित बायो–इथानोल संयन्त्र ‘असम बायो–इथानोल प्रा.लि. (एबीइपीएल)’ ले उत्तर–पूर्वी भारतको कृषि अर्थव्यवस्थामा एउटा नयाँ क्रान्तिको जग थपेको छ । एबीइपीएलले ट्रायल रनको दौरान ९९.७ प्रतिशत शुद्धता भएको फियुल–ग्रेड इथानोल तयार गरेको छ जुन ९९.५ प्रतिशतको सामान्य मापदण्डभन्दा पनि राम्रो गुणस्तरको छ । इथानोलको अतिरिक्त उद्योगले निम्न कुराको पनि वार्षिक उत्पादन गर्ने भएको छ ।
फरफियुल – १९,००० टन
एसिटिक एसिड – ११,००० टन
तरल कार्बन डाई अक्साइड – ३२,००० टन
ग्रीन पावर – २५ मेगावाट
उखु वा मकैजस्ता खाद्य फसलको साटो कच्चा मालको रुपमा बाँसको उपयोग गरी स्थापित गरिएको उक्त संयन्त्रको उत्पादन क्षमता वार्षिक ४९ हजार मेट्रिक टन हो । उद्योगको लागि कच्चा माल (बा“स) को निर्वाध आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले कम्पनीले आगामी तीन वर्षभित्र ३० हजारभन्दा बढी किसानलाई आफूसँग जोड्ने लक्ष्य राखेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा २०२५ सेप्टेम्बरमा उद्घाटन गरिएको उद्योगको लागत ४,९३० करोड रुपैयाँ छ ।
उद्योगलाई पूर्ण क्षमतामा चलाउनका लागि वार्षिक ५ लाख मेट्रिक टन हरियो बाँसको आवश्यकता पर्नेछ । यसको लागि आगामी तीन वर्षमा १२,५०० हेक्टेयर जग्गामा ६० लाख बा“सको बिरुवा रोप्ने योजना रहेको छ । एबीइपीएलले किसानको कृषि उपज बदल्न प्रोत्साहित गरेको नभएर बञ्जर र अप्रयुक्त भूमिको पहिचान गरिरहेको छ । कम्पनीले अहिलेसम्म ४,२०० बढी किसानको दर्ता गरिसकेको छ र बिचौलिया/दलाललाई हटाएर उनीहरुको खातामा २.४ करोड रुपैयाँ सोझै स्थानान्तरण गरिसकेको छ ।
जव कम्पनीले १२,५०० हेक्टेयर भूमिबाट बाँस प्राप्त गर्न थाल्छ, तव यो पूर्ण रुपले ‘कार्बन न्यूट्रल’ इकाई बत्रेछ । क्षेत्रीय विस्तार र ‘जीरो वेस्ट’ मोडेल बाँसको आपूर्तिको लागि उद्योगको ३ सय किलोमिटर दायरालाई लक्ष्य बनाइएको छ ।
यो उद्योग ‘जीरो वेस्ट’ सुविधा हो जहाँ बाँसको प्रत्येक भागको सदुपयोग गरिनेछ । यो मोडेल राज्यको ग्रामीण अर्थतन्त्रको लगभग २०० करोड रुपैयाँको वार्षिक बुस्ट दिने अनुमान गरिएको छ ।
नेपालबाट बा“स निर्यातको सम्भावना ?
नेपालमा हुने बाँस खेती निर्माण सामग्रीको रुपमा प्रयोग गरिए पनि औद्योगिक प्रयोजनको लागि खेती गरिएको पाइँदैन । कोशी नदी किनारको पहाडी भेगको बाँस कटान गरी कोशी नदीमा बगाउँदै ल्याई चतरामा सङ्कलन गरी बिक्री गर्दा लगानी अनुसारको प्रतिफल किसानले पाइरहेका छैनन् । त्यस्तै तराई भेगमा हुने खेतीबाट बाँस कटान गरी बयलगाडामा लोड गरी बिक्री गर्दा मिहिनेत अनुसारको आयआर्जन भईरहेको छैन । राज्यले पनि निर्यात गर्न सकिने गरी बाँस खेतीलाई विशेष प्रोत्साहन नगरेको हुँदा आकर्षक आयको लागि बाँस खेती उत्तम विकल्प बत्र सकेको छैन ।
आसाममा स्थापित बाँस आधारित बायो–इथानोल संयन्त्र र मेघालयको बाँस ट्रेक हाम्रा लागि पनि एउटा उदाहरण हुन सक्छ । संयन्त्रले विद्युत उत्पादनसमेत गर्ने भएको हुँदा नेपालबाट बाँस निर्यातको सम्भावनाबारे अध्ययन तथा पहल गर्न सके बाँस खेतीप्रति किसानलाई प्रोत्साहन हुने थियो । यसबारे राज्यको ध्यानाकर्षण हुनु आवश्यक छ ।
-अधिवक्ता अमर कुमार मल्लिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्