Skip to content
LAXMI SUNRISE BANK

सेवाको व्यापारमा सत्ताको छहारीभन्दा जनविश्वास महत्वपूर्ण

अर्थ सरोकार

काठमाडौँ । सैन्यविद खुलेर भनिरहेका छन् आगामी दिनमा युद्ध केवल सैनिक र हतियारबाट लडिने छैन, बरु डेटा, एल्गोरिदम र मेशिनको मद्दतले लडिनेछ । युद्धको प्रकृति परिवर्तन भएको छ । एआई अब केवल प्रविधिको विषय रहेन, यो भूराजनीति र युद्ध प्रविधिको अङ्ग बन्दै गएको छ । त्यसैले विश्वमै प्रश्न उठिरहेको छ, भविष्यमा युद्ध (कसलाई मार्ने कसलाई बचाउने)को निर्णय मानवको साटो के एआईले गर्नेछ ?

एआईको सैन्य प्रयोग भविष्यमा खतरनाक साबित हुन सक्छ । जमिनको गतिविधि स्याटेलाइट बाट र ड्रोन फुटेजबाट तस्वीर लिई सङ्कलित डेटा एआईबाट अध्ययन/विश्लेषण गरी सम्भावित लक्ष्यलाई पहिचान गरी सैन्य रणनीति बनाइन्छ । तर मेशिनलाई हरहमेशा भरोसा गर्न सकिन्न । यसै पनि एआई मानवको स्थान लिनलाई नभएर उसको मद्दत गर्नलाई हो । त्यसैले एआई इण्डष्ट्रीभित्र एआईलाई मास सर्विलान्स र अटोनोमस वेपन्समा प्रयोग गरिनु हुन्न भत्रे बलियो आवाज उठिरहेको छ ।

एआई इण्टेलिजेन्स सिस्टमले डेटाबाट सिक्दछ र अनेक चोटी सोही डेटाले त्यसको सीमा निर्धारण गर्दछ । यदि डेटा अधुरो छ भने जानकारी पनि अधुरो हुन्छ र अधुरो जानकारीको आधारमा एआईले गलत निष्कर्ष निकाल्न सक्छ । प्रविधिको संसारमा यसलाई एआई मतिभ्रम (AI Hallucination) भनिन्छ । युद्धको सन्दर्भमा यस्ता त्रुटी धेरै गम्भीर हुन सक्ने र मानिसको ज्यानमाथि असर पर्ने हुन सक्छ । त्यसैले थुप्रै वैज्ञानिक र मानवाधिकार सङ्गठनले एआईलाई अटोनोमस हतियार बनाउनुअघि अन्तर्राष्ट्रिय नियम बनाउनुपर्ने कुरामा जोड दिन्छन् ।

एआई ग्लोबल सैन्य दौड :  अमेरिका, चीन, रुस, इजरायल र थुप्रै अन्य देशले सैन्य एआई प्रविधिमा ठूलो लगानी गरिरहेका छन् । ड्रोन स्वार्म, अटोनोमस ट्याङ्क, एआई सञ्चालित सर्विलान्स सिस्टम र मेशिन बेस्ड वार स्ट्रेट्जी जस्ता क्षेत्रको तीव्र विकास भैरहेको छ ।

प्रविधिले युद्धको स्वरुप परिवर्तन गरेको इतिहास छ । बारुदले मध्यकालीन युद्धको स्वरुपलाई परिवर्तन गरेको, परमाणु हतियारले विश्वको शक्ति सन्तुलन कायम गरेको, ड्रोनले टाढैबाट युद्ध लड्न सम्भव बनाएको र एआईले युद्धको निर्णय लिने गरेको छ । यदि मेशिनले डेटाको आधारमा लक्ष्य निर्धारण गरे मानिस केवल अन्तिम मञ्जुरी दिनेमा सीमित हुन पुग्नेछ । युद्धमा मानव भूमिका विस्तारै–विस्तारै कम हु“दै जानेछ । त्यसो भए के मानवले आफ्नो सवैभन्दा ठूलो शक्ति युद्धको निर्णय मेशिनको भरोसामा छोड्न तयार छ ? यदि यस्तो भयो भने युद्धको निर्णय कुनै सैनिक जनरलले नभएर एउटा अल्गोरिद्मले गरी को मर्ने र को बाँच्ने निर्णय लिनेछ ।

ओपन एआई र एन्थ्रोपिकको विवाद : भ्वाइस कन्ट्रोल ड्रोन स्वार्म अर्थात् मानवको एउटा आवाजले पूरै ड्रोन समूहलाई निर्देश दिन सकिन्छ । अबको युद्ध परम्परागत रहेन । सानो, सस्तो, स्मार्ट ड्रोन सैन्य रणनीतिको अङ्ग बनेको छ । ड्रोन स्वार्म भनेको थुप्रै ड्रोनको एउटा नेटवर्क हो जसले आपसमा डेटा शेयर गर्छ । रियल टाइममा दिशा परिवर्तन गर्छ । लक्ष्यलाई पहिचान गर्छ र आवश्यक परे मिशन पूरा गर्छ । भ्वाइस कन्ट्रोल सिस्टमको अर्थ हो, मानव कमाण्डका साथ स्वार्मलाई निर्देशन दिनु । यो पूर्ण रुपले स्वचालित हतियार प्रणालीभन्दा बेग्लै मोडल हो । यहाँ मानव नियन्त्रणमा रहन्छ र एआई ‘सहायक’ झैँ काम गर्छ ।

पहिला टेक कम्पनी सामाजिक सञ्जाल र सर्च इञ्जिनसम्म सीमित थियो । तर अब त्यो वार स्ट्रेट्जी, स्वार्म कन्ट्रोल र अटोनोमस सिस्टमलाई दिशा निर्देश गर्ने निर्णय गर्छ । चीन जमिनमा रोबोटिक फाइटिङ्ग सिस्टमको तयारी गरिरहेको छ भने अमेरिका स्वार्म बेस्ड ड्रोन रणनीतिमा काम गरिरहेको छ । यदि भविष्यमा जमिनमा युद्ध हुन्छ भने स्वार्म प्रविधि र एआई नियन्त्रण प्रणालीले ठूलो भूमिका खेल्नेछ । यसबाट सैनिकको जोखिम कम हुनेछ र निर्णय लिने गतिमा वृद्धि हुनेछ । त्यति मात्रै होइन, यसबाट अपरेशन बढी स्वचालित र अचुक हुनेछ ।

पेण्टागनसंग डिल गर्न एआई कम्पनीबीच चर्को प्रतिस्पर्धा: मध्यपूर्वमा इजरायल–अमेरिका विरुद्ध इरान युद्धको दौरान अर्को एउटा युद्ध पनि चलिरहेको थियो त्यो थियो ओपन एआई, एन्थ्रोपिक र पेण्टागनबीच जसमा अमेरिकी डिफेन्स डिपार्टमेण्टसंग एन्थ्रोपिकको डिल टुटेपछि ओपेन एआईले २०० मिलियनको सरकारी करार पायो जस अन्तर्गत् अमेरिकाको वर्गिकृत सरकारी नेटवर्कमा कम्पनीले आफ्नो एआई मोडल प्रयोग गर्न दिनेछ । त्यत्रो ठूलो डिल टुटेपछि पनि एन्थ्रोपिक शिखरमा पुग्यो, कसरी ?

अमेरिकाको रक्षा विभाग धेरै वर्ष अघिदेखि एआईलाई आफ्नो प्रणालीमा समावेश गर्ने प्रयासमा थियो । कारण प्रष्ट थियो, आधुनिक युद्ध डेटामा चल्छ । स्याटेलाइट इमेज, साइबर अलर्ट, इण्टेलिजेन्स रिपोर्ट, प्याटर्न एनालाइसिस सबथोक एआईबाट तीव्र गतिमा बढी सटीक विश्लेषण गर्न सकिन्छ ।

देशको सुरक्षामा एआईको भूमिका महत्वपूर्ण छ तर निगरानी वेगर यसको प्रयोग खतरनाक हुन सक्छ । हामीलाई युद्धको लागि एआईको आवश्यकता छैन । त्यसैले एन्थ्रोपिक चाहन्थ्यो कि आफ्नो मर्जीले मानिस मार्न सक्ने घातक हतियारमा एआईको प्रयोग नहोस् र जासूसीको काममा पनि प्रयोग नहोस् । एन्थ्रोपिकको उक्त शर्तमा डिल नटिकेपछि अमेरिकाको डिपार्टमेण्ट अफ वारले ओपेन एआईसित साझेदारी गर्यो । ओपन एआईको निर्णय पैसाको लोभमा सिद्धान्तसित सम्झौता गरी सरकारको हकमा भएको थियो भने एन्थ्रोपिकको निर्णय सिद्धान्तसित सम्झौता नगरी अमेरिकी जनताको हकमा । त्यसैले ओपन एआईको डिल शङ्कास्पद र एन्थ्रोपिकको निर्णय आँटिलो मानिएको छ ।

ओपन एआई: ओपन एआईका सीईओ सैम आल्टमैन हुन् । ओपन एआईको नेटवर्थ ५०० अरब डलर अनुमान गरिएको छ । ओपन एआईले आप्mनो लोकप्रिय उत्पादन च्याटजीपीटी २०२२ को अन्त्यतिर लाञ्च गरेको हो ।

एन्थ्रोपिक पीबीसी: एन्थ्रोपिक पीबीसीको सीईओ डारियो अमोदेई हुन् । अमोदेई पहिला ओपन एआईमा काम गरिसकेका हुन् । ओपन एआई केही बढी नै व्यावसायिक हुँदै गएको भनेर सन् २०२१ मा कम्पनी छोडी बहिनी ड्यानिएला अमोदेईसहित एउटा समूह मिलेर एन्थ्रोपिक पीबीसीको स्थापना गरेका हुन् र यसको नेटवर्थ ३८० अरब डलर अनुमान गरिएको छ । एन्थ्रोपिकले आप्mनो लोकप्रिय उत्पादन च्याटबट क्लाउडको पहिलो वर्जन २०२३ मा पेश गरेको थियो ।

अमोदेईले एआईले अर्बौं मानिसलाई गरिबीबाट निकाल्न सक्छ र सबैको लागि एउटा असल विश्वको निर्माण गर्न सक्छ भनेका थिए । उनले सन्देश दिएका छन् कि क्लाउड च्याटबट इन्टर्याक्सनमा कहिल्यै विज्ञापन देखाउने छैनन् । अमोदेई सुरक्षित र जिम्मेवार एआईको बलियो समर्थक मानिन्छन् । उनको कम्पनीलाई विश्वकै सबैभन्दा सुरक्षित र शक्तिशाली एआई कम्पनीमा गणना गरिन्छ । उनी केवल प्रविधि निर्माण गर्ने मात्रै नभएर नैतिकतालाई प्राथमिकता दिने नेतृत्वकर्ता पनि हुन् । २०२१ मा एआई सुरक्षाको विषयमा मतभेदपछि छुट्टै एन्थ्रोपिक कम्पनीको स्थापना गरी ‘पब्लिक बेनिफिट कर्पोरेशन’ बनाए । यसको अर्थ हो, कम्पनीको लागि मुनाफाभन्दा बढी समाजको हित महत्वपूर्ण हो । उनले आफ्नो ८०% सम्पत्ति दान गर्ने घोषणा गरेका छन् । उनलाई विश्वको सबैभन्दा प्रभावशाली एआई फाउण्डर्समा गणना गरिन्छ । अमोदेईको मत छ, सन् २०३० सम्म एआईले मानव बुद्धिमत्तालाई पछाडि पार्न सक्छ । त्यसैले उनी एआईमाथि कानूनी नियन्त्रण र कडा नैतिक नियमको वकालत गर्दै आएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा १६-२० फरवरीमा आयोजित ‘इण्डिया एआई इम्प्याक्ट समिट’ मा २० देशको प्रमुख, ८८ देशको प्रतिनिधित्व, विश्वकै ठूला टेक कम्पनीका शीर्ष अधिकारी उपस्थित भएको र लाखौं मानिसले अवलोकन गरेका थिए । २१ फरवरीमा ८८ देश र अन्तर्राष्ट्रिय सङ्गठनद्वारा स्वैच्छिक ‘इण्डिया एआई इम्प्याक्ट डिक्लेयरेशन’ घोषणा भएको थियो । यसमा अमेरिका, चीन, बेलायत, फ्रान्स, जर्मनी र यूरोपियन यूनियनसमेत संलग्न थियो ।

‘इण्डिया एआई इम्प्याक्ट समिट’ को दौरान १३ अन्य व्यावसायिक र राजनीतिक नेताका साथ जव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट एउटा ‘फोटो अप’ आयोजन गर्ने क्रममा सवै नेता एउटै लहरमा उभिएर एक अर्काको हात समातेर टाउको माथि उठाएका थिए तर दुई जना बाहेक । ओपन एआई र एन्थ्रोपिक पीबीसीको प्रतिद्वन्द्वी सीईओ सैम आल्टमैन र डारियो अमोदेई एक अर्काको छेउमा उभिए पनि असहजताका कारण एक अर्काको हात नसमातेर आºनो हात हावामा क्रस गरेर उभिरहे र एक अर्कासित दृष्टि मिलाउनबाट जोगिई रहे । दुवै एआई डेवलपर्स हुन् ।

शुरुमा ओपन एआई कोर टिमको अङ्ग रहेका अमोदेईको सैम आल्टमैनसंग एआईको नियन्त्रणलाई लिएर वैचारिक मतभेद थियो । एकातर्फ सैम आल्टमैन चाहन्थे कि एआई धेरै योग्य छ, यसले निर्णय लिन सक्छ त्यसैले यसलाई नियन्त्रणको आवश्यकता छैन । अझ राष्ट्रिय सुरक्षाको सन्दर्भमा एआईको भूमिकालाई इन्कार गर्न सकिँदैन । डिलमा सुरक्षाको बलियो व्यवस्था छ र कम्पनीले फरक मतको सम्मान गर्दछ । तर अर्कोतर्फ अमोदेईको मत थियो कि एआईले एथिक्सको पालना गर्नुपर्छ नत्र भने ठूलो नोक्सानी हुन सक्छ ।

एन्थ्रोपिकको सार्वजनिक पहिचान शुरुदेखि नै एआई–सेफ्टी कम्पनीको रहेको छ । क्लाउड इन्फ्रास्ट्रक्चर महँगो छ र यो एउटा यस्तो मोडेल हो जुन बढी नियन्त्रित छ, जोखिमवाला जवाफ दिनबाट जोगिन्छ र एथिक्सलाई जोड दिन्छ । कम्पनीले हमेशा सुरक्षा र दायित्वको कुरा गर्दै आएको छ । रक्षा क्षेत्रमा एआईको प्रयोग हमेशा प्रष्ट सीमामा हुँदैन । यो नै मतभेदको मूल कारण थियो ।

पेण्टागनको केही प्रणालीमा क्लाउडको प्रयोगलाई लिएर मतभेद बाहिर आयो । कुरा केवल टेकको थिएन, कुरा एआईको भूमिका कहाँसम्म हुने भन्ने थियो । के उसले केवल डेटा मात्रै पढ्नेछ वा रणनीतिक निर्णयमा पनि मद्दत गर्नेछ ?

एन्थ्रोपिक र डिफेन्सको सोच एउटै लाइनमा नभएको भन्दै क्लाउडलाई पेण्टागनले केही नेटवर्कबाट कालोसूचिमा राखिदिएको थियो/छ । पेण्टागनको यस निर्णय विरुद्ध एन्थ्रोपिक अदालत जाने तयारीमा छ । वास्तवमा सरकारी करार केवल प्रतिष्ठा मात्रै होइन यसले स्थिर राजस्व पनि दिन्छ ।

एकातर्फ व्यावहारिक रणनीति अन्तर्गत् सरकारसंग साझेदारी गरी राष्ट्रिय सुरक्षामा भूमिका निर्वाह गर्दै संस्थागत शक्ति हासिल गर्ने भत्रे छ । अर्कोतर्फ एथिक्सको पोजिशनिङ्ग अन्तर्गत् जनतालाई भरोसा दिलाउनु कि तपाईंको एआई सरकारको हातको हतियार बन्दैन ।

पेण्टागन विवादपछि क्लाउडको लोकप्रियतामा एक्कासी बढोत्तरी भएको हेर्न पाइएको थियो । प्रयोगकर्ताले ओपन एआईको सरकारसंगको डिलको विरोध गर्दै च्याटजीपीटीको बहिष्कार (बाइकट) गरिरहेका थिए/छन् । ४८ घण्टाभन्दा कम समयमा १५ लाख प्रयोगकर्ता (सबस्क्राइबर)ले आफ्नो फोनबाट ओपन एआईको च्याटजीपीटी प्लेटफर्मलाई हटँए । हटाउने क्रम अझै जारी छ । र, यसप्रकार एन्थ्रोपिकको क्लाउड पहिलो स्थानमा पुग्यो । एप स्टोरमा च्याटजीपीटीको र्याङ्किङ्ग तल झरेको छ । मानिस डराइरहेका छन् कि कम्पनीले प्रयोगकर्ताको डेटा सरकारलाई दिन सक्छ । कतै सरकारले डेटा लिएर मानिसको जासुसी गर्ला की भत्रे डर पनि उत्तिकै छ । यहाँनिर एन्थ्रोपिक सरकारसित काम नगरिरहेको देखि“दा मानिसको भरोसा बत्र पुगेकोले तीव्र गतिबाट क्लाउड डाउनलोड भएको पाइएको छ ।

च्याटजीपीटीबाट मानिसको भरोसा कम हुँदै जाँदा एन्थ्रोपिकले यस मौकामा क्लाउडको फ्री प्लानमा मेमोरी फिचर हालिदियो । प्रयोगकर्ता आफ्नो डेटालाई म्यानेज गर्न सक्छन्, एक्सपोर्ट गर्न सक्छन् । यो टेक अपडेटभन्दा बढी सिग्नल थियो । अर्थात् अर्को च्याटबट्सको डेटा पनि यहा“ प्रयोगकर्ता एक्सपोर्ट गर्न सक्छन् ।

सवाल यो छ कि यदि एआई रक्षा प्रणालीमा काम गर्छ भने यसको लिमिट के हुनेछ ? यसको कुनै प्रमाण छैन कि च्याटजीपीटीले यूजर डेटा सरकारलाई दिइरहेको छ तर सम्झौतामा ‘एनी लफूल यूज’ भनिएकोले भरोसाको राजनीतिमा शङ्काले असर पारेको छ ।

मानिसको विरोधलाई देखेर ओपन एआईका सीईओ सैम आल्टमैनले प्रयोगकर्ताको डेटासंग खेलवाड हुँदैन र सरकारलाई डेटा जासुसी गर्न दिइने छैन । यो रक्षा साझेदारी हो र यहाँ नियन्त्रित डेटा प्रयोग हुनेछ भनेर भन्न बाध्य भएका छन् ।

अब ठूलो सवाल यो छ कि यो टकरावले भविष्यमा कुन दिशा लिनेछ । यदि एआई भविष्यको रणनीतिक प्रविधि हो भने सरकारले त्यसलाई टाढा राख्ने छैन । डिफेन्स, साइबर सुरक्षा र राष्ट्रिय सुरक्षामा एआईको प्रयोग बढ्नेछ ।

तर यदि जनतालाई लाग्दछ कि एआई कम्पनी सत्ताको धेरै नजिक छ भने भरोसा प्रभावित हुनेछ । जवकी एआईको पूरै मोडल भरोसामा टिकेको छ । पेण्टागनको डिल ओपन एआई नजिक गयो तर क्लाउडको एप स्टोरले तीव्र ग्रोथ पायो । एउटाले संस्थागत शक्ति हासिल ग¥यो जवकी अर्कोले पब्लिक सेण्टिमेण्ट । यो एआई युद्ध सातादिनसम्मको लागि होइन, यो आगामी दशकको दिशा र दशा निर्धारण गर्नेछ । एआई कम्पनी अब न्यूट्रल टेक प्रोभाइडर रहेनन् । रणनीतिक खेलाडी बनिसकेका छन् । र, यो युद्धको वास्तविक सवाल हो, ….. एआई कोसित उभिनेछ ?
सवाल सरकार बनाम एथिक्सको होइन । टेक कम्पनीले निर्णय लिनुपर्ने छ कि उ सत्तासंग उभिने कि आम जनताको भरोसा/विश्वाससँग ?

अधिवक्ता अमर कुमार मल्लिक

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK