काठमाडौँ । कोशी टापु वन्यजन्तु आरक्षण नेपालको तराई क्षेत्रमा फैलिएको एउटा महत्वपूर्ण सिमसार तथा घाँसे मैदान हो । सप्तकोशी नदीले बनाएको यो मैदान जङ्गली हात्ती, नीलगाई, चराचुरुङ्गी र विशेष गरी दुर्लभ जङ्गली अर्नाको मुख्य आश्रयस्थलका रूपमा परिचित छ । जङ्गली अर्नाको मौलिक जीन हराउने खतरा याे क्षेत्रमा अहिले एउटा मौन संकटकाे रुपमा बढिरहेको छ ।
वैज्ञानिक अध्ययनहरूका अनुसार कोशीटप्पु क्षेत्रमा खुल्ला चाैपाया भैँसीको समस्या नयाँ होइन । सन् १९५० को दशकतिर केही घरपालुवा भैँसीहरू छुटेका वा खुला रूपमा छाडिएका कारण फेरल (खुल्ला चाैपाया) काे जनसंख्या विकसित भएको उल्लेख विभिन्न अनुसन्धानमा पाइन्छ । पछि ती भैँसीहरू जङ्गली बथानसँग मिसिँदै गए । अहिले कोशी टापु वन्यजन्तु आरक्षण भित्र र वरपर हजारौंको संख्यामा घरपालुवा तथा फेरल गाईवस्तु चरिरहेका भेटिन्छन् । यही अवस्थाले जङ्गली अरनाको आनुवंशिक शुद्धतामाथि ठूलो चुनौती खडा गरेको छ ।
खुला चरन र नियन्त्रणविहीन पशु प्रवेशका कारण जङ्गली अरना र घरपालुवा भैँसीबीच क्रस–ब्रिडिङ बढिरहेको छ । यसले “जेनेटिक इरोजन” अर्थात् मौलिक जीनको क्रमिक क्षय निम्त्याइरहेको छ । जङ्गली अरनाको विशिष्ट शारीरिक र आनुवंशिक विशेषता विस्तारै हराउँदै जाने जोखिम अहिले संरक्षणको मुख्य चिन्ता बनेको छ ।
कोशीटप्पुका मैदानमा देखिने कतिपय भैँसीहरूमा मिश्रित विशेषता स्पष्ट देख्न सकिन्छ । शुद्ध जङ्गली अर्नाको शरीर सामान्यतया ठूलो, कालो र शक्तिशाली हुन्छ । तिनका सिङ बाक्ला र अर्धचन्द्राकार बाहिरतिर फैलिएका हुन्छन् । तर क्रस–ब्रिड भैँसीमा शरीरको अनुपात, सिङको आकार, अनुहारको बनावट र रङमा फरकपन देखिन्छ । यही परिवर्तनले जङ्गली वंश क्रमशः कमजोर बन्दै गएको संकेत दिन्छ ।
समस्या केवल आनुवंशिक मात्र छैन । घरपालुवा पशुहरूसँगको निकट सम्पर्कले रोग सर्ने जोखिम पनि बढाएको छ । घरेलु गाईवस्तुबाट विभिन्न सङ्क्रामक रोग जङ्गली अर्नामा फैलिन सक्ने खतरा रहन्छ। यदि रोग फैलियो भने सानो जनसंख्यामा रहेका जङ्गली अरनालाई ठूलो क्षति पुग्न सक्छ ।
कोशीटप्पुका घाँसे मैदानमा शान्त देखिने दृश्यभित्र वास्तवमा संरक्षणको गम्भीर संघर्ष लुकेको छ । यदि खुला चरन नियन्त्रण, फेरल पशु व्यवस्थापन र वैज्ञानिक निगरानी प्रभावकारी रूपमा लागू भएन भने भविष्यमा शुद्ध जङ्गली अर्ना केवल इतिहासका पानामा सीमित हुन सक्छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्