Skip to content
LAXMI SUNRISE BANK

ज्ञानपरम्परा र गुरु तत्त्व: सभ्यता जीवित रहने वास्तविक गुरू पूर्णिको आधार

अर्थ सरोकार

काठमाडौँ । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमा आउँछ। शुभकामनाका सन्देशहरू आदान प्रदान हुन्छन्, गुरुहरूको सम्मान गरिन्छ, सामाजिक सञ्जालमा महर्षि वेदव्यासका तस्बिरहरू देखिन्छन्। तर एउटा प्रश्न भने कमै मात्र उठ्छ कि ‘हामीले वास्तवमा के मनाइरहेका छौँ?’ एउटा धार्मिक पर्व, एउटा ऐतिहासिक व्यक्तित्वको जन्मदिन, कि ज्ञानलाई पुस्तौँसम्म जीवित राख्ने सभ्यताको अद्भुत परम्परा?

गुरु पूर्णिमा बुझ्नुअघि व्यासलाई बुझ्नुपर्छ र व्यासलाई बुझ्नुअघि वैदिक परम्पराको स्वरूप बुझ्नुपर्छ। वेद कुनै एउटा व्यक्तिले कुनै एउटा समयमा लेखेको ग्रन्थ होइन। वैदिक परम्परामा त्यसलाई ऋषिहरूले अनुभूति गरेका सनातनी ज्ञान मानेका छन्। त्यो ज्ञान पुस्तौँसम्म श्रुति परम्पराबाट सुरक्षित रह्यो। समय बित्दै जाँदा समाज बदलियो, मानव स्मरणशक्ति कमजोर हुँदै गयो, वैदिक अध्ययनका शाखाहरू फैलिँदै गए। त्यही बेला एउटा असाधारण कार्य सम्पन्न भयो। त्यस कार्यका केन्द्रमा थिए ति हुन् महर्षि कृष्णद्वैपायन व्यास। जस्लाई पछि वेदव्यासको नाम दिइयो। महर्षि वेदव्यास जो नेपाली समाजका लागि नयाँ होइनन्। गाउँका मन्दिरदेखि विश्वविद्यालयका संस्कृत विभागसम्म, धार्मिक प्रवचनदेखि साहित्यिक गोष्ठीसम्म उहाँको नाम उच्चारण हुन्छ। परम्पराले उहाँलाई ‘वेदव्यास’ किन भन्यो भन्ने प्रश्नको उत्तर यहीँ छ। उहाँले वेदको रचना गर्नुभएन; वेदलाई व्यवस्थित गर्नुभयो। विशाल वैदिक ज्ञानलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदका रूपमा विभाजन गरी अध्ययन र संरक्षणलाई सरल बनाउनुभयो। यदि त्यो कार्य सम्पन्न नभएको भए वैदिक ज्ञानको निरन्तरता कस्तो हुन्थ्यो भन्ने प्रश्न आज पनि इतिहासकारहरूका लागि चासोको विषय हुन सक्छ।

यही कारण उहाँको योगदान कुनै एउटा ग्रन्थसम्म सीमित छैन। महाभारत, ब्रह्मसूत्र, अठार पुराणको परम्परा र वैदिक ज्ञानको सुव्यवस्थित संरक्षण आदि सबैलाई एउटै व्यक्तित्वसँग जोडेर प्राचीन सभ्यताले सम्झेको छ, बुझेको छ। महाभारतको आदिपर्वमा व्यासप्रति व्यक्त गरिएको श्रद्धा त्यसैको प्रतिबिम्ब हो:-“व्यासाय विष्णुरूपाय व्यासरूपाय विष्णवे। नमो वै ब्रह्मनिधये वासिष्ठाय नमो नमः॥” यो केवल स्तुति होइन; ज्ञानप्रति सभ्यताले प्रकट गरेको कृतज्ञताको अभिव्यक्ति हो। त्यसैले गुरु पूर्णिमालाई व्यास जयन्ती पनि भनिएको हो। वास्तवमा यो एउटा व्यक्तिको जन्मोत्सवभन्दा बढी ज्ञानलाई सु-व्यवस्थित गर्ने प्राचीन परम्पराको उत्सव हो।

यही प्रसङ्गमा अर्को प्रश्न उठ्छ त्यसो भए “गुरुको स्थान यति उच्च किन?” प्राचीन चिन्तनले गुरु र शिक्षकलाई कहिल्यै एउटै अर्थमा सीमित गरेन। शिक्षकले विषय सिकाउन सक्छन्, गुरुले दृष्टि दिन्छन्। शिक्षकले उत्तर दिन सक्छन्, गुरुले प्रश्न गर्न सिकाउँछन्। शिक्षकले जीविका कमाउन सहयोग गर्न सक्छन्, गुरुले जीवन बुझ्न सहयोग गर्छन्। त्यसैले ‘गुरु’ शब्दको अर्थ केवल पेशा होइन; चेतनाको एउटा अवस्था पनि हो। श्वेताश्वतर उपनिषद् मा पनि भनिएको छ कि “यस्य देवे परा भक्तिर्यथा देवे तथा गुरौ। तस्यैते कथिता ह्यर्थाः प्रकाशन्ते महात्मनः॥ (६।२३)”यसको आशय गुरुको व्यक्तिपूजा गर्नु होइन। यसको आशय ज्ञान ग्रहण गर्ने पात्रता निर्माण गर्नु हो। जहाँ अहंकार घट्छ, त्यहाँ सिक्ने क्षमता बढ्छ। यही मनोवैज्ञानिक सत्यलाई उपनिषद्ले आध्यात्मिक भाषामा व्यक्त गरेको देखिन्छ। प्राचीन संस्कृतिले गुरुको दायरा अझ फराकिलो बनाएको छ। तैत्तिरीय उपनिषद्को प्रसिद्ध वाक्य कि “मातृदेवो भव। पितृदेवो भव। आचार्यदेवो भव।” यसले ज्ञानको यात्रा परिवारबाट सुरु भएर आचार्यसम्म पुग्ने संकेत गर्छ। त्यसैले गुरु भन्नाले केवल आश्रमका ऋषि वा आध्यात्मिक सन्त मात्र होइन; जीवनलाई सही दिशा दिने जो कोही पनि हुन सक्छ।

मेरो विचारमा गुरु पूर्णिमाको सबैभन्दा ठूलो सन्देश यही हो कि जहाँ ज्ञान आफैँमा पर्याप्त हुँदैन, त्यसलाई हस्तान्तरण गर्ने परम्परा पनि उत्तिकै आवश्यक हुन्छ। इतिहासले धेरै सभ्यताहरू देखायो, जहाँ पुस्तक थिए तर परम्परा रहेन; परिणामस्वरूप ज्ञान हरायो। हाम्रो छिमेकी मुलुक भारतमा भने गुरुशिष्य परम्पराले ग्रन्थलाई मात्र होइन, अनुभवलाई पनि पुस्तान्तरण गरिरह्यो। सम्भवतः यही कारणले होला त्यहाँ अझैपनि वैदिक ज्ञान केही हदसम्म जीवित छ। आज हामी सूचना प्रविधिको युगमा छौँ। एउटा मोबाइल फोनले संसारभरका पुस्तक खोलिदिन्छ। कृत्रिम बुद्धिमत्ताले केही सेकेन्डमै उत्तर दिन सक्छ। तर एउटा प्रश्न अझै खुलै छ कि “जानकारी सजिलै पाइने युगमा पनि किन मानिसहरू सही निर्णय लिन संघर्ष गरिरहेका छन्?” मेरो विचारमा सायद त्यसको उत्तर जानकारी र ज्ञानबीचको भिन्नतामा लुकेको छ। जानकारी सङ्कलन गर्न उपकरण पर्याप्त हुन्छ। ज्ञान निर्माण गर्न अध्ययन चाहिन्छ। तर प्रज्ञा त्यो अनुभव हो, अनुशासन हो, जुन संवाद र मार्गदर्शनबाट मात्र विकसित हुन्छ। यही कारण प्रविधिले गुरुको आवश्यकता समाप्त गरेको छैन; बरु गुरुको भूमिकालाई नयाँ अर्थ दिएको छ। त्यसैले गुरु पूर्णिमा केवल परम्पराको स्मृति होइन। यो एउटा सभ्यताले ज्ञानलाई कसरी सम्मान गर्‍यो भन्ने ऐतिहासिक दस्तावेज पनि हो।

हामी करिब एक-दुई शताब्दी पछाडि पुगेर हेरौँ जहाँ कसैले ज्ञान प्राप्त गर्न चाहन्थ्यो भने ऊ पुस्तकालय पुग्थ्यो, गुरुकुल पुग्थ्यो वा कुनै विद्वान्को शरणमा जान्थ्यो। आज दृश्य फेरिएको छ। एउटा मोबाइल फोनले संसारभरका पुस्तक, व्याख्यान र अनुसन्धान केही क्षणमै देखाइदिन्छ। कृत्रिम बुद्धिमत्ताले प्रश्न सोधेको केही सेकेन्डमै उत्तर दिन्छ। यस्तो अवस्थामा स्वाभाविक प्रश्न उठ्छ कि “सबै कुरा यति सहजै उपलब्ध हुँदा गुरुको आवश्यकता किन रहिरह्यो?” उत्तर खोज्न धेरै टाढा जानुपर्दैन। जानकारी र ज्ञान एउटै कुरा होइनन्। तथ्य थाहा पाउनु एउटा कुरा हो; ती तथ्यलाई सही सन्दर्भमा बुझ्नु अर्को कुरा। अझ त्यस ज्ञानलाई जीवनको निर्णय, चरित्र र व्यवहारसँग जोड्नु त झन् फरक विषय हो। प्रविधिले पहिलो काम सजिलो बनाएको छ; बाँकी दुई काम आज पनि मानिसकै जिम्मामा छन्। यसैले प्राचीन परम्पराले ज्ञानलाई केवल स्मरणशक्तिको विषय मानेन। ज्ञानको मूल्य त्यसको प्रयोगमा खोज्यो। गुरुको भूमिका पनि यहींबाट सुरु हुन्छ। गुरुले उत्तर मात्र दिँदैनन्, कुन प्रश्न महत्त्वपूर्ण छ भन्ने पनि सिकाउँछन्। धेरैपटक जीवनलाई बदल्ने कुरा उत्तर होइन, सही प्रश्न हुन्छ।

यही भाव भगवद्गीतामा पनि देखिन्छ। भगवान् श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ :-तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया।उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः॥ (भगवद्गीता ४।३४)ध्यान दिनुपर्ने कुरा के छ भने यहाँ श्रीकृष्णले अर्जुनलाई “विश्वास गर” मात्र भन्नुभएको छैन। उहाँले परिप्रश्न अर्थात् प्रश्न गर्न पनि भन्नुभएको छ। तर त्यो प्रश्न अहंकारबाट होइन, जिज्ञासाबाट जन्मिएको हुनुपर्छ। यही भिन्नता प्राचीन ज्ञानपरम्पराको शक्ति हो। यहाँ न अन्धभक्ति स्वीकार्य छ, न अन्धअस्वीकार। सायद यही सन्तुलन आज सबैभन्दा बढी हराउँदै गएको देखिन्छ। सार्वजनिक जीवनमा असहमति हुनु स्वाभाविक हो। कुनै शिक्षक, आचार्य वा आध्यात्मिक गुरुका विचारसँग असहमत हुन सकिन्छ। उहाँहरूको व्याख्याको समीक्षा गर्न सकिन्छ। अनुसन्धानलाई चुनौती दिन सकिन्छ। ज्ञानको संसार यस्तै बहसबाट अगाडि बढ्छ। तर पछिल्ला केही वर्षयता बहसभन्दा उपहास, तर्कभन्दा व्यक्तिगत आक्रमण र असहमतिभन्दा अपमान बढी देखिन थालेको अनुभूति मैले गरेको छु। सामाजिक सञ्जालले अभिव्यक्तिको अवसर विस्तार गर्‍यो, तर त्यससँगै संयमको परीक्षा पनि थपिदियो।

यो समस्या कुनै एक क्षेत्रको मात्र होइन। विद्यालयका शिक्षक, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, संस्कृतविद्, आध्यात्मिक वक्ता आदि कोही पनि यस परिवर्तनबाट अछूता छैनन्। आलोचना हुनु अस्वाभाविक होइन; तर ज्ञान दिने व्यक्तिलाई नै अविश्वासको दृष्टिले हेर्ने प्रवृत्ति विस्तार हुँदै गयो भने त्यसले अन्ततः ज्ञानप्रतिको सामाजिक विश्वासलाई नै कमजोर बनाउँछ। यसको अर्थ गुरुका नाममा हुने हरेक कुरा सही हुन्छ भन्ने होइन। प्राचीन परम्पराले गुरुभन्दा माथि धर्म र सत्यलाई राखेको छ। महाभारतदेखि उपनिषद्सम्म, आवश्यक परेको ठाउँमा गुरुका विचारमाथि पनि प्रश्न उठेका उदाहरण भेटिन्छन्। त्यसैले मर्यादित प्रश्न शास्त्रविरुद्ध होइन; बरु शास्त्रीय परम्पराकै अङ्ग हो। तर प्रश्न र अपमानलाई एउटै ठान्ने बानीले ज्ञान र संवादको संस्कृतिलाई क्षति पुर्‍याउँछ। हामी जुन समाजमा बस्छौं त्यो समाजले एउटा कुरा बिर्सनु हुँदैन कि सभ्यता केवल नयाँ पुस्ताले निर्माण गर्दैन। अघिल्लो पुस्ताबाट प्राप्त भएको ज्ञानको जगमाथि उभिएर नयाँ पुस्ताले आफ्नो योगदान थप्छ। यदि त्यो जगप्रतिको सम्मान हरायो भने नयाँ निर्माण पनि धेरै समय टिक्दैन। यही कारण संसारका सबै विकसित शैक्षिक परम्परामा शिक्षक, अनुसन्धानकर्ता र विद्वान्प्रति संस्थागत सम्मान कायम राख्ने प्रयास गरिएको देखिन्छ।

वेदव्यासको स्मरणको अर्थ पनि यही हो। उहाँले कुनै नयाँ सभ्यता निर्माण गर्नुभएन; पहिलेदेखि प्रवाहित ज्ञानलाई व्यवस्थित गर्नुभयो। आज पनि हरेक शिक्षक, हरेक अनुसन्धानकर्ता र हरेक इमानदार गुरुले कुनै न कुनै रूपमा त्यही काम गरिरहेका हुन्छन् त्यो काम भनेको ज्ञानलाई अर्को पुस्तासम्म पुर्‍याउने हो। त्यसैले गुरु पूर्णिमाले आजको पुस्तालाई एउटा सरल तर गम्भीर प्रश्न सोध्छ के भन्दा ‘हामी सूचना सङ्कलन गर्ने समाज बन्न चाहन्छौँ कि ज्ञान निर्माण गर्ने समाज?’ यी दुईबीचको दूरी धेरै ठूलो छ। त्यो दूरी पार गराउने सेतुको नाम नै गुरु हो।

तर मलाई केही वर्षयता देखि ज्योतिष, दर्शन र संस्कृत ग्रन्थहरूको अध्ययन गर्दै जाँदा एउटा कुरा बारम्बार अनुभव भएको छ। शास्त्र पढ्ने मानिसको संख्या घटेको भन्दा पनि, शास्त्र नपढीकन त्यसबारे मत दिने मानिसको संख्या धेरै बढेको छ। यही प्रवृत्ति गुरु वा गुरू भनौदा बन्ने अवधारणाको विकास भएको देखिन्छ। कसैले गुरुको नाममा अन्धविश्वास फैलाउँछ, कसैले त्यसको प्रतिक्रियास्वरूप सम्पूर्ण गुरु परम्परालाई नै अस्वीकार गर्छ। यी दुवै अतिवाद हुन्। ऋषिहरूले न त पहिलो बाटो देखाए, न दोस्रो। प्राचीन ज्ञानपरम्पराको एउटा सुन्दर विशेषता के हो भने यहाँ प्रश्न गर्न निषेध गरिएको छैन। वास्तवमा उपनिषद्हरूको धेरै भाग जिज्ञासाबाटै सुरु हुन्छ। नचिकेताले यमसँग प्रश्न गरे, गार्गीले याज्ञवल्क्यसँग प्रश्न गरिन्, अर्जुनले श्रीकृष्णसँग प्रश्न गरे। यदि प्रश्न गर्न नपाइने भए, यी सबै संवाद सम्भव हुने थिएनन्। त्यसैले शास्त्रले सिकाएको पहिलो संस्कार मौन स्वीकार होइन; सत्य खोज्ने जिज्ञासा हो। तर जिज्ञासा र अविनय एउटै कुरा होइनन्। यही कारण मनुस्मृतिमा एउटा महत्त्वपूर्ण सूत्र पाइन्छ कि:-‘अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनः। चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशो बलम्॥ (मनुस्मृति २।१२१)’यस श्लोकले सम्मानलाई धार्मिक कर्मकाण्डका रूपमा होइन, व्यक्तित्व विकासको आधारका रूपमा प्रस्तुत गरेको छ। जो विनयी हुन्छ, जो अग्रज र गुरुजनसँग सिक्ने भाव राख्छ, उसमा आयु, विद्या, यश र बल यी चार गुणको विकास हुन्छ भन्ने यसको भावार्थ पनि हो। यहाँ सम्मानको फल केवल आध्यात्मिक होइन; सामाजिक र बौद्धिक पनि छ। हाम्रो समाजमा अहिले एउटा विरोधाभास देखिन्छ। विद्यालयमा आफ्ना शिक्षकलाई सम्मान गर्न सिकाइन्छ, तर सार्वजनिक जीवनमा शिक्षक, प्राध्यापक, अनुसन्धानकर्ता वा आध्यात्मिक व्यक्तित्वलाई अपमानजनक भाषामा प्रस्तुत गरिएका दृश्य पनि देखिन्छन्। सामाजिक सञ्जालले सबैलाई बोल्ने अवसर पनि दिएको छ, तर सबै अभिव्यक्ति विवेकपूर्ण हुँदैनन्। असहमति सभ्य समाजको आधार हो, अपमान होइन। आलोचनाले ज्ञानलाई परिष्कृत गर्छ; अवमाननाले संवादलाई समाप्त गर्छ।

गुरु पूर्णिमाको अवसरमा सम्झनुपर्ने अर्को पक्ष पनि छ। गुरुको सम्मान गर्नु भनेको उहाँका प्रत्येक भनाइलाई अन्तिम सत्य मानेर स्वीकार गर्नु होइन। त्यसरी नै, कुनै गुरु वा शिक्षकको कमजोरी देखियो भन्दैमा सम्पूर्ण गुरु परम्परालाई अस्वीकार गर्नु पनि न्यायोचित हुँदैन। प्राचीन दर्शनले सधैँ विवेक र श्रद्धालाई सँगसँगै अघि बढाएको छ। श्रद्धाविहीन ज्ञान अहंकारमा बदलिन सक्छ; विवेकविहीन श्रद्धा अन्धविश्वासमा। वेदव्यासको जीवनले पनि यही शिक्षा दिन्छ। उहाँले नयाँ वेद निर्माण गर्नुभएन, आफूलाई ज्ञानको अन्तिम स्रोत पनि भन्नुभएन। उहाँले आफूभन्दा अघिको ज्ञानलाई व्यवस्थित गर्नुभयो, त्यसलाई सुरक्षित राख्नुभयो र भावी पुस्तासम्म पुग्ने बाटो तयार गर्नुभयो। कुनै पनि महान् शिक्षकको यही विशेषता हुन्छ कि उसले शिष्यलाई आफ्नै प्रतिलिपि बनाउने प्रयास गर्दैन; उसलाई स्वतन्त्र चिन्तन गर्न सक्षम बनाउँछ।

हुन त आज हामी कृत्रिम बुद्धिमत्ताको युगमा छौँ। केही सेकेन्डमै उत्तर प्राप्त हुन्छ। तर मेरो एउटा प्रश्नको उत्तर अझै कुनै प्रविधिले दिन सकेको छैन कि “कुन ज्ञानलाई जीवनमा कसरी प्रयोग गर्ने?” त्यही ठाउँमा गुरुको आवश्यकता सुरु हुन्छ। गुरुले सूचना थप्दैनन्; दृष्टि दिन्छन्। पुस्तकले तथ्य दिन्छ; गुरुले सन्दर्भ दिन्छ। शास्त्रले सिद्धान्त दिन्छ; गुरुले त्यसको प्रयोग देखाउँछन्। सायद त्यसैले गुरु पूर्णिमा हरेक वर्ष नयाँ भएर आउँछ। यसको सान्दर्भिकता पात्र बदलिएकाले होइन, प्रश्न उही रहेकाले हो। हामी कस्तो समाज निर्माण गर्दैछौँ? ज्ञानलाई सम्मान गर्ने समाज, कि केवल जानकारीको उपभोग गर्ने समाज? शिक्षकलाई राष्ट्रनिर्माताको रूपमा हेर्ने समाज, कि आवश्यक परे सम्मान र असहमति हुँदा अपमान गर्ने समाज? यी प्रश्नको उत्तर कुनै ग्रन्थमा तयार अवस्थामा भेटिँदैन। उत्तर हाम्रो व्यवहारले दिन्छ।

व्यास जयन्ती र गुरु पूर्णिमाको वास्तविक उत्सव मन्दिर, आश्रम वा विद्यालयमा मात्र सम्पन्न हुँदैन। त्यो तब सम्पन्न हुन्छ, जब एउटा विद्यार्थी प्रश्न गर्न सिक्छ तर मर्यादा बिर्सँदैन; जब एउटा गुरु ज्ञान दिन्छ तर अहंकार पाल्दैन; र जब एउटा समाजले विचारसँग असहमति जनाउन सक्छ, तर ज्ञान दिने व्यक्तिको गरिमा जोगाइराख्छ। सायद यही नै प्राचीन गुरुशिष्य परम्पराको सबैभन्दा ठूलो शिक्षा हो। सभ्यता केवल नयाँ ज्ञान उत्पादन गरेर महान् बन्दैन; पुरानो ज्ञानको सम्मान गर्दै नयाँ ज्ञान सिर्जना गर्न सक्दा मात्र दीर्घजीवी हुन्छ। गुरु पूर्णिमा र व्यास जयन्तीले हरेक वर्ष हामीलाई यही कुरा सम्झाइरहन्छन् कि ज्ञानको ज्योति निभ्न नदिनु, किनकि सभ्यताको वास्तविक भविष्य त्यही उज्यालोमा सुरक्षित हुन्छ।

(अरूण सुवेदी उपाध्याय ज्योतिष, आयुर्वेद तथा वास्तु शास्त्र अध्येता)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK